काठमाडौंको बानेश्वरमा स्थायी बसोबास भएका राजेन्द्र कार्की भोजपुरको दावामा जन्मिएका हुन् । हास्यव्यंग्यलाई पाठकहरूले बिर्सन थालेका हुन् कि जस्तो अवस्थामा कार्कीको हास्यव्यंग्य निबन्धसंग्रह “खाइराइड” भने अहिले निकै चर्चामा छ । निबन्ध लेखनमा दखल राख्ने कार्कीले परदेशमा बसेर पनि नेपाली भाषा साहित्यमा निरन्तर रूपमा कलम चलाउँदै आएका छन् । उनको ‘निरीह देउता’ कवितासंग्रह प्रकाशनको प्रतीक्षामा छ । लेखक कार्कीले तीस वर्ष काठमाडौंलाई कर्मस्थान बनाए । हाल क्यानडाको भ्यांकुभरमा ट्याक्समान्डु सर्भिस इन्क नामको कम्पनीका संचालक रहेका कार्कीले नेपाली साहित्य लेखनलाई पनि सँगसँगै अगाडि बढाएका छन् ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले कवि तथा निबन्धकार राजेन्द्र कार्कीसँग गर्नुभएको वार्ता :
अचेल के गर्दै हुनुहुन्छ ?
– खै के गर्दै छु भन्नु र ? उही त हो, बिहान उठ्यो । आँखाका चिप्रा पुछ्यो । मुख लोपारलापार पार्यो (हाँस्दै) । अल्छीको बल्छीमा परेन भने जीउ तानकतुनुक पार्यो । नत्र ओछ्यानमा झोक्रायो । मोबाइलमा आँखा गाढ्यो । सामाजिक सञ्जालको दुनियाँमा रमिता हेर्यो । त्यही रमितामा रमायो । त्यसपछि अलिअलि चारो हाल्यो । ज्याला मजदुरी गर्न ट्याक्समाण्डुमा (मजदुरी गर्ने ठाउँ) हिंड्यो ।
बेलुका ऋणको छहरोको टहरोमा आयो । फेरि गोजेरो भर्यो, अनि ओछ्यानमा लड्यो । यस्तै पो गर्दै छु हौ अचेल म ।
अर्को हास्यव्यंग्य संग्रह लेख्दै हुनुहुन्छ कि ?
– म जे गर्छु भन्छु, त्यो हुँदैन । जे गर्दिन भन्छु, त्यही हुन्छ । हास्यव्यंग्य संग्रह लेख्छु भनेर सोचेको पनि थिइनँ, तर ‘खाइराइड’ हास्यव्यंग्य संग्रह कृति बनेर आयो ।
फेरि पहिलो कृतिको रूपमा खाइराइडले अलि हुर्कने समय पाओस् भन्ने चाहना छ । यो चाहना नलेख्ने बहाना पनि हो । लेखनको विषयवस्तु परिपक्व हुनलाई अलिकति समय लाग्छ । यदि लेखिएन भने माफ पनि पाइने, (हाँस्दै) कि कसो विश्वराज सर ?
तपाईँले लेख्नुभएको हास्यव्यंग्य संग्रह ‘खाइराइड’ अहिले निकै चर्चामा छ । के कस्ता हास्यव्यंग्यहरू यस संग्रहमा समाविष्ट छन् ?
– खाइराइडमा अधिकांश निबन्ध सामाजिक विषयमा छन् । राजनैतिक विषयमा एकदमै थोरै छन् । तर समाज र राष्ट्रको मियो राजनीति हो । त्यही मियोको वरिपरि समाजको दियो बल्ने हो । त्यही भएर निबन्धका बीच बीचमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिका प्रसङ्ग नघुसेका चाहिं होइनन् ।
अधिकांश निबन्धमा समाजका चरित्र र प्रवृत्ति माथि प्रकाश पारिएको छ । राजनैतिक व्यंग्यको एकलौटी भएको बेला खाइराइडले सामाजिक व्यंग्य पस्केकोले चर्चा पाएको होला कि जस्तो लाग्छ ।
लेखक पनि समाज कै पात्र हुन् । उनका आनीबानी र चरित्र समाज भन्दा भिन्न हुनै सक्दैन । त्यसैले लेखकले आफैलाई धेरै ठाउँमा व्यंग्य गरेको छ । आफै उल्लू बनेका विषयवस्तु र घटनालाई नलुकाई लेखेको छ । त्यस्ता घटना र परिवेशले हाँसोको खित्का छुटाउने रहेछ ।
अहिले लघुकथा लेखन निकै लोकप्रिय भएको देखिन्छ । के हास्यव्यंग्यलाई पाठकहरूले बिर्सन थालेका हुन् ?
