तनहुँ, नेपालमा जन्मनु भएको सुदीपभद्र खनाल हाल हर्नडन, भर्जिनिया, अमेरिकामा हुनुहुन्छ । उहाँले विसं २०४४ देखि साहित्य लेखन सुरु गर्नु भएको हो । उहाँको ‘वासिङ्गटनका काव्य सुसेली’ (संयुक्त कविता सँगालो), ‘मधुकलश’, ‘भुइँफूलको गीत’, ‘रोदनोत्सव-दर्शन काव्य’, ‘यायावर सपना’ चार थान कवितासंग्रह प्रकाशित छन् । उहाँ अनेसास शिव लामिछाने छन्दोबद्ध काव्य पुरस्कार तथा विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
प्रस्तुत छ, कवि सुदीपभद्र भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः
अनेसासको आजीवन सदस्य पनि हुनुहुन्छ र अनेसासलाई बाहिर बसेर भरपुर सहयोग गर्नु भएको छ ! तपाईं व्यस्त हुनुहुन्छ ! यस्तो घडीमा अध्ययन,लेखन र पुस्तक प्रकाशनमा कत्तिको मन जान्छ ?
– साहित्यमा पुस्तक प्रकाशनको सन्दर्भ मरुभूमिको यात्रा गर्नुजस्तै हो भन्ने मलाई लाग्दछ । यो बाटो रोमाञ्चक त छ तर कठिनाइयुक्त र चुनौतीपूर्ण छ । त्यसमा पनि कविताका किताब सबैभन्दा नबिक्ने मध्ये पर्दछन् । अझ सानो संख्यामा साहित्यिक अभिरुचि रहेको डायस्पोरामा बसेर त्यो पनि छन्दका कविताबाट सफलता खोज्नु त मरुस्थलमा पानीको मूल भेट्टाउनु जस्तै हो । यसबाहेक व्यस्त जीवनचर्या अर्को चुनौती हो । यद्यपि जगत् सत्य के हो भने कर्म छोड्न त मिलेन, त्यसैले मन्द गतिमा भए पनि अलिअलि कविता लेखिंदैछ ।
साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?
– म प्रमाण नभएका कुरालाई साधरणतया मान्दिन तापनि दार्शनिक रूपमा हेर्दा सबै कुराको भौतिक प्रमाण मिल्छ भन्ने हुँदैन । यसरी हेर्दा तर्कलाई मान्नै पर्ने हुन्छ ।
फेरि अध्यात्म पनि सबैभन्दा पुरानो दर्शन नै हो । त्यसैले दार्शनिक रूपमा हेर्दा ईश्वरत्वलाई नकार्न मिल्दैन । ईश्वरको अस्तित्व छँदै छैन भन्न पनि छैन भन्ने प्रमाण त चाहियो नि ! तर त्यस्तो प्रमाण आजसम्म कसैले जुटाएको छैन ।
प्रकृति छ, हेर्न र अनुभव गर्न सकिन्छ । म प्रकृतिलाई पनि ईश्वरत्वकै दृश्य स्वरूप मान्दछु । यसरी हामी पनि विराट ईश्वरीय सत्ताकै अंश हौं भन्ने अर्थ लाग्दछ ।
आत्मा पनि प्राकृत शक्ति हो यसलाई सरल भाषामा प्राणत्व भनौँ जो देख्न नसकिए पनि अनुभव चाहिँ गर्न सकिन्छ ।
भौतिक जीवन यी सबैको सम्मिश्रण हो भने साहित्य चाहिँ जगत् र जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोण एवम् प्रतिबिम्ब हो ।
तपाईंलाई जाँगरिलो व्यक्तित्व कार्यक्रम संचालक भनिन्छ नि, हो ?
– त्यस्तो लाग्दैन तैपनि यो श्रोताहरूको मूल्याङ्कन हो ।
तपाईंको लेख र रचना निकै चर्चामा छ, यो कसरी र किन ?
– कुनै पनि लेख-रचना चर्चामा हुन्छ भने त्यसमा लेखकले पाठकको मन छोएको हुनसक्छ । कला एवम् विचारले परिपक्व नभै कुनै पनि रचना चर्चित हुन सक्दैन ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?
– अध्ययनबिना गहिराइ छुन सकिंदैन । र अहिले खड्केको विषय पनि यही नै हो । बिना अध्ययनको सतही साहित्यिक गतिविधि ठूलो देखिए पनि भाव गाम्भीर्य, कला एवम् दार्शनिक हिसाबले लेख्नेहरू थोरै छन् । गहनताको अभाव धेरैमा छ । मैले आफ्नो लेखनलाई जहिले पनि कला र भावका दुई पाङ्ग्रामा अड्याएर बिचारले हिँडाउने कोशिस गरेको छु । विचार बिनाको साहित्य प्राण बिनाको शरीर जस्तै हो । साहित्य विशुद्ध साहित्यकै रूपमा रहनुपर्छ र सामाजिक जीवनका अन्य पक्षहरू यसमा सोझै मिसिन आउनु हुँदैन भन्ने मेरो मान्यता छ ।
तपाईंका कविता बेजोड छन् । कविता राम्रो लेख्न के गर्नु पर्छ ? नयाँ लेखकलाई के भन्न चाहनु हुन्छ ?
– सबैले राम्रै लेखेँ भनेर लेख्ने हो । यद्यपि सबैका लेख-रचना न राम्रा हुन्छन् न त चर्चित । तैपनि मेरा अधिकांश कविता पाठकले मन पराएको मैले भेटेको छु ।
नयाँ लेखकलाई पुस्तकको अध्ययन र लेखनमा परिष्कार ल्याउन आग्रह गर्दछु । समालोचकहरूलाई डायस्पोराको साहित्यमