ग्राण्ड महफिल, सिजन – २ को ‘शृङ्खला – १३’ मङ्सिर २५ गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठीक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय बिटु के.सी., राधा कणेल र राम अविरल विष्टले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।

गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ । यस ‘ग्राण्ड महफिल’को मिडिया पार्टनरका रूपमा साहित्यपोस्ट दैनिक (इ) पत्रिका रहेकाे छ ।

गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने छ जना गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, बिटु के.सी., राधा कणेल र राम अविरल विष्टसँग गरिएको संवादको सम्पादित अंश;

===

१. नेपाली साहित्यमा गजल लेखनले लामो सफर गरिसकेको छ । यो गजलको सफरमा आफ्नो सफरलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

बिटु के.सीः नेपाली गजल लेखनको इतिहास लामो भए पनि मेरो गजल लेखनको शुरुवात ६ वर्ष अघिदेखिको मात्र हो । यस अर्थमा भन्नु पर्दा म बामे सर्न खोज्दै छु । अहिले सिक्दै जाँदा, गजलभित्र हराउँदै जाँदा निकै रमाइरहेकी छु ।

राधा कणेलः मोतीराम भट्टबाट शुरु भएको नेपाली गजलको यात्रा विभिन्न आरोह–अवरोह पार गर्दै आजसम्म आइपुगेको हो । यसबीचमा नेपाली गजलमा निकै प्रयोग भए । बहस भए । अध्ययन र अनुसन्धान पनि भए । र, आज गजल प्राज्ञिक अध्ययनको विषय बनेको छ विश्वविद्यालय तहमा समेत । यही मेसोमा ५० को दशकको उत्तरार्द्धदेखि म गजल लेखनमा लागेँ । शुरुमा रहरले लेखिरहेँ पछि २०६० को शुरुमा अनाममण्डली स्थापना भएपछि संस्थापकका रूपमा म पनि सक्रिय भएँ । गजलको शास्त्रीयताबारे खोज, अध्ययन, अनुसन्धान र विमर्शमा समेत सहभागी हुँदै गर्दा गजलको मूल शास्त्रीयताबारे केही बुझ्न थालेँ । यसपछि म निरन्तर परिष्कृत र गुणात्मक गजल लेख्ने प्रयास गरिरहेकी छु । यद्यपि, सिकाइ कहिल्यै नटुंगिने कुरा रहेछ, सिक्ने र अभ्यास गर्ने क्रम निरन्तर छ । पछिल्लो समय बहर बहार पाठशालामा अभ्यास गरिरहेकी छु । त्यहाँबाट अग्रज र अनुजहरूबाट अनि समकालीन साथीहरूबाट पनि धेरै कुरा सिकेकी छु, जसले मलाई परिष्कृत हुन सहयोग गरिरहेको छ ।

गजलकै पुस्तकका रूपमा गजलकार घनेन्द्र ओझासँग संयुक्त रूपमा ‘बाटो अझै छ बाँकी’ २०६५ सालमा हाम्रो विवाहकै दिन सार्वजनिक गरेका छौँ । पछि बालगजल ‘माला कति राम्रो’ २०६९ सालमा प्रकाशन भएको छ । गजलका २ वटा एल्बमको तयारी छ । दार्जिलिङका संगीतकार जीवनप्रकश प्रधानको संगीतमा म, घनेन्द्र ओझा र रश्मि असफलका शब्दमा निशा देशार, शिव परियार, रजनी ऋदम राई, स्माइल दास र जीवनप्रकाश प्रधानकै स्वरमा ‘मतला’ तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा घनेन्द्रजी र मेरा शब्दमा ‘सागर’ एल्बमको तयारी छ । यी पृष्ठभूमि मैले मेरो नेपाली गजलमा संलग्नता र सक्रियता अनि अवस्थाबारे प्रस्ट पार्न उल्लेख गरेकी हुँ । बाँकी कुरा त म सिकारु हुँ, अध्ययन, अभ्यास र परिष्कार निरन्तर रहन्छ ।

राम अविरल विष्टः नेपाली गजलको सफरमा मैले ७० को दशकतिर जोडिने अवसर पाएको थिएँ । सानै उमेरमा राष्ट्रिय स्तरको माहोलसँग भिज्न पाएँ । यसले गर्दा पनि एक तहको गजल लेख्न सफल भएँ जस्तो लाग्छ । म चाहिं समुद्र एक थोपा पानी नै हुँला, नेपाली गजलको महासागरमा ।

२. नेपाली साहित्यको गजल–सफरमा ‘गजल महफिल’ (ग्राण्ड महफिल) को भूमिका र योगदान कस्तो पाउनु हुन्छ ?

