नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर काम गरिरहनुभएका लेखक कुमारी लामा महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय प्राध्यापनरत उपप्राध्यापक लामाका थुप्रै प्राज्ञिक लेख राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँका निबन्धसङ्ग्रहरू ‘उज्यालो अन्धकार’ (२०७१), ‘दर्ज्यु संलाप’ (२०८१) तथा ‘समालोचनात्मक कृति समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’ (२०७९) प्रकाशित छन् । लामा साहित्यका विविध विषयमा बहस सञ्चालन गर्ने आव्हान समूहका संस्थापक हुनुहुन्छ । साथै, महिला मुद्दा केन्द्रित पत्रिका ‘अस्मिता हाम्रो’का सम्पादक पनि हुनुहुन्छ ।
प्रस्तुत छ, साहित्यपोस्टकर्मी जनक कार्कीले कुमारी लामासँग नवीनतम् कृति `दर्ज्यु संलाप´मा केन्द्रित भएर विविध साहित्यिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः
===
यहाँको पछिललो निबन्धसङग्रह ‘दर्ज्यु संलाप’ भर्खरै प्रकाशित भएको छ । यस सङग्रहबाट पाठकले पाउने कुरा के के होलान् ?
‘दर्ज्यु संलाप’मा पाठकहरूले नेपाली समाजमा विद्यमान् विभिन्न सामाजिक विषयहरू भेट्न सक्नुहोला । तथापि बजारमा गइसकेको कृतिको विश्लेषण या बुझाइ पाठककै जिम्मा हो । यति भनिंरहदा फेरि अर्को पाटोतिर पनि मनन गरौँ – कुनै पनि कृतिको मर्म र पाठकको खोजाइ/रोजाइ तथा ग्रहणशीलता एकअर्कामा ठ्याक्कै मिल्छ भन्न पनि सकिन्न । कहिलोकाहीँ लेखकको ध्याउन्न र पाठकको अभिरूचि बीच तालमेल कायम नहुन सक्छ । त्यसो हुनुमा धेरै कुराले असर पारेको हुनसक्छ । जस्तो कि लेखक या पाठकको सामाजिक, आर्थिक या अन्य पर्यावरण, पारिस्थिति, अवस्था आदि ।
तथापि समाज र समकालीन मुद्धाप्रति सचेत पाठकले भने मेरो निबन्धसङ्ग्रहमा हामी वरपर विद्यमान् सीमान्तीय पात्रहरूका जीवन, भोगाइ, दृष्टिकोण, या शक्तिकेन्द्रसँगको आम मान्छेको द्वन्दात्मक अवस्थादेखि दुर्दान्त अवस्थाका बाबजुद पनि अस्तित्व वकालतमा लागिरहेका भुँइजीवनका साहसिक यात्रा र चोटिला विषयहरू पनि खुट्याउन सक्नु हुन्छ ।
यस सङ्ग्रहमा ‘खोकेकामीटारः एक बाडुली’ निबन्ध छ जसमा यहाँले विकाससँगै गाउँ हराएको, गाउँको अनुहार, संस्कृति, रहनसहन, परिवेश नै फेरिएको कुरा उप्काउनुभएको छ । धेरै ठाउँमा काव्यिक मिठास पनि छ । डोजरलाई धेरै लेखकले गाउँको दुश्मनको विम्बको रूपमा प्रस्तुत गर्छन् । विकाससँगै गाउँलाई जीवित राख्न के गनुपर्छ जस्तो लाग्छ ?
यहाँले सही विश्लेषण गर्नु भयो । ‘खोकेकामीटारः एक बाडुली’ निबन्ध मेरो बाल्यकालीन स्मृतिमा रहेको खोकेकामीटारदेखि आजसम्मको उसको कायानतरणको कथा हो । यसो भनुम् – यो चेहरा फेरिएको मेरो गाउँको व्यथा हो । साथमा फेरिंदै गएको नेपालका धेरै गाउँहरूको मार्मिक यथार्थ पनि हो । डोजरलाई दुश्मन नै त नभनौँ तर यो आजको जटिल यथार्थसँग जोडिएको विम्ब हो । आजकल विकासलाई डोजरदेखि डोजरसम्म देख्न थालिएको छ । मेरो दिमागमा सधैँ उठिरहने प्रश्न भनेको, के विकास भन्नु बाटोदेखि बाटोसम्म मात्र हो ? गाउँका वनपाखा सबै मासेर ल्याएको विकासले हामीलाई कता पुर्याउँला ?
