रेडियो मार्फत आमसञ्चारको दुनियाँमा प्रवेश गरेकी सरला गौतमको यात्रा छापा सञ्चारमा आएर सामाजिक, राजनीतिक र पर्यावरणीय क्षेत्रमा सरोकार राख्ने विषयवस्तु विभिन्न पत्रकारितामा दरिलो गरेर पोखिन थाल्यो । पत्रकारिताका आलेखमा मात्र उनले व्यक्त गर्न खोजेका विषय नअटाएपछि उनी साहित्यिक दुनियाँमा आख्यान र गैरआख्यानका विधामा उज्यालो बोकेर उदाइन ।

पश्चिमको कर्णाली, महाकाली लगायत पूर्वको भोट्खोला हुँदै देशका विभिन्न ठाउँमा एकल यात्रा गरी; निबन्धमा समाजको सचित्र कथा लेखेर र समाजलाई थप नजिकबाट बुझ्न मद्दत पुर्‍याएर योगदान पनि दिएकी छिन्

डुमेरो (उपन्यास), पिँजडाको मान्छे (निबन्धसंग्रह) र अम्रिकाने काशी (उपन्यास) गरेर तीन वटा सरला गौतमका प्रकाशित कृति हुन् ।

पर्यावरणीय चासो,चिन्तन र चिन्ता सहित स्वैरकल्पना मार्फत प्राणीहरूको अलग संसार निर्माण गरेर लेखिएको उनको पछिल्लो उपन्यास `अम्रिकाने काशी´सँग सम्बन्धित रहेर विविध विषयमा जनक कार्कीले लेखक सरला गौतमसँग गरेको कुराकानी प्रस्तुत छ ।

बजारका पुस्तक पसल र अनलाइन पसलमा `अम्रिकाने काशी´ को पोस्टर देखेकाहरूले यसलाई कस्तो विषयवस्तुको पुस्तक भनेर परिकल्पना गर्ने ?

– पुस्तकको पोस्टर देखेर कल्पना गर्न मानिस स्वतन्त्र छ । मानिसको कल्पनामै धावा बोल्न त भएन नि । ए आईको जमानामा मानिसको कल्पना शक्ति र सम्झना शक्ति संकटमा छ । काशीको पोस्टर हेरेर कथा अनुमान गर्न पाठकलाई रमाइलो होस् । कथा पनि रमाइलोले भरिएको छ । संवेदनशील कुरा रमाइलो गरी-गरी सुनाउँछ  काशीले । कथा पत्ता लगाउने जिम्मा पाठकलाई नै छोडिदिऊँ है ।

यस उपन्यासका प्राणीका संसारलाई प्राणीकै पात्रद्वारा देखाउनु भएको छ  । प्राणीका कथा भन्न जरूरी किन ठान्नु भयो ?

–  हामी मानिस र संसारका अन्य प्राणी एकै पृथ्वीका बासिन्दा हौं । हामी प्रकृति भन्दा भिन्न होइनौँ उनकै अंश हौँ । हाम्रो जे संसार हो अन्य प्राणीको पनि उही संसार हो । यसैले यो कथा उनीहरूको संसारको भन्ने नै भएन । हाम्रै संसारको साझा कथा हो । हाम्रा कथाहरूमा प्राणीहरू आएका छन् तर उनीहरूको दृष्टिकोण कल्पना गरिएको छैन । अम्रिकाने काशी प्राणीहरूको दृष्टिकोण सहित आएको छ । विकासका नाममा मानिसले मच्चाइरहेको त्राहिमामको खिलाफमा उभिएको छ । मानव र पशुपक्षी बिचको विभेदको विरुद्ध उभिएको छ । आफ्नो अस्तित्व र स्पेसको लागि संघर्ष गरेका छन् । मानिसहरूले बिगारेको समाज र प्रकृतिको व्यवस्थालाई प्रश्न गरेका छन् । देशको नागरिक हुन कागजात चाहिन्छ पृथ्वीको नागरिक हुन चरित्र चाहिन्छ । यही भन्न आएको हो अम्रिकाने काशी ।

यो उपन्यासको रचनागर्भ बताउनोस् न ?

