अनेसास एलए च्याप्टरको दुई पटक अध्यक्ष हुनुभएको डन कार्की हाल लस् एन्जेलस, क्यालि युएसएमा हुनुहुन्छ । युवा कालमै पहिलो पटक ‘त्रिवेणी’कविता संग्रह सह लेखनको रूपमा प्रकाशित गर्नुभएको थियो भने ‘परदेशी मन’ उहाँको एकल कविता संग्रह हो । उहाँको तीन वटा गीत मध्ये कर्मको गतिले डायस्पोराको सर्वोत्कृष्ट गीतकारको पुरस्कार जित्न सफल हुनुभएको छ । निकट भविष्यमा स्वदेश तथा परदेशको विषयवस्तुलाई लिएर अर्को कविता संग्रह तयार गर्ने पक्षमा हुनुहुन्छ ।

प्रस्तुत छ, कवि तथा गीतकार डन कार्कीसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

तपाईं व्यस्त जीवन बिताइरहनु भएको छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?

– हो नि अमेरिकामा बाँच्न र सहज जीवन निर्वाहको लागि कुनै न कुनै पेशामा लाग्नु पर्छ र व्यस्त हुनुपर्छ । भाषा-साहित्य प्रति प्रेम हुँदा फुर्सदको समयमा साहित्यिक लेखन र सामाजिक काममा लाग्ने गरेको छु । कविता र गीतलेखनमा निरन्तरता दिंदै छु ।

साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– साहित्यमा आफ्नै जीवन, जगत् र परिवेशलाई यथार्थ रूप दिन चाहन्छु । स्थान र काल विशेषको चित्रण विना साहित्य कोरा र महत्त्वहीन हुन्छ भन्ने ठान्छु । जीवन भन्नु नै जीवन हो । जीवनका हरेक तीता मीठा मसिना सत्य तथ्यलाई उजागर गर्न र  सामाजिक यथार्थलाई सही दिशा देखाउनु नै  साहित्य हो ।

तपाईंलाई जाँगरिलो कवि, लेखक भन्दा हुन्छ ? कसरी पाठकहरूको मन जित्नु भएको छ ?

– हामी स्वयंलाई जाँगरिलो व्यक्ति मान्नु पर्दछ । कुनै पनि कार्यक्रम संचालनमा होस् या लेखनमा जोसिलो र दक्ष व्यक्तित्व हुन आवश्यक छ । शायद मेरो लेख रचनामा पाठकको मन छुने भाव र शैली पक्ष छ । त्यसैले पाठकहरूको मन जितेको छु ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– साहित्य कलात्मक सृजना हो जसको सफलता विषयवस्तुको अध्ययन, अध्यापन र चिन्तन मननको सन्तुलनमा भर पर्छ । कुनै पनि विषयलाई वस्तुपरक चित्रण गर्दै पाठकको मन जित्न सके लेखकको प्रसिद्धि बढ्छ ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?

– प्रवासी कवि हरिभक्त कटुवालबाट विद्यार्थी जीवनमा नै मैले कविता लेख्ने वातावरण पाएको थिएँ । प्रवासमा भएको एक वृहत् कवि सम्मेलनमा उहाँको वाचन शैली र जीवन उपयोगी सरल कविताले धेरैको मन जितेको थियो । मेरा कविता तथा गीतहरूमा पनि हाम्रै जीवन र जगतको मनोहारी पक्षको प्रभाव कटुवालबाटै प्रेरणा लिएको छु ।

तपाईंलाई गजल, गीत, कविता, कथा,  नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ?

– मलाई गीत, कविता आदि पद्य विधा नै अति सुन्दर लाग्छ र यसमा नै सक्रिय हुँदै रमाउन मन पर्छ । यस विधालाई अझ सशक्त र गहन बनाउन स्तरीय अरू भाषाको सामग्री अध्ययन मनन गर्न जरूरी छ । अनि हाम्रा पाठकको सुख-दुःखको मार्मिक पक्षको सुन्दर भाव झल्किन सकोस् ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?

