चितवन पदमपुरमा २०३६ असोजमा जन्मिनुभएको सिन्धु पौडेल उम्दा कवि हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नुभएकी उहाँका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । हाल कथासंग्रहको तयारीमा हुनुहुन्छ । उहाँको ‘मृतसागरको उचाइ’ कवितासंग्रह प्रकाशित छ । त्यस कृतिमा उहाँले वैदेशिक रोजगारीको वाद्यतालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ । साहित्यमा सक्रिय रहनुभएको उहाँ अहिले इजरायलमा हुनुहुन्छ ।
प्रस्तुत छ, कवि तथा कथाकार सिन्धु पौडेलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमासाहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः
अनेसासको आजीवन सदस्य पनि हुनुहुन्छ र अनेसासलाई बाहिर बसेर भरपुर सहयोग गर्नुभएको छ ! तपाईं व्यस्त हुनुहुन्छ ! यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कतिको मन जान्छ ?
– यी कुराहरू फुर्सदको बेला गरिने हो । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ मनले चाहेको कामकुरा गर्न समय मिलिहाल्दो रहेछ । साहित्य अध्ययन, लेखन र पुस्तक प्रकाशनमा मन गएकै कारण त निरन्तरता छ नि ।
साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?
– भनिन्छ साहित्य समाजको ऐना हो । यो नयाँ र पुराना पुस्ता जोड्ने पुल पनि हो । साहित्य जीवन हिंड्ने बाटो हो । साहित्य समाजको संस्कार जोगाउने मूल आधार पनि हो । जीवन जन्म र मृत्यु बीचको छोटो अन्तराल हो । यही छोटो जीवनमा देखिने, भोगिने, अनुभव गरिने र अनुशरण गरिने वस्तु नै दर्शन, आत्मा र प्रकृति हुन् । यिनीहरू एकार्काका परिपूरक हुन् । जसको सम्बन्ध आपसमा अन्योन्याश्रित छ ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई ऊँचाइमा लान्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ?
– अध्ययन, चिन्तन र मननको समष्टिगत स्वरूपले नै लेखन सार्थक हुन्छ । सभ्य मान्छेलाई ऊँचाइमा लान यी कुराले अहम् भूमिका खेल्छन् भन्नेमा विश्वस्त छु ।
तपाईंका कविता बेजोड छन्, हो ? कविता राम्रो लेख्न के गर्नुपर्छ ? नयाँ लेखकलाई के भन्न चाहनु हुन्छ ?
– मेरा कविता कस्ता छन् भन्ने कुरा मैले भन्ने होइन । राम्रो कविता लेख्न अध्ययन, अनुसन्धान र कविता सम्बन्धी विषयज्ञान त हुनैपर्छ । म आफैं पनि नयाँ भएकोले सबैले सिक्नुपर्छ । सिकाइ सबैका लागि आवश्यक र अनन्त छ ।
तपाईंले लेखन प्रेरणा ‘को’ बाट पाउनु भयो ? तपाईं किन लेख्नु हुन्छ ?
– लेखन प्रेरणा मैले मेरी आमाबाट पाएको हो र मेरो पारिवारिक माहौल पनि त्यस्तै थियो । म सानैदेखि मेरी आमाले पढ्ने ‘गौरी’ खण्डकाव्य, ‘मुनामदन’ लगायत हजुरबाहरूले पढ्ने रामायण, महाभारत आदि नै थिए प्रेरणाको श्रोत । अलिक ठूलो र बुझ्ने भएपछि ८-९ क्लासदेखि माक्सिम गोर्कीको आमा, मिखाइल सोलोखोवको मान्छेको भाग्य र दोन नदीका कथाहरू पढ्ने गर्थें जो मेरो बाबाले पढ्नुहुन्थ्यो । लेख्नु भनेको आफूले आफैलाई चिन्ने अवसर हो । हरेक व्यक्तिको लेखाइमा आ-आफ्नो चेतनास्तर हुन्छ, बिचार अलग हुन्छ । त्यसैले आफ्नो लेखन क्षमता बुझ्न पनि लेख्न जरूरी ठान्छु |
खाली समय कसरी बिताउनु हुन्छ ? अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनुहुन्छ ?
- सर्वप्रथम त हामी विदेशी भूमिमा छौं । ड्युटी पछिको समय कति नै बाँकी रहन्छ र ? बाँकी रहेको समय अध्ययनमा बित्छ मेरो । तर सधैं पनि होइन । अनेसासले विश्वमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली जो विदेशमा बसेर पनि आफ्नो भाषा, साहित्य, धर्म, र संस्कृति जोगाउन हरदम लागिरहनु भएको छ । उहाँहरूलाई समान ढङ्गले समेटेर लान सकेमा अझै राम्रो हुन्थ्यो ।
तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ?