– घरमा म केटाकेटीसँग निकै रमाउँछु । कथा भन्ने र उनीहरूसँगै खेल्ने गर्दछु । लेखक व्यक्तित्व हराएर बालक हुन म आफैँलाई रमाइलो लाग्छ । एक साँझ छोरी (दिदीकी) सँग थिएँ । घरमा ऊ र म मात्र थियौं । कुकुर तिहारको साँझ थियो । टोलमा कुकुरहरू बेस्सरी भुके । ऊ डराई । मैले त्यही कुकुर भुकाइलाई कथा बनाएर सुनाउन थालेँ । ऊ रमाउँदै गई । झन् झन् कथा अगि बढ्यो । उस्ले वान्स मोर भन्न थाली । मैले कथा भनिरहेँ । मूल पात्रको नाम त्यही दिन अम्रिकाने काशी राखेँ । यो सातआठ वर्ष पहिलाको कुरा हो । हरेक तिहारमा मौखिक रूपमा काशीको कथा मैले सुनाइरहेँ ।  केटाकेटीले अम्रिकाने काशी किताब लेख्न दबाब दिइरहे । बर्षौं दिमागमा बसेको कथा डेढ वर्ष अगि पुस्तकमा बदलियो । मैले कथा लेख्ने बेलासम्म छोरी पनि किशोर भई । अनि यो कथा तन्नेरी पुस्तालाई काम लाग्ने गरी लेखेँ ।

उपन्यास लेखनको प्रक्रियामा यहाँ भित्र आफ्ना पात्रका  आत्मा कत्तिको प्रवेश गर्‍यो ?

– पुस्तक पढिसकेका साथीहरूले विभिन्न पात्रमा मेरै चरित्र भेटेको कुरा गर्छन् । मलाई निकै राम्रोसँग चिन्नेले काशीको बहानामा मनको कुरा भन्यो भन्छन् । कसैले तिमी नै हो त्यो काशी पनि भन्छन् ।  कुनै कुनै पात्रमा मेरो आत्मा पसेको छ । जति पात्र खडा गर्‍यो ती सबैमा लेखकको कुनै न कुनै चरित्र छरिंदो रहेछ । मेरो स्वभाव बहुमुखी खालको छ । यसैले पनि पात्रहरूमा कहीं न कहीं म छु । मेरी एक सखी छन् । उनको नाम भू अक्षरबाट आउँछ । पुस्तकमा एक पात्र छे भुसी डन । मेरो साथीलाई “के छ भुसी डन ?” भन्दा उनी निकै मख्ख पर्छिन् ।

उपन्यास लेख्नु पूर्व प्राणीका स्वभाव, हाउभाउ, चरित्र, विशेषता, गुण-अवगुण अथवा उनीहरूका प्रकृतिका बारेमा के कस्तो अध्ययन गर्नुभयो ?

–  हामी त जीव जन्तुसँगै हुर्केको हो । कुकुर, बाँदर, बिराला हाम्रा वरिपरि नै हुने प्राणी हुन् । हात्ती, घोडा हामीले नजिकबाट देख्ने प्राणी हुन् । मुसा र साङलाको त हाउभाउ हुन्छ । बाँकी  ठुला प्राणी त झन्डै मानिस जस्तै त हुन्छन् । तर कथा नै लेख्ने भनेपछि खास ध्यान चाहिं जाने रहेछ । मैले हात्तीबारे बुझ्न माउतेको कथा सुनेँ । जङ्गल सफारीका कहानी सुनेँ ।

वन कुकुरबारे बिबिसीमा आएको रिपोर्ट पढेर अचम्मित भएँ । कुकुर र मानिसको सम्बन्ध अझै नियालेँ । बाँदर पाल्ने परिवारको गतिविधि टिकटकमा नियालेँ । सामुदायिक कुकुरको हेरचाह गर्ने मानिसहरूको दिनचर्या सबै मिहिन गरिहेरेँ । जनावरहरूको भावहरू नियालेँ । जनावर र मानिसहरू बिचको प्रगाढ माया र अट्याचमेन्ट गजब नै लाग्यो । अम्रिकाने काशी काल्पनिक कथा भए पनि, हाम्रै समाज वरिपरिकै कथा हो । टोलका कुकुरहरूसँग तर्केर हिड्थे, अचेल मायाले बोलाउँदै हिंड्छु । कतै धेरै समय हराएर आउँदा उनीहरू पछिपछि आउँछन् । यो संसार मायाको हो । मान्छे मान्छे बिचको माया मात्र होइन । मानिस बाहेक अन्य जीवजन्तुको सामूहिक मायाको संसार । पुस्तक लेख्दै गर्दा आफ्नै दृष्टिकोण फेरिँदै गयो ।

मानिससँग भाषा छ । उसलाई आफ्नो र अरूको कथा भन्न सजिलो छ । प्राणीका पनि भाषा त होलान् तर लेख्य भाषा छैनन् । एउटा मान्छेले जनावरको कथा भन्न आफू कत्तिको जनावर हुनुपर्‍यो ?

