भारतको कालेबुङमा जन्मिएका छुदेन काविमो नेपालीभाषी आख्यानकार हुन् । उनको कथासङ्ग्रह १९८६ ले सन् २०१८ को युवा साहित्य अकादमी पुरस्कार पाएको छ । उनको पहिलो उपन्यास फातसुङ अङ्ग्रेजी, बाङ्ला, सिन्धी र हिन्दी भाषामा समेत अनूदित छ । नेपाल, भारत र बेलायतबाट प्रकाशित अङ्ग्रेजी संस्करण सङ अफ द स्वयल भारतको प्रतिष्ठित जेसिबी पुरस्कार २०२२ का लागि सर्टलिस्ट भएको थियो । प्रस्तुत छ, छुदेन काविमोसँग साहित्यपोस्टका लागि गरिएको संवादको सम्पादित अंशः

फातसुङमा गोर्खाल्यान्ड आन्दोलनको कथा लेख्नुभएको थियो । नेपालीभाषी भारतीय भएकाले नेपालीभाषी भारतीयको अस्तित्वको लडाइँको कथा तपाईंले लेख्न चाहनु स्वाभाविकै हो । उरमालमा भने चिया बगानको कथा लेख्नुभएको छ । यसको कथा लेख्नुपर्छ भन्ने किन लाग्यो ?

फातसुङ भारतेली नेपालीहरूले वर्षौंदेखि भोगिरहेको पीडाको कथा थियो । त्यो कथा लेख्दै गर्दा लाग्थ्यो, योभन्दा ठूलो मुद्दा अर्को केही छैन । तर त्यही कथा अनुवाद भएर जब अपरिचित दुनियामा पुग्यो, तब बल्ल अनुभव भयो, यस्ता दर्जनौं आन्दोलन देशमा चलिरहेका छन् । लेखनका निम्ति महत्त्वपूर्ण त आन्दोलनसँग जोडिएका सपना, तिनले गरिरहेको सङ्घर्ष, भोगिरहेको शोषण र वर्षौंदेखि छातीमा टाँसिएको संवेदना पो रहेछ, जसले एउटा दुनियालाई अर्को अपरिचित दुनियासँग सहजै जोडिदिने रहेछ ।

त्यस्तै नयाँ दुनिया खोज्ने क्रममै पाँच वर्षअघि म चिया बगान छिरेको थिएँ, जहाँ डेढ सय वर्षभन्दा अघिदेखि लाखौं मान्छेले सुन फल्ने सपनासँग चियाका बुटा स्याहार्दै आएका थिए । तर दुई शताब्दी पुग्न लाग्दा पनि शोषणबाहेक अरु केही पाउन सकेका थिएनन्, जहाँका श्रमिकको दुःखको फेहरिस्त अफ्रिकाको नाइल नदी जत्तिकै लामो थियो । तर आँखाले देख्ने सपना तोरीका दाना जस्ता स–साना थिए ।

चिया उमार्नेहरूको जीवनको त्यही दुःखको फेहरिस्त सुनेपछि मलाई पहिलो चोटि लाग्यो, कमानेहरूको दुनियामा खुशी कतै छैन । तर अभाव, अशान्ति र अनिश्चितता चारैतिर मडारिएको छ । आफ्नो सपनाधरि बन्धकी राखेर जिउने कमानेहरूको पैतालामा शोषणको काँडा बिझेको शताब्दी भइसक्दा नि किन दुनिया अनभिज्ञ छ ?

जुन चिया पिएर संसारका धेरै मान्छेले दिनको शुरूवात गर्छन्, त्यही चिया उमार्नेहरूको दिन चाहिँ किन कहिल्यै शुरू हुँदैन ? यिनै सवालले नै मलाई उरमाल लेख्न लगाएको हो ।

उरमालमा काम गर्नुभन्दा पहिले सिक्किममा बस्ने आदिवासीमाथि उपन्यास लेख्छु भन्नुभएको थियो । एक–दुई पटक त्यता जानु पनि भएको थियो क्यारे । त्यो विचार किन छाड्नुभयो ?

हो, मलाई दोस्रो उपन्यास लेख्न सिक्किमको जङ्गु जानु थियो, जसका निम्ति तयारी पनि गरिसकेको थिएँ । तर हिँड्नलाई जमर्को गरिरहेकै बेला टिस्टामा भयानक बाढी आइदियो, जसले गर्दा जङ्गु पुग्ने हरेक बाटा टुक्रिए । तर मलाई नयाँ उपन्यासको रिसर्च छिट्टै शुरू गर्नु थियो । त्यसैले म डुवर्स झरें । त्यहाँ म पहिलो चोटि अर्कै कथाका निम्ति पुगेको थिएँ । बालविवाहको कथा खोज्ने क्रममा जब डुवर्सको चियाबारीभित्र छिरें, तब त्यहाँ रहने आदिवासी र नेपालीहरूको अवस्था हेरेर विचलित बनें ।

चिया बगान बाहिरबाट हेर्दा जति सुन्दर छ, त्यसभित्रको जीवन उति नै कुरुप छ । अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा… भनेर गाउँदै हिँड्नेहरूको कल्पनामा चियाबारीको नक्सा जति सुन्दर र प्रेमिल छ नि, शताब्दीदेखि चियाको बुटामा अल्झिएको शोषणको कथा त्योभन्दा हजार गुणा धेर भयानक छ । त्यही भएर नि मैले चिया उमार्नेहरूको कथालाई पहिलो प्राथमिकता दिएको हुँ ।

मलाई जहिल्यै लागिरहन्छ, जीवनका कथा र नदीका पानी एकै हुन्, जसले आफ्नो बाटो जहिल्यै आफैं बनाउँदै हिँडिरहन्छन् । सायद चियाको कथाले पनि त्यही बाटो खोजिरहेथ्यो, जोसँग म पाँच वर्षदेखि लगातार बगिरहे । र नै यो उपन्यास लेखियो ।

फातसुङ छोटो–मीठो र सानो क्यानभासमा लेखिएको थियो । उरमाल मोटो छ, झनै गम्भीर छ । यसको क्यानभास पनि ठूलो छ, सन् १८५० को दशकदेखि अहिलेसम्मको कथा यहाँ लेखिएको छ । पात्र पनि धेरै छन् । र यो उपन्यास फातसुङभन्दा महत्त्वाकाङ्क्षी पनि छ । यो लेख्न कति गाह्रो भयो ?

उपन्यास लेख्नु भनेको नयाँ घर बनाउनु जस्तै हो । शुरूमा केही गाह्रो त पक्कै हुन्छ । तर त्यही कठिनाइबीच टुसाएको सपनाले तपाईंलाई चुपचाप बस्न दिँदैन; काम गर्नलाई प्रेरित गरिरहन्छ । त्यसैले जब उपन्यासको घडेरीबाट खम्बा जस्ता पात्रहरू बलियो गरी उठ्दै आइदिन्छन्, तब तपाईंलाई आफूले बनाउँदै गरेको कथाको घर नै बेहद रमाइलो लाग्न थालिहाल्छ ।

अझ नयाँ कथा लेख्नु भनेको नयाँ विषयबारे जान्न पाउनु पनि हो, जसका निम्ति रिसर्च गर्नुको मज्जा अर्कै हुन्छ । यस चोटिको रिसर्च अनुभव धेरै रमाइलो थियो । फातसुङले गर्दा मान्छेले मेरो लेखनीलाई धेरै विश्वास गर्न थालिसकेका थिए । त्यसैले डुवर्सका धेरैले मेरा निम्ति आफ्नो कामै छाडेर रिसर्चमा हिँड्न सघाए । हामी बिहान सात बजेदेखि आधा रातसम्म कथा खोज्दै हिँडिरहेका हुन्थ्यौं ।

आख्यान लेख्नेहरूले सबैभन्दा धेर गैरआख्यान पढ्नुपर्ने हुन्छ । किनकि जमिनी इतिहास नबुझी तपाईं कुनै पनि कथाको कल्पना गर्नै सक्नुहुन्न । यसैले यो कथा लेख्दै गर्दा भुटान, डुवर्स, कुचबिहार, सिक्किम र कालेबुङका इतिहासका किताब धेरैले उपलब्ध गराइदिए, जसले गर्दा पनि मलाई यो कथा भन्न सहज भयो । त्यही भएर होला, मैले पाँच साल हरेक बिहान केही न केही लेखिरहें । र नै यो उपन्यासको खाका तयार भयो ।

फातसुङ प्रकाशन भएपछि त्यसलाई पाठकले अत्यधिक मन पराए । यो उपन्यास बाङ्ला, हिन्दी, अङ्ग्रेजी र (भर्खर) सिन्धी भाषामा अनूदित भयो । अङ्ग्रेजी संस्करण नेपाललगायत भारत र लन्डनबाट पनि प्रकाशित भयो । अझ महत्त्वपूर्ण त भारतकै प्रतिष्ठित जेसिबी प्राइज फर लिटरेचरका लागि सर्टलिस्ट भयो, म्यान इन्टरनेसनल बुकर प्राइज विजेता गीताञ्जली श्रीसँगै । फातसुङको सफलताका कारण तपाईंमाथि पाठकको ‘एक्सपेक्टेसन’ बढेको छ । त्यसले उरमाल लेख्दा थप चुनौती थप्यो होला नि ?

फातसुङले मलाई धेरै थोक दियो ।

त्यो एउटा सानो किताब थियो, जसले मलाई ठूलो पहिचान दिलाइदियो । त्यही एउटा किताब थियो, जसले मलाई विश्वकै चर्चित जयपुर लिटरेचर फेस्टिभलदेखि नेपाल–भारतका प्रसिद्ध साहित्यिक उत्सवहरूतिर बोल्ने अवसर दियो । अझ अङ्ग्रेजी संस्करण जेसिबी पुरस्कारमा सर्टलिस्ट हुँदाको खुशी त अर्कै थियो । त्यहाँ सर्टलिस्ट हुने म पहिलो नेपाली लेखक मात्रै थिइनँ; अहिलेसम्मका सबैभन्दा कान्छो लेखक पनि थिएँ । जेसिबी पुरस्कारको घोषणाका बेला उर्दू लेखक रहमान अब्बासले भनिरहेका थिए,  “छुदेनको उमेरमा यहाँ आइपुग्नु नै चमत्कार हो ।” त्यो साल पुरस्कार जित्ने पुस्तकका अनुवादक बरान फारूकीले मेरो हात पक्रेर आशीर्वाद नै दिइरहेकी थिइन्,  “गड ब्लेस यू । जसले जिते नि तिम्रो लेखनीमा मेरो आशीर्वाद लागोस् । किनकि तिमी त मेरो छोराको उमेरको रहेछौ ।” सुनेर मभित्रको लेखक हिमाल झैं अग्लिएको थियो ।

बुकर विजेता गीताञ्जली श्रीसँग स्टेज सेयर गर्न पाउँदाको खुशी अलग थियो । पछि यही पुस्तकलाई उत्तरबङ्गाल विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा पनि राख्यो । यो एउटा यस्तो पुस्तक थियो, जसले मलाई आजसम्म पनि खुशी दिइरहेको छ । खासमा फातसुङले दिएको त्यही खुशीबीच लेखिएको दुःखको कथा नै उरमाल थियो ।

तर लेखन यात्राको कुरा गर्दा फातसुङ लेख्न सजिलो थियो । किनकि मसँग ठूलो सपना थिएन । “कतिले पढलान् र यो उपन्यास ? पाँच सय वा हजारले ? मेरो दिमागमा यति मात्रै थियो । तर उरमाल लेख्दा त्यही किताब पाँच भाषाको भइसकेको थियो । त्यसैले पनि मसँग चुनौती जस्तो केही त पक्कै थपिएको थियो । दिमागले एक किसिमको दबाब महसुस गरिरहेको थियो । पाठकको अपेक्षा पनि ह्वात्तै बढेको थियो । त्यही सोचेको थिएँ, पहिला ‘कन्टेन्ट’ बलियो चुन्छु । त्यसपछि सक्दो ‘रिसर्च’ गर्छु । अनि चित्त नपरेसम्म पुनर्लेखन गरिरहन्छु । मैले लामो समयसम्म त्यही काम गरिरहें ।

तपाईंको लेखनमा अचम्मको भाषिक मिठास पाइन्छ, जुन हामीले फातसुङमा महसुस गरेका थियौं । तपाईंका फुटकर रचनामा पनि हामी पाउँछौं, जुन उरमालमा पनि स्पष्ट महसुस गर्न सकिन्छ । त्यो भाषिक मिठास तपाईंको लेखनमा कसरी आयो होला झैं लाग्छ ?

शङ्कर लामिछानेले भनेका छन् नि— “एउटा लेखकको लेखन शैलीमा जीवनको भोगाइ र अनुभूति पनि मिसिएको हुन्छ ।” सायद त्यस्तै हो कि ?

एउटा समय थियो, जति बेला लेखकले कथा मात्रै भन्नु पनि महत्त्वपूर्ण हुन्थ्यो । तर अब त्यो समय रहेन । लेखकले कथा मात्रै भन्ने होइन, कथालाई कसरी भन्ने, त्योबारे पनि सोच्न जरूरी बनिसक्यो । त्यही भएर म लेखनशैली बनाउनमा सधैं मिहिनेत चाहिँ गरिरहेकै हुन्छु ।

हरेक लेखनको आफ्नै रिदम हुन्छ । हरेक चोटि लेखिसकेपछि म त्यही रिदम पक्रेर आफैंलाई घरी–घरी पढिरहन्छु । जहाँ रोकिन्छु, पटक–पटक पुनर्लेखन गरिरहन्छु । पाठक कतै अलमलिने पो हुन् कि ? मैले वर्णन गरेको कुरा बुझ्नलाई गाह्रो हुने पो हो कि ? मलाई सधैं चिन्ता लागिरहेकै हुन्छ । यस्तो बेला कसैले मेरो लेखन शैलीमा मिठास भेटे खुशी लागिहाल्छ । जसरी अहिले तपाईंले भन्दा लागिरहेछ ।

व्यक्तिगत रूपमा भन्नुपर्दा, फातसुङभन्दा उरमाल धेरै बलियो उपन्यास बनेको छ । भाषिक मिठास त भइहाल्यो, यसको स्कोप र एम्बिसनले मलाई कायल पारेको छ । र यसको औपन्यासिक फर्मले मेरो मन हरेको छ । उपन्यासका धेरैजसो अध्यायको अन्त्यमा एउटा पात्र ‘इन्ट्रोड्युज’ गरिएको छ र अर्को अध्यायमा त्यस पात्रको कथा भनिएको छ । लाग्छ, उपन्यास एउटा माला हो, जसमा विभिन्न कथारूपी थुङ्गा उनिएका छन् । यस्तो औपन्यासिक फर्ममार्फत कथा भन्छु भनेर तपाईंले शुरूबाटै लेख्न थाल्नुभएको थियो कि लेख्दालेख्दै यसरी लेख्छु भन्नेमा पुग्नुभएको हो ?

लेख्दा म कहिल्यै पनि कथाको ढाँचा वा स्वरूप तयार गरेर लेख्न बस्दिनँ । म कथालाई उसरी नै बग्न दिन चाहन्छु, जसरी पहाडी खोलाको पानी आफैं बाटो बनाउँदै बग्ने गर्छ । त्यही भएर यो उपन्यासको यात्रा पनि उस्तै रह्यो । त्यसैले होला, उपन्यासले चिया श्रमिकको कथासँगै आदिवासीहरूको जीवनको व्यथा पनि धेरथोर सुनाएर गएको छ ।

लेखिसकेपछि नै मलाई पनि अनुभव भएको हो, यो उपन्यासमा सोमारी र सकिलाको दोस्तीको कथा मात्रै होइन, ऐतमारी र नुरसाङको सपनाको कथा पनि मिसिएछ । चियाबारीमा शताब्दीदेखि भोगिरहेका महिलाहरूको पीडाको कथा मात्रै होइन, संसारमै सकिन लागेको टोटो र असुर जस्ता आदिवासीहरूको सङ्घर्षको कथा पनि मिसिएछ ।

खासमा मेरो लेखन तरिका अलि उल्टो छ । धेरैले कथाको शुरूमै अन्त्यबारे सोचेर किताब लेख्न थाल्दा रहेछन् । अर्थात् धेरै लेखकसँग म यस्तो किताब लेख्छु भन्ने योजना अघिबाटै हुँदो रहेछ । मसँग शुरूमा लेख्ने विषयबाहेक अर्को केही हुँदैन । त्यसैले म विषय पक्रिएर रिसर्च गर्छु र जे मन पर्यो, त्यहीँबाट कथा लेख्न शुरू गर्छु । लेख्दै गएपछि नै मैले लेख्ने कथाले आफ्नो आकार बनाउँदै जाने हो । यो उपन्यास पनि त्यसरी नै बनिएको हो ।

उपन्यासमा शीर्षक कथा रहेको जुन च्याप्टर छ, त्यो मैले निकै धेर मिहिनेत गरेर शुरूमै लेखेको थिएँ । किनकि म त्यस कथालाई पहिलो च्याप्टरमा राख्न चाहन्थें । तर बिस्तारै कथाले स्वरुप बदल्दै गयो । रिसर्च अझ गर्नुपर्ने भयो । शुरूमा राख्छु भनेको कथा उपन्यासको अन्तिम पन्नामा आइपुग्यो ।

त्यसैले उरमाल मैले यस्तै लेख्छु भनेर लेखेको उपन्यास होइन, लेख्दा–लेख्दै यस्तो बनेको उपन्यास चाहिँ पक्का हो ।

उपन्यासमा पात्र धेरै छन् । तिनीहरूका आफ्नै कथा–व्यथा छन्, जुन आफैंमा पूर्ण छन् । मलाई लाग्छ, पाठकले तिनका कथा पढ्दा मज्जा मान्नेछन् । तपाईंलाई कुन पात्रको कथा लेख्दा सबैभन्दा मज्जा आयो ?

उपन्यासमा पात्र अलि धेरै छन् । यसको खास कारण डुवर्सको बहुसांस्कृतिक परिवेश पनि हो । रिसर्चमा जानुअघि मलाई लागेको थियो, डुवर्समा केवल दुवै जातिको बाहुल्य छ, आदिवासी र नेपाली । किनकि मलाई चियाबारीभित्र रहने जम्मै आदिवासी एकै लाग्थे । तर रिसर्च गर्न थालेपछि बल्ल बुझें, त्यहाँ टोटो समुदाय पनि छ, जसको सङ्ख्या संसारमा १६ सय मात्रै छ; जो विलुप्त हुने अवस्थामा पुगिसकेको छ । अर्को असुर समुदाय छ, जो दुर्गापूजामा घरबाट बाहिर निस्किन पनि हिचकिचाउँछ । कोचे, मेचे, राभाहरू छन्, जसको इतिहास डुवर्सको माटोमा लेखिएको छ । डुक्पाहरू छन्, जो वनबस्तीमा सङ्घर्षरत छन् । डुवर्सको कथा लेख्दा यी समुदाय छुटे  उनीहरूका कथा कहिले अनि कहाँ लेखिएलान् र ? यही चिन्ताले पनि उपन्यासमा भित्रिएका पात्रहरूले आ–आफ्नै अनुहारसँग आ–आफ्नै सङ्घर्षका कथा सुनाएका छन् । त्यही भएर हरेक पात्रको कथासँग मेरो आफ्नै अलग सम्झना छ ।

जुरेन असुरकै कुरा गरौं न । उनको जीवनको त्यो कथा सुन्दा हामी रातभरि हाँसेका थियौं । जुरेनको खास नाम बुदुना असुर थियो । मैले उनको नाम सुन्नसाथ घिस खोलामा पाइने बुदुना माछा सम्झिएको थिएँ । त्यसैले मलाई उनको असली नाम नै किताबमा राख्न मन परेको थियो । तर उपन्यासको मूल पात्र जस्तो देखिने बुधुवासँग पाठक झुक्किएलान् कि भन्ने लागेर नाम बदलाइदिएँ । अर्को शिवराजको कुरा गरौं । त्यो पात्र मलाई निकै मनपरेको हो, जसको सोच्ने, बोल्ने तरिका देखेपछि नै मैले आग्रह गरेको थिएँ, उपन्यासको कथामा तपाईंकै नाम लेख्छु ल ? वास्तविक पात्रले हाँसी–हाँसी मेरो आग्रह स्वीकारेका थिए । दलबहादुरको कथामा केही पात्रको कथा मिसिएको छ । तर असली दलबहादुरले अहिले पनि घरी–घरी फोन गरेर मलाई सोधिरहन्छन्, “भाइ, हाम्रो किताब कहिले आउँछ हँ ? ढिलो भइसकेन र ?

उरमालको प्रकाशन हुनुपूर्व नै यसको अङ्ग्रेजी र बाङ्ला भाषामा अनुवाद शुरू भइसकेको छ । यस्तो त अन्तर्राष्ट्रिय रुपमा बेस्टसेलर लेखकका किताबमा मात्र हुन्छ । कस्तो लागेको छ ?

पहिले–पहिले नेपाली पाठक सोध्थे,  “नयाँ किताब कहिले आउँछ ? तर फातसुङ आएपछि अनेपाली पाठक वा अङ्ग्रेजी पढ्न रूचाउनेहरूले सोध्न थालेका थिए,  “अर्को उपन्यास कहिले अनुवाद हुन्छ ? कसैले यस्ता प्रश्न सोध्दा मलाई लेख्दै गरेको नयाँ उपन्यास नि अनुवाद होला नि भन्ने त लागेकै थियो । तर नेपाली किताबै नआई अनुवाद शुरू हुन्छ भनेर चाहिँ सोचेको थिइनँ ।

जेहोस्, लेख्दै गर्दा पनि म कहिलेकाहीँ अनुवादको कुरा सोचिरहेको हुन्थेछु । चिया त संसारका धेरैजसो मान्छेसँग जोडिएको कुरा हो नि, यसका कथाले त बाँकी दुनियालाई पनि छिट्टै छोलान् नि ? कहिलेकाहीँ आफैं ढुक्क पनि हुन्थें । तर मेरो ढुक्कको समय लामो रहँदैनथ्यो । कथाको नयाँ चिन्ता थपिँदै आइहाल्थ्यो ।

उपन्यासमा सकिलाको जीवनसँग जोडिएको एउटा कथा छ— “चरा जिन्दगी” । त्यो च्याप्टर लेख्दै गर्दा म एउटा लाइनमा पुगेर ठ्याक्क रोकिएको थिएँ— “चरी जस्ती देखिने सकिला हेर्दा–हेर्दै बिचरी भइन् ।”

मीठो सुनियो नि होइन ? तर मलाई पहिलो चोटि यही लाइनमा अल्झिँदा महसुस भएको थियो, “यो त नेपाली भाषाको मिठास हो नि ? अङ्ग्रेजीमा अनुवाद हुँदा यो लाइन कस्तो सुनिन्छ होला नि ? मलाई त्यो बेला अलिकति खुशी र अलिकति बेचैनी एकै चोटि लागेर आएको थियो ।

जेहोस्, किताबको अनुवाद शुरू भइसकेको छ । त्यो लाइन हेर्नै बाँकी छ ।

अँ, दुवै अनुवादक नयाँ किताबलाई लिएर म जत्तिकै उत्साहित छन् । उपन्यास पढेपछि अङ्ग्रेजी अनुवादकले सुनाएका थिए, “उपन्यासमा सादरी भाषाको टोन धेरै राम्रो आएको छ । तर मेरा लागि यो च्यालेन्जिङ पनि बनेको छ । त्यसलाई अङ्ग्रेजीमा कसरी उतार्नुपर्ने हो ? यसका निम्ति मैले नयाँ बाटो खोज्नुपर्ने रहेछ । नयाँ शैली बनाउनुपर्ने रहेछ ।”

सुनेर निकै खुशी लागेको थियो ।