– यी सबै विधा रुचिका विषय हुन् । त्यसैले प्रश्न गरिएका सबै विधा मन पर्छन् ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
– पछिल्लो समयमा साहित्यिक पत्रकारिताले निकै ऊँचाइ लिएको छ । यो अत्यन्तै खुशीको कुरा हो । अहिले इन्टरनेटको माध्यमले र साहित्यिक पत्रिकाको कारणले गर्दा नै विश्वभरी छरिएर रहनुहुने लेखक र पाठकसम्म हाम्रा लेख-रचना पुग्न पाएका छन् । पढ्न सहज भएको छ ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?
– यथार्थवादी ।
साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
– अहिलेको परिवेशमा भन्नुपर्दा नेपालको राजनीति गुटबन्दी, लुटधन्दा, दलवादको सिद्धान्त र जनताको आँखामा छारो हाल्ने काम बढी नै भएको देखिन्छ । तर सबै नराम्रो भन्न चाहिं मिल्दैन । अहिले राजनीतिमा राम्रा व्यक्तिहरू पनि देखिएका छन् तर काम गर्न सहज भने छैन ।
अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?
– जब लेख्न बसिन्छ त्यहाँ चेतनाले विचार स्वतः प्रष्फुटन गर्छ र मानिसले विश्वपरिवेश बुझ्ने क्षमता बिस्तार गर्दै जान्छ । युगचेतना बाट नै विश्वका साझा मानवीय अभिव्यक्तिहरू गीत, सङ्गीत, साहित्य, कलाको मध्यमबाट विश्वको दृष्टिलाई साझा र सरल तरिकाले अभिव्यक्ति गर्न सक्ने क्षमता राख्छ । नव युगमा नव चेतनाका साथ नयाँ लेखकहरूको उदय भैरहेको छ र नयाँ विचारहरूको उदय पनि । यसलाई सुखद पक्ष मान्नुपर्छ ।
पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल र अनेसासमा ?
– केही हदसम्म ठिकै । तर अझैसम्म सबैको चित्त बुझ्दो र निष्पक्ष हुन चाहिँ सकेको छैन ।
के अनेसासका साथीहरू मिलेर आफ्नै शेयरमा आफ्नै पब्लिकेशन, आफ्नै अनलाइन गरेर साहित्यको सबै काम आफैले गर्न मिल्दैन र ?
– अवश्य मिल्छ । यसो गर्न सके अनेसास आत्मनिर्भर पनि हुने थियो र यसको गुणवत्ता पनि थप चुलिन्थ्यो ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– विदेशी भूमिमा ड्युटीका साथसाथै कैयन आइपर्ने समस्याहरू बाट निस्किएको समयलाई व्यवस्थापन गरेर लेख्नुपर्ने हुन्छ । तथापि मलाई लाग्छ, नेपाली साहित्याकाशको आधा हिस्सा डायस्पोरिक लेख्न नै हो । यो यथार्थलाई नेपाल सरकार, प्रज्ञाप्रतिष्ठान लगायत सरोकारवालाहरूले ससम्मान बुझ्न जरूरी छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई कसरी हेर्नुभएको छ ? संसारमा छरिएर रहनुभएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल कस्तो छ ?
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अब यो क्षेत्रमा लागेकाहरूको साझा घर भैसक्यो । यसलाई सबै मिलेर फलाउने-फुलाउने तर्फ लाग्नुपर्छ । साहित्यिक व्यक्तित्वहरूको माहौल पनि उत्साहजनक छ ।
भनिन्छ, नेपाली भाषा विस्तारै लोप हुँदैछ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नुपर्ला ?
– नेपाली भाषा लोप हुँदैछ भन्ने कुरामा विश्वास छैन । यो त झन् फैलिएर गैरहेको छ । अनेसास नै यसको उदाहरण हो । हाम्रो साझा बलले अझै नेपाली साहित्य पढ्नेहरूको संख्या बढाउने र यसको विस्तार गर्ने काममा सफलता पाउन सकिन्छ ।
अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नुहुन्छ ?
– भाषा-साहित्यको विश्वव्यापीकरणको अभियानलाई अझै सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउन सक्ने कुशल नेतृत्वको खाँचो छ । जसले कसैलाई काखा र कसैलाई पाखा नगरी अनेसासमा आबद्ध सबै सदस्यहरूलाई समान व्यवहार गर्न सकोस् ।
तपाईंको आगामी पुस्तक प्रकाशनका बारेमा के बुझ्न सकिन्छ ?
– अबको मेरो पुस्तक सम्भवतः कथासंग्रह हुनेछ । त्यसैको तयारीमा जुटेकी छु यति बेला ।
अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
– नेपाली साहित्यको सिकारु कलम हुँ म । तपाईंहरूले माया गरिदिनु भएको छ । त्यो नै मेरो लेखनको ऊर्जा र सफलता हो । कमीकमजोरी थुप्रै होलान् । जस्ताको तस्तै औंल्याएर सहयोग गरिदिनु भए आभारी हुनेछु । र, अन्त्यमा यो अवसरको लागि तपाईं साथै तपाईं सम्बद्ध यो मिडियालाई पनि हार्दिक धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।