(नेपाली साहित्यको आख्यान विधामा विशेषगरी कथा साहित्यमा निकै ठूलो योगदान गर्नुहुने परशु प्रधानका अनेकन कथा सङ्ग्रहहरु प्रकाशित छन् । उपन्यास प्रकाशित छन् । अन्तरवार्ताहरु प्रकाशित छन् । उनीसँग २०७६ साल माघ २८ गते साहित्यकार गोविन्द गिरी प्रेरणाले लिएको टेप अन्तरवार्ताको उतार प्रस्तुत छ ।)

दाइ अहिले ठ्याक्कै उमेरको हिसाबले कति हुनु भो ?

म ७५ मा कुदिरहेको छु, पर्सि माघ ३० गतेपछि ७६ लाग्छु । एक शताब्दीको तीन चौथाई पूरा गर्न लागेँ अब ।

अनि आजकाल दिनचर्या कस्तो छ तपाईंको ?

परशु प्रधान

मलाई अहिले तीनटा रोगले समातेको छ । पहिलो कुरा त मैले आजभन्दा चार वर्ष अगाडि यो प्रोष्टेटको अपरेसन गरेँ । त्यो ठिकै छ तर पनि दुःख दिइराको छ । पिसाब बन्द हुने खुल्ने भइराछ। अपरेसन राम्रो भाको छ, ग्राण्डीमा गरेको । त्यसपछि त्यो सिध्दिनासाथ सुगर भयो । सुगरको औषधि खाँदैेछु । गुलियो चिजहरु खाँदै खान्नँ ।

अर्को त्यो सिध्दिंदा नसिध्दिंदै मलाई के भो भन्देखि मोतिया बिन्दु भो । दुवै आँखाको अपरेसन गरेर बसेको छु । र आजभोलि पत्रिकाहरु पढ्ने, अनि केही लेख्ने, तर लेखन कम छ किनभने अहिले त नयाँ साहित्यकारहरु आए । उनीहरुको अगाडि हाम्रो पुरानो पनि भयो । त्यसपछि लेखनको विषय/कथाबस्तुहरु, विषयबस्तुहरु पनि एकदम कमै भेटिराको छु । लेखाई म कम लेख्छु । बढी पढ्छु । आँखा पनि कमजोर छ । त्यो हाम्रो उपन्यास (विसर्गः यो उपन्यास परशु प्रधान र गोविन्द गिरी प्रेरणाले सहलेखन गरेका हुन्) त श्रीमतीले पढेर सुनाउँछिन् । अरु त के साथीभाइहरु भेट्ने । कुनै कार्यक्रमहरुमा भाग लिन जान सक्दिनँ । सके पनि कतै जानुभन्दा घरमै बसेर स्वअध्ययन गर्यो, साथीभाइहरुसँग भेट्छु, यही हो । खास केही छैन ।

तपाईंले लेखन कविताबाट शुरु गर्नु भो, प्रकाशित पनि गर्नु भो, ती पुराना कविताहरु अहिले सम्झनुहुन्छ ?

मैले पहिलोपल्ट ‘जीवनपथ’ भन्ने कविता सङ्ग्रह प्रकाशित गरेको थिएँ । उत्साह थियो । योङ स्टेजमा साह्रै उत्साह हुँदोरहेछ । कविता लेख्ने, कथा लेख्ने, पत्रिका निकाल्ने, हस्त लिखित पत्रिका पनि निकाल्थ्यौं हामी भोजपुरमा । म त्यो बेला साह्रै एक्टिभ थिएँ । स्कूल स्कूलमा गएर बेच्ने पनि । हस्त लिखित निकाल्ने ।

कति सालको कुरा होला त्यो ?

२०१५ र २०१६ सालतिर हो ।

के नाम थियो त्यो हस्तलिखित पत्रिकाको ?

‘गोरेटो’ हो कि जस्तो लाग्छ, अहिले त भुलिसकेँ । त्यो बेला प्रेस पनि थिएन । केही पनि आएको थिएन भोजपुरमा । त्यहीँबाट मैले आफूलाई एक्टिभ बनाएँ भनौँ न । अनि राजा आउँदाखेरि, राजा महेन्द्रले हाम्रो बाल साहित्य समाज भन्ने संस्था थियो, राजा महेन्द्रले ५०० रुपैयाँ दिए हामीलाई । हाम्रो संस्थालाई । त्यो ५०० रुपैयाँ त कत्रो ठूलो कुरा थियो । त्यसो गरेर अनि त्यसपछि विवाह गरेँ । रेग्मीको छोरी भए पनि साहित्यमा रुचि राख्ने, उनी बाल साहित्यमा धेरै रुचि भएको मान्छे रहिछन् ।