– पाठकले हास्यव्यंग्यलाई बिर्सन थालेका भए प्रकाशन भएको छोटो समयमै खाइराइडले किन यति धेरै चर्चा पाउँथ्यो होला त ? राजेन्द्र कार्की नामको मान्छे कुनै सेलिब्रेटी पनि होइन । मिडियाको चर्चित मान्छे पनि होइन । कुनै चर्चित लेखक पनि होइन । फेरि खाइराइड उसको पहिलो साहित्यिक कृति हो ।
लघुकथा लोकप्रिय हुनुमा लघुकथाकारहरूको अभियानले हो जस्तो लाग्छ । संसार भरिका नेपाली लघुकथाकारहरू जोडिने विभिन्न फोरमहरू बनेका छन् । तपाईं लगायतका साहित्यकारहरूले स्रष्टा साँझ अमेरिकाबाट हरेक हप्ता संचालन गर्ने र लघुकथा केन्द्रको भर्चुअल कार्यक्रम बेलाबखत सुन्ने गरेको छु ।
लघुकथाको जस्तै हास्यव्यंग्य साहित्यमा पनि सिक्ने र सिकाउने फोरम र अवसर भए जस्तो लाग्दैन । यदि छन् भने मेरो जानकारीमा नभएको हु सक्छ । त्यही भएर हास्यव्यंग्य लेख, रचना र कृतिको संख्यामा न्यूनता भएको होला । तर यसको अर्थ पाठकले बिर्सेको भन्न मिल्दैन ।
अन्य विधाको तुलनामा हास्यव्यंग्य लेखन कठिन छ । यस्तो भन्नेहरू धेरै छन् । के यो भनाइ सही हो ?
– तपाईं आफ्ना कमी कमजोरी माथि लेख्ने आँट र साहस जुटाउनु हुन्छ भने हास्यव्यंग्य लेख्न कठिन होला जस्तो लाग्दैन । फेरि मान्छेको रुचि पनि हो । मेरो लागि लघुकथा कठिन होला । तपाईंको लागि हास्यव्यंग्य कठिन होला । तर हास्यव्यंग्य लेख्ने हो भने अरूको जिउको जुम्रो देख्ने, आफ्नो जीउको भैंसी नदेख्ने प्रवृत्तिबाट मुक्त हुनसक्नु पर्छ ।
हरेक दिन भोगेका देखेका साना विषयहरूमा मीठो हास्यव्यंग्य बन्छन् । अझ आफ्नै कमी कमजोरीमा लेख्यो भने त्यो हास्य व्यंग्यले मान्छेलाई छुन्छ । समाजको डरले मान्छे आफ्नो कमजोरी भन्न सकिरहेको हुँदैन । तर अर्काले भनिदिएमा ऊ रमाउँछ र मनमनै भन्छ – यसले त मेरै अनुभव लेखेछ । कथा र उपन्यासमा जसरी पात्र खडा गरेर व्यक्ति र समाजका चरित्र र कमजोरी लेखिछन् । तर निबन्धमा त्यसरी पात्र खडा गर्ने छुट त्यति धेरै हुँदैन । निबन्ध निजात्मक हुन्छ । त्यही भएर कतिपय लेखकहरू आफ्नो कमजोरी लेख्न र भन्न डराउँछन् । त्यस अर्थमा चाहिं हास्यव्यंग्य लेखन कठिन छ ।
नेपाली साहित्यमा हास्यव्यंग्यको स्थान कहाँ रहेको पाउनु हुन्छ ?