–  बाँकी जनावरको कथा भन्न हामी जनावर हुने भन्ने प्रश्न नै आउँदैन । हामी जनावर नै हौं । पशुपक्षीको भाषामा हामी बोल्न सक्दैनौं । हाम्रो भाषामा उनीहरू बोल्दैनन् । मानिस मानिसको पनि एकै भाषा छैन । एकै देश र समाजका मानिसको पनि अलग अलग भाषा छ । भाषा अलग हुँदैमा हाम्रो भावना अलग हुँदैन । भाषाको कुरा भन्दा पनि पशुपक्षीको भावनामा पसेँ जस्तो लाग्छ । खासै धेरै अप्ठेरो भएन । जब कथा बग्न थाल्यो । यो जादु जस्तो भयो । लेख्दै जाँदा वाक्यहरू बन्दै जान्थे । पात्रहरू आउँदै गर्थे । कुनै कुनै बेला म आफैं छक्क पर्थें, हैन यो के जादु भइरहेछ । म कुन लोकमा कसरी विचरण गरिरहेछु जस्तो । अम्रिकाने काशी लेखन मेरो एक मोहक अनुभूति हो । म कहिल्यै कतै रोकिइन । लेखन यात्रा सम्झेर पनि बालक सरि रमाउँछु ।

उपन्यासमा स्वैरकल्पनाको उच्चतम प्रयोग छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । यो उपन्यास मार्फत प्राणीले मान्छेलाई दिन खोजेको सन्देश के हो ?

– हो यो मेरो कल्पनाको उच्चतम प्रयोग हो । यो कथाको सार हो – पृथ्वी मानिसको मात्र होइन । सबैको साझा घर हो । मानिस, पशुपक्षी मात्र होइन बोटबिरुवाको पनि घर हो । देशको जस्तै पृथ्वीको पनि नियम छ । हाम्रो संविधान जस्तै प्रकृतिको विधान छ  प्राकृतिक नियम विपरीत हिंड्ने मानिस पृथ्वीको लागि अवैध हो । पृथ्वीको लोकतन्त्रमा सबैको समान अस्तित्व छ । यो मानिसले स्वीकार गर्नुपर्दछ । मानिसले पृथ्वीलाई त्यति मात्र दोहन गर्न पाउँछ जति उसको जीवनको लागि चाहिन्छ । उसको मात्र निजी सम्पत्ति जस्तो गरी शोषण गर्न पाउँदैन । प्रकृति, जीव जन्तु, बोटबिरुवा र मानिस सँगै हिंड्ने समाज व्यवस्थाको वकालत हो यो पुस्तक ।

सरला गौतम

तपाईं समाजशास्त्रको विद्यार्थी पनि हुनुहुन्छ । जनावरलाई मानव सभ्यताले समाजशास्त्र भित्र राखेर कत्तिको अध्ययन गरेको छ जस्तो लाग्छ ?

– मानिसको दबदबा भएको संसारमा मानिसहरूकै योगदान र ज्ञानको समावेशिता छैन । संसारका केही उच्च वर्ग मानिने मानिसको हातमा ज्ञान, विज्ञान र इतिहास छ । मानव सभ्यताको शुरूवातकर्ता महिलाहरूको उपस्थिति न्यून छ । आदिवासीको कथा र योगदान हराएको छ । किसानको मुहार र समस्या समाजशास्त्र र राजनीतिमा भेट्न मुश्किल छ ।

धेरै जात, समूह र समुदाय संसारको ज्ञान निर्माण प्रक्रियामा नजरअन्दाजमा परेका छन् । जनावरको त कुरै भएन । आजको संसारले उनीहरूलाई प्राणीको जस्तो व्यवहार पनि गर्दैन । उत्पादन प्रणालीको इनपुट र आउटपुटको रूपमा व्यवहार गर्छ । विज्ञानका विविध प्रयोगमा प्राणीहरूले आफ्नो ज्यान अर्पण गरेका छन् । अन्तरिक्षमा पहिला पुग्ने जाइका नामको कुकुर हो । ऊ डराई डराई एक मेसिनमा बसी अन्तरिक्षमा पुगी । ज्यान दिई । आज मान्छेको सभ्यताले उसको योगदान सम्झँदैन । चितवनको पर्यटनमा सौराहाको हात्तीहरूले ढाड खियाएका छन् । उनीहरूको ढाडको दुखाइको के मूल्य छ मानिसको संसारमा । जनावरको आँखाबाट हेर्दा मानिस स्वार्थी र संकुचित देखियो । मानिसको  हृदयको फैलावट जरुरी छ ।

वर्तमान समयमा मानिसले अत्यधिक कुरूप क्रियाकलाप गरिरहेको छ । यसको असर सम्पूर्ण प्रकृतिमा नै परेको छ । अहिलेको उखरमाउलो गर्मी र अतिवृष्टिले जलवायु परिवर्तनको असर सहजै अनुमान लगाउन सकिन्छ । उपन्यासमा प्राणीहरू प्रकृति संरक्षणमा कतिको सचेत छन् ?