त्यसपछि दुईजना नै साहित्यमा लाग्दै गयौँ । दुःख पनि धेरै पायौँ, किनभने त्यतिबेला नयाँ मुलुकी ऐन नआउँदै विवाह गरियो । त्यतिबेला हामीले पक्राउ परेको भए १२ वर्षको जेल हुन्थ्यो । दुवै जनालाई ६\६ वर्षकोे ।

त्यसपछि २०२० भदौ १ गते नयाँ मुलुकी ऐन आयो । त्यसपछि खुल्ला भएर हिँड्न पाइयो । भोजपुरमा हामीलाई धेरै दुःख थियो । मेरो परिवारमा बा-आमा त हुनुहुन्थ्यो, तर बा रक्सी मात्र खाएर बस्ने । केही काम गर्नुहुन्नथ्यो । रक्सी खाने, अलिअलि गाँजा पनि खाने । अनि केही भएन भने आमासँग कराउने । त्यस्तो व्यवहार बाको । म प्राइमरी स्कूलमा काम गर्थेँ । पोखरे गाउँमा । प्रदीप नेपालको गाउँमा । त्यहाँबाट पचास रुपैयाँ ल्याएर बल्लतल्ल दिएको थिएँ । हामी बच्चाबच्ची पनि १२ जना थियौँ । त्यसरी दुःख पाइयो सानामा । त्यही दुःखले गर्दा मैले आइए बिए सबै गरेँ । लोकसेवा आयोग लडेँ । आयोगमा मैले टपै गरेँ । टप गरिसकेपछि अनि त्यहाँबाट मलाई कम्युनिष्ट भनेर जागिरै दिएनन्, टप गरे पनि ।

कल्ले आरोप लगायो ?

त्यहाँ पुलिसले लेखिदिएछ । शत्रुता भयो नि । यो शाखा अधिकृत हुने पो भो भनेर । त्यतिबेला शाखा अधिकृत भनेको ठूलो कुरा थियो । अनि त्यसपछि कृष्णबम मल्ल र नीर विक्रम प्यासीले तपाईं जस्तो लेखक मान्छे पनि के कम्युनिष्ट हुन्छ, ल आउनोस् भनेर मलाई जागिर दिलाए । म शाखा अधिकृतको जागिर भएँ । शाखा अधिकृतको जागिर भएपछि मलाई भगवानले साथ दियो । म त अमेरिका पढ्न पो गइहालेँ । दुई वर्ष भित्रैमा मलाई अमेरिका पढ्न पठाइयो ।

कति बस्नु भो अमेरिका ?
अमेरिकामा सात आठ महिना बसेँ ।

सात आठ महिना मात्रै हो ?
बस् त्यत्ति मात्र हो ।

तर तपाईंले त थुप्रै कथा लेख्नु भो त्यति छोटो समयमा पनि ?

लेखेँ । ‘समुद्रमा अस्ताउने सूर्य’ त्यही बेलामा लेखेको हो मैले । अमेरिकालाई धेरै बुझेँ । मेरो कस्तो भने अन द जब ट्रेनिङ् क्या । मैले क्यै गर्नु नपर्ने, डिग्री सिग्री थिएन । म अमेरिकामा गएर सात आठ वटा…हैन नौ दस ठाउँहरु गएँ हुँला । क्यालिफोर्निया पनि गएँ । उता पनि, उता पनि सारा अमेरिका घुमेँ । खाने, बस्ने, हिँड्ने, त्यहाँका सारा कल्चरहरु सभ्यताहरु हेर्ने मौका पाएँ । त्यसैले अमेरिकामा ‘समुन्द्रमा अस्ताउने सूर्य’ मैले देखेको हुँ । मलाई त्यो बेलाको यौटा कथा अहिले पनि याद छ,‘लर्ड भिक्टरको खोजीमा लर्ड भिक्टर’ भन्ने ।

हो, त्यो कथा म पनि सम्झिन्छु । मैले भिक्टर प्रधानलाई पहिलोपल्ट भेट्दाखेरि तपाईंको यही कथाको शीर्षक सुनाएको थिएँ !
हा…हा..त्यो बेलाको उमङ्ग, उत्साह, अनुभूति– ब्रेन तगडै रहेछ नि त । पछि अमेरिकाबाट आएपछि पनि भाग्यले साथ दियो । म जापान गएँ, त्यस्तै ६।७ महिनाको ट्रेनिङमा ।

तपाईंको ‘टोकियोमा लिटिल बुद्ध’ त्यही बेलाको अनुभवको उपज हो कि ?

