टंक चौलागाईंको परिमार्जन र निर्देशनमा नाटक ‘युगको साँचो’ असार २७ देखि साउन १९ सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ । याे अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को अनुवाद हाे । नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनित चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ।

प्रस्तुत छ, यसै नाटकका निर्देशक टंक चौलागाईंसँग साहित्यपोस्टका लागि गरिएको संवादको सम्पादित अंशः

नाटक ‘युगको साँचो’ मञ्चन हुँदै छ । सुरुमा बताइदिनुहोस् कि यो नाटकमा के छ ?

वर्षेनि आठ लाख मानिसहरूले देश छोडे भन्ने समाचार पढ्दा पक्कै पनि मन दुख्छ । देशमा के भयो भने यो समस्या कम होला नाटकमा यही कुरा मुख्य रुपमा आउँछ ।

यो अंग्रेजी नाटक ‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’को नेपाली अनुवाद रहेछ ? यसको नेपालीकरण गरी मञ्चन गर्नुपर्ने कारण के देख्नुभयो ?

दर्शकलाई आनन्द दिने कमेडी विधाको नाटक ।

नाटकमा संवादमात्र बोलिँदैन, परिवेश तथा सामाजिक र राजनीतिक रहनसहन पनि झल्किन्छ । यो नाटक वर्तमान नेपाली परिवेशसँग कसरी अथा के के कुराले सम्बन्धित छ ?

यसमा युवा पलायनको कुरा छ । बन्द रहेका धेरै उद्योग सञ्चालनको कुरा छ । कृषि तथा उद्योगधन्दा आवश्यकता अहिलेको मुख्य विषय हो । महिला तथा युवा रोजगारीको कुरा छुट्दैन । समग्रमा हाम्रो परिवेश सुहाउँदो नाटक बनेको छ ।

नाटकलाई लिएर एक निर्देशकका रुपमा तपाईंको अपेक्षा के हो ?

चीन र भारतबाट सस्तोमा सामानहरू आउँछन्, नेपालले प्रतिस्पर्धा गर्नै सक्दैन भन्ने भयलाई पन्छाएर उद्योगधन्दा खोल्नुको बिकल्प छैन । नाटकले छलफल, बहस सुरु गरोस् । यही नै मेरो अपेक्षा हो ।

नाटकमा आबद्ध कलाकारहरु तपाईँको अपेक्षामा कतिको खरो उत्रिरहनुभएको छ ? विश्व चर्चित नाटकलाई तपाईंका कलाकारहरुले न्याय गर्छन् ?

कलाकार मात्रै नभएर टिमले नै देशले खोजेको कुरा बुझेको छ ।

अन्त्यमा, एक निर्देशकका रुपमा नेपाली नाटकको वर्तमान अवस्था कस्तो पाउनु हुन्छ ? नाटक गरेर निर्देशक तथा कलाकारहरुले स्वस्थ जीवनयापन गर्न सक्ने अवस्था छ ? छैनन् भने अबको बाटो कस्तो हुनुपर्छ ?

नाटक आफैँमा बहुआयामिक विषय हो । अभिनय मात्रै गरेर वा निर्देशन मात्रै गरेर वा लेखेर मात्रै भनेको भए बेग्लै उत्तर हुन्थ्यो । नाटक मञ्चनको चरणमा पुगेपछि बहुआयामिक पक्ष समेट्छ । यस्ता विविध पक्षमा संलग्न भएकाहरूले राम्रै जीवनयापन गरिरहेका छन् । जस्तो कि नाटक पढाउने, कार्यशालाहरू सञ्चालन गर्ने, लेख्ने, लाइट/सेटमा काम गर्ने, अभिनय गर्ने, निर्देशन पनि गर्ने, यी सबै स्किल भएकाहरूले भोकै बस्नु पर्दैन । तीन महिने तालिम पनि नलिएको, हेर्दा हेर्दै नाटक शिक्षक बनेको एउटा नाट्य शिक्षकले स्कुलमा पार्ट टाइम काम गरेर महिनाको एक लाखमाथि कमाउन थालिसकेका छन् । सेट निर्माणमा दक्षता भएकाले पनि राम्रै गर्छन् ।

तर खालि निर्देशन मात्रै गरेर, अभिनय मात्रै गरेर चाहिँ चिया पसलमा चुरोटको धुँवा उडाउँदै निरासा पोख्नुबाहेक अरू केही उपलब्धि हुन्न । आफ्नो क्षमता र रुचि पहिचान गरि नाटकका अरु पक्षमा दक्षता हासिल गर्दै जानु पर्यो ।