हामीले असोज १२ गतेको बाढी पहिरोको वितण्डा देख्यौँ । त्यस प्राकृतिक प्रकोपले अधिकत बाटोघाटोलाई नै असर पार्यो । यात्रारत मानिसहरूको ज्यान गयो । धेरैले बडा सास्ती बेहोरे । राजधानी काठमाडौँका विभिन्न ठाउँमा पुर्याएको क्षति बेहोर्यौँ। खासमा यस्तो किन भयो ? आजकल म यस्ता विषयप्रति सोच्ने गर्छु । हामीलाई बाटो पनि चाहिन्छ । विकास र सम्वृद्धि पनि जरुरी छ । तर हामीले कोरेको विकासको धर्साले हामीलाई नै नजकडोस् । त्यत्ति हो हामीले बुझ्नु पर्ने ।
विकास र पर्यावरण संरक्षणको सन्तुलन कायम गर्न जरुरी छ । प्रकृतिलाई जीवनको अभिन्न पाटोको रूपमा मान्ने प्रत्येक गाउँबस्ती र रैथानेपनाको संरक्षणमा उत्तिकै सचेत भएर विकासको खाका बनाउन सके सन्तुलित तवरमा जीवन अघि बढ्छ कि जस्तो लाग्छ ।
दर्ज्यु संलापभित्रको ‘हरियो पर्दा’ नामक निबन्ध पढ्दा कथा पढे जस्तो पनि लाग्यो । यसमा एउटा मजदुरको जीवन उजागर भएको छ । मृत्यु चिन्तन, सङ्घर्ष लगायतलाई मिहीन र कलात्मक ढंगमा प्रस्तुत गरिएको छ । मृत्यु पनि वर्गीय हुन्छ भन्ने विषय यहाँको पहिलो निबन्धसङ्ग्रमा पनि आएको छ । तपाईँको जीवन भोगाइ, अध्ययन र अनुभवले मृत्युलाई कसरी चिन्तन गरिरहनुभएको छ ?
मृत्यु एक साश्वत सत्य हो । यस लोकमा जन्मने हरेक प्राणीले एकदिन मृत्युवरण गर्नैपर्छ । तथापि मानिसहरूभित्र मौलाएको महत्त्वकांक्षा र होडबाजीका अनेक स्वरूप देख्दा लाग्छ, उनीहरू सदाकाल यस संसारमा रहनेछन् । यस्तै विषयमाथि म सोच्ने गर्छु । वास्तवमा मृत्यु सोच्नु भनेको जीवन सोच्नु नै हो । मृत्यु अश्वम्भावि छ भन्ने सचेतनताले मलाई आफ्नो धरातलमा अडिरहन मद्दत गर्दछ । मैले केही अत्यन्त निकट पारिवारिक सदस्यको मृत्युको सामना गरेको कारण मलाई जीवनसँगै हरपल हिंडिरहने मृत्युबारे सोच्न सहज भएको छ ।
कतिपय समुदायमा मृत्युका तयारीहरू पनि हुन्छन् । मैले केही समय अघि पढेको सोग्याल रिम्पोचेको पुस्तक `दी टिबेटियन बुक अफ लिभिङ एण्ड डाइङ´ले मलाई निकै प्रभाव पारेको थियो । त्यसमा जीवन र मृत्युको विषयमा अत्यन्त महत्त्वपूर्ण कुरा खोतलिएको छ । रिम्पोछे प्रश्न गर्छन्, किन मृत्यु र स्वतन्त्रताको अभ्यास गर्न यति गाह्रो हुन्छ ? किन हामी मृत्युको सामना गर्न यति डराउछौँ ? लगत्तै उनी सन्त मिलारेपाको भनाई स्मरण गर्छन्; हामी जति त्यस डरको सामना गर्नबाट भाग्दछौँ, त्यो त्यत्ति नै भयानक बन्दै जान्छ ।
म एकातिर मृत्युको उदाङ्गो सत्यबारे सतर्क हुन्छु भने अर्कोतिर एक व्यक्तिको मृत्युसँग जोडिएका अनेकन जटिल पक्षबारे पनि सोच्ने गर्छु । कामै नलाग्ने ठानिएको मानिसको मृत्युपछि पनि उसको परिवारको सदस्यले बेहोर्ने मानसिक ऊहापोह खासमा निकै जटिल हुने गर्दछ । ‘हरियो पर्दा’ यस्तै घटनाक्रमको सेरोफेरो घुमेको छ जसमा मृत्युबारे मेरो बुझाइका केही झिल्का पनि आएको हुनसक्छ ।
शीर्षनिबन्ध ‘दर्ज्यु संलाप’लाई तामाङ समुदायको विम्बको रूपमा प्रस्तुत गर्दै यस समुदायमाथि विगतमा भएका विभेद, बहिष्करण र दमनबारे लेख्नुभएको छ । साथमा वर्तमान पुस्ताका लेखक जसले यस समुदायको विषय उजागर गरिरहेका छन्, उनीहरूलाई पनि सम्मानसाथ प्रस्तुत गर्नुभएको छ । यहाँको विचारमा तामाङ समुदायका विषयमा जे जति लेखिंदै छन्, ती पर्याप्त छन् ? अबको समयमा त्यस समुदायकको के कस्ता विषय उजागर हुन आवश्यक होला ?
