पाल्पामा जन्मिएका सागर गैरेको ‘लकडाउन’ (निबन्धसंग्रह, २०७७), ‘बलईगाउँदेखि बाकुसम्म’ (नियात्रासंग्रह, २०७८) र ‘मोहोर’ उपन्यास (२०८१) प्रकाशित कृति हुन् । प्रस्तुत छ, उनको उपन्यास `मोहोर´मा सम्बन्धित भएर जनक कार्कीले गरेको कुराकानीको सम्पादित अंशः
…
मोहोरमा के छ ?
मोहोर उपन्यास पश्चिम नेपालस्थित गण्डकी र लुम्बिनी क्षेत्रको शताब्दी लामो समाज विकासको वृत्तान्त हो । चौरासी वर्षको एउटा आम मान्छेले बाँचेको समयको दस्ताबेज हो ।

सागर गैरे
यो उपन्यासको रचना गर्भ साझा गतिदिनुस् न ?
मैले अध्ययनका लागि घर छोड्नु पर्यो । घर छोडेपछि धेरै कुराहरू गाउँमै छुटे । गाउँको घर, घरसँगै जोडिएको गोठ । गोठमा बाँधिएका पशुचौपाया, गोठछेउको मलखाद, मलखादमा उम्रिने घिरौँला सिमीका बोटहरू ।
एउटा किसानका लागि घर, गोठ र उसको खेतबारी उसको दैनिक जीवनसँग जोडिने साधन हुन् । हाम्रो खेत जहाँ थियो त्यहीँ हाम्रो घर थियो । घरसँगै गोठ थियो । गोठमा हरदम लैनो भैँसी टुट्दैनथे । म घर र बजार गरिरहन्थेँ । घरमा पुग्दा मलाई सबैभन्दा बढी आनन्द लाग्थ्यो । एकपटक म घर जाँदा गोठ भत्किएको थियो । गोठ किन्ने मानिसले गोठका डाँडाभाटा, ईँटाटायल ओसारिरहेका थिए । यो दृष्यले मलाई भित्र कतै नमिठो पीडा दियो ।
घरछेउमा गोठ नहुनुको मतलब धेरै कुरा छुट्नु रहेछ । हाम्रा पूर्खादेखि अविच्छिन्न कायम गोठ हाम्रो पालामा भत्किएको थियो । त्यही दिन कोहलपुर फर्किएपछि मैले गोठको बारेमा केही अनुभूति कोरेँ । म गोठको विषयमा यति धेरै भावुक भएछु । ‘मोहोर’को रचनागर्भ त्यही भत्किएको गोठ हो ।
यो उपन्यास लेख्दा उपन्यासका पात्र घटना र चरित्रसँग यहाँले बिताएको केही अनौठा किस्सा छन् ?
यो उपन्यास सय सवासय वर्षअघिको पहाडी जीवनको सामाजिक साँस्कृतिक कथा हो । मलाई म जन्मिएको पाल्पाको गरनडाँडालाई केन्द्रमा राखेर त्यहाँको शताब्दी पुरानो समाजबारे लेख्नु थियो । मैले जाने बुझेको समय र समाजका कथाहरू बताउनु पर्ने थियो । एउटा परिवारले बाँचेको पहाड र तराईको जीवनशैली चित्रित गर्नु थियो । र सबैभन्दा उपर्युक्त पात्र मेरै बा हुनुहुन्थ्यो । मैले निशंकोच बालाई यो उपन्यासमा उभ्याएँ । लेख्दै जाँदा बासँग मैले फेरि एकपटक आफू जन्मिएको स्थानमा मानसिक रुपमा विचरण गर्न पाएँ । यो मेरो निम्ति गज्जबले सुखद् अनुभूति रह्यो ।

मोहोर
मोहोरले पाठकलाई समयको कुन कुन कालमा पुर्याउँछ ?
मोहोरले पाठकलाई कुनै कालमा पुर्याउने होइन । समय हेर्न घडी नहुँदा आकाशका जून तारा हेरेर समय अन्दाज गर्ने समयको सुदूर कालमा पुर्याउँछ । पहाडी जीवनमा आधारातमा उठेर पानीको जोहोमा दौड्ने निरीह प्राणीको युगमा पुर्याउँछ । औषधिमूलो नपाएर अकालमा ज्यान गुमाउन बाध्य हुने त्यो युगमा पुर्याउँछ । पहाडबाट मधेश झर्ने युगमा पुर्याउँछ । हामीभन्दा अगाडिको बा-हजुरबा, आमा-हजुरामाहरूले बाँचेको समयमा यो उपन्यासले पुर्याउँछ ।
हिजोको अवस्थामा मोहोरले धेरै कुरा सजिलै प्राप्त गर्न सकिन्थ्यो होला, आजका दिनमा मोहोरभन्दा बढी लागत त मोहोर बनाउने प्रक्रियामा जान्छ होला । मोहोर एउटा मूल्यहीन विम्बमात्र हो कि त्योभन्दा अरू केही पनि हो ?
मोहोर एउटा बिम्ब नै हो । हिजोको दिनमा सुका, मोहर, डबल हाम्रो अर्थतन्त्रका महत्त्वपूर्ण मानक थिए । यो देशले मोहोरका सिक्का छापेको थियो । मोहोरले बजारमा धेरैथोक किन्न सकिन्थ्यो । हिजो मोहोरले व्यवहार चलाएकाहरू अझै हाम्रो समाजमा हुनुहुन्छ । आज मोहोरको प्रचलन नै समाजबाट हराएको छ । एक मोहोरले विगतमा जस्तो केही किन्न सकिँदैन । तर मोहोर नेपाली समाजबाट हराउँदैन । मोहोरको आफ्नै मौलिकता छ । आफ्नै इतिहास छ । वर्तमानमा हिजोका युवाहरू बुढ्यौलीमा छन । उनीहरू तिरस्कृत छन् । जसरी मोहोरको बजार मूल्य छैन । त्यस्तै वृद्धवृद्धाहरूलाई हाम्रो समाजले तिरस्कार गरेको छ ।
कत्तिको पुस्तक पढ्नुहुन्छ ? पछिल्लोपटक मन पराएर पढेको केही पुस्तक ?
