जीवनसाथी ऋचाले उपन्यासको नाम ‘बावऋ’ सुझाएकी थिइन् । तर उपन्यास प्रकाशित नहुँदै उनले ऋचालाई गुमाए । किताबमा उनले ऋचाका लागि आभार लेख्न पर्याप्त शब्दहरू भेटेनन् । 

===

आख्यानकार मिलन सङ्ग्रौला तेह्रथुमको आठराईमा जन्मिएका हुन् । उनले आफ्नो बाल्यकाल आठराईमै बिताए । कक्षा ८ को अध्ययन पूरा गरेपछि उनी झापाको बिर्तामोड सरे । स्नातकसम्मको शिक्षा बिर्तामोडमा सम्पन्न गरेका उनले स्नातकोत्तर भने काठमाडौंबाट सकेका हुन् । अहिले उनी कञ्चनजङ्घा कलेजमा कम्प्युटर विज्ञान पढाउने गर्छन् । उनको पहिलो कृति ‘च्याट गर्ल -२०७०’ रहेको छ । त्यसैगरी उनले पर्पला उपन्यास २०७३ मा प्रकाशन गरेका थिए । अहिले उनले नयाँ उपन्यास ‘बावऋ’ फाइनप्रिन्टबाट ल्याएका छन् ।

आख्यानको रस

सानैबाट उनको रुचि आख्यानतिर रहेको थियो । उनको घरमा पनि साहित्यिक माहौल थियो । उनका बुवा राजेन्द्र सङ्ग्रौलाका ६ वटा उपन्यास प्रकाशित छन् । बाल्यकालमा राम्रो अक्षर लेख्नमा दक्ष मिलनलाई उनका बुवाद्वारा आफ्ना कृतिहरूको साफी गर्न लगाइन्थ्यो । त्यतिबेला कम्प्युटरको सुविधा नभएका कारण पाण्डुलिपि साफी गरेर तयार पार्नु पर्थ्यो । यस क्रममा उपन्यासका पात्रहरूसँग घुलमिल हुने मौका उनलाई मिल्थ्यो । उनी बुवाले दिएको जिम्मेवारी सकेर पात्रहरूसँग बेग्लै दुनियाँमा हराउने गर्थे । या भनौँ उनको मस्तिष्कमा एउटा बेग्लै काल्पनिक दुनियाँ निर्माण हुन्थ्यो । बुवाले ल्याउने उपन्यास र साहित्यिक कृतिहरू अध्ययन गर्न उनी विशेष रुचि राख्ने गर्थे ।

उनलाई पहिलो पटक प्रभावित पार्ने किताब ‘रातो चम्किलो तारा’ रहेको उनी बताउँछन् । नेपालीमा अनुवाद गरिएको यो चिनिया उपन्यास तत्कालीन समयमा निकै चर्चित थियो । तत्कालीन सरकारका संयन्त्रले आफूसँग वामपन्थी धाराका किताब भेटे समस्या हुन सक्थ्यो । त्यसैले लुकाएर पढ्नुपर्ने वातावरण थियो । उपन्यास भित्रको आफ्नै उमेरको पात्रले गरेको सङ्घर्षले आफूलाई गहिरो रूपमा प्रभावित पारेको उनले सुनाए । यसरी विभिन्न तरिकाले आख्यानसँग नजिकिएका मिलनभित्र नजानिँदो पाराले आख्यानको रस भरिँदै गइरहेको बुझ्न सकिन्छ ।

पहिलो कथा

झापा आइसकेपछि पनि बुवाले लेखेका उपन्यासहरूलाई कम्प्युटराइज गर्ने काम उनकै जिम्मामा आइपुग्यो । यसरी उनका बुवाले थप ४ पुस्तक प्रकाशन गरे । सानैबाट कथाहरू कल्पने मिलन पनि आख्यानको संसारमा प्रवेश गर्न थाले ।

एसएलसीपछिको खाली समयमा बुवाको उपन्यास साफी गर्ने, पुस्तकहरू पढ्ने उनको दिनचर्या थियो । सोही समयमा उनले सरुभक्तको ‘पागल बस्ती’ कृष्ण धारावासीको ‘राधा’ मदनमणि दीक्षितको ‘माधवी’ आदि पुस्तकहरू पढे । धेरैले अप्ठ्यारो र क्लिष्ट बताउने पुस्तक आफूले आँट गरेर पढेको उनी बताउँछन् । शब्दहरूको अर्थ बुझ्दै गएर उत्तर वैदिक कालिन समाजमा प्रवेश गरेपछि ‘माधवी’ पढ्न पनि मजा आएको उनले बताए ।