अनुभूति त्यही बेलाको हो । ‘टोकियोमा लिटिल बुद्ध’ कथा मैले लेखेँ । त्यहाँबाट आएपछि इण्डोनेशिया पनि बस्ने मौका पाएँ । त्यहाँ मैले धेरै ट्रेनिङ दिने मौका पाएँ । त्यहाँ पैसा पनि राम्रो पाएँ । युएनडिपीको प्रोग्राममा गएको थिएँ । दिनको सय डेड सय, दुई सय डलर जस्तो पैसा पाइन्थ्यो । त्यसले गर्दा मैले एकदमै सुविधापूर्ण अवस्थामा आफूलाई ल्याएँ । त्यसैले घर जोड्यो, जग्गा जोड्यो । सबै जोड्यो ।

अनि ‘सबै बिर्सिएका अनुहारहरु’ कसरी लेख्नु भयो ?

‘सबै बिर्सिएका अनुहारहरु’ कस्तो भइदियो भने कुलुङमा हेडमास्टर भएर गएँ । यही पवन आलोकको स्कूलमा । पवन आलोक ५।६ क्लासमा पढ्थ्यो । त्यसबेला कुलुङ भनेको एकदम माथि भोजपुरबाट २ दिन माथि उत्तरमा । त्यसपछि त्यहाँ बस्दा मैले २ वटा राम्रो कुरा लेखेछु, यौटा ‘फेरि आक्रमण’ भन्ने कथा र ‘सबै बिर्सिएका अनुहारहरु’ । ‘सबै बिर्सिएका अनुहारहरु’ उपन्यास पनि राम्रै मानिन्छ, शैली पनि राम्रै छ त्यसबेला देशव्यापि कथा प्रतियोगिता भएको थियो । म त स्कूलमा मास्टर थिएँ, हेड मास्टर थिएँ, बिए पास भएको । त्यो बेला बिए पास गर्नु ठूलो सपना हुन्थ्यो मान्छेहरुको ।

म चाहिँ जाँच दियो कि पास भइहाल्ने । त्यो ‘फेरि आक्रमण’ कथा फस्ट भएपछि मलाई झापामा पुरस्कार दिने भनेर देशव्यापि साहित्य सम्मेलनमा केदारमान व्यथित आइपुग्नु भयो । व्यथितले ‘तिमी यसरी बस्ने होइन, तिमी गाउँमा बस्नु पर्दैन, म फोन गर्छु तिमीलाई । तिमी आइहाल काठमाडौँ ।’ उहाँले त्यसरी ल्याएर मलाई सबभन्दा पहिला साझा यातायातमा राखिदिनु भो । त्यहाँको प्रशासकीय अधिकृतमा । साझामा बस्दाबस्दै अनि मैले त्यो लोकसेवाको जाँच दिएर श्री ५ को सरकारमा म गएको हुँ ।

गाइड बुकहरु पनि थुप्रै लेख्नु भो हैन ?

ओहो मैले के लेखिनँ ? गाइड लेखेँ । अनेक लेखेँ । रत्न पुस्तकका किताबहरुमा धेरै काम गरेँ ।

कतिसम्म कमाई हुन्थ्यो त्यसबाट ?

मलाई काठमाडौँमा बस्न खान, मेरा चारचार जना छोरा छोरीहरुलाई पाल्न , हुर्काउन सबै त्यही पैसाले काम गर्यो नि ! बैदारको गाइडदेखि उपसचिवको गाइडसम्म मैले लेखेको त्यो बेलामा । रत्न पुस्तकले छाप्ने हो गाइडबुक जम्मै । सामान्य ज्ञान डाइजेस्ट पनि लेखेँ २०१८/२० सालसम्म । यसरी त मैले एकदमै मिहिनेत गर्न सक्दोरहेछु भन्नु पर्यो ।

उपसचिवसम्मको गाइड लेख्नु भो, तर तपाईं आफैँलाई सचिव हुन केले बाधा पार्यो ?