बिटु के.सीः अत्यन्त राम्रो । एकातिर यो अवसर र स्थानले गजलकारहरूलाई ठूलो हौसला र प्रेरणा मिलेको छ । अर्कोतर्फ महफिलबाट खारिएका गजलकारहरूको श्रीवृद्धि नै नेपाली गजलको यात्राको सुनौलो इतिहास साबित भैरहेको छ, हुनेछ । मैले पनि यो अवसर पाएकोमा हर्षित छु । “गजल महफिल” प्रति आभार व्यक्त गर्दछु ।

राधा कणेलः नेपाली गजल अहिले विस्तृत, परिष्कृत र लोकप्रिय बन्दै गएको छ । यसमा महफिल लगायत उल्लिखित संस्था, समूहहरूको महत्त्वपूर्ण योगदान छ । महफिलले वर्षौंदेखि नेपाली गजलमा जे गरिरहेको छ, त्यसले नयाँ स्रष्टाहरूलाई खोजीखोजी प्रकाशमा ल्याउने काम गरेको छ । र यो काम निरन्तर गरिरहने विश्वास छ ।

राम अविरल विष्टः  शुरूवाती अवस्थामा महफिलमा गजल सुनाउँन पाउँनु ठुलै उपलब्धि जस्तो लाग्थ्यो । महफिलले लेखनी मात्र नभई पफर्समेन्समा सुधार ल्याउन पनि ठुलो मद्दत गर्ने गरेको छ जस्तो लाग्छ । नेपाली गजलमा महफिल आकर्षणको केन्द्र नै हो भन्दा हुन्छ ।

३. नेपालको परिप्रेक्ष्यमा, गजल के हो ? व्यक्तिगत रूपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?

बिटु के.सीः  गजल अरबी साहित्यबाट भित्रिएको काव्य विधा भए पनि नेपालको परिप्रेक्ष्यमा विविध विषयमा गजल लेखिंदै आएको छ । नेपाली गजलको आफ्नै मौलिकता छ । गजलका आफ्नै नियम र परिधि छन् । सोही अनुसार विचार, भाव, बिम्ब, कल्पना र प्रतीकको सम्पूर्ण सम्मिश्रणबाट सृजित लयात्मक लोकप्रिय काव्य विधा गजल हो । सङ्गीतको मिश्रणले गजलमा अझ मिठास थप्छ र सुन्दर बनाउँछ । साहित्यको गहिराइमा डुबुल्की लगाउन आनन्द लाग्छ । गजलले शब्द भाव , विचार र कल्पनाको माध्यमबाट गहिराइमा विलीन गराउँछ । यसो गर्दा मेरो अन्तरआत्मा खुब रमाउँछ । यसैले हो, गजलप्रति झन् झन् आकर्षित भएकी छु ।

राधा कणेलः गजल नेपाली माटोको होइन । यो अरब, फारस, उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा भित्रिएको हो । गजल शब्द नै फारसी हो । यस कारण यसका विधि र प्रविधि पनि उतैबाट आएका रहेछन् । हामीले त्यसमा केही परिमार्जनको प्रयास गरिरहेको म देख्छु । तर, तत्काल कुनै कुरामा परिवर्तन संभव नदेखिन सक्छ । लामो अध्ययन, अभ्यास र मन्थनको आवश्यकता छ जस्तो लाग्छ । गजल साहित्यको सुकोमल र हार्दिक विधा हो । यो विषय र प्रस्तुतिले कवितासँग र लयले गीतसँग नजिक छ । हृदय र मस्तिष्कमा एकै पटक झंकार छाड्ने विधाका रूपमा मैले गजललाई बुझेकी छु ।

म किन गजल नै लेख्छु भन्ने विषयमा छोटकरीमा भन्दा, गजलमा हुने कोमलता, मर्मस्पर्शी भाव, चमत्कारयुक्त शिल्प, प्रस्तुतिको भिन्न स्वाद, गेयता र छोटो, मीठो अनि सरल लेखनको लागि नै हो । जुन लेख्दा मलाई बडो आनन्द लाग्छ ।

राम अविरल विष्टः नेपाली परिवेशमा माया, प्रेम, समाजिक, राजनितीक लगायतका विषयवस्तुहरू सशक्त रूपमा उठान गर्ने बलियो माध्यम गजल बनेको छ । नेपाली समाजमा यो एक स्थापित विधा भइसकेकाे छ । म पनि केही कुरा सशक्त रूपमा भन्नका लागि गजल लेख्ने गर्छु जस्तो लाग्छ । यसको संरचना नै मेरा लागि प्रभावकारी छ ।

४. नेपाली साहित्यमा गजल विधामा सर्वाधिक विवादमा देखिन्छ । यसलाई तपाईँले नकार्न सक्नुहुन्छ, तर आफैं गजलकार भएका कारण वास्तविकता तपाईंलाई अझ मज्जाले थाहा छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?

