गाउँका कवि भनेर चिनिने गणेश श्रमण गाउँमा बसी शहरतर्फ फर्केर कविता लेख्नुहुन्छ । उहाँका कवितामा ग्रामीण बिम्ब र बिषय बढी छाउँछन् । हालै उहाँकाे तेस्रो कविता सङ्ग्रह ‘आगाे लिएर गाउँ गाउँमा’ प्रकाशित छ । यसअघि उहाँका शब्दक्रान्ति (२०६६) कविता सङ्ग्रह र गुलियो काठमाडौं (२०७५) पुस्तक प्रकाशित छन् । ठोस विषयवस्तुलाई अनुभूतिको तरलतामा घोलेर कोमल भावमा द्रवणशील कविता लेख्ने कवि हुनुहुन्छ उहाँ । गाउँ गाउँ डुली  कविता खाेज्ने “कविता चिन्तन यात्रा” अभियानका अभियानकर्ता पनि हुनुहुन्छ उहाँ । ‘कविहरूकाे गाउँ : काव्यभूमि’का संयाेजनकर्ता पनि हुनुहुन्छ । 

प्रस्तुत छ, कवि गणेश श्रमणसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

तपाईं अनेसासको आजीवन पनि हुनुहुन्छ ! तपाईं व्यस्त हुनुहुन्छ ! यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कत्तिको मन जान्छ ?

– अनेसासको सदस्यको नाताले बाहिर रहेका साथीहरूसँग सम्पर्क र भाइचारा बढेको छ । केही व्यस्तताका  बीच पनि कविता लेखन, प्रकाशन र साहित्यिक कार्यक्रममा सहभागिता जुरेकै छ । आफ्नो मुख्य ध्येय कविता लेखन रहेकाले यसमा समय दिँदा खुसी पनि लाग्छ ।

साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– जीवन छ र त यी सब भोग्न पाइएको छ । यिनै भोगाइका क्रममा आएका अनुभव र अनुभूतिलाई विचारमा ढालेर कलाको माध्यमले व्यक्त गर्ने काम नै साहित्यमा हुन्छ । प्रकृति नै जीवन हो र जीवनलाई दर्शनले दिशानिर्देश गर्ने काम गर्छ ।

अहिले तपाईंको कवितासंग्रह ‘आगो लिएर गाउँगाउँमा’ निकै चर्चामा छ, त्यो कसरी ?

– यो सङ्ग्रह मेरो प्रतिनिधि कविता सङ्ग्रह पनि हो । जसले गर्दा केही चर्चा परिचर्चा र जिल्ला दौडाहा पनि चलेकै छ । यसबाट मैले मेरा कवितात्मक प्रवृत्ति  छुट्टिने आशा पनि गरेको छु । यहाँहरू सबैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छु ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइँमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– हो, साहित्यका माध्यमबाट मानिसले आफ्नो जीवनको समीक्षा पनि गर्छ । एउटा सिर्जनात्मक वातावरण निर्माण गरी मानिसलाई नयाँ वैचारिकीमा पुग्न सहयोग गर्छ भन्नेमा विश्वास गर्छु ।

तपाईंका कवितामा ग्रामीण विषयवस्तु बढी आउँछन्, किन ?

– म त गाउँमा बसी सहरतर्फ फर्केर कविता लेख्छु । त्यसैले कवितामा ग्रामीण विषयवस्तु बढी आउँछन् । साथीहरूले मलाई गाउँका कवि भन्ने उपनाम पनि दिएका छन् । आफ्नै अनुभवलाई अलि सरल र सजीव तरिकाले लेख्न सकियो भने कविता अलि बढी जीवन्त बन्छ ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईं किन लेख्नु हुन्छ ?

– म आफूलाई सिर्जनात्मक रूपमा चुस्त राख्न लेख्ने गर्छु । आफ्नै वरिपरिको समाज र प्रकृतिबाट नै कविता लेख्ने वातावरण र प्रेरणा प्राप्त भएको हो ।

अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनु हुन्छ ?

– विश्वभर छरिएर बसेका नेपाली भाषी साहित्यकारहरूको एउटा मात्र आधिकारिक छातासंस्थाको रूपमा अनेसास रहोस् भन्ने लाग्छ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ?