म सचिव हुन्थेँ होला । मलाई कस्तो पर्दियो भने, म उप–सचिव हुँदाहुँदै नापी विभागको डाइरेक्टर भएँ । सूचना विभागको डाइरेक्टर भएँ, धेरै राम्रो पोस्टहरुमा काम गरेँ । पछि मैले पढाएको मेरो विद्यार्थी प्रदीप नेपालले मलाई विराटनगर आएर तपाईं किन यहाँ बसेको ? म हुलाक सेवा विभागको डाइरेक्टर जनरल दिन्छु आउनुस् भन्यो । ऊ सन्चारमन्त्री थियो । म तपाईंलाई सहयोग गर्छु भन्यो । के भयो, भगवान् जानोस् म यहाँ आएपछि उसले मलाई भेट पनि दिएन । त्यस्तै भेट्दै नभेट्ने, कुरै नगर्ने गर्दागर्दा, पछि मलाई नि दिक्क लाग्यो । पेन्सन पाकिहाल्यो, ५२ वर्षको थिएँ म । सबैले सचिव हुन्छ भन्थे । सह–सचिव भएपछि सचिव हुन त सजिलो हुन्छ भन्थे । मैले राजिनामा लगेर दिएँ, राजिनामा स्वीकृत नगर्ने कुरा गरे मेरा साथीहरुले । त्यसो भएपछि मैले राजिनामा दिएर छोड्ने अनि बस्ने भनेर मैले यसो विचार गरेँ । अनि अब विराटनगर गएर बस्नु पर्यो भनेर जग्गा किनेँ, घर बनाएँ । अनि वाणी प्रकाशन नामको संस्था बनाएर चलाएर बसेँ । त्यसरी म विराटनगर १४ वर्ष बसेछु । १४ वर्ष बसेर वाणी प्रकाशन चलाएँ । वाणी प्रकाशनले के गरेन र ? १०० वटा भन्दा बढी किताब छाप्यो । लेखक कवि कति जन्मायो । साहित्यिक कार्यक्रम त्यत्तिकै । कहिले बाङ्गलादेश गइयो, कहिले आसम, सिक्किम, दार्जीलिङ सबै घुम्यौं । लेखक कवि लिएर जाने । अनि त्यसपछि मैले छोडें । मैले छोडेपछि थला पर्यो वाणी प्रकाशन पनि । पछि गएर म अलि बिरामी जस्तो पनि भएँ । अनि यसो विचार गरेर काठमाडौँ बस्नुपर्छ भनेर कान्छो छोराले पनि लिन आयो । अनि आएँ, विराटनगरको घर पनि भाडामा छ ।

तपाईं गंकी बसुन्धरा पुरस्कारमा पनि हुनुहुन्थ्यो हैन र ? त्यहाँ त्यति कम्फोर्टेबल नभएर राजिनामा दिनुभएको होइन ?

हो, ठूलो झगडा भो । गंकी बसुन्धरा पुरस्कार भन्ने धूँस्वा सायमिले राखेको । म त्यसमा अध्यक्ष थिएँ । अनि पहिलो पुरस्कार कल्लाई दिने भनेको त उपन्यासकारलाई दिने पुरस्कार थियो त्यो । उपन्यासकारलाई दिने हो भने शंकर कोइरालालाई दिउँ, बूढो पुरानो मान्छे । उल्लाई दिँदा राम्रो हुन्छ भन्दा तपाईंले भनेर हुन्छ ? तपाईँको पैसा हो ? भनेर मलाई त धुनधान हपारे । अनि कल्लाई दिने भन्दा ध्रुवचन्द्र गौतमलाई दिने । लौ तपाईँले ध्रुवचन्द्रलाई दिन तयार हुनुभएको रहेछ भनेर मैले त्यहिँ राजिनामा लेखेर दिएँ । पुरस्कारमा त मेरो जहाँ पनि झगडा पर्ने । गंकी बसुन्धरा पुरस्कार पनि त्यस्तै भयो, छिन्नलता पुरस्कार पनि त्यस्तै भयो ।

छिन्नलतामा के विवाद भयो ?

छिन्नलतामा उही त्रिपाठीसँग विवाद । त्रिपाठीले त्यसरी धोखा दिएपछि त्रिपाठी त अहिलेसम्म पनि अध्यक्ष छ नि त ! त्रिपाठीले मलाई किन धोखा दिएको भन्ने पनि थाहा पाएँ । ऊ त एकदम स्वार्थी नीच मान्छे रहेछ । अलिअलि भए पनि तान्न खोज्दो रहेछ पैसा । मैले पैसासैसा दिने कुरा आएन, आफूलाई दिन्छ भने ठिकै छ, ल्याउन त ल्यायो नि, प्रज्ञा सभामा ल्यायो । म त्यो प्रज्ञा सभा खानेवालै थिइनँ । किन चाहियो मलाई प्रज्ञा सभा, सदस्य सचिव भएर चलाउँछु भन्ने मनको तर्कना थियो । अब अहिले आनन्दै छ, खास केही छैन । मलाई साह्रै त्यसरी पैसाको लागि मरिमेट्नु पर्ने पनि छैन । किनभने मेरो आम्दानी नै धेरै छ । यहाँ र विराटनगरको गरेर महिनामा डेड लाख हुन्छ, खान बस्न छोराले दिइहाल्छ । अरु पैसाले ओखति गर्ने हो । मलाई खास केही चिन्ता छैन गोविन्दजी ।

