साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” २०८० का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘आगोको पिदार’का स्रष्टा मिथोचसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
मिथोचजी, ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
नवकवि लेखकहरूको पहिलो कृतिमध्येबाट छनोट गरेर उत्कृष्ट तीन विधालाई साहित्यपोस्ट उत्तम काव्य पुरस्कार प्रदान गर्ने यो निर्णय र कदम नै सह्रानिय छ, धेरै महत्त्वपूर्ण छ । म यो सुन्दर कार्यमा सहभागी हुन् पाएको छु र छोटो सूचीमा ‘आगोको पिदार’ कवितासङ्ग्रह पर्न सफल भएको छ यस अर्थमा पनि म खुशी छु।
प्रकाशक तथा बिक्रेताहरु आख्यानका तुलनामा कविताकृतिहरु ज्यादै कम बिक्री हुन्छ भन्छन् । आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविता नै किन रोज्नु भयो ?
आख्यानभन्दा धेरै कविताको बाटोमा हिँडिरहेको छु । पहिलो सङ्ग्रह पनि कविताकै रोजेँ । बजारमा
आख्यानका तुलनामा कविताकृतिहरू ज्यादै कम बिक्री हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । बिक्री गुणात्मक कि संख्यात्मक, केलाई मान्ने हो त्यसले अर्थ राख्छ होला नि त ! बजारमा राम्रो कविताका कृतिहरू बिक्री भइरहेका छन् । यस वर्ष नै धेरै कविताका कितावहरू प्रकाशन भए, केही कविता कृतिले बजारमा राम्रै गुणात्मक पाठकहरू पाएका छन् । यो कविहरूको लागि सुन्दर कुरा हो ।
पाठकहरुका लागि तपाईँको कविता लेखन तथा ‘आगोको पिदार’ कवितासङ्ग्रहका बारेमा छोटोमा बताइदिनुस् न !
‘आगोको पिदार’ मेरो काव्यिक यात्राको पहिलो सङ्ग्रह हो । फिनिक्स बुक्सबाट प्रकाशनमा आएको यस कृतिभित्र जम्मा ४१ वटा फरक फरक नयाँ बिम्ब, मिथ, विषय र स्वादका कविताहरू छन् । सुनुवार, कोइच, किराँत समुदायको मौलिक सांस्कृतिक, मिथकीय नयाँ कुराहरू पनि आएका छन् । तपाईँहरूले यो किताब पढिदिनुहोस् भन्न चाहन्छु । बाँकी धेरै कुरा कविता पढेपछि नै थाहा पाउनु हुन्छ ।
‘आगोको पिदार’ नै कविताकृतिको नाम किन राख्नु भयो ? समग्र कविताहरुलाई यो शीर्षकले कसरी प्रतिनिधित्व गरेको छ ?
सुनुवार, कोइच समुदायमा ‘आगोको पिदार’ गरिन्छ, यो मौलिक र साँस्कृतिक बिम्बात्मक नाम हो । त्यही भएर यही नाम राखियो । सुनुवार, कोइच, किराँत समुदयाको पहिचान, अस्तित्व र समानताका कविताहरू समेटिएको हुनाले शीर्षकले प्रतिनिधित्व गरेको छ भन्ने लाग्छ मलाई ।
छोटो सूचीमा तपाईँका कृतिसँगै अन्य चार बलिया कविताकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
आदणीय कवि श्रवण मुकारूङ दाजुले भन्नुभएको एक वाक्य सम्झिन्छु, ‘हामी यहाँ जित्न आएका होइनौँ’ । साँच्चै हामी जित्न आएको होइनौँ, हाम्रो कसैसँग हार पनि हुने छैन । वास्तवमा भन्दा साहित्य लेखन कुनै खेल होइन । तसर्थ जित्नु र हार्नु भन्ने अर्थ रहन्न । पुरस्कारबाट सम्मानित हुनु बेग्लै कुरा हो ले लेखनमा उर्जा हौसलासँगै जिम्मेवारी र चुनौति थपिदिन्छ।
मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८० बाट सम्मानित भएमा उक्त पुरस्कारबाट प्राप्त रकमले नयाँ स्थापना भइरहेको पुस्तककलयका लागि केही किताबहरू उपलब्ध गराउन सकिन्छ ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
धेरै छन् लेख्न बाँकी, कोसिस गरिरहेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।