– म खासमा कविता लेख्छु । साङ्केतिक थोरै शब्दले गहन भाव र लयका साथै शिल्पमा अलि ध्यान दियो भने कविता राम्रो बन्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– पछिल्लो समयमा साहित्यिक पत्रकारिता निकै फस्टाएको छ । विद्युतीय सञ्चार माध्यमका कारण पनि यसको पहुँच बढेको छ । सिर्जनात्मक वातावरण निर्माणका लागि यसको भूमिका महत्त्वपूर्ण छ । यसले साहित्यिक कृतिलाई बजारसँग जोड्ने काम पनि गरेको छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– काल्पनिक तथा आफ्नो मनोगत विषयवस्तुभन्दा यथार्थ र अनुभवसँग जोडेर आएका रचनाहरू पढ्न मन लाग्छ । पछिल्लो समय साहित्य लेखनबाट मात्रै पनि बाँच्न सकिने वातावरणको निर्माण हुँदै छ  । यो खुसीको कुरा पनि हो ।

साहित्यिक संघ-संस्थाको मापदण्ड के हो ?

– सामूहिकता र सिर्जनात्मक वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु नै साहित्यिक संस्थाको मुख्य काम हो जस्तो लाग्छ ।

तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– राजनीति सेवा नभएर पेशा वा जागिर भैरहेको  छ । भौतिक विकासमा जोड दिने, ठेक्का पट्टी र कमिसनखोर दलालीको काम नेताहरूले गरिरहेका छन् । यसमा शुद्धीकरण आवश्यक छ ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु  हुन्छ ?

– कर्पोरेटहरूले साहित्य पूरै कब्जा गरेका छन् । ठुला प्रेसमिडियाहरू प्रायोजित विचारलाई मात्र बढवा दिइरहेका छन् । युगचेतना अनुसारको अभिव्यक्तिलाई कुण्ठित र नियन्त्रित गरिएको छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल, नेपाली र अनेसासमा ?

– पुरस्कार, सम्मान र समीक्षा पनि सन्तुलित छैन । यो सबै प्रायोजित र लेनदेनमा आधारित छ । लाग्छ । यसो नगरे हामीहरूको बिहान बेलुका हातमुख जोरिँदैन । विश्व बजार र दलाली नाफामुखी अर्थतन्त्रको प्रभावले हामी सबैलाई लखेटिरहेको छ ।

के अनेसासका साथीहरू मिलेर आफ्नै शेयरमा आफ्नै पब्लिकेशन, आफ्नै अनलाइन गरेर साहित्यको सबै काम आफैँले गर्न मिल्दैन र ?

– अनेसासको पहलमा यस्तो कार्य भएमा कविलेखकलाई केही राहत मिल्छ । अहिले प्रकाशकबाट प्राप्त हुने १०% को सामन्ती प्रथाबाट लेखक कविहरू मुक्त हुन्छन्, बरु यस्तो काम चाहिँ अलि चाँडै नै गरौँ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरिक लेखनको अवधारणामा म त्यति प्रस्ट छैन । यो एउटा समालोचनाको विषय मात्र हो । मूलथलो भन्दा बाहिर बसेर लेख्दैमा त्यो डायस्पोरिक लेखन हो जस्तो लाग्दैन ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य र लेखनाथ पौडेल पछिको कविता लेखनलाई कसरी हेर्नु भएको छ ?

– हास्यव्यङ्ग्य चेतको लेखन वर्तमानमा कमजोर छ ।  नवीन विविध विषय, भाव, शिल्प र शैलीमा सामयिक कविता लेखन भने अगाडि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ? संसारमा छरिएर रहनु भएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल कस्तो छ ?

– अनेसासको पहल सकारात्मक छ । गुणस्तरीय लेखन र प्रकाशनलाई अनेसासका साथीहरूले अझ बढी ध्यान दिनु पर्छ ।

नेपाली साहित्यको प्रकाशन, वितरण र प्रसारणलाई यहाँले कसरी हेर्नु भएको छ ? यसलाई राम्रो गर्न के गर्नु पर्ला ?

– साहित्य प्रकाशन, वितरण र प्रसारण  पनि बजार अर्थतन्त्रले थला परेको छ । कमजोर पुस्तक विज्ञापनको कारण बजारमा पुगेका छन् र नव पाठकका हातमा कमजोर पुस्तक पुगेकाले उनीहरू भड्किएर समग्र पठन संस्कृति नै बिथोलिएको अवस्थामा छ ।

भनिन्छ, साहित्यले मानिसलाई आनन्दित बनाउँछ ? कसरी, किन ?

