“नेपाली भाषा जबसम्म रहिरहन्छ, तबसम्म यस राष्ट्रमा रहेका जाति–समुदायको अस्तित्व रहन्छ । नेपालीभाषीहरूबीच फूट ल्याउन खोजिएको भेउ पाएर हामी (प्रा.बालकृष्ण पोखरेल, प्रा.मुकुन्दशरण उपाध्याय, डा.तारानाथ शर्मा, डा.कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली आदि) एक ठाउँ आएका हौं । नेपाली भाषालाई फुट्न नदिन ‘ललितपुर प्रस्तावना’ ले ऐतिहासिक कदम चालेको छ ।”

“तत्सम शब्दलाई छुन झर्रोवाद पनि डराएको थियो । नयाँ अभियन्ताहरूले, कीर्तिपुरे सज्जनहरूले भने तत्सम समेतलाई पनि आक्रमण गर्ने, १४ अक्षरहरू नेपालीमा छैनन् भनेर हटाउने, कुनै खासखास पदबाट तिनलाई गलहत्याउने जुन आँट गरे, त्यो चिन्ताजनक छ । म हात जोड्छु, त्यस्तो आँट नगरौं । नेपाली भाषा विशुद्ध रूपमा राजमार्ग हो, यसलाई गोरेटो नबनाऔं ।”

“कथ्य भाषा द्रुतगामी हुन्छ । लेख्य भाषा चाहिं अड्डी लिने खालको हुन्छ  । लेख्य भाषाका उच्चार्य र लेख्य दुई भेद हुन्छन् । जस्तो लेखिन्छ त्यस्तो उच्चारण नहुन पनि सक्छ । नेपालीको लेख्य भेद वा स्तरीय भाषिकाले एक शताब्दीपछि अलिकति कोल्टे फेर्ला, दिनका दिन कोल्टे फेर्ने वा फेर्न लगाउने अनुमति कसैलाई छैन ।”

………..

प्रा. बालकृष्ण पोखरेल नेपाली भाषाका ज्येष्ठ–श्रेष्ठ साधक हुन् । विराटनगरमा बस्दै आएका ७९ वर्षीय पोखरेलका ‘उकुसमुकुस’, ‘तेस्रो एकमुखे रुद्राक्षको खोजी’, ‘मलाई गयल नपार’, ‘तेरा कुरा इस्’ सहित भाषा साहित्यका प्रायः सबै विधाका दर्जनौं कृति प्रकाशित छन् । ‘खस जातिको इतिहास’ आफ्नो क्षेत्रको अहिलेसम्मकै गुरुगम्भीर कृति हो, नेपाली भाषा–साहित्यका लागि महत्तम उपलब्धि हो । नेपाली भाषामा हिज्जेबारे बहस चर्किरहेका वेला उनले ललितपुरमा हालै सार्वजनिक ‘नेपाली कसरी शुद्ध लेख्ने ? हिज्जे विचार (नेकशुले) २०६९’ को अगुवाइ गरे । यही सन्दर्भमा उनीसँग कान्तिपुरका लागि पारस नेपालले गरेको कुराकानीको अंश :

===

नयाँ ‘नेकशुले’ जारी गर्न किन आवश्यक पर्‍यो ?

प्रा. बालकृष्ण पोखरेल

पुरानो नेकशुलेलाई पुरानो भनेर, हेपेर, अहिले नेकले (नेपाली कसरी लेख्ने) मात्रै भनेर लेखकहरू जथाभावी अनेकौं विकल्पमा जान थाले । पुरानोले कुनै भाँडभैलो मच्चाएको थिएन । कुनै पत्रिका वा समाचारपत्रले एउटा विकल्प अँगालेको थियो, अर्कोले अर्को वैकल्पिक बाटो रोजेको थियो । त्यसले नेपाली भाषा–व्याकरणमा कुनै नकारात्मक प्रभाव पारेको थिएन तर एक–डेढ वर्ष भयो, एकाएक पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र इत्यादिले दुईचार जनालाई नै नेपालका सर्वेसर्वा ठानेर उनीहरूको लेखन पद्धतिलाई, एउटा मात्रै विकल्पलाई आँखा चिम्लेर अँगाले । त्रिभुवन विश्वविद्यालयमा पनि ती एकथरीले गएर आक्रमण गरेर आफ्नो हिज्जे लागू गर्न बाध्य तुल्याए । कीर्तिपुरे (त्रिविका नेपाली गुरुहरू) ले नेपाल एउटा देशको मात्रै होइन, भारत, भुटान, वर्मा, हङकङ, बेलायत, अमेरिकाको भाषा बन्दै गरेको नेपाली भाषामा आफ्नो विकल्पलाई पञ्चायती व्यवस्था लादेझैँ लादे । उनीहरूले पहिले नेपाल प्रज्ञा प्रतिष्ठान उपर हमला गरे । शत प्रतिशत समर्थन त पाएनन्, तर पनि प्रज्ञा प्रतिष्ठानलाई आफ्नो घेराभित्र पार्‍यौं भनेर मक्ख परे । अनि उनीहरूले जे लेखे तिनका एक मुठी कारिन्दाहरूले लाखौंको संख्यामा छाप्न थाले । राष्ट्रभरका छात्रछात्राहरूमाथि आफ्ना नियम लाद् न थाले । अनेकौं मार्ग र विकल्पहरूलाई लात मारेर आफूलाई सारा नेपाली समाजको भान्से ठानेर अनर्गल चेष्टा गरे । (त्यसबाट आहत भएका साथीहरूलाई) मैले थामथाम–थुमथुम गर्दै आएको थिएँ । ‘हरेक विकल्प आदरणीय हुन्छ, माननीय हुन्छ, त्यसो हुनाले कुनै पनि विकल्पलाई हामीले थुक्नु हुँदैन, घृणा गर्नु हुँदैन, बरु हामीले सँगै बसेर प्रेमपूर्वक मनको भावना साटासाट गर्नुपर्दछ’ भनें । बिरामी पत्नीको सेवामा लाग्नुपरेकाले तीन वर्ष म काठमाडौं आउन सकिनँ । यसपालि आएँ र नयाँ नेकशुले जारी गर्‍यौं ।

 

नेपाली भाषामा हस्व ‘इ’, ‘उ’ अनि पातलो ‘स’ मात्रै चलाउनुपर्छ भनेर यहाँहरूले नै झर्रोवाद आन्दोलन चलाउनुभएको थियो । नेकशुले–२०६९ को नयाँ प्रस्तावनामा दीर्घ ‘ई’, ‘ऊ’, ‘श’, ‘ष’, ‘स’, आगन्तुक शब्दहरूलाई तत्समवत् चलाउने कुरा गरिएको छ । आफैंले लामो समयसम्म काँध थापेको झर्रोवादलाई अब बिसाउनुभएको हो ?

हाम्रो झर्रोवाद त विशाल आन्दोलन थियो । त्यो केवल हिज्जेको होइन, व्याकरण, ध्वनिशास्त्र र ध्वनि विज्ञानको पनि आन्दोलन थियो । मान्छेलाई थाहा छैन, ध्वनिशास्त्र र ध्वनि विज्ञानमा अन्तर छ भन्ने कुरो ।

झर्रोवादलाई हामीले छाड्ने कुरै छैन । भारी भए पो बिसाउनु ? त्यसले त जीउ चङ्गा बनाउँछ । नयाँ नेकशुलेलाई झर्रोवादले आशीर्वाद दिएको छ, फल, फूल भनेर । तर विकल्पमा हिंडेकाहरूलाई यसले एउटै बाटोमा हिंड्न अनुरोध गर्नुपर्दछ । किनभने नेकशुले नेपालको एउटा संस्कृति हो । नेकशुले नेपाल राष्ट्रको मेरुदण्ड हो, ढुकढुकी हो । त्यो ढुकढुकीले संस्कृत तत्समलाई चाहिं मुटु मानेको छ । किनभने नेपाली भाषा संस्कृतको कोखबाट जन्मेको हो । त्यसैले नेपाली भाषाले अंग्रेजीबाट आएका शब्दलाई तत्समको मान्यता दिन सक्दैन । तिनलाई कसैले तत्समवत् (तत्सम सरहका) भनेछ भने आपत्ति पनि गर्दैन ।

