लामो समयदेखि डास्पोरामा रहेर साहित्य साधना गरिरहनु भएको राखी गौचन … नेपाली साहित्यमा परिचित नाम हो । सानो उमेरदेखि नै साहित्य, संगीत र कलामा विशेष अभिरुचि भएको बताउने राखी गौचनले एकल गीति एलबम जानी नजानी र परिभाषा मार्फत आफूलाई सम्भावना बोकेर गीतकारको रूपमा प्रमाणित गरिसक्नु भएको छ । संगीत क्षेत्रमा दिइने विभिन्न अवार्ड र पुरस्कारले सम्मानित भइसक्नु भएको कवि तथा गीतकार राखी गौचनको प्रकाशित कविता कृति “प्रमिथसको फिलिङ्गो” हो । साहित्यका बहुआयामिक विधामा कलम चलाउने उहाँका विभिन्न पत्रपत्रिकामा कथा, गीत र कविताहरू प्रकाशित भइरहन्छन् ।

प्रस्तुत छ, अनेसासको आजीवन सदस्य रहनु भएकी उनै साहित्यकार राखी गौचनसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ? 

– उति साह्रो व्यस्तता त छैन अध्ययन र लेखनमा । प्रवासी जीवन, दैनिक कार्यव्यस्तता आफ्नो ठाउँमा छँदैछ यसका बाबजुद पनि केही लेख्ने, केही पढ्ने गरिराखेकै हुन्छु ।

तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ? 

– मेरो विचारमा साहित्य, जीवन र दर्शन एक अर्कामा अन्तरसम्बन्धित विषय हुन् । जीवन र दर्शनलाई सार्थक उत्कर्षमा पुर्‍याउन साहित्यको अहम् भूमिका रहन्छ भन्ने ठान्दछु म । दार्शनिकहरूको जीवन र जगत् प्रतिको व्याख्या आफैमा सर्वोत्कृष्ट काव्य हो ।

अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नुहुन्छ ?

– अनेसास जस्ता साहित्यिक संघ संगठनहरू भाषा साहित्यलाई विश्वभर विस्तार गर्न आवश्यक हुन् भन्ने ठान्दछु म । महत्त्वपूर्ण प्लेटफर्मको भूमिका निर्वाह गर्न सकुन् । यस किसिमका साहित्यिक संस्थाहरूले उत्प्रेरणा जागृत गराउने कार्यक्रम गर्न सके संस्थाको गरिमा र ओज बढिरहने कुरामा दुई मत हुन सक्दैन ।

शुरूका दिनमा साहित्यमा लाग्न कसरी प्रेरणा आयो ?

–  साहित्यमा लाग्ने प्रेरणा कसरी कहाँ मिल्यो भन्दा पनि केही स्वभाव जन्मजात हुन्छन् मान्छेका र केही आर्जित । स्कुल पढ्दा नै साहित्य, संगीत र कलाप्रति मेरो बेसी झुकाव थियो क्यारे । पछि युवा कालमा झुकाव पुरस्कृत भएर साहित्य लेखनको मार्ग पक्रियो ।

अहिले तपाईंले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ? 

– सोचे जस्तो त जीवनमा के हुन्छ र ? केही न केही लेख्ने, पढ्ने गरिरहेकै हुन्छु ।

नेपाली साहित्य र साहित्यकारको भविष्य कस्तो देख्नु हुन्छ ?

– साहित्य र साहित्यकारको भविष्य देख्न सक्ने भविष्यद्रष्टा त म हुँदै होइन तर जुन रेसियोमा नेपाली साहित्य लेखन बढिरहेको छ यसर्थमा भविष्य उर्वर नै हुन्छ ।

तपाईंले अहिले के लेख्दै हुनुहुन्छ ? 

– म हाल केही गीत र मुभी स्टोरीमा लागिरहेको छु ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? 

– म विशेषतः जीवन र जगतलाई गहिरो विश्लेषण गरिएका दार्शनिक पुस्तकहरू पढ्न मन पराउँछु । बुद्ध दर्शन, ओशो दर्शनका पुस्तकहरू मेरो अध्ययनमा पर्दछन् ।

तपाईंको मन पर्ने साहित्यकार को को हुनुहुन्छ ? र किन ? 

– मन पर्ने साहित्यकार थुप्रै हुनुहुन्छ, वहाँहरू मन पर्नुका आफ्नै विशेषता र कारणहरू छन् । नाम चाहिं नलिऊँ होला ।

साहित्यिक संघ संस्थाको मापदण्ड के हो ?

– साहित्यको सेवा गर्नु नै साहित्यिक संघसंस्थाको मापदण्ड हो भन्ने लाग्छ । भाषा र साहित्यको श्रीवृद्धि भन्दा परका क्रियाकलाप यस्ता संघसंस्थाबाट हुन थाल्यो भने ठाने हुन्छ मापदण्ड भत्कियो ।

साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– नेपालको राजनीतिको बारेमा यसै भन्न सकिने अवस्था नै छैन । कहाँ कतिखेर के हुन्छ थाहा नै हुँदैन । राजनीति देशको मूल नीति हो भन्छन् तर हाम्रोमा मूल नीति नै यसरी बिग्रिएर गएको छ कि अब सुध्रन सयौं वर्ष लाग्न सक्छ । राजनीतिलाई पेशा बनाउने भएकाले नै देशको राजनीतिको यो हालत भएको हो ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?