‍- साहित्य मानिसको आफ्नै जीवनको ऐना हो । आफ्नो प्रियमान्छे  वा आफूजस्तै मान्छे भेट्दा मानिस खुसी भएजस्तै साहित्य पढ्दा पनि मानिस खुसी र आनन्दित हुन्छ ।

पर्यावरण साहित्यलाई यहाँले कसरी हेर्नु हुन्छ ?

– पर्यावरणले साहित्य लेखनलाई उत्प्रेरकको काम गर्छ ।

भनिन्छ, नेपाली भाषा बिस्तारै लोप हुँदै छ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नु पर्ला ? 

– भाषा लोप हुने अवस्था भन्दा पनि भाषामा ठिमाहा प्रवृत्ति बढ्दो छ । पाठकको चाहना अनुसार साहित्यको लेखन भया भने पाठकहरू पनि बढ्छन् ।

अहिले अनेसासको चुनाव नजिकिंदैछ अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

– अनेसासलाई समयानुकूल बनाउँदै र यसको बढ्दो शाखालाई बचाउन सक्ने, सक्षम र सिर्जनशील व्यक्तिको खाँचो छ ।

तपाईं जहाँ साहित्यिक वातावरण त्यहाँ ? कसरी कोबाट साहित्यमा प्रेरणा प्राप्त गर्नु भयो ? यस्तो ऊर्जा कसरी प्राप्त गर्नु हुन्छ ?

– आफ्नै वरिपरिको परिवेश, समाज, सामाजिक घटना र मानवीय प्रवृत्तिबाट नै साहित्य लेखनको प्रेरणा प्राप्त हुन्छ ।

अन्त्यमा, तपाईं अभियन्ता पनि हुनुहुन्छ । तपाईंको अभियान बारेमा पाठकलाई केही भन्न चाहनु हुन्छ ?

– ‘कविता चिन्तन यात्रा अभियान’ – यो एउटा कविता चिन्तन अभियान हो । कविता लेखन र प्रकाशन अघि मानसिक रूपमा गुज्रिने प्रकृया र त्यससँग सम्बन्धित सामाजिक पक्षमा यसले जोड दिन्छ । कविले कविता लेख्नु अन्तिम कार्य हो । त्योभन्दा अघि कवि, विषय चिन्तन-मनन र वैचारिक उद्वेगमा संलग्न हुन्छ । त्यसको लागि कवि साहित्यिक यात्रा, छलफल र भेटघाटमा पछि मानसिक वातावरणमा जानु पर्दछ । कविता लेखनको वातावरण निर्माणमा यो अभियानले जोड दिन्छ । तर तत्क्षण र हतारमा कविता नलेखी कविताको चिन्तन पक्षमा बढी महत्त्व दिन्छ । मेरो  संयोजकत्वमा काव्यभूमिका साथीहरूले यो अभियानलाई अघि बढाएका छन् । केही अतिथि कविहरूको कविता वाचनलाई युट्युबमा पनि हेर्न सकिन्छ ।

अन्य थप केही छन् कि ?

– गाउँका विषयमा गाउँम‌ै बसी कविता लेख्ने र कवितालाई ग्रामीण समुदायमा पुर्‍याई पठन संस्कृतिको विकासका साथै साहित्यका माध्यमबाट ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले ‘कविहरूको गाउँ : काव्यभूमि अभियान’ पनि सुरु गरिएको छ ।

साथै भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी र सचेतनाका लागि ‘सडक कविता’ अभियान पनि सुरु गरिएको छ ।

कविता लेखनका माध्यमबाट वातावरणको संरक्षण र जनचेतना अभिवृद्धिका लागि पर्या कविता अभियान पनि सुरु गरिएको छ ।

मैले सोध्न छुटाएका कुरा ?

– मेरो कविता प्रकाशनका सन्दर्भ र  अभियानहरूका विषयमा पनि केही कुरा गर्ने अवसर जुट्यो । यसका लागि साहित्यपोस्ट र विशेष गरी तपाईंप्रति आभार व्यक्त गर्दछु । तपाईंका अगाडिका कार्यप्रति हार्दिक शुभकामना पनि छ ।

जय साहित्य, जय कविता ।