तत्सम शब्दलाई छुन झर्रोवाद पनि डराएको थियो । नयाँ अभियन्ताहरूले, कीर्तिपुरे सज्जनहरूले भने तत्सम समेतलाई पनि आक्रमण गर्ने, १४ अक्षरहरू नेपालीमा छैनन् भनेर हटाउने, कुनै खासखास पदबाट तिनलाई गलहत्याउने जुन आँट गरे, त्यो चिन्ताजनक छ । म हात जोड्छु, त्यस्तो आँट नगरौं । पुरानो नेकशुले होस्, वा हामीले बनाएको होस् वा भविष्यमा आउने नेकशुले होस्, यसले सबैलाई सम्मान गर्नुपर्दछ । कुनै एउटा समूहलाई ‘तँचाहिं राजा’ भन्न पाइँदैन । एकथरी मित्रहरूले ‘तिमी श्री ५ भयौ है’ भन्ने भूल गरे । नेपालभित्रका मात्र होइन, बाहिरका नेपालीहरू समेत प्रभावित हुने किसिमबाट निर्णय गर्नु उचित होइन । नेपाली भाषालाई स्तरीकरण गर्ने भनेर २०३४–३५ सालदेखि अभियान चलाइयो, अहिले आएर त धमाधम आँखा चिम्लेर जे मन लाग्यो त्यही गर्न थालेका छन् ।

 

हिज्जे र वर्ण विन्यासमा विवादको बीउ २०३५ सालमै रोपिएको हो भनिन्छ नि ?

ती अभियन्ताहरूले के कुरो बुझेनन् भने, नेपाली भाषा कसैको मातृभाषा होइन । त्यसबेला यसबारे कसैले अध्ययन गरिसकेका थिएनन् । एउटा कुरा हामीले बिर्सनु हुँदैन, नेपाली भाषा कसैको मातृभाषा होइन । यो नेवारको पनि भाषा हो, खसको पनि हो, गुरुङको पनि हो । नेपाली चार जात छत्तीस वर्णको साझा भाषा हो । यो गाउँगाउँमा फेरिंदै जाने भाषा होइन । खोलावारि एक रूप, खोलापारि अर्को रूप हुने भाषा होइन नेपाली । जब मैले ‘खस जातिको इतिहास’ को अनुसन्धान गर्न भनेर त्रिविको प्राध्यापनबाट स्वैच्छिक अवकाश लिएर कथ्य र लेख्य नेपालीबीच अन्तरका बारेमा सोच्न थालें, अनि छक्क परें, ज्यादै खित्का छाडेर हाँसें, रमाएँ । त्यो किनभने, कुनै पनि लेख्य भाषा कुनै जातिको कथ्य हुन सक्दैन रहेछ । कुनै तमसुकको भाषा कुनै नेपालीको घरमा बोलिन्छ र ? नेपाली कसैको मातृभाषा हो भने किन ‘ह्याँ बस्नुस्’ भन्छ पोखरा, ‘यैं बस्नुस्’ भन्छ काठमाडौं, ‘यीं बस्नुस्’ भन्छ पूर्व ? तीन क्षेत्रमा एउटै प्रचलित शब्द ‘यहीं’ का तीन रूप किन ? यो वास्तवमा भाषिकागत रूप हो । राष्ट्रिय भाषालाई कसैको मातृभाषा भन्दा त्यो भाषाको अपमान ठहरिन्छ ।

 

उसो भए छेत्री बाहुनको मातृभाषा के हो ?

खस कुरा । त्यही भएर त छेत्री बाहुनले पनि आफूलाई जनजाति स्वीकार गर्नुपर्‍यो भन्दै आएको हुँ मैले । नेवार, गुरुङ जनजाति हुन् भने खस किन जनजाति होइनन् ? छेत्री–बाहुन नेवार जातिमा पनि हुन्छन् । नेपाली भाषा मगर सम्राट् नागराजको काखमा जन्मेको हो । त्यसैले नेपाली भाषा खस जातिको मात्रै होइन ।

 

डा. तारानाथ शर्मा र तपाईं, डा. कुमारबहादुर जोशी, मुकुन्दशरण उपाध्याय र कृष्णप्रसाद पराजुली जस्ता लामो समयसम्म एकदमै फरक–फरक मत लिएर हिंडेका व्यक्तित्वहरू अहिले एक ठाउँमा आउन कसरी सम्भव भयो ?

नेपाली भाषा नेपालीमात्रको प्राण रहेछ । नेपाल राष्ट्रको मुटु यही भाषा रहेछ । नेपाली भाषा जबसम्म रहिरहन्छ, तबसम्म यस राष्ट्रमा रहेका जाति–समुदायको अस्तित्व रहन्छ । नेपालीभाषीहरूबीच फूट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौं । कुनै नेपाली लेखक एक कोसको शब्दलाई पनि एउटै डिकोमुनि लेख्छु भन्ला, कुनैले चाहिं एक बित्ताको शब्दलाई पनि अलग–अलग डिकोमा लेख्छु भन्ला । कसैले ‘शहर’ लेख्ला, कसैले ‘सहर’ । यी दुवैको धारणालाई सम्मान गर्दै नेपाली भाषालाई बचाउन, बीचको बाटो पहिल्याउन हामी अगाडि सरेका हौं । नेपाली भाषालाई फुट्न नदिन ‘ललितपुर प्रस्तावना’ ले ऐतिहासिक कदम चालेको छ ।