– मौसम परिवर्तनको वैज्ञानिक कुरा गर्न म विज्ञ होइन । पर्यावरण प्रति चिन्तित एक साधारण नागरिककै हैसियतमा भन्छु । हामीले अहिले पनि पर्यावरणको कुरा गर्दा मौसम परिवर्तनको कुरा गर्छौं । तर हामी क्लाइमेट क्राइसिसको अवस्थामा छौं । अनुमान नै गर्न नसकिने मौसमहरू सामना गर्दैछौँ । अस्वाभाविक बाढी पहिरो सामना गर्दैछौँ । मलिला खेतमा निर्ममता पूर्वक गिटी बालुवाले पुरेर गरिने प्लटिङलाई विकास भनेका छौँ । नदीको किनारमा मृग पानी खान पाउँदैन, प्लास्टिक खाएर मृत पल्टन्छ । उसको मृत शरीरलाई जिस्काउँदै हामी नदीमा क्रुज चलाउने मूर्खतालाई “सामुद्रिक मोडलको विकास” भनिदिन्छौं ।

मानिस हिंड्ने फुटपाथ बनाउन नदिने, जंगल मास्ने कानून ल्याउने र भ्यू टावर उभ्याएर गरीब  गिज्याउने निर्मम पटमूर्खतालाई राजनीति भन्छौं । एअरपोर्ट बनाउन होडबाजी छ, लाखौँ रुखको भविष्य संकटमा छ । सडकमा बस पुरिन्छन् । पर्यावरणीय महासंकटको अवस्थामा छौँ हामी । अब यो घरघरको विषय हो । मानिस र पशुपक्षी सबैको विषय हो । काशीले यो विषयमै मानिसलाई खबरदारी गर्छ ।

मान्छे आफू बाँच्न प्राणीको हत्या गरेर खान्छ । यो विषयमा यहाँको व्यक्तिगत धारणा के छ ?

– यो पुस्तक प्राकृतिक व्यवस्थाको विरोधी होइन । बाघले भेटे मान्छे खान्छ । मान्छेले भेटे बँदेल खान्छ । हामी बाँच्नको लागि संघर्ष गर्दै बाँच्ने प्राणी हौं । प्राकृतिक व्यवास्थामा हामी एक अर्काको आहारा पनि हौं । यसैले असाध्यै धार्मिक हिसाबले यो पुस्तक लेखिएको छैन । यो पृथ्वीकै प्राकृतिक कानून भित्र छ । तर मानिसले अन्य प्राणीलाई इनपुट र आउटपुट मात्र ठान्ने सोचको खिलाफमा छ । खानलाई पालेका जीवहरू पनि बाँचुन्जेल त मज्जैले बाँच्न पाउनु पर्‍यो । ट्रकमा ओसारिने राँगा भैंसीहरूको हालत हेर्नुस् त ? स्वाद मानेर मम खाँदा त्यो अश्रुधारा कसरी बिर्सने ? असाध्यै साँघुरो ठाउँमा पालिने, बँदेल, खसीबाख्रा, कुखुरा । उनीहरूलाई ओसारपसार गर्ने निर्मम तरिकामा खबरदारी आवश्यक छ । अन्य प्राणीहरूलाई तल्लो स्तरको निर्ममता देखाउने अधिकार मान्छेले कसरी पायो ? काशीले बाँकी  भागहरूमा अझै प्रश्न गर्नेछ । अम्रिकाने काशीको अन्तिम पाना सकेर टोलाइरहेका पाठकलाई भन्न चाहन्छु स्टे ट्युन । काशीले अझै गहिरो कथा बुन्दैछ ।

आजको डिजिटल युगमा सामाजिक सञ्जालमा मान्छे भुल्ने चौतारी टन्नै छन् । यस्तो अवस्थामा पठन संस्कृतिलाई उकास्न के-कस्तो कसरत गर्नुपर्ने देख्नुहुन्छ ?

– हरेक समयमा पुस्तक पढ्ने मानिस कम नै हुन्छन् । आजको युगमा त पढ्ने पाठक होइन, पढ्ने लेखक नै पाउन गाह्रो छ । सीमित दृष्टिकोण भएको सानो समूहले एकै शैलीमा एकै नाशका कथा लेखिरहेछन् । आफ्नो समयको कथा चाखलाग्दो गरी पढ्न पाएनन् भने युवाहरू पढ्ने चलनबाट विमुख हुन्छन् । अहिले त्यस्तै देखिन्छ । हामीले नै मेहनत गर्नुपर्ने छ । विषयमा विविधता, आकर्षक शिल्प, समसामयिकता र संसारलाई हेर्ने दृष्टिकोण लेखकले नै फराकिलो पार्नुपर्नेछ । नेपाली भाषाबाट विमुख हुँदै गएको पुस्तालाई पाठक बनाउनु पर्ने छ । यो सजिलो छैन । बनिसकेको बाटो हिंडेर अब सुख छैन । पठन परम्पराको बाटो बनाउन हामीले नै निकै मेहनत गर्नुपर्छ ।