साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार” २०८० का लागि ५ कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’का लेखक भागवत खनालसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
भागवतजी, ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
खुसी लागेको छ ।
थुप्रै फुटकर साहित्यिक लेख रचना प्रकाशित भएको भए तापनि पुस्तकाकारमा यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमै यसरी छोटो सूचीमा पर्दा प्रसन्न छु । थप प्रेरणा र प्रोत्साहन मिलेको महसुस गरेको छु ।
तपाईँ लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ तर पुस्तककारका रुपमा ढिलो गरी प्रकाशनमा आउनुको कारण के हो ?
पुस्तक निकाल्ने विषयमा धेरै विलम्ब गरेर सोचियो भन्नु ठिक होला ।
लेख्दै फाल्दै, लेख्दै च्यात्दै र लेख्दै थन्क्याउँदै गरियो । स्वान्त सुखाय र सोखको रूपमा लेखेँ । आफ्ना रचना आफै पढ्यो, अनि आफै मक्ख पर्यो । केही प्रकाशन पनि हुँदै रहे ।
पछिल्लो समय सहृदयी साथीहरूको आग्रहमा विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा लेख रचना पठाउन थालेँ । गोरखापत्र दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोस्ट दैनिक आदि राष्ट्रिय दैनिकमा थुप्रै लेखहरू प्रकाशित भए ।
मधुपर्क, सेतोपाटी, बाह्रखरी, प्रशासन, दृश्य टीभी र साहित्यपोस्ट इत्यादिमा पनि साहित्यिक रचनाहरू प्रकाशित भइरहे ।
फुटकर रचनाहरूलाई सामाजिक सञ्जालमा साझा गर्दा प्रशस्तै पाठकहरूबाट उत्साह प्राप्त हुन थाल्यो । कहिल्यै नचिनेका मानिसहरूसँग साहित्यकै माध्यमबाट परिचय र सञ्जालीय मित्रता कायम भयो ।
केही मित्रहरूले क्रमशः पुस्तक निकाल्ने सुझाव दिनुभयो । कतिले पुस्तक प्रकाशन गर्दा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । त्यसपछि मलाई पनि किताब निकाल्ने रहर जागेर आयो । अब क्रमैसँग अन्य विधाका पुस्तक पनि प्रकाशन गर्दै जाने सोचाइ छ ।
‘बाबा मेरो पीआर आयो’ नै कथासङ्ग्रहको शीर्षक राख्नुको कारण के हो ? यस शीर्षकले समग्र पुस्तकलाई कसरी प्रतिनिधित्व गरेको छ ?
कथासङ्ग्रह निकाल्दा उपयुक्त शीर्षक छान्न बहुतै कठिन हुँदो रहेछ । यो पुस्तकमा चौबिसवटा कथा छन् । केही मित्रहरूले ‘बाबा मेरो पीआर आयो’ कथा वर्तमान नेपालको सन्दर्भसँग निकै मिल्ने हुँदा यही शीर्षक राख्ने सुझाव प्राप्त भयो । कतिपय मित्रहरूबाट यो शीर्षक ‘क्याची’ हुन्छ भन्ने सल्लाह पनि प्राप्त भएको थियो । किताब प्रकाशन भइसकेपछि कसै कसैबाट ‘बाको कोठा’ शीर्षक राखेको भए बेस हुन्थ्यो भन्ने टिप्पणी पनि प्राप्त नभएको होइन ।
छोटो सूचीमा तपाईँको कृतिसँगै अन्य चार बलिया आख्यानकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
अवश्य पनि बलिया होलान् । मलाई त यही छोटो सूची नै पर्याप्त छ ।
पुरस्कार भन्ने कुरा मेरो आकांक्षाले मात्र प्राप्त हुने कुरा भएन । जुन उम्दा छ, त्यही पुरस्कृत हुन्छ । कदाचित मेरो आख्यान सङ्ग्रह उत्कृष्ट ठहर्यो भने यो नै पुरस्कृत होला ।
मेरो लेखन कर्मले पुरस्कारको अभिलाषा राख्दैन । मलाइ प्रचारप्रसार र यशको पनि सरोकार या चासो छैन । म लेख्दछु, किनकि मलाई यसले सन्तुष्टि र एक किसिमको तृप्ति दिन्छ । तथापि पुरस्कार प्राप्त भयो भने थप ऊर्जा प्राप्त हुनु त नितान्त स्वाभाविक कुरा नै हो ।
मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
यो प्रश्नले त साँच्चै पुरस्कार पाइने त होइन ? भन्ने उत्कण्ठा पो पैदा गरायो ।
कदाचित पुरस्कार प्राप्त भयो भने त्यो रकमलाई सहर्ष मस्तक झुकाएर नमन गर्नेछु । साहित्यिक पारितोषिकको पैसा साहित्यिक या परोपकारी काममा नै खर्छ हुनेछ ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
मलाई सबैभन्दा रुचि लाग्ने कुरा नै अध्ययन र लेखन हो । अहिले म अवकाश प्राप्त जीवन बिताइरहेको छु । पढ्ने र लेख्ने फुर्सद पनि छ । समयले आवश्यक पाठ्य र लेख्य सामग्री पनि उपलब्ध गराएकै छ ।
जीवन एउटा यात्रा हो । मेरो विचारमा पढाइलेखाइ यो यात्रालाई सहज बनाउने सर्वोच्च माध्यम हो । आगामी दिनमा नियमित लेखनका अतिरिक्त सबैभन्दा पहिला एउटा निबन्ध सङ्ग्रह निकाल्नु छ । त्यसपछि अर्को कथा सङ्ग्रह र सम्भवत: कविता पनि गर्नेछु ।
अलि पछि गएर आत्मकथा पनि प्रकाशन गर्ने इरादा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।