एउटा कुशल पाठक नै एउटा कुशल लेखक बन्न सक्छ भन्ने कुरामा म विश्वास गर्दछु । त्यसैले मैले लेखेका पुस्तकमा मैले पढेका कैयौँ पुस्तकहरू प्रेरणा बनेका छन् । मैले पछिल्लोपटक पढेका पुस्तकहरूमा किरण आचार्यको ‘जरत्कारु’ एकदम मन परेको थियो ।
कला र साहित्यको जीवनमा किन आवश्यक छ ?
कला र साहित्यले मानिसलाई विरेचन गर्दछ ।
यहाँको लेखन यात्रा कसरी शुरु भयो ?
एउटा बालक जब किशोर अवस्थामा पुग्दछ उसमा यो ब्रह्माण्ड, आफू बसेको समाजप्रति अथाह जिज्ञासा हुन्छ । मसँग पनि अनेक जिज्ञासा र रहर थिए । तिनै रहरले मलाई हुलाक टिकट संकलक बनायो । रेडियोमा गीत फर्माइस गर्ने गीतप्रेमी बनायो । पत्रमित्रको रहरले कैयौँ चिठ्ठी लेख्ने बनायो । पुस्तक प्रेमी बनायो । घुम्न मन पराउने यायावर बनायो । हवाई पत्र निकाल्ने सम्पादक बनायो ।
स्थानीय पत्रपत्रिकामा लेख्ने लेखक बनायो । सबैभन्दा धेरै त मलाई एउटा पाठक बनायो । राजधानीबाट निक्लने पत्रपत्रिकामा पाठक प्रतिक्रिया पठाउने, कोठेपद भर्ने गर्दागर्दै म गीत, गजल, कथा हुँदै अहिलेको अवस्थामा आइपुगेको छु । मलाई लेखक बन्न मेरै जिन्दगीले विभिन्न भूमिकामा सक्रिय गरायो, निरन्तर घच्घच्याइरह्यो । अविश्रान्त लागिपरिरहेकाले आज म केही लेखिरहेको छु ।
लेखनले यहाँलाई के दिन्छ ?
मैले देखेका, मैले भोगेका, महसुस गरेका कुराहरूको संग्राहलय बनाइदिन्छ र त्यही संग्राहलयलाई चौडा पार्ने भोक दिन्छ ।
यहाँलाई मन परेका तीन उपन्यास ?
सिद्दिक शालिकको ‘प्रेसर कुकर’, पर्ल एस बकको ‘कल्याणी धरती’ (द गुड अर्थ), प्रेम चन्दको ‘गोदान’ मलाई अति मन परेका तीन उपन्यास हुन् ।
आफू भित्रको लेखकलाई बचाउन यहाँले कस्तो कस्तो प्रयास गर्नुभएको छ ?
सबैभन्दा ठूलो प्रयास गर्ने हो त्यो म हरबखत गरिरहेकै हुन्छु । आफुलाई कसरी हुन्छ पोजेटिभ चेन्ज गर्ने सवालमा म निरन्तर अहिलेको समयसँग अपडेट गर्ने प्रयास गरिरहेको छु । अहिले म यस्तो फेजमा छु कि मलाई बिश्वास छ , मैले आफू भित्रको लेखकलाई बचाउनु पर्दैन कि त्यतिबेला मलाई आफुभित्रकै लेखकले बचाउने छ ।
अन्त्यमा एउटा स्वतन्त्र पक्ष जसमा यहाँले मन लागेको उत्तर लेख्न सक्नुहुन्छ ?
यस प्रश्नमा म लेखक र पाठक दुबैलाई कस्तो लेख्ने र पढ्दा के फाइदा हुन्छ भनेर भन्न चाहन्छु ।
आजभोलि किताब पढ्दै नपढ्ने भन्ने छैन । नयाँ जेनेरेसनले धेरैजसो अंग्रेजी फिक्सन पढिरहेको छ । अहिलेको युथ नेपाली पढ्न गाह्रो मान्ने, नेपाली साहित्य नबुझ्ने छ । उनीहरूलाई नेपाली साहित्यमा कसरी तान्न सकिन्छ भनेर लेखकले सोच्न जरुरी छ । अहिलेको लेखकले नयाँ पुस्ताका पाठकको मनोविज्ञान बुझेर आफूले सोहीअनुसार लेख्न जरुरी छ । लेखकले आफूले पनि पढेर अनालाइसिस गरी रिडर र आफूलाई कनेक्ट गर्न सकिन्छ ।
अर्को कुरा, किताब किन पढ्न जरुरी छ भनेर युवाहरूलाई बुझाउन आवश्यक छ । किताब पढ्दा कुन शब्द, कुन वाक्यले कतिबेला मान्छेलाई छुन्छ भन्ने थाहा हुँदैन । किताबहरू सफल मान्छे बन्न पढ्न अति जरुरी छ । किताब पढ्दा शब्द भण्डार बढ्छ र ज्ञान प्राप्त हुन्छन । किताब एक्लोपनका साथी बन्छन् । किताब पढ्दा आफैँलाई चिन्न, बुझ्न र महसुस गर्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