उनको पहिलो रचना स्थानीय पत्रिकाबाट प्रकाशित भएको थियो । मिलनको पहिलो रचना ‘मेची टाइम्स’बाट प्रकाशित भएको उनी सम्झन्छन् । एक जना रिक्सावालाको सङ्घर्ष समेटिएको उक्त कथाको शीर्षक ‘वीरमान माझीका सपना बिपना’ रहेको थियो । ‘च्याट गर्ल’ कथा सङ्ग्रहमा उक्त कथाको शीर्षक ‘सपना बिपना’ राखिएको छ ।

बावऋ

०७० सालमा उनले ‘च्याट गर्ल’ कथा सङ्ग्रह लेखे । जसमा ६५/६६ पछाडिको समय चित्रण गरिएको छ । ०७३ मा आएको ‘पर्पला’मा ०७०-०७३ सम्मको समय देखाइएको छ । यद्यपि उनको मनमा एउटा कथाले घर जमाइरहेको थियो । उनी सँगै हुर्किएको यो कथाको परिवेश आफ्नै किशोर अवस्थासँग मेल खान्थ्यो । यो उनलाई भन्न मन लागिरहेको एउटा कथा थियो । त्यही कथा हो बावऋ ।

‘बावऋ’ उपन्यासमा ०६२ सालभन्दा अगाडीको परिवेश समेटिएको छ । भर्खरै आएको उपन्यासमा पाठकले २० वर्ष अगाडिको समय भेट्न सक्नेछन् । पहाडमा हुर्किएका मिलनले सानैबाट देखेको माहौल, परिवेश, समाज, सम्बन्ध, आत्मीयता तथा विविध कारणले गर्नुपरेको बसाइसराइ उपन्यासमा उनिएको छ । अन्ततः ०७४ सालमा आफूभित्र हुर्किरहेको कथालाई उनले आख्यानीकरण गर्ने निधो गरे । तेस्रो कृतिको रूपमा आएको ‘बावऋ’ ‘पर्पला’ प्रकाशित हुँदा नहुँदै शब्दमा उनिनलाई छटपटाउन थालेको थियो ।

उपन्यास लेख्न उनलाई करिब साढे पाँच वर्ष लाग्यो । आफ्नो भावनासँग नजिक भएकाले बावऋमा मजाले पोखिन सक्छु जस्तो उनलाई लाग्यो । यो मुख्यतः प्रेम उपन्यास हो तर प्रेम सँगसँगै समाजका अरू पाटा पनि समेटिएको छ ।

नामकरण

‘बावऋ’को पहिलो ड्राफ्ट करिब ४ वर्ष अगाडि (०७८ सालतिर) तयार भएको थियो । मिलनकी जीवनसाथी ऋचाले यसको पहिलो पाठकको भूमिका निर्वाह गरिन् । उनले राम्रो र नराम्रो पक्षको समीक्षा गरिन् । दोस्रो ड्राफ्ट पढेपछि, ऋचाले ‘ठिक छ, अलिक राम्रो भएको छ’ भन्ने प्रतिक्रिया दिइन् ।

अब नामकरणको कुरा गरौँ । ऋचाले नै पहिलो पटक ‘नाम चाहिँ के राख्ने होला ?’ भनेर मिलनलाई सोधेकी थिइन् । मिलनले नाम सोचिसकेका थिएनन् । उनले पहिला पुरा होस्, साथीहरूलाई पनि पढ्न दिऊँ अनि सोचौंला भन्ने कुरा गरे । यत्तिकैमा ऋचाले ‘बावऋ’ नामको सुझाव दिइन् । प्रारम्भमा मिलनलाई नाम मन नपरे तापनि पछि यो नाम उपन्यासको थिमसँग मेल खान्छ भन्ने बुझेपछि मन पर्‍यो । ‘उपन्यासकै पात्रहरूबाट बनेको रहेछ’ । उनले भने मलाई चाहिँ बावऋ भन्दा सिधै फूलको नाम जस्तो लाग्यो ।‘ ऋचाले त्यस्तो बावऋ होइन बादलको बा वर्षाको व ऋषिको ऋतुको ऋ भन्दै बुझाइन् । यो सुन्ने बित्तिकै मिलनलाई नाम निकै मन पर्यो । यसरी उपन्यासको नामकरण भयो ।