– कथा, कविता, निबन्ध सबैमा हास्यव्यंग्यको मसला भर्न सकिन्छ । त्यसैले हास्यव्यंग्य छुट्टै विधा हो जस्तो लाग्दैन । तर हास्यव्यंग्य भन्ने बित्तिकै निबन्ध विधा अलि बढी मात्रामा लोकप्रिय देखिन्छ । फेरि नेपाली साहित्यमा निबन्ध विधाको स्थान उच्च रहेको छ । लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, भैरव अर्याल नेपाली साहित्यका तारा हुन् । उनीहरूलाई तारा बनाउने काम निबन्धले नै गरेको हो ।
अब प्रश्न रह्यो हास्यव्यंग्यको । भैरव अर्यालले कविताबाटै साहित्यिक यात्रा शुरू गरेका हुन र धेरै हास्यव्यंग्य कविता लेखेका छन् । ती कविता राम्रा छन्, तर उनलाई हास्यव्यंग्य साहित्यको महारथीको रूपमा चिनाउने काम हास्यव्यंग्य निबन्धले नै गरेको हो ।
श्रव्यदृश्यको कमेडी बाहेक नेपाली साहित्यमा हास्यव्यंग्य अति उपेक्षित अवस्थामा छ । ल तपाईँ नै भन्नुहोस् त, नेपाली साहित्यमा कति वटा हास्यव्यंग्य कृतिले पुरस्कार पाइएका छन् ? कुनै कृतिको नाम भन्न सक्नु हुन्छ ? शयाद सक्नुहुन्न । हास्यव्यंग्य लेखक के गाईजात्रामा हँसाउने कविता वाचन गर्ने पात्र मात्र हुन् ? साहित्यकार होइनन् ? उनीहरूले लेख्ने कविता वा निबन्धका कृति कुनै पुरस्कार पाउनको लागि योग्य नै छैनन् त ? यदि त्यसो हो भने त्यो नेपाली भाषा र साहित्यकै लागि लज्जाको विषय हो । फेरि स्कूल कलेजको पाठ्यपुस्तकमा पनि हास्यव्यंग्यको स्थान कति छ ? न्यून छ । अनि यस्तो अवस्थामा हास्यव्यंग्य साहित्यको स्थान उच्चो हुनसक्छ त ? सक्दैन ।
हास्यव्यंग्य लेखनका लागि सामाग्री कहाँबाट प्राप्त गर्नुहुन्छ ?
– हास्यव्यंग्य लेखनका सामग्री म आफै हुँ । मेरै कमी कमजोरी हुन् । फेरि म समाजकै पात्र हुँ । त्यही भएर समाजसँग जोडिएरै बाँचेको हुन्छु । त्यसैले समाजका चरित्र माथि लेख्छु । ढोंगी र पाखण्डी समाजका चरित्रले लेखनलाई उर्वरभूमि प्रदान गर्छ । त्यही भूमिमा स्याउस्याउ गँड्यौला हुन्छन् । गँड्यौला भएकै माटोमा बालीनाली मौलाउँछ । हास्यव्यंग्य पनि त्यस्तै हो ।
हास्यव्यंग्यमा विचार पक्ष बलियो हुनुपर्छ कि घटना पक्ष ?
– यस प्रश्नको उत्तर सजिलो छैन ।
मानौं, हास्य मात्र भयो भने त्यो कमेडी बन्छ, तर रमाइलो हुन्छ । त्यसले साहित्यको वजन धान्दैन । फेरि व्यंग्य मात्र भयो भने पनि त्यो निरस हुन्छ र गाली बन्न जान्छ । दुवैको मिश्रण र सन्तुलन भयो भने मात्र हास्यव्यंग्य हुनजान्छ ।
विचारले दर्शन प्रदान गर्छ । घटनाले हाँस्ने हँसाउने परिस्थिति सृजना गर्छ ।
यदि निबन्ध मात्र लेख्ने हो भने विचार पक्ष बलियो भए पुग्छ । तर हास्यव्यंग्य निबन्धमा हँसाउने परिस्थिति सृजना हुनु पर्दछ, जहाँ पढ्दापढ्दै वा सुन्दासुन्दै हाँसोको खित्का छुट्नु पर्दछ । त्यति नभए कम्तीमा मुस्कुराउने हुनुपर्दछ, जुन सजिलो छैन । त्यही भएर धेरै जसो कि त कमेडी बन्छन् कि त व्यंग्य बन्छन् ।
म चाहिं विचार पक्षलाई पहिलो प्राथमिकतामा राख्छु । विचार पक्ष दरिलो भएको निबन्ध अलि बढी दीर्घजीवी हुन्छ । तर त्यसले हास्यव्यंग्यको ओज राख्नसक्छ कि सक्दैन ? प्रश्न यो हो ।
के उद्देश्यका साथ हास्यव्यंग्य लेख्नुहुन्छ ?