तपाईं धेरै साहित्यिक संघसंस्थामा लाग्नु भो, पुरस्कार गुठीहरुमा बस्नु भो, तर साझा पुरस्कार, मदन पुरस्कार जस्ता पुरस्कार तपाईंको पोल्टामा किन आएन ?

मदन पुरस्कार कस्तो रहेछ भने कमलमणिको साह्रै चाकडी गर्नु पर्ने रहेछ । म साझा यातायातमा हुँदाखेरि बोर्ड डाइरेक्टरमा कमलमणि थियो । उसले तपाईं साह्रै राम्रो लेख्नुहुन्छ भन्ने, ऊ साझा प्रकाशनको अध्यक्ष पनि थियो । अनि किताबहरु छाप्ने सप्पै गर्थ्यो । अनि मैले मेरो किताब पनि राखेँ मदन पुरस्कारमा, नराखेको होइन । एक दिन मलाई कमलमणिले के भन्यो भने तपाईं त नेवार रहेछ, तपाईंलाई अलिकता अप्ठेरो पर्यो । म नेवार भएको भएर उसलाई पुरस्कार दिन अप्ठ्यारो भयो । अप्ठ्यारो पर्ने भए नदिनोस्, म केही गर्न सक्दिनँ । म जात फेर्न सक्तिन भनेँ । पछि फेरि थाहा पाएछ, रेग्मीको ज्वाईं भनेर ।

पुरस्कार त मैले के पाइनँ भन्नु । अलिअलि पाएको छु । पुरस्कारको लागि दौड्ने, मरिमेट्ने , सोर्स लाउने गरिएन । पोहोर सरकारले एक लाखको पुरस्कार दियो नि । राष्ट्रिय पुरस्कार । सरकारबाटै दिएको हो । मैले कहीँ भनेको थिइनँ । यस्तै विराटनगरबाट पनि एक लाखको पुरस्कार दियो । रिजाल पुरस्कार दियो । धेरै पुरस्कार नलिएको हैन, आउँछ । ठिकै छ । तर पुरस्कारको लागि पदको लागि कुदिहिंड्ने बानी मेरो छैन । खास कुरा त्यही हो ।

अनि सिद्धिचरण प्रतिष्ठानमा पनि तपाईं अध्यक्ष हुनुभयो । त्यसको अनुभव कस्तो रह्यो ?

सिद्धिचरण पुरस्कारमा पनि त्यस्तै । सिध्दिचरणको छोरा छ रविचरण भन्ने ! रविचरणले गरेको पुरस्कार भनौँ । ऊ पनि त्यस्तै । ऊ पनि खाली कस्ले पैसा दिन्छ कल्ले मद्दत गर्छ भनेर कुदिरहेको हुन्छ । हुँदाहुँदा सिद्धिचरणको छोरीले पुरस्कारको लागि भनेर दिएको पचास हजार रुपैयाँ मैले सम्हाल्न नपाउँदै रविचरण कुदेर आएर लिएर गयो । आर्थिक रुपले हेर्ने मान्छे रहेछ त्यो पनि । अहिले पनि त्यस्तै त्यस्तै मान्छे समात्छ । पुरस्कार दिन्छ मनपरिसँग । आजकाल खास त्यस्तो सम्बन्ध नै छैन ।

तपाईंले महाकवि देवकोटालाई भेट्ने मौका पाउनु भो ?

मैले भेट्ने मौका पाइनँ ।

अनि भिक्षु ?

ए, भिक्षु त भेटेँ । म एकेडेमी बस्दा भवानी भिक्षुसँग भेट भो । भवानी भिक्षु बस्दा उसको घर पनि पुरानो बानेश्वरमा । उसको यौटा कथा पनि थियो, सावित्रीको बाख्री भन्ने । सावित्रीलाई राखेको थियो उसले । एकेडेमीमा जागिर थियो उसको । भिक्षुसँग यही भेट हो तर देवकोटासँग भेट्ने मौका पाईँन ।

तपाईंको सबभन्दा उर्वर लेखन कहिले भयो भन्ने लाग्छ ?