तामाङ समुदायका मुद्दाहरू बल्ल त साहित्यमा लेखिन थालिंदै छन्, कहाँ पर्याप्त हुनु ! केही स्वदेशी केही विदेशी मानवशास्त्रीको अनुशन्धानको विषयमा तामाङ समुदाय परे तापनि नेपाली साहित्यिक लेखनीमा भने लेख्नुपर्ने विषय अथाह छन् । खास गरी सीमान्तीकरणमा परेका जाति, समुदाय, क्षेत्र, वर्ग आदिका विषयमा लेख्ने काम शुरु भएको कति नै भयो र ! दोस्रो जनआन्दोलनपश्चात, साठीको दशकबाट न हो सीमान्तकृति समुदायको मुद्दाले सडकदेखि सदनसम्म, साहित्यिक छलफलदेखि लेखनीसम्म ठाउँ पाउन थालेको । विभिन्न समुदायको पहिचानको सवाललाई अझ गहन र विस्तारित तवरमा बाहिर ल्याउन बाँकी नै छ ।
शुरुवात मात्र भएकाले लेखिनु पर्ने विषय धेरै छन् । त्यसमा पनि समुदायको अस्तित्व या पहिचानसँग ठाडो सरोकार राख्ने जीवन चिन्तनप्रणाली, संस्कृतिका विविध पाटाहरू, रैथाने ज्ञान प्रणाली, सौन्दर्य चेतनाका आयामहरू लगायत लेख्नु आवश्यक छ । यी विषयहरूको आवश्यकताको गाम्भीरतालाई बुझ्न इतिहासमा तामाङ समुदायमाथि भएका दमन, अन्याय र राज्यपक्षको अर्घेल्याइको विषयमा पनि उत्खनन् उत्तिकै जरुरी हुन्छ जस्तो लाग्छ । किनकि कुनै व्यक्ति या समुदायको वैचारिकी या अवस्थापरिस्थिति निर्माण सापेक्षित हुन्छ । तामाङ समुदायको आजको सामाजिक आर्थिक, शैक्षिक, राजनीतिक अवस्था बुझ्न इतिहासको पुनर्विश्लेषण अत्यन्त आवश्यक छ ।
त्यसो हो भने इतिहासको उत्खननसँगै जरातिरको यात्राको कुरा हो ? जरातिर फर्कन प्रेरित के कुराले गर्यो ?
हजुर । जब हामी इतिहासका पानाहरू पल्टाउछौँ त्यहाँ केवल निश्चित वर्ग या समुदायको मात्र इतिहास टंङ्कन भएको पाउँछौँ । यो देशका बडा बडा इमारत, दरबार, या राजमार्ग सबै शासक या शक्तिशाली व्यक्तिको नाममा मात्र छन् । तर तपाईँले कतै देख्नु भएको छ, कुनै श्रमिकको नाममा बनेको दरबार या राजमार्ग ? रगत, पसिना, मेहनत परेका हजारौँ श्रमजीविहरू सधैँ बाहेक हुन्छन् । किन ? यही प्रश्नको जवाफको निम्ति पनि हामीले इतिहासतिर फर्कनु जरुरी छ । नयाँ व्याख्या विश्लेषण र पुर्नलेखन गर्न आवश्यक छ ।
जब म तामाङ समुदायको विगतदेखि वर्तमानसम्मको अवस्थातिर घोत्लिन थालें, मलाई झन् ज्यादा आम जनताको, भूइँ मानिसको कुरा लेखिनुपर्छ भन्ने लाग्न थाल्यो । हाम्रो समुदायको विषयमा बोल्न या लेख्नलाई पनि हामीले आफ्नो थातथलो, पुर्खा, संस्कृति, जीवन आदिसँग साक्षात्कार हुन आवश्यक छ । जरातिरको फर्काइका निम्ति मेरा पछिल्ला वैचारिक संसर्गहरू, आफू र समुदायप्रतिको जिम्मेवारी बोध, आफ्नो जातीय धरातलका विषयमा जान्ने आकांक्षा लगायतले झक्झक्याएको जस्तो लाग्छ ।
तपाईंका कतिपय निबन्धहरू अनुसन्धानात्मक छन् भन्ने कुरा पनि लोकार्पणमा टिप्पणीकारहरूले उठाउनुभएको थियो । यस्ता निबन्धका लागि यहाँले समय, स्रोत आदिको समायोजन कसरी गर्नुहुन्छ ?
लेख्नु मेरो नित्तान्त व्यक्तिगत चाह भएकाले आवश्यक स्रोतसाधन या समयको व्यवस्थापनका निम्ति म तयार हुनैपर्छ । विशेष गरी अनुसन्धानात्मक निबन्धका लागि चाहिने भनेको सन्दर्भ सामग्रीका लागि पुस्तक र अध्ययनका लागि समय । रुचिका कारण हुनसक्छ, मैले व्यवस्थापन गरिरहेकै छु । खासमा म अन्य प्राज्ञिक कार्यका लागि पनि पुस्तक किनिरहने भएकाले त्यत्ति अप्ठ्यारो छैन । समयलाई तानतुन पार्नु पनि आफ्नै हातमा छ । निश्चय नै केही गफगाफ, भेटघाट अथवा सामाजिक सञ्जालिय समयमा भने सम्झौता गर्नुपर्ने हुनसक्छ ।
साहित्यका अनेकन विधा छन् । तपाईँको भने निबन्धमा नै झुकाव कसरी भयो ?
मलाई निश्चित दायराभित्र रहेर लेख्न सकस महसुस हुन्छ । फुक्काफाल आफ्ना विचार अभिव्यक्त गर्न सक्ने विधा भएका कारण निबन्धप्रति नै मेरो लगाव बढेको हो । यसो भन्दै गर्दा फेरि निबन्धमा जे मन लाग्यो त्यही लेख्ने भन्ने पक्कै होइन । निबन्धका सम्बन्धमा केही मान्यताहरू छन् जो मननयोग्य नै लाग्छन् । जस्तो कि, निबन्धले विचारको सम्प्रेषण गर्नुपर्छ भन्ने कुरालाई म स्वीकार्छु । प्रस्तुति, शैली या अभिव्यक्तिका जुन कुनै तरिका निबन्धकारले अप्नाए पनि भयो तर उठान गरेको विषयप्रतिको तर्कपूर्ण र वैचारिक प्रस्तुति भने जरुर आउनु पर्छ ।
तथापि लेखकले पाठकलाई आफ्नो विचारको भारी मात्र बोकाउने काम पनि ठिक हुन्न । त्यसैले निबन्धभित्र पनि अनेक हाँगाहरू फस्टाएका छन् । यात्राका लय, संस्मरणका अनेक पाटा, कथात्मकताको मिठास र आत्ममन्थनको गहिराइ छोएका निबन्धहरू पाइन्छन् । म भने पात्रमार्फत विषय या मुद्दाको उठानलाई बढी जोड दिन्छु ।
नेपाली साहित्यमा निबन्धको वर्तमान् अवस्था भने कस्तो देख्नुहुन्छ ?
केही वर्षयताको परिदृश्यले निबन्धको अवस्था उत्साहजनक ढंगमा अघि बढेको प्रतीत हुन्छ । पछिल्ला केही वर्षमा निबन्ध प्रकाशनले विशेष गति लिएको छ । अलि अघिसम्म फाट्फुट मात्र निबन्ध प्रकाशित भइरहेका थिए । भलै नियात्रा या यात्रासंस्मरणका कृतिहरू भने निरन्तर आइरहेकै हुन् । पछिल्लो समय प्रकाशित रोशन शेरचन, मोमिला, उषा हमाल, ज्ञानु पाण्डे, ज्ञानु अधिकारी, मुकुन्द राज शर्मा लगायतका निबन्धकृतिले चहलपहल पैदा गरेको थियो भने डा. नवराज के.सी.को सिर्जनात्मक गैरआख्यान होस् या मोहन मैनाली, प्रकाश गुरागाईँका अनुसनधानात्मक कृति सबै सर्वप्रिय छन् । यस परिस्थिति नियाल्दा आजको नेपाली साहित्यमा निबन्धको आशालाग्दो अवस्था पाउँछु ।
लेख्नका लागि परम्परावादी विचार खाली हुन पनि जरुरी छ अनि त्यसमा नयाँ दृष्टिकोण भरिन पनि । एउटा लेखकले नवीन विचार, दृष्टिकोण र चेतना जागृत पारिराख्न के कस्तो अभ्यास गर्नुपर्ने हुन्छ ?
सबै पारम्पारिक विचार घातक छन् त्यसकारण रित्याउनै पर्छ भन्ने त नहोला । अनि समकालीन, आधुनिक या उत्तराआधुनिक भनिने वैचारिकी पूर्णतः असल छन् भन्ने पनि छैन । एक स्वस्थ समाजको निम्ति परम्परगत मान्यता र आधुनिक विचारको समुचित सन्तुलन आवश्यक हुन्छ भन्ने लाग्छ ।
कुनै पनि व्यक्ति या समाजको विचार/दृष्टिकोण समय अनुरूप परिवर्तन हुनुपर्छ । हिजोका ठीकठाक विचार र संरचनाहरू आज काम नलाग्ने गरी थोत्रिइसकेका छन् । हामीले परिवर्तित समय अनुरूप बद्लिंदै जान र समाज रूपान्तरणका नवीन गोरेटाहरू छिचोलन आवश्यक हुन्छ । समयको गति अनुसार अघि बढ्न नचाहनेले यथास्थितिवादलाई मलजल गर्दछ । त्यसकारण एउटा लेखक समयसँगको संवादमा सधैँ चनाखो रहनुपर्छ । जो परिवर्तनको बाधक नभई संवाहक बन्न सक्छन् । खासमा उच्चकोटीका विचारक या लेखकलाई द्रष्टाको रूपमा लिइन्छ । उसले केवल आजको समाजलाई मात्र नभई आगामी समयलाई पनि सुहाउँदो विचार प्रस्तुत गर्न सक्छ । त्यसैले एक लेखकले आत्मसात् गर्ने अग्रगामी वैचारिकीले नै उसलाई सामयिक चेतनासँग जोडिरहन्छ ।
यहाँका निबन्धहरूले प्रशंसा प्रशस्त पाएका छन् । तपाईँ आफैं एक समालोचक पनि भएकाले आफ्नो लेखनबारे यहाँको आलोचनात्मक दृष्टिकोण कस्तो छ ?
वास्तवमा म पाठकहरूकै सिर्जनात्मक प्रतिक्रयाको आशा गर्छु । तथापि यहाँले सोध्नु भइहाल्यो, अब आफ्नै लेखनबारे भन्नुपर्दा, लेख्नु पर्ने धेरै विषय यस पुस्तकले समेट्न नसकेको महसुस भएको छ । बाँकी बक्यौता जो मस्तिष्कमा डेरा बनाइबसेका छन् ती विषयहरू आगामी पुस्तकमा लेख्ने छु ।
अन्त्यमा आफूलाई भन्न मन लागेको केही छ भने भन्नुस् न !
तपाईंसँगको भलाकुसारी विशेष रह्यो । यो समय र मौकाको निम्ति तपाईँ र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद । मेरो दोस्रो निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ हालसालै बजारमा आएको छ । म पाठकहरूको प्रतिक्रियाको पर्खाइमा छु । साथमा यहाँहरूको सुखद पठनको पनि कामना गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।