– कुनै त्यस्तो उद्देश्य राखेर लेख्दिनँ । केवल आफ्नो मजाको लागि लेख्छु । आनन्दको लागि लेख्छु । मजा र आनन्द सँगसँगै मेरो लेखनले समाजको उन्नति प्रगतिमा सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मान्यताका साथ लेख्छु ।
हास्यव्यंग्यका कृतिहरूले के साँच्चिकै समाजलाई सही दिशमा गमन गर्न प्रेरित गर्छ ?
– हास्यव्यंग्य मात्र होइन, कुनै पनि साहित्यले समाजमा चेत भर्छ । सँगसँगै त्यो चेतले समाजको आकाङ्क्षा बढाउँछ । त्यो आकाङ्क्षा पूरा गर्न स्रोत र क्षमता हुनुपर्छ । सँगसँगै सही व्यवस्थापन गर्नसक्ने क्षमता पनि हुनुपर्छ । अनि मात्र समाज सही दिशामा अगाडि बढ्छ । तर व्यवस्थापन गर्न नसक्ने समाज कलह र विग्रहमा फस्छ ।
लेखक तथा साहित्यकारको लेखन अनुरूपको आफ्नो आचरण छ कि छैन भनेर समाजले प्रश्न गर्छ । दुनियाँलाई ढाँटे पनि मनलाई ढाँट्न सकिंदैन । लेखनमा सदाचारी व्यवहारमा व्यभिचारी हुने लेखकले समाजलाई न्याय गर्दैन । झन् व्यंग्य लेखकले त लेख्दै गर्दा सोच्नु पर्छ – के लेख्दैछु ? लेखन अनुसार मेरो आचरण छ त ? अर्कालाई भन्न सजिलो छ । अर्ति उपदेश दिन झन् सजिलो छ । भीडले त वाह वाह पनि गर्ला । तर त्यही कुरा आफूमा लागू गर्न कति सम्भव छ त? प्रश्न आफैलाई गर्नु पर्छ ।
नेपालमा पठन संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?
– देख्दा सरल लाग्ने, अप्ठेरो प्रश्न पनि हो यो । तर भोको पेटमा कसैले पुस्तक पढ्दैन । सित्तै दिए पनि पढ्दैन ।
नेपालमा जे जति साहित्य संगीत र कलाको विकास भयो, त्यो काठमाडौं उपत्यकाबाट नै भयो । किन भयो भन्दा हिजोको काठमाडौं आर्थिक रूपमा समृद्ध थियो । सम्पन्न थियो । सम्पन्नताको आधार उर्वर भूमी हो । त्यही सम्पन्नतामा लक्ष्मीप्रसाद देवकोटा जन्मे, बालकष्ण सम जन्मे, लेखनाथ पौडेल जन्मे, माधव घिमिरे जन्मे, नातिकाजी जन्मे, नारायण गोपाल जन्मे । उनीहरूले निर्माण गरेका जगमै टिकेको छ नेपाली साहित्य र संगीत ।
हामी अधिकांशमा एउटा प्रवृत्ति विकास भइरहेको छ । पुस्तक नपढे पनि पुस्तक बोकेर वा बोकाएर फोटो खिच्ने र सञ्जालमा प्रचार गर्ने । पढ्ने संस्कृति विकासको लागि पहिले त लेखक आफैले पढ्ने बानी बसाल्न पर्यो । तर लेखन भन्दा पनि पठन चुनौतीपूर्ण छ ।
पुस्तक बिक्रीको हिसाबले नेपाली साहित्यको बजार किन उत्साहप्रद नभएको होला ?
– तपाईंले सित्तैमा पुस्तक पाउनुहुन्छ भने किन किन्ने ? म गत साल नेपाल जाँदा एक हप्ताको बीचमा सय भन्दा बढी पुस्तक मेरो हातमा पर्यो नमागी । यसो हुनुमा लेखककै लगानीमा अधिकांश पुस्तक प्रकाशन भएर हो जस्तो लाग्छ । त्यो अनुभवबाट मेरो मनमा एउटा शंका उब्जियो – पाठक भन्दा लेखक धेरै भएछन् ।
टिकटक लगायतका सामाजिक सञ्जालको एक छत्र साम्राज्य छ । त्यो साम्राज्यको जालभित्र हरेक मान्छे जकडिएको छ । यी र यस्तै कारणले उत्साहप्रद नभएको होला । तर म लामो समयदेखि नेपाल बाहिर भएकोले यो मेरो अनुमान मात्र हो । सत्य कुरा त भुक्तमानलाई थाहा होला । यसको मतलब नेपाली साहित्य बजार उत्साहप्रद नभएको भन्न चाहिं मिल्दैन । राम्रा पुस्तकहरू धेरे थोर जहिले पनि बिक्री भइरहेकै हुन्छन् । बजार बिस्तार भइरहेको हुन्छ ।
लेख्नका लागि साहित्यमा अनेक विधाहरू छन् । तपाईँले भने हास्यव्यंग्य रोज्नु भयो । हास्यव्यंग्य किन रोज्नु भयो ?