मेरो उर्वर लेखन त म जागिर हुँदा लेखेँ नि ! जुन बेलामा भर्खर जागिर खाएँ, विदेशतिर गएर आएपछि आर्थिक रुपले अलि व्यवस्थित पनि भएँ । अनि त्यसपछि त लेखनमा सधैं लागेँ । लेखन त पेशै जस्तो भो । जागिर भन्दा लेखनमा बढी जोड गरेँ । मान्छेहरुले जागिर खान चाकडी गर्नुपर्ने रहेछ । लेखनलाई मेन पेशा बनाएर बसेँ । त्यस्तो भयो ।

अनि शंकर लामिछानेसँग कस्तो सम्पर्क थियो ?

शंकर लामिछानेसित धेरै राम्रो सम्पर्क थियो । शंकर लामिछानेकहाँ जाने आउने । उहाँ शंकर लामिछानेले पछि रत्नालाई बिहा गर्नु भो नि ! रत्नाले त हामीलाई भोजपुरमा पढाएको हो । त्यसले गर्दा शंकर लामिछानेसँग धेरै राम्रो सम्बन्ध भयो । शंकर लामिछानेले मलाई धेरै मायाँ पनि गरे । धेरै मायाँ गरे र हामी यताउति धेरै गर्ने । तर शंकर लामिछानेले पैसाको लागि चैं साह्रै दुःख पाए । पछि रत्नालाई छोडेर यौटा अर्को केटीलाई पनि विवाह गरे पाटनतिर बस्थ्यो बिहा गरेर । शंकर लामिछाने छिट्टै नै मरे नि । उमेर नपुगिकनै मरे । मेरो आउने जाने सम्बन्ध, कथाहरु लेख्ने सुनाउने, राम्रै सम्बन्ध थियो ।

अनि पारिजातसँग चाहिँ कस्तो सम्बन्ध थियो नि ?

पारिजातसँग शुरुमै एकदुई पल्ट भेट भएको थियो तर पारिजातले शुरुमै एकदमै यो कम्युनिष्ट विचारको कुराहरु गर्न लागिनँ । यहाँ गर्ने, त्यहाँ गर्ने । अनि राल्फा ग्रुपको कुरा गर्न थालिन् अनि म जान छाडेँ । वास्तवमा पारिजातसँग मेरो त्यति सम्बन्ध नै भएन । केही वास्तै भएन ।

‘आकाश विभाजित छ’ उपन्यासमा उहाँले पनि लेख्ने कुरा थियो रे हैन ?

उहाँले मान्नु भएन । ‘आकाश विभाजित छ’ मैले शुरु गरें । सहयोगी उपन्यासको रुपमा लेखौँ भनेर मैले शुरु गरेको हुँ । हुन त त्यहाँ संयोजकमा ध्रुव सापकोटाको नाम छ । मैले गराइदिएको हो । सबै लेखकले लेख्दालेख्दै अनि बरु पछि प्रेमा शाहले लेखिन् । अनि पारिजातले लेख्ने भन्दा ‘म लेख्दिनँ, मैले उहाँहरुको हेरें, म लेख्दिनँ ’ भनेर पारिजातले मान्नु भएन । बरु प्रेमा शाहले पछि लेख्नु भो । अनि त्यो किताब निस्क्यो ।

तपाईंले ‘घरहरु’, ‘सीताहरु’ श्रृङ्खलावद्ध कथाहरु लेख्नुभयो, त्यसको थालनीको विचार कहाँबाट आयो ?

यो विचार कसरी आयो भने मैले थाहा पाएँ कि यो मैले अमेरिकामा एउटी लेखिकाले ‘हाइपर नोवेल’ भन्ने लेख्दै रहिछन् । अङ्ग्रेजीमा । त्यो कस्तो हुँदो रहेछ भने, एउटै क्यारेक्टरलाई अघि बढाउँदै लगेर उपन्यास हुने । तर त्यसैलाई हरेक अलगअलग पढ्दा कथा । त्यसरी उसले हाइपर नोवेल लेख्दिरहिछन् । मैले त्यो थाहा पाएर मैले पनि सबैलाई मिलाएर लाँदा यो सीताहरु भन्ने छ नि, सबै सीताहरुलाई, त्यहाँ विभिन्न किसिमका सीताहरु छन् । तर त्यो सबैलाई एकै ठाउँमा हेर्दा त एउटै हुन्छ । आइमाईको रुपमा हेर्दाखेरि त । अलग अलग पढ्दा अलग अलग हुने । एकै ठाउँमा मिलाउँदा एकै हुने । यसरी ‘सीताहरु’ लेखें । ‘घर’ लेखेँ । त्यसलाई कथोपन्यास भनेर नाम दिएर नेपाली साहित्यमा कथोपन्यास भनेर मैले शुरु गरेको हुँ । कथाको ‘रचना गर्भ’ पनि मैले नै शुरु गरेको हुँ ।

‘रचना गर्भ’ को पनि किताब निकाल्नु भयो नि हैन ?