परम्परालाई अपमान गर्न पाइँदैन, हत्या गर्न पाइँदैन । यो परम्परा नै हाम्रो शिरोभाग हो । कुनै–कुनै आगन्तुक शब्दहरूलाई विकल्पले दुइटै रूपमा चल्न दिनुपर्ने हाम्रो प्रस्तावना सुनेर एकजनाले ‘यसबाट झन् अराजकता आउँछ’ भने । तर, यो उदारताले अराजकता भित्र्याउँदैन, नेपाली भाषालाई पोषण शक्ति दिन्छ । यस्ता शब्दहरू हद्द भए पाँच सयवटा होलान् । सुदामाको एक मुठी कनिका जस्ता यति शब्दहरूले पाँच लाख शब्दभण्डारको नेपाली भाषामा कसरी अराजकता ल्याउँछन् ? कसरी भाँडभैलो गर्छन् ? यस्तो राजनीतिक राग नअलापौं । सुदामाको कनिका स्वीकार गर्दा कृष्णको महानता झन् बढेको होइन ? नेपाली भाषा विशुद्ध रूपमा राजमार्ग हो, हामी यसका यात्री हौं । यसलाई गोरेटो नबनाऔं ।

 

नयाँ राजमार्गमा चाहिं त्रिविका गुरुहरू सहयात्री हुन आएका छैनन् नि ?

हामीले आफूभन्दा प्रबुद्धहरूलाई सम्मान गरेका छौं । माया गर्नुपर्नेलाई माया गरेका छौं । कसैको मन दुखाएका छैनौं, अनि उहाँहरू आउनुहुन्न भन्ने कुरै छैन । उहाँहरूको दिलमा पनि त नेपाली भाषाको कुभलो गरौं भन्ने छैन नि । उहाँहरूलाई अहिले कुर्सीको गाँजाले लठ्याएको छ । कुर्सीको गाँजाको नशा लागेको मानिसले कर्तव्य–अकर्तव्य के हो भन्ने बिर्सेको हुन्छ । एकै दिनमा पाँचवटा बैठक हुन्छन्, कुन भ्याउनु, कुन भ्याउनु ? गयो, सही गर्‍यो, हिंड्यो । सही के–केमा गरिन्छ, गरिन्छ । त्यसैले उहाँहरूले गरेका भाषिक कुकार्यमा उहाँहरूको प्रतिभाको दोष छैन, कुर्सीको दोष छ ।

 

नेपालीका शिक्षकहरूले हिज्जेलाई विद्यार्थीको योग्यताको कसी मान्ने परम्परा बसाएका छन् नि ?

हिज्जे कण्ठ पारेपछि त्यसै विद्वान् भइहालिन्छ भन्ने कमजोर मानसिकताले काम गरेपछि यस्तै हुन्छ । यो ठूलो भ्रम हो, भूल हो । ‘भूल’ लाई दीर्घ लेख्ने कि ह्रस्व लेख्ने, विद्यार्थीलाई विकल्प रोज्न दिनुपर्दछ । अर्थभेदक शब्दलाई चाहिं नियममा बाँध्नुपर्दछ । जस्तो : ‘फूल’ ले देवीदेवताको पूजा गरिन्छ, ‘फुल’ ले पेटपूजा गरिन्छ । देवी गुह्येश्वरीलाई भने ह्रस्व पनि चढ्दछ, दीर्घ पनि चढ्दछ । अब कुनै विद्यार्थीले गल्ती नै गरिहाल्यो भने पनि कठोर बन्नु हुँदैन । हिज्जेमा शत प्रतिशत गल्ती छ, तर उत्तर दिने शिल्प राम्रो छ, विषयवस्तु र पूर्वापर क्रमको ज्ञान छ, विचार प्रवाह सन्तुलित छ भने पनि त्यस्तो विद्यार्थीले ‘डिस्टिङ्सन’ मा उत्तीर्ण हुन पाउनुपर्दछ । हिज्जेका कारणले १० भन्दा बढी नम्बर काट्नु हुँदैन । हिज्जे शत प्रतिशत राम्रो छ, तर लेख्नुपर्ने कुराहरू शत प्रतिशत छोडेको छ भने त्यो विद्यार्थीलाई १० भन्दा बढी नम्बर दिनु हुँदैन । केही नजान्ने विद्यार्थीलाई पास गराउने गुरु पनि नरकको खाडलमा पर्दछ ।

 

भाषा परिवर्तनशील हुन्छ भनिन्छ । त्यो परिवर्तन प्रयोगबाट हुँदै जाने हो कि कसैले नियम बनाइदिएर ?

