नेपाली साहित्य समशेर अली एक रोचक पाठकप्रिय र सफल कथाकार हुन् । कालिम्पोङ बजारनजिकै ११ माइलस्थित सम्झना निवासमा बसोबासो गर्ने समशेर अली अहिले आफ्नो शारीरिक चिकित्सा गर्दै तीन वर्षदेखि कोलकातामा अस्थायी डेरामा बसिरहेका छन् । उनी पश्चिम बङ्गाल सरकार अधीनस्थ खाद्य तथा आपूर्ति विभागमा एक अधिकारी रही सरकारी सेवाबाट निवृत्त भएका छन् । एक छोरा दुई छोरीका बाबु अलीलाई उनकी प्राणप्रिया श्रीमती लक्ष्मी प्रधान अलीले अहोरात्र सेवा सुश्रुशा गरिरहेकी छन् । अहिले पनि कोलकातामा बस्ता मोबाइलमा कथाहरू लेखिरहेका छन् । लाग्छ, उनीभित्र कालेबुङका डाँडा-काँडा, बजार, साथी भाइ छर-छिमेक सल्बलाइरहेका छन् । उनको तन मात्रै कोलकातामा मन भने कालेबुङमा  छ ।

कालिम्पोङका शमसेर अली एक दक्ष कथाकारका रूपमा स्थापित छन् । उनको जन्म १८ अगस्ट, १९५६ मा कालिम्पोङको सिन्देबुङ बस्तीमा भएको हो । उनका मातापिताको नाम स्व. सेलिना सितलिङ अली र स्व. रूस्तम अली हो । उनी लेप्चा परिवार र स्थानीय मुस्लिम परिवारको दुवैतिरबाट प्रभावित छन् । उनले स्नातक अध्ययन गरेपछि दुई वर्ष जति सिक्किममा शिक्षण कार्य गरेपछि कालेबुङकै पागाङ गुम्पा उच्च विद्यालयमा एक वर्ष जति शिक्षण कार्य गरेर १९८० देखि पश्चिम बङ्गाल सरकारको खाद्य आपूर्ति विभागमा मुख्य खाद्य निरीक्षक सम्म पुगेर २०१६ मा सेवानिवृत्त भएका हुन् । हाल उनी रोग उपचारका क्रममा गत तीन वर्षदेखि कोलकातामा बसिरहेका छन् । उनी इस्लाम धर्मावलम्बी हुन्, उनको रक्तकणमा एक खाँट्टी नेपालीभाषी, जातिप्रेमी, पहाडप्रेमी सचेत व्यक्तित्व हुन् । एक पक्का कालेबुङवासी ।

हालसम्म उनका ७ कथासङ्ग्रह प्रकाशित छन् । तीन हुन्- बिउभाले, सोल्दाती गोर्खा मोल्तो ब्योनी, हुट्टिट्याउँ, आफ्रीन, मामा, अब्बुइ र द लास्ट डान्स । पछिल्ला ४ कवितासङ्ग्रहहरू भने कोलकातामा बिरामी अवस्थामा नै लेखेर प्रकाशित गरेका छन् । उनी मान्छेलाई भेटेर तिनका जीवनी खोतल-खादल पारेर त्यसलाई कथारूप दिन्छन् । उनी विशेषगरी दुईवटा विश्वयुद्ध लड्ने जिवीत योद्धा, समाजमा कोही व्यक्तिको रमाइलो वा वीभत्स विगत भएको थाह पाए त्यसलाई खोजी गरेर कथा बुन्ने, आफ्नै घर-परिवारका केही महत्त्वपूर्ण घटना आदिलाई पनि रोचकता थपेर कथा बुन्ने गर्दछन् । उनका कथामा विनोदिता, हास्यको पुटको प्रस्तुति, विषम्यकारी अन्त्य, कारूणिक ढाँचा आदि गुण पाइन्छ ।