हो, कथाहरुसहित छ । कुन कथा कसरी लेखेँ, के गरेर लेखेँ, कसरी मलाई आयो भनेर मैले लेखेको छु । त्यो मेरो हो, तर कोही कोही मान्छेले मेरो हो भनेर झगडा पनि पर्यो यहाँ ।

कोसँग पर्यो झगडा ?

एक जना चितवनको प्रोफेसर रहेछ । मैले लेखेको कथा चोरेको भनेर आरोप लगायो नि ! मेरो कथा पहिल्यै छापिएको थियो समकालीन साहित्यमा त्यसैले पछि बोल्न पाएन । त्यस्तो त्यस्तो पनि पर्यो नि ! मान्छे अलि अगाडि बढ्न लागेपछि खुट्टा तान्ने प्रवृत्ति छ नि हाम्रो । खुट्टा तान्ने लक्षण त्यही हो ।

एकेडेमी साझा जस्ता सरकारी संस्थाले गर्ने साहित्यिक क्रियाकलाप र वाणी प्रकाशन, स्रष्टा समाज जस्ताले गर्ने साहित्यिक कृयाकलापमा के भिन्नता पाउनु हुन्छ ?

त्यो त निजी रुपमा गरेको हो । उहाँहरुले सरकारी पैसा चलाउनु हुन्छ । निजी क्षेत्रमा भने राम्रो कामको लागि सहयोग गर्नेहरु हुन्छन् । शेयर किन्न लाइन्छ, आजीवन सदस्य बनाइन्छ । त्यसकारण निजी संस्थामा राम्रो मान्छे पर्यो भने मज्जाले चलाउन सक्छ । स्रष्टा समाज भन्दा जेठो पूर्वाञ्चल साहित्य प्रतिष्ठान पनि छ । दधिराजजीले चलाइरहेका छन् । वाणी प्रकाशन त्यो अवस्था भो । यस्ता थुप्रै निजी संस्थाहरु छन् जो मिलेर सरकारी नभए पनि सबैको सहयोगले राम्रोसँग चलाउन सक्दछन् । मुख्यतः मान्छे इमान्दार हुनुपर्यो । त्यहाँबाट निकालेर पैसा खाने हैन कि आफ्नै पैसा हालेर भए पनि गर्ने मान्छे चाहिन्छ ।

अनि आजकाल लेख्नलाई कत्तिको उत्साह लाग्छ ?

एकदम कम । क्यारेक्टरहरु पनि एकदम कम छ । अस्तिमात्रै मधुपर्कमा यौटा ‘अनिद्राका साथीहरु’ भन्ने कथा लेखेको थिएँ । अहिले ‘धनियाँ’ भन्ने कथा सङ्ग्रहमा पनि केही नयाँ कथाहरु छ । त्यस्तै भयो, अब चैं अहिले लेख्नभन्दा पढ्न अध्ययन गर्न अलिकति मन लाग्छ । लेख्न कमै छ मेरो वास्तवमा ।

‘रात जो पग्लन्छ’ को किताबै निस्केन, वास्तवमा के भाको हो त्यो ?

‘रात जो पग्लन्छ’ भन्ने मैले उपन्यास लेखेको थिएँ । पहिले नै । काठमाण्डु बस्दाखेरि नै लेखेको उपन्यास हो त्यो । त्यो उपन्यास चैं यौटा साहित्यिक पत्रिकामा छाप्न दिएको थिएँ । २।३ अङ्क छापिएपछि त्यो उपन्यास म छपाउन लाइदिन्छु भनेर त्यो शङ्कर लामिछानेले नै हो, सहयोगी प्रकाशनमा लगेर दिएँ भन्थे । सहयोगी प्रकाशन तपाईंलाई थाहा छ नि,रमेश शर्माले चलाउँथे त्रिपुरेश्वरमा । उनको आफ्नै प्रेस थियो । धेरै राम्रो थियो नि त्यो । अनि पछि गएर त्यो किताव पनि आएन । छाप्दा पनि छापिएन । यसो बुझ्दाखेरि शङ्कर लामिछानेजीले अलिकति पैसा त्यो किताबको पैसा लिएर चलाइसकेका रहेछन् । त्यो कुरा भन्नु भएन ।

तपाईंले पैसा पाउनु भएन ?