– हास्यव्यंग्य रोजेको होइन । निबन्ध लेख्दा मलाई मजा आउँछ । त्यही भएर एउटा दार्शनिक निबन्धको पुस्तक लेख्न पर्यो भनेर थाले । निबन्ध लेख्दालेख्दै कवितातिर कलमको निप गयो र निबन्धको पुस्तक तयार भएन । बरु “निरीह देउता” नामक कवितासंग्रह तयार भयो । त्यो प्रकाशन गर्न पर्यो भन्दाभन्दै फेरि निबन्ध लेख्ने जङ्ग चल्यो । लेख्दालेख्दै थाहै नपाई हास्यव्यंग्य निबन्ध तयार भएछ । त्यसैले मैले हास्यव्यङ्ग्य निबन्ध रोजेको होइन, हास्यव्यंग्य निबन्धले मलाई रोजेको हो भन्दा अन्यथा नहोला ।
आफ्नो हास्यव्यंग्य लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– खाइराइड पहिलो संस्करण आएको आठ-दश महीनामै दोस्रो संस्करण आयो । प्रकाशित भएको छोटो अवधिमा लगभग एक दर्जनभन्दा बढी समीक्षात्मक लेख प्रकाशित भए । देशदेखि विदेशसम्मका कार्यक्रमहरूमा साहित्यकारहरूले टिक्काटिप्पणी र परिचर्चा गरिसक्नु भएको छ । बजारमा राम्रो नेटवर्क भएको ठुलो प्रकाशन गृहले प्रकाशन गरेको भए धेरै पाठक समक्ष पुग्ने रहेछ ।
२०८१ श्रावणमा काठमाण्डौंको चाबहिल स्थित डियरवाक सिफल स्कूलले कक्षा नौ देखि बाह्रसम्म खाइराइडलाई सहयोगी-पठन सामग्रीको रूपमा राख्यो । विद्यार्थीले खाइराइड पढेर समीक्षा लेखे । हास्यव्यंग्य लेखनमा आकर्षित भएर कतिपय विद्यार्थीहरू लेख्न थालेका छन् । एउटा लेखकको लागि यो भन्दा ठूलो उपलब्धि के होला ? यहाँ भन्दा सन्तुष्ट हुने ठाउँ अरू के होला ?
एक समूहले यस्तो भन्छ – साहित्य सृजना सर्जकले आफ्नो सन्तुष्टिको लागि गर्ने हो । अर्को समूहको भनाइ छ – साहित्य सृजना सर्जकले समाजको उन्नति र प्रगतिको लागि गर्नुपर्छ । तपाईंको विचारमा सर्जकले साहित्य सृजना कसको लागि गर्नुपर्ने हो ?
– यो विवादित विषय हो । तर मान्छेको त के कुरा, कुनै पनि जीव वा प्राणीले केही गर्छ भने आफ्नै लागि गर्छ । किरा फट्याङ्ग्रा त खाना र बाँच्नको लागि घस्रिन्छन्, उफ्रिन्छन् ।
मान्छेले त झन् आफ्नै लागि गर्छ । मानौं अहिले तपाईं अमेरिकाको विश्वविद्यालयमा पढाउँदै हुनुहुन्छ । तपाईं मेहनतका साथ पढाउनुहुन्छ । अध्ययन अनुसन्धान गर्नुहुन्छ । त्यो सबै तपाईं आफ्नै प्रगतिको लागि गर्नुहुन्छ । तपाईं जस्ता हरेकले आफ्नै नाम र दामको लागि काम गर्दा स्वतः विश्वविद्यालयको नाम चम्कन्छ । यसर्थ मान्छेले गरेको राम्रो कामले समाज स्वतः राम्रो बन्छ । नराम्रो कामले नराम्रो बन्छ ।
साहित्य सृजना पनि त्यस्तै हो । साहित्यकारले पनि आफ्नै लागि लेखेको हो । आफ्नै सन्तुष्टिको लागि लेखेको हो । त्यसमा जानी नजानी नाम, दाम इज्जत र सन्तुष्टिको स्वार्थ जोडिएको हुन्छ । यदि कसैले होइन भन्छ भने त्यो आडम्बर मात्र हो ।
अब जहाँसम्म सर्जकले समाजको उन्नतिको लागि साहित्य सृजना गर्छु वा गर्नुपर्छ भन्छ भने त्यो राजनैतिक भनाइ हो । तर साहित्य आफैमा प्रगतिशील हुने भएकोले त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समाजको प्रगतिको लागि त्यो सहयोगी बन्छ । त्यो चाहिं सत्य हो ।
हास्यव्यंग्य लेख्ने प्रेरणा कोबाट र कसरी प्राप्त गर्नुभयो ?