उनी जनताका बीचमा गएर त्यहाँका दृष्ट अदृष्ट सानाठूला घटनाहरूलाई टिपेर खिपेर कथा बुन्ने गर्छन् । कथाका सामग्रीलाई लिएर पाठकका रूचिलाई बुझेर कथा लेख्ने गर्छन् । उनी कथाका सामल खोज्ने गाउँघर डुल्छन्, पुराना सैनिक योद्धाहरू खोजी खोजी तिनको वीरताको वर्णन लिन्छन्, गाउँका कर्मी ज्यामीका कथाहरू टिप्छन् । कथा टिप्न बाहिर पनि जान्छन् । कहिले कश्मीर पनि पुग्छन्, कहिले सिक्किम पुग्छन् ।  उनका कथाहरूले हामीलाई आह्लाद बनाउँछ, कुनैले करूणा उब्जाउँछ, कुनैले वीरताको भाव जगाउँछ, कुनैले भुँडी मिचिमिचि हाँस्ने बनाउँछ । यस्तो हुनु उनको सिर्जनशीलताको परिचय हो । कथामा भावपक्ष र शिल्प पक्षले पाठकलाई आकर्षण गर्दछ ।

शमशेर अली अहिले बिरामीको अन्तिम अवस्थामा छन् । डायलिसिसले शरीर जीर्ण बनाएको छ, त्यहीँमाथि अन्य रिपोर्टहरू पनि राम्रो छैन । मोबाइलको सहयोगमा कथा लेखिरहेका उनी अहिले बिरामी अवस्थामा फोनमा बोल्दा बिरामी नभएको जस्तो, जोसिलो, हँसिलो, रमाइलो गफ गर्छन् । उनले आफ्नो मनलाई बलियो बनाएका छन्, जति बेला जे हुन्छ उनी मानसिक रूपमा तयारी भएको छन् । मैले उनलाई केही प्रश्न पठाएको थिएँ । उनले उत्तर लेखिपठाएका छन् । प्रस्तुत छ उनीसित लिएको अन्तर्वार्ता । त्यस अन्तर्वार्तामा उनले आफूले इमानदार भएर पोखेका, जोखेका र प्रस्तुत गरेका छन् ।

उनी सानैदेखि एउटा साहित्यिक परिवेशमा हुर्किएका हुन् । कालेबुङ सहरमा मनाइने भानु जयन्तीमा कविता प्रतियोगिता वा वाक्पटुतामा सक्रिय रूपमा अंशग्रहण गर्दथे । उनका पिताजी सामाजिक राजनैतिक र शिक्षक व्यक्तित्व थिए । उनको घरमा विभिन्न साहित्यकार आउँदथे । उनले स्कूल पढ्दादेखि नै कालेबुङका वरिष्ठ साहित्यिकहरूसित परिचित हुने मौका पाएको थिए । डा. पारसमणि प्रधान, भाइचन्द प्रधान, सानुमती राई, टि. बी. ठकुरी, महानन्द पौड्याल आदिसित उनको सम्पर्क थियो ।

सातौँ कक्षादेखि समशेर अलीले केही कविताहरू लेख्न थाले । स्कूलकै हस्तलिखित पत्रिकामा ‘दुई थोपा आँसु’  प्रथम प्रकाशित कविता हो । कालेबुङ टाउन हलमा भानु जयन्तीलाई ठूलो पर्व जस्तो मनाइन्थ्यो  । रामायण पाठ, कविगोष्ठी, लघु नाटक आदि प्रदर्शित गरिन्थ्यो । आफूलाई एउटा साहित्यिक बन्ने चासो यो सबै देखेर भएको हो । उनले साहित्य लेख्न थालेको १३/ १४ वर्षको उमेरदेखि हो । १९७० मा उनी लगभग एउटा कवि भइसकेको थिए । उनको कथा लेखन १९८० देखि हो । उनको पहिलो कथा ‘पुनर्जन्म’ त्यस बेलाका दैनिक अखबार हिमालचुलीमा छापामा आएको थियो । त्यसपछि उनका कथा, कविताहरू विभिन्न पत्रपत्रिकातिर प्रकाशित भए । पहिलो कथासङ्ग्रह ‘बिउभाले’ २०१० मा मात्र आउन सक्यो ।