बिटु के.सीः साहित्य मन्दिर हो । गजल प्रार्थना । मन्दिरका आफ्नै नियम हुन्छन् । मन्दिरको नियम कानूनमा खलल नपुर्‍याई आफ्नै तवरले प्रार्थना गर्ने भक्तजन र श्रद्धालुको विरोध गर्न मिल्छ ? मेरो प्रार्थना मात्रै ठीक, तेरो बेठीक भन्ने कुरा आफैंमा गलत हो । अनावश्यक परिचर्चाका लागि यो विरोध भइरहेको छ । मैले देखेको समाधान आत्ममूल्याङ्कन हो ।

राधा कणेलः मलाई नेपाली गजलमा विवाद छ जस्तै लाग्दैन । जेजति विवाद जस्तो देखिएको छ, त्यो भ्रम हो । त्यो त गजल परिष्कार र विस्तारका लागि भइरहेको बहस, मन्थन र छलफल मात्र हो भन्ने लाग्छ । त्यसमाथि २०७६ माघमा न्पाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय गजल महोत्सव, २०७६’मा नेपाली गजलका विद्वान्, समालोचक, अग्रज, समकालीन सबै बसेर नेपाली गजलको मार्ग देखाउने घोषणापत्र जारी गर्नुभएको छ । त्यसले गजलबारे प्रस्ट भनिसकेको छ । मैले बुझेको पनि त्यही हो । त्यस घोषणाको मर्मलाई आत्मसात् गर्ने हो भने विवाद, बहस केही गर्नै पर्दैन जस्तो लाग्छ किनभने नेपाली गजलका महत्त्वपूर्ण सबैजसो व्यक्तित्वको त्यसमा हस्ताक्षर छ ।

राम अविरल विष्टः गजल लेख्नेहरू विभिन्न पृष्ठभूमिबाट आउनुहुन्छ । त्यसकारण फरक विचार हुनु स्वभाविक नै हो । म चैं यसलाई सकारात्मक रूपमै लिन्छु । सबैले एउटै तरिकाले लेख्नुपर्छ भन्नै छैन । समाधानको उपाय भनेको एकले अर्कालाई स्वीकार्दै जानु नै हो । छलफल, विचार, विमर्श भइरहनु पर्यो । कार्यक्रम भइरहनु पर्यो । जसलाई जे लेख्न सुन्न मन छ उसलाई त्यसको स्वतन्त्रता हुनु पर्यो । विस्तारै सबै कुरा ठीक हुँदै जान्छ ।

५. पछिल्लो समयमा प्रविधिका माध्यमबाट गजल, कविता तथा समग्र साहित्यले नै आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको देखिन्छ । तपाईँले चाहिँ गजलमार्फत के कसरी यसको (समाजिक सञ्जाल, युट्युब, टिकटक) को प्रयोग गरिरहनुभएको छ ?

बिटु के.सीः सामाजिक सञ्जाल र युट्युबमार्फत बेला बेलामा मेरा गजलहरू प्रसारित भइरहेको छ । कुनै नयाँ सुन्दर ठाउँ र मनमोहक प्राकृतिक छ्टाहरूले धेरैको जस्तै मेरो पनि मन लोभ्याउँछ । त्यतिबेला प्रस्फुटित मेरा गजलहरूको भिडियो मैले आफ्नै युट्युब @bitukc9137 मा पोस्ट गर्ने गरेकी छु । मेरा गजल र गीतहरू सुन्न, हेर्न युट्युबमा bitu kc वा bitu kc Song टाइप गरेर सर्च गर्न सक्नुहुन्छ ।

राधा कणेलः अहिलेको युग नै सञ्चार र प्रविधिको युग बनेको छ । सञ्चार र प्रविधिको प्रयोगबिना मानिस चल्नै नसक्ने अवस्थामा पुगेको छ । स्वाभाविक रूपमै म पनि यसबाट प्रभावित छु । मसँग सामाजिक सञ्जालहरू छन् । फेसबुक र टिकटकमा म बढी सक्रिय रहन्छु तर सिर्जनशील हिसाबले । म सार्वजनिक निकायको सार्वजनिक पद धारण गरेको व्यक्ति पनि भएकाले मेरा समयका र अनुशासनका सीमा छन् । ती सीमाभित्र रहेर म मेरो सिर्जनशीलतालाई यीमार्फत पस्किरहेकी हुन्छु । तर, जति मात्रामा गर्न सक्थेँ, त्यो भने समय अभावका कारण गर्न सकेकी छैन ।

राम अविरल विष्टः सामाजिक सञ्जाल मध्येमा चै मैले शुरुवातमा बढी फेसबुककै प्रयोग गरेको हुँ । अहिले सञ्जालबाट अलि टाढै छु । बेला बेलमा ईन्स्टा, फेसबुक चैं हेरिरहन्छु ।