पाइनँ । किताब पनि हरायो, पैसा पनि पाइनँ । त्यो सिद्धियो । दुर्भाग्य भन्नुपर्यो । त्यो अब के छ कस्तो छ, केही थाहा छैन । तपाईं पत्रिकामा छ भन्नुहुन्छ । केही थाहा पनि छैन ।

त्यसको कथावस्तुको सम्झना छ ?

त्यो एउटा “प्रस” को बारेमा लेखेको हो मैले । लेख्न त त्यत्ति हो काठमाडौंमा प्रस्टिच्युसनको बारेमा लेखेको हुँ । त्यत्ति थाहा छ । अरु के लेखें, कसरी लेखे, त्यो बेला योङ स्टेजमा लेखेको, अरु केही थाहा छैन ।

तपाईं विदेश घुम्नु भो, विदेशको पृष्ठभूमिको कथा लेख्नु भो, नियात्रा चाहिँ किन लेख्नु भएन ?

नियात्रा मलाई रुचि नभएर । त्यो सरर्र बयान गरेर लेख्नुपर्ने । त्यो यात्रा, नियात्रा त पछि आको हो कि क्या हो ! यात्रा संस्मरण लेख्न त्यत्ति रुचि नभएर नलेखेको । बरु त्यही बेलाको पात्र पात्राहरुलाई लिएर मैले कथा लेखें, उपन्यास लेख्न कोशिस गरें, नियात्रा मैले आजसम्म लेखेको छैन ।

अनि अहिले यो उमेरमा आएर जिन्दगीलाई फर्केर हेर्दा के गरेँ जस्तो लाग्छ तपाईंलाई?

यौटा साहित्यकारको हैसियतले मैले आफ्नो जिन्दगी सफल तुल्याएँ । जस्तै भए पनि नेपाली कथामा साहित्यमा कथाकारको सूचिमा म परेँ भन्नु पर्यो । त्यही नै हो ठूलो कुरा । नेपाली साहित्यलाई आफूले सकेको योगदान पनि दिएँ । यसरी चैं मैले आफ्नो जीवन सफल भएको अनुभव छ । जीवन प्रति मेरो कुनै पूर्वाग्रह छैन । मैले केही नचाहिँदो केही गरेँ भन्ने छैन ।

जिन्दगीमा कुनै गुनासो छैन ?

छैन, केही पनि छैन । म लडाईं गरेर आएको मान्छे हुँ, सङ्घर्ष गरेर आएको मान्छे हुँ । विद्रोह गरेर आएको मान्छे हुँ । मेरो त्यस्तो खास केही पनि छैन ।
भन्नाले सन्तुष्ट हुनुहुन्छ ?

ठिकै छ । केही छैन । आजकाल भगवानमा विश्वास लाग्छ र भाग्यमा विश्वास लाग्छ । मान्छेको भाग्य पनि चाहिँदो रहेछ, भगवानले पनि हेर्नु पर्दोरहेछ ।

भगवानमा विश्वास भएको के उमेरले गर्दा हो ?

उमेरले गर्दा पनि हो । पहिलेदेखिन् भगवान छ भन्ने लाग्छ नि एउटा । म भगवानमा विश्वास गर्छु । भगवानले जे गर्छ, ठीक गर्छ अनि भाग्यले पनि गर्छ । ‘भाग्यम् भवतु सर्वतम् न च विद्या न पौरखम्’ भन्ने उखानै छ नि । मैले भाग्यलाई नै बढी विश्वास गर्दछु । कस्ताकस्ता मान्छेहरु कहाँ पुगे, कस्ता कस्ता मान्छे कहाँ ओर्लेर गए । अहिले हेर्दा कस्ता कस्ता मान्छेहरु अहिले त मरे पनि भनौँ न अब । कस्ताकस्ता मान्छेहरु मरे । त्यो पनि भाग्यको कुरा रहेछ । को बाँच्ने, को मर्ने, कल्ले कति गर्ने, उमेरको कुरा पनि होइन रहेछ । यो सबै कुरा भाग्यमा नै भर पर्दो रहेछ ।