उनको कथा लेख्ने शैली आफ्नै छ । उनी कथालाई वास्तविक घटनाहरूबाट टिपेर बुन्न थाल्छन् । कथा लेख्न अघि उनी कथाको पृष्ठभूमि खोज्नलाई गाउँ बुढा वा टाढाका एकान्त गाउँहरू, कतै प्रदेशतिर गएर त्यहाँका जनमानसमा कथा खोज्ने गर्छन् । उनलाई घरभित्र कल्पनामा डुबेर कथा लेख्न ठ्याम्मै मन पर्दैन । यसैले उनका सबै कथाहरू जीवन्त हुन्छन्, पाठकहरूले प्रिय र रुचिकर हुन्छन् । हाम्रा लोककथाहरू, गाउँले कथा पनि उनका निम्ति प्रियवस्तु हुन् । उनले युद्धकथा, मान्छे हराएका, प्रेमको मिलन र विछोडका, ठट्यौलीबाट उब्जेका, संस्मरणभित्रका घटना उपघटना आदिलाई कथावस्तु बनाएका छन् । उनका कथामा मुस्लिम परिवारका कथा व्यथा पनि पस्न सकेका छन् ।

उनले साहित्य लेख्नुको मूल उद्देश्य आफ्ना पाइतालाका छापहरू हाम्रो समाजमा छाडिराख्नु हो । कतिपय हाम्रा भुलिएका ऐतिहासिक घटनाहरूलाई खोजी गरेर प्रकाशमा ल्याउनु पनि अर्को उद्देश्य मान्दछन् । कथाभित्र मान्छेलाई चाहिने एउटा मनोविज्ञान आफ्ना पाठकहरू समक्ष साझा गर्न सधैँ कोसिसमा रहन्छन् ।

उनको साहित्यबारे विचार के छ भने समाजमा देखिने धेरै राम्रा कुरा, समाजका विकृतिहरू हामी साहित्यमा लेख्न सक्छौँ । हुन त साहित्य र समाजलाई हेर्ने आ-आफ्नै दृष्टिकोण हुन्छ । आफ्नो कुरा १६ आना ठिक हो भन्न मिल्दैन । हामीले राम्रा देखेका कुराहरू हाम्रा पाठकहरूले नदेख्न पनि सक्ला । सर्जकहरूको भरमग्दुर चेष्टा हुन्छ समाजलाई सही बाटो देखाउनु हो ।

मानव जीवन क्षणभंगुर छ । पाटीमा ढाक्रेको पसारो जस्तै । हामी केही छिनको निम्ति पाहुना भएर यस संसारमा आउँछौं । फेरि फर्केर जान्छौं । बसिन्जेल हामीलाई नाना थरिका लोभ ईर्ष्या घमण्ड माया ममताको परिवेशभित्र परिक्रमा गरी बस्छौं । धेरै कम मानिसहरूलाई थाहा हुन्छ । हामी नाङ्गै आएका थियौं । अनि नाङ्गै जान्छौं भन्ने रहेको छ ।

अलीले कथालाई भावपक्ष र शिल्पपक्ष दुई पक्षलाई हेरेर लेख्छन् । त्यहाँ एउटा भावना पनि पोखाउनुपर्छ अनि शिल्पकारिता अवश्य हुनुपर्छ भन्ने उनको धारणा छ । यी दुवै मिले मात्र सफल सर्जक बन्छ । विशेष उनी आख्यानकार हुनाले कल्पनाको आकाशमा विचरण गर्दै धरतीको वास्तविक परिस्थिति पाठक समक्ष पस्कन चाहन्छन् ।

साहित्यको अन्य विधामा उनी कविता धेरै लेख्ने गर्थे । हिजोआज कविता कम कथाहरू नै बढी लेख्ने गर्छन् । उनलाई मन परेका दुई चार ऐतिहासिक कथाहरू पनि लेखेका छन् । उनका निम्ति युद्धकथा सबैभन्दा प्रिय विषयवस्तु बनेको छ । उनका विचारमा गोर्खालीले विश्वयुद्ध र अन्य धेरै अन्य लडाईहरू लड्यो, तर भनेजस्तो हाम्रो युद्धकथा कतै छैन । उनले दुई-चारवटा युद्धकथा लेखेका छन् । अन्य सर्जकहरूले पनि यसमाथि ध्यान दिएर युद्ध कथाहरू भरमार लेखुन् भन्ने उनको चाहना छ । गोर्खाहरूले आफैंलाई योद्धाको वंश सम्झन्छन् भने आफ्ना बाबु बाजेले कमाएको वीरता लेख्नैपर्ने हो ।