– क्यानडा आएपछि कामको सिलसिलामा हरेक वर्ष एक हजार भन्दा बढी मान्छे भेट्ने अवसर मिल्यो र अझै मिलिरहेको छ । उनीहरूसँग घर परिवार देखि जीवनका अन्तरंग कुराकानी हुन्छन् । त्यही नै हो मेरो लेखनको प्रेरणा । त्यहीबाट प्राप्त हुन्छ मलाई विषयवस्तु ।
केटाकेटीमा मलाई घरका मान्छेले उल्लू भन्थे । मैले पहिलो पटक मेरो उल्लुपनको निबन्ध लेखें – “धारा शौचालय महात्म्य”, जुन साहित्यपोस्टमा छापियो । धेरैले मन पराए । पढ्दा हाँसिन भन्ने कमै भए । कतिपय पाठकले मुर्छा परुन्जेल हासेको प्रतिक्रिया लेखे । त्यहीबाट शुरू भएको हो मेरो हास्यव्यंग्य निबन्धको यात्रा । त्यसलाई मलजल गर्ने काम चांहि फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले गर्नु भएको हो भन्नमा मलाई कुनै हिच्किचाउट छैन ।
अन्य विधाको तुलनामा हास्यव्यंग्यले पाठकको मनोविज्ञानमा कस्तो किसिमले प्रभाव पार्छ ?
– सफल हास्यव्यंग्यले पाठकको मनोविज्ञानमा कब्जा जमाउँछ । मुस्कुराउँदै रमाइलोसँग पढेको विषयले मानसपटलमा आजीवन प्रभाव पार्छ । तर त्यो विषय विचारप्रधान हुनुपर्छ । घटनाप्रधानले त्यति लामो प्रभाव नजमाउन सक्छ । भैरव अर्यालका निबन्धले लामो प्रभाव जमाउनुको मुख्य कारण समाजका प्रवृत्तिलाई विचारको जगमा उभ्याएकोले हो भन्ने लाग्छ । त्यसैले उनको लेखन सदा सर्वदा जीवित छ ।
पछिल्लो पटक कुन किताब पढ्नुभयो ?
– डा. कुसुमाकर शर्मा गौतमको लघुकथासंग्रह “हिउँको राप” पढें । शीर्षकले नै मलाई तान्यो र कथा चोटिला लागे ।
साहित्यमा कुन विधा पढ्न रुचाउनु हुन्छ ?
– मलाई यो विधा त्यो विधा भन्ने भन्दा पनि दर्शन र विचारप्रधान पुस्तक पढ्न रुचि लाग्छ । तर रुचि लागेर मात्र नहुने रहेछ । कोही मर्यो भने एउटा करदाता घट्यो भन्ने देशमा बसेपछि काम नगरी माम आउँदैन । फेरि भुँडीले पनि छुट्टी दिंदैन । त्यही भुँडीले पढ्ने रुचिको सूचिलाई मेटाउने रहेछ ।
साहित्य लेखन सहज वा कठिन कार्य हो ?
– दुवै होइन । यो त रुचिको विषय हो । रुचि लाग्छ भने जस्तै कठिन कार्य पनि तपाईंलाई सहज हुन्छ । असम्भव पनि सम्भव हुन्छ । रुचि लाग्दैन भने अति सजिलो काम पनि तपाईंलाई कठिन हुन्छ । किनकि रुचि नभएपछि मान्छेले त्यो काम गर्दै गर्दैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।