– पत्रकारिता राष्ट्रको चौथो अंग हो । नेपालमा निष्पक्ष र सही पत्रकारिता अझै फस्टाउन सकेको छैन । साहित्यिक पत्रकारिता नेपालमा मात्र हैन विश्वमा खाँचो छ । यसबाट विश्व लगायत नेपालमा पनि धेरै वटा क्रान्ति पश्चात् राजनैतिक र सामाजिक सुधार भएका छन् । यसर्थ मुलुकमा अन्याय अत्याचारको विरुद्धमा जनमुखी सत्ता परिवर्तन गराउन बल पुराउने कवि वा लेखक साँच्चै साहित्यिक पत्रकार मान्न सकिन्छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनुहुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

– राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरीय पुरस्कृत कृतिहरू जीवनका वास्तविक वस्तुस्थितिलाई छोएर लेखिएको हुँदा अध्ययन गर्न मन लाग्छ । हाम्रो साहित्यमा धेरै लेखकहरू लेखेर मात्र बाँच्न सकेका छैनन् । यसको लागि असाधारण प्रतिभा र चर्चित व्यक्ति हुनुपर्छ जस्तो लाग्छ ।

साहित्यको मापदण्ड के हो ?

– साहित्यिक संस्थाको मापदण्ड भन्नु नै संस्थाप्रति सबैको आस्था । संस्थाले कसैलाई पक्षपात नगरेर सबै प्रतिभाको उचित मूल्यांकन र सम्मान गर्न सक्नु पर्छ ।

साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनुभएको छ ?

– नेपाल मेरो मातृभूमि हुनाले देशप्रेम रोम रोममा छ । त्यहाँ देखिएको राज्य संयन्त्र स्वार्थपरक छ र सधैं सत्तामा टिकिरहने खेल बढेको हुँदा केही ठूला भनाउँदा दलहरूको वितृष्णा बढेको छ ।

अहिलेको साहित्यमा विचार, युगचेतना र विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?

– आजको ग्लोवल युगमा सबै देशका साहित्यिक रचनाले संसार भरि तरंग ल्याउन सक्छ । त्यसैले साहित्यमा नौलो चेतना र युगबोधको झलक हुन आवश्यक छ । जस्तै मेक्सिम गोर्की, लिऊ एन टालस्टय, रवीन्द्रनाथ ठाकुर र सलमान रूस्दीका लेख रचनाले विश्व भरि प्रभाव पारेको छ ।

पुरस्कार र सम्मानको अवस्था कस्तो छ नेपालमा ?

– सन्तोषजनक छैन । जसले लेखकमा सृजना शक्ति वृद्धिको लागि हौसला दिन सकोस् । साहित्यका हरेक विधामा पुरस्कारको व्यवस्था गरे पनि त्यो अझै निम्न तवरको छ: जसलाई भविष्यमा बढाएर लान सक्नुपर्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– नेपालीहरू संसार भरि छरिएको हुँदा डायस्पोरिक साहित्यको महत्त्व बढेको छ । हाम्रो भाषा-साहित्य र संस्कृतिको संरक्षण तथा समन्वय गर्न पनि डायस्पोरिक साहित्यले सहयोग गर्छ ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नुभएको छ ?

– भैरव अर्याल पछि त्यस्ता चर्चित हास्यव्यंग्य कथाकार नजन्मिए पनि यो विधा अझै सक्रिय छ । भावी युवा पिँढीले यो विधा रचनात्मक तवरले अघि बढाउनु पर्छ ।

अनेसासलाई यहाँले कसरी हेर्नुभएको छ ?

– अनेसास एक विशुद्ध साहित्यिक संस्था हो । यसमा सबै विचारका मानिस अटाउन सक्छन् । हाम्रो भाषा साहित्य र संस्कृतिको जगेर्नामा यो कोशे ढुंगा साबित भएको छ ।

तपाईं कुन कति बेला कविता रच्न सक्नुहुन्छ ?  यसका लागि नवलेखक के भन्न चाहनुहुन्छ ?