कथ्य भाषा चाहिं द्रुतगामी हुन्छ । कथ्य भाषामा ५० वर्षपछि कति परिवर्तन आउँछन् भनेर हामी कल्पना पनि गर्न सक्दैनौं । लेख्य भाषा चाहिं अड्डी लिने खालको हुन्छ, जस्तो तमसुक वा भर्पाईको भाषा । त्यसैले लेख्य भाषा कसैको मातृभाषा हुन सक्दैन । तर लेख्य भाषाका उच्चार्य र लेख्य दुई भेद हुन्छन् । जस्तो लेखिन्छ त्यस्तो उच्चारण नहुन पनि सक्छ । जस्तो ‘कहाँ’ लाई ‘काँ’ भनिन्छ, ‘साठी’ लाई नेवारहरू ‘साथी’ भन्छन् । लेख्य भाषालाई एउटा निश्चित स्तरमा राख्नुपर्दछ । यसका लागि शिक्षक–विद्यार्थीलाई तालिमको व्यवस्था हुनुपर्दछ । स्तरीय नेपालीमा उच्चारण, उच्चारण भेदबारे शोध हुनुपर्दछ । ‘कतातिर जाने ?’ र ‘खोलाको तीर’ मा ‘तिर’ र ‘तीर’ को भेद उच्चारणमा पनि देखिनुपर्दछ, लेखाइमा मात्रै होइन । साहित्यिक नेपाली वा नेपालीको लेख्य भेद वा स्तरीय भाषिकाले एक शताब्दीपछि अलिकति कोल्टे फेर्ला, दिनका दिन कोल्टे फेर्ने वा फेर्न लगाउने अनुमति कसैलाई छैन । स्तरीय लेख्य परम्परा भाषिक स्वर्ग जाने बाटो हो ।

 

तर नेपाली भाषाका अधिकतर गुरु, वैयाकरण, कोशकारहरूले हिज्जे, पदयोग वा वियोगका नाममा लेख्य भाषालाई कोल्टे फर्काउन ऊर्जा लगाइरहनुको कारण के हुन सक्छ ?

तिनीहरूले नेपाली भाषालाई अझै आफ्नै घरमा बोल्ने भाषा ठानिरहेका छन् । अहिले म बोलिरहेको छु, कति मुश्किल परिरहेको छ मलाई । किनभने ‘अहिले’ भन्नु परिरहेको छ । स्वरमध्यगत महाप्राण ध्वनि नेपालीमा स्वतः अल्पप्राणीभूत हुने नियमका कारण ‘अहिले’ लाई ‘ऐले’ भन्ने अनुमति त म पाउँछु । बहिनी– बैनी, कहिले– कैले, पहिले– पैलेमा पनि यही नियम लागू हुन्छ, तर सबै शब्द यस्ता हुँदैनन् । अनि परेन बोल्न सकस ? कसैले बोल्दा ‘घर बढार्’ भन्छ भने त्यसले स्तरीय नेपाली बोल्न नजानेको बुझ्नुपर्दछ, बोल्दा ‘घर बडार्’ हुन्छ । ‘ढ’ को उच्चारण किन ‘ड’ भयो भन्ने बारेमा तालिम दिनुपर्दछ । खै तालिमको व्यवस्था ?

 

भाषा जसरी बोलिन्छ, त्यसरी नै लेख्नुपर्छ भन्नेहरू पनि त छन् ?

नेपाली कसैको मातृभाषा होइन भन्ने नबुझेकाहरूको बोली हो यो । पश्चिमको मान्छेले ‘क्यार्ने त नि ?’ भन्छ । त्यो नेपाली होइन, खसकुरा हो । रौसी (रक्सी), जाम् (जाउँ/जाऔं), गाम (गाउँ) पनि खसकुरा नै हुन् । यस्ता शब्दहरू राखेर कसैले पत्रिका निकाल्दैमा, पुस्तक छाप्दैमा ती नेपाली भाषाका हुँदैनन् ।

साभार :कान्तिपुर’, २४ वैशाख, २०७२