उनी सरकारी जागीरमा छँदा जीवन बितेको थाहै भएन कामको व्यस्तताले, सेवानिवृत्ति जीवन अहिले रोग पालेर बसेको छन् । हप्तामा तीनपटक डायलिसिस गर्दैछन् । श्रीमतीले उनलाई दिनरात स्याहार्दै छिन् । फुर्सदको समयमा भने कथाहरू लेखेर आफ्नो ऊर्जालाई कायम राखेको छन् ।

समशेर अली साहित्य धेरै पढ्ने गर्थे । यद्यपि उनी बिमार भएर वर्तमानमा कम पढाई भइरहेको छ । अङ्ग्रेजी होस् हिन्दी होस् नेपाली उनी सबै साहित्य पढ्ने गर्छन् । हिन्दी साहित्यका प्रेमचन्दका कथाहरू अझ पनि उनलाई मनपर्छ । नेपाली कथाकारहरूमा शिवकुमार राई, लैनसिंह बङ्गदेल, अच्छा राई रसिक, इन्द्रबहादुर राई, राजनारायण प्रधान, आदि उनका आदरणीय कथाकारहरू हुन् । उनीहरूको पाइताला पछ्याएर उनी पनि कथा सृजना पट्टि लागेका हुन् ।

उनलाई पहिले नेपालका कथाहरू भारतेली कथा भन्दा बेग्लै लाग्थ्यो । वर्तमानमा भने प्रायः भाषाको एकीकरण हुँदै गएकोले होला दुई देशका साहित्य एकै प्रकारका देखिन्छ । यस क्षेत्रमा नेपाल आज दुई कदम अघि छ भन्न अत्युक्ति ठान्दैनन् । नेपालमा साहित्यको मुहान फुट्नु एउटा विज्ञापन र मार्केटिङ पनि हो । जो हामी भारतमा दुर्लभ छ । नारायण वाग्लेको ‘पाल्पसा क्याफे’ उपन्यासले नेपालमा एउटा क्रान्ति ल्यायो । त्यसपछि भने त्यस्ता कथाहरूका लहर नेपालमा चल्यो अनि सबै पढ्न योग्यका थिए । सरल र सोझो भाषामा लेखिन थाले । त्यस्ता कृति पाठकप्रिय बने । यता भारतमा पनि दुई चार सर्जकहरूले त्यही सरलतालाई अनुकरण गर्दै आफ्ना उत्कृष्ट सृजना दिन थालेका हुन् ।

पुरस्कारका प्रसङ्गमा भने उनी पछि नै परेका छन् । हालसम्म उनले त्यस्तो उल्लेखयोग्य र चर्चित पुरस्कार पाएका छैनन् । उनलाई  पुरस्कारहरूको उति लोभ छैन । पुरस्कार दाताहरूले पुस्तक पुरस्कारका निम्ति पुस्तक पठाउन आह्वान गर्दछ तर उनले आफ्ना  पुस्तकहरू कतै पठाएका छैनन् । पुरस्कार दिने हो भने उनका सृजनाहरू खोजेर पढोस् अनि जाँच गरोस् । अहिलेसम्म उनले कालेबुङको नेपाली साहित्य अध्ययन समितिले दिने पूर्ण राई स्मृति पुरस्कार, कोलकताबाट दिने लैनसिंह बाङदेल पुरस्कार, असमबाट असम नेपाली साहित्य परिषद्बाट एउटा पुरस्कार पाएका छन् ।

पाठकहरूप्रति उनको के सुझाव छ भने बेसी पढ्नु कम्ती लेख्नु उचित हुन्छ । आफ्ना छोराछोरीहरूलाई सानैदेखि साहित्य पढ्ने अभ्यास गराउनु पर्दछ । आफूले खोजेका प्रश्नका उत्तरहरू सबै पुस्तकमा पाइन्छ भन्ने कुराको सन्देश दिनुपर्छ भन्ने जानकारी आफ्ना छोराछोरी दिन सक्यो भने साहित्य स्वतः बाँच्दछ ।