– नेपाली साहित्य होस् वा विश्व साहित्य आजको समयमा लेखिएका साहित्यमा विचार र युग चेतना मुखर भएर प्रस्तुत भएको देखिन्छ । मैले पछिल्लो समयमा पढेका केही पुस्तकहरूमा त्यो भेटाएको छु ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल, नेपाली र अनेसासमा ?

– यस बारेमा खासै टिप्पणी नगरौं होला । तपाईं हामीले देखेकै-भोगेकै विषय हो राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरिक साहित्यलाई देशको मूल साहित्यले हेर्ने दृष्टिकोण नै फरक छ भन्ने लाग्छ । यस्तो पनि के साहित्य ? डलरले साहित्यकार भएका हुन् यिनीहरू भन्नेहरूको भीड बाक्लै देखिन्छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यंग्य र लेखनाथ पौडेल पछिको कविता लेखनलाई कसरी हेर्नु भएको छ ?

– म आफूलाई साहित्यको गहन विश्लेषण गर्न सक्ने क्षमता भइसकेको त ठान्दिनँ तर भन्नै पर्दा यी दुवै विधा उति सन्तोषजनक रूपमा अगाडि बढेको देखिंदैन । कहिलेकाहीँ यस्तो लाग्छ हाम्रो गद्य कविता लेखन त अझै पनि गोपाल प्रसाद रिमाल र भूपी शेरचनकै सेरोफेरो घुमिरहेको छ भन्ने लाग्छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? संसारमा छरिएर रहनुभएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल कस्तो छ ?

– राम्रो नै छ सबै संसारभर छरिएर रहनु भएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल आशालाग्दो र सन्तोषजनक नै रहेको देखिन्छ ।

तपाईंलाई प्रखर लेखक भन्न मिल्छ ? तपाईंको कविता लेखनलाई ठाउँ र बेलाले फरक पार्दैन, भनौं तपाईं आशु कवि हुनुहुन्छ भन्ने सुनिन्छ, के यो कुरा साँचो हो ?

– म आफूलाई प्रखर लेखक ठान्दिनँ, त्यसरी तुरुन्तै लेख्न सक्ने आशु लेखक पनि होइन म । हो मन भावुक भैदिंदा तुरुन्तै गीत, कविता फुरिदिन्छ र लेखिन्छ पनि यसको मतलब यो होइन कि कसैले लेख भन्ने बित्तिकै ह्वारह्वारती लेख्न सकूँ ।

सिकारु लेखकलाई के भन्न चाहनु हुन्छ ?

– सिकारु लेखकका बारेमा के भनूँ ? म पनि सिक्दैछु ।

 नेपाली साहित्यको प्रकाशन, वितरण र प्रसारणलाई यहाँले कसरी हेर्नु भएको छ ? यसलाई राम्रो गर्न के गर्नु पर्ला ?

– राजनीतिबाट अलग गरिदिए ठीक हुन्छ सबै ।

भनिन्छ – साहित्यले मानिसलाई आनन्दित बनाउँछ ? कसरी र किन ?

– साहित्यले आनन्दित बनाउँछ भन्दा पनि साहित्य सत्य उद्घाटित गर्ने वक्र बाटो हो भन्ने लाग्छ ।

भनिन्छ – नेपाली भाषा बिस्तारै लोप हुँदैछ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नु पर्ला ?

– नेपाली भाषा लोप हुँदै जानुको मुख्य कारण हामीलाई हाम्रो भाषाप्रति प्रेम र गर्व नहुनु नै हो । जुन दिनदेखि हाम्रो भाषा, संस्कृति, राष्ट्रियता र देशप्रति प्रेम गर्न थाल्छौं त्यसपछि यस्तो समस्या स्वतः समाधान हुन्छ ।

अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

– सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको खाँचो देखिन्छ ।

तपाईं जहाँ साहित्यिक वातावरण त्यहाँ ? यस्तो ऊर्जा कसरी प्राप्त गर्नु हुन्छ ?

– प्रेरणा, उत्प्रेरणा सबै निजी जीवनका भोगाइहरू हुन्, जिन्दगी र समयले सिकाएका यथार्थहरू हुन् । मेरो जीवनको भोगाइ नै मेरो प्रेरणा हो ।

अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?

– पाठक ? को पाठक ? हामी सबै पाठक हौं । एक अर्काका लेख रचना पढ्छौं । कसैले कसैलाई लेखक र कसैलाई पाठकको दर्जा दिइरहनु उपयुक्त ठान्दिन म । धन्यवाद !