एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –भुमिका थारू ।
प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले भुमिका थारू सँग गरेको कुराकानी :
नेपाली कला, कविता र रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ, यसलाई कसरी हेरिरहनु भएको छ र यी क्षेत्रमा हुँदा लैंगिक विभेदको सामना गर्न परेको छ कि छैन ?
– म अन्तर्मुखी स्वभावको भएकीले मलाई कला, कविता र रंगमञ्च मार्फत् नै आफूलाई अभिव्यक्त गर्न मन पर्छ । पहिलेको तुलनामा हेर्ने हो भने यस क्षेत्रले दिन प्रतिदिन फड्को मारिरहेको अवस्था छ । यो क्षेत्रमा भइरहँदा खेरि लैंगिक विभेदको कुरा गर्ने हो भने महिलालाई खाली ठाउँ भर्नको लागि मात्र ‘स्पेस’ दिने गरेको मैले कयौंपटक महसुस गरेकी छु । रंगमञ्चमै पनि पुरुषलाई नै धेरैजसो ‘स्ट्रङ क्यारेक्टर’ दिएको हामीले देख्दै आइरहेका छौं । ‘ए महिला कवि पो रैछ । तिमी पनि कविता लेख्छौ र ? कविता लेखेर के पायौ ?’ भनेर कुनै बेला कसैले मलाई यसरी प्रश्न तेर्साएको नमीठो घटना अझै पनि ताजै छ ।
कविता लेखिरहँदा तपाईंलाई सबैभन्दा मन पर्ने विषय के हो ?
– कविता लेखिरहँदा मलाई सबैभन्दा मन पर्ने विषय भनेकै आफ्नो थारू समुदायको मुद्दा हो । समग्र थारूहरूलाई अझै पनि सीमान्तकृत कमलरी, कमैयाकै रूपमा हेरिन्छ । मलाई लाग्छ, तमाम आदिवासीको मुद्दाहरूलाई अझै पनि ओझेलमा पारिएको छ या भनौँ दबाइएको छ । अब पनि ती आवाज नयाँपुस्ताले नउठाए कसले उठाउने ? त्यही भएर मेरो कवितामा प्रायः मेरै थारु समुदायकै कथा–व्यथा अनि विद्रोह झल्किन्छ । ‘कहियासम अनागरिक ?’ शीर्षकको मेरो थारु भाषाको कवितासंग्रह यही असारमा प्रकाशन भएको छ ।
कवितामा मेरो यो प्रयास, यो संघर्षको यात्रा सदैव जारी नै रहनेछ ।
नेपाली कविताको क्षेत्रमा गुट, उपगुट छ भनिन्छ, के तपाईंलाई थाह छ ?
– नेपाली कविताको क्षेत्रमा गुट, उपगुट पक्कै पनि छ । जस्तो कि सधैँ एउटै अनुहार दोहोरिइरहनु । एउटालाई मात्र बारम्बार मौका दिनु, अब्बल लेख्ने नयाँले मौका नै नपाउनु ।
कविताको क्षेत्रमा पनि समावेशिता चाहिन्छ भनिन्छ, के यो ठिक हो ?
– हो, कविताको क्षेत्रमा अवश्य पनि समावेशिता चाहिन्छ । यसै पनि आदिवासी, दलित, मुस्लिम, सीमान्तकृत वर्गका आवाज सामान्यतः सुन्नमा आउँदैन । ती आवाज कविता मार्फत् ल्याउन पनि कविताको क्षेत्रमा सबैको समान ढंगले प्रतिनिधित्व हुन एकदमै जरुरी छ ।
एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा तपाईंको प्रदेशबाट तपाईंलाई कविता वाचनका लागि आमन्त्रण गरेको छ कस्तो लाग्दैछ ?
– एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा लुम्बिनी प्रदेशबाट मलाई कविता वाचनको लागि आमन्त्रण गरेकोमा एपेक नेपालप्रति हृदयदेखि नै आभारी छु । कार्यक्रममा सहभागिता जनाउन साँच्चिकै आतुर छु । कवितामा बामे सर्दै गरेकी स्रष्टाले यो मौका पाउँदा कविता लेखनमा थप ऊर्जा, हौसला अनि आँट मिलेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।