– साहित्य लेखन भन्ने कुरा आफ्नो मुड वा स्थान काल र परिवेशको प्रभावमा भर पर्छ । कहिलेकाहीं लेख्छु भनेर बस्दा पनि भावनाको प्रखरता हुँदैन । तर समय परिस्थितिले गर्दा मनमा कुनै घटना वा वस्तुस्थितिले प्रभाव पार्‍यो भने साहित्य लेखनमा सक्रियता आउँछ । त्यसैले नव लेखकहरूलाई म के भन्न चाहन्छु भने हामी अनेकौं विषयवस्तुका रचना पढौं, मनन गरौं र वर्तमान वस्तुस्थिति बारे विचारमा डुब्न सके कुनै पनि विधामा कलम चलाउन सहज हुन्छ ।

प्रकाशन, वितरण र प्रसारणको काम अहिले नेपालमा कस्तो छ ?

– साहित्यिक रचना लेखेर मात्र हुन्न । हामीले यसलाई सहज रूपले दर्शक वा श्रोता सामु पुर्याउन सके त्यस माथिको औचित्य र माग बढ्न सक्छ । आजको डिजिटल युगमा रचनाको प्रकाशन, वितरण र प्रसारण सहज हुनाले चाँडै ठूलो समुदायमा पुराउन सकिन्छ ।

पर्यावरणीय साहित्यको बारेमा तपाईंको विचार के छ ?

– हाल अधिक कार्बन उत्सर्जन, बढ्दो जनसंख्याको असमान वितरण र जलवायु परिवर्तनले गर्दा ग्लोवल वर्मिङ बढेर गएको छ । वातावरण हाल दूषित हुँदै गएकाले साहित्यमा पनि यसको विरुद्ध जनचेतना जगाउन र स्वच्छ र स्वास्थ्यवर्धक परिवेशमा ध्यान दिनुपर्छ ।

अचेल नेपाली भाषा बिस्तारै लोप हुँदै छ ! भन्ने सुनिन्छ । नेपाली भाषा र नेपाली साहित्य पढ्ने सङ्ख्या बढाउन के गर्नु पर्ला ?

– नेपाली भाषा साहित्य क्रमशः लोप नभै कालान्तरमा ह्रास हुने प्रबल सम्भावना छ । तसर्थ हाम्रो भाषामा पढ्ने र लेख्नेहरूको जमात स्वदेशमा मात्र नभएर डायास्पोराका हरेक नेपाली भाषीमा प्रोत्साहन गर्न सके भाषा साहित्यको उज्ज्वल भविष्य हुनेछ ।

अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

– हरेक दुई वर्षमा हुने अनेसास केन्द्रीय समितिको चुनावमा अत्यन्त सक्षम, सबल र नेतृत्वदायी भूमिका निभाउने समूहगत टिमको विजय हुन आवश्यक छ । संस्थालाई सत्य, तथ्य र उत्तरदायी नेतृत्व दिंदै सम्पूर्ण आजीवन सदस्यको मन जित्न सफल हुनुपर्छ ।

कस्तो साहित्यिक कृति पढ्ने गर्नुहुन्छ ?

– साहित्य लेखनमा कसैको प्रभाव वा प्रेरणा महत्त्वपूर्ण पक्ष हो । म अधिक गद्य शैली मन पराउने हुँनाले हरिभक्त कटुवाल,भूपी शेरचन र वैरागी काइँला लगायत अन्य युवा कविहरूबाट प्रेरित छु र ऊनीहरूका कृति पढ्ने गर्छु । पहिले हाम्रो आफ्नै मन भित्रबाट भाषा-साहित्य प्रतिको अगाध प्रेम मुखरित हुनुपर्छ । वर्तमान सामाजिक, आर्थिक र अन्य विसंगति प्रति पर्दाफास गर्दै त्यसको समाधानमा आम चेतना वृद्धि गराउने ऊर्जाका साथ साहित्य लेखनमा सक्रिय हुन मन पराउँछु ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– अन्त्यमा सबै पाठक वर्गलाई म के भन्न चाहन्छु भने हाम्रो भाषा साहित्य र संस्कृति एक अमूल्य निधि हो, जसबाट विश्वका सबै नेपालीहरूमा समन्वय र एकता स्थापनाको लागि सहज माध्यम बनेको छ । हामी सबै यसमा समर्पित हौं, माया गरौं र आफ्नो पहिचान विश्व सामु सुरक्षित राखौं !