उपन्यास प्रकाशित हुँदासम्म उनले ऋचालाई गुमाएका छन् । किताबमा उनले ऋचाका लागि आभार लेख्न पर्याप्त शब्दहरू भेटेनन् । आफूले असहजता अनुभव गरेको उनी बताउँछन् । संक्षेपमा ‘उनलाई अटाउन सक्दिनँ’ जस्तो उनलाई लाग्यो ।

दुइटा जीवन

यो उपन्यास किशोर कालिन भोगाइको कथा हो । उपन्यासको बादल पात्रसँग आफू निकै नजिक रहेको उनी बताउँछन् । उनका अनुसार आख्यान लेखनको क्रममा परिवेश र पात्रहरू लेखकले बोकेर हिँड्ने गरेको हुन्छ । अहिले उनीसँग कुनै पात्र छैनन् या भनौँ बिदामा छन् । तर कुनै उपन्यास लेखिरहेको या पुनर्लेखन गरिरहेको अवस्थामा उनलाई भेटियो भने पनि राम्रोसँग नभेटिएला । किनभने उनको मनभित्र पात्रहरू घुमिरहेका हुन्छन् । परिवेशले हलचल गरिरहेको हुन्छ । ‘पात्रहरूको भावना नजानिँदो तरिकाले झल्किने रहेछ ।‘ उनी भन्छन् ‘मैले यो धेरै ठाउँमा भोगेको छु’ । पात्रहरू रमाइलो परिवेशमा छन् भने आफू त्यसै फुरुङ्ग हुने र वियोगको क्षणमा त्यस्तै अनुभूति हुने उनी सुनाउँछन् । लेखकले आख्यान लेख्दै गर्दा दुइटा जीवन बाँच्ने रहेछ । पात्रहरूले जीवनमा पनि प्रभाव पार्ने रहेछ भन्ने उनको आशय थियो ।

प्रकाशन

उनको पहिलो कथा सङ्ग्रह यम्बुरी पब्लिकेसनबाट छापिएको थियो । ‘पर्पला’ बुकहिल पब्लिकेसनबाट प्रकाशित भयो । ‘बावऋ’को पाण्डुलिपि पनि बुकहिलमा पुगेको थियो तर केही समस्याका कारण त्यहाँबाट समयमै प्रतिक्रिया प्राप्त भएन । बिचमा उनी नरमाइलो दुर्घटनाबाट गुज्रिनु पर्‍यो । त्यसपछि केही समय बावऋ कम्प्युटरमै बस्यो । अन्ततः फाइन प्रिन्टसम्म पुगेर सकारात्मक प्रतिक्रिया आएपछि पुनर्लेखन र सम्पादनको काम तीव्र रूपमा अघि बढ्यो । यसरी बावऋ फाइन प्रिन्टको माध्यमबाट पाठकसम्म पुग्यो ।

पुनर्लेखन

नेपालमा अझै पनि पुनर्लेखन गर्ने प्रचलन कम रहेको उनी बताउँछन् । उनका अनुसार सही लेखन भनेकै पुनर्लेखन हो । ‘‘rewrite until you feel toture’ भन्ने भनाइ नै रहेको छ ।‘  उनी भन्छन् ‘यातनामा नपरुन्जेल पुनर्लेखन गरिरहनु पर्छ ।‘  लेखकले पुनर्लेखनको माध्यमबाट धेरै महत्त्वपूर्ण तहहरू कृतिमा जोड्न सक्छ ।

उनलाई अधिक सन्तुष्टि लागेको अहिलेको उपन्यास ‘बावऋ’ नै रहेको छ । उनलाई भित्र मनदेखि ‘यो चाहिँ मैले मनदेखि नै लेखेको किताब हो’ भन्ने लाग्छ ।  आफ्नो एउटा कालखण्डको भोगाइसँग नजिक भएको हुनाले बावऋबाट बढी सन्तुष्ट रहेको उनी बताउँछन् ।

एउटा किशोरको निश्चल आँखाले कसरी जनयुद्धको त्यो कालखण्डलाई देख्दै छ भन्ने कुरा उपन्यासमा चित्रण गरिएको छ । उसले त्यसलाई कसरी भोग्दै छ, उसको मनोभावनालाई कसरी असर गर्दै छ र ऊसँग जोडिएका पात्रलाई कसरी प्रभाव पार्दै छ भन्ने तरिकाले उपन्यास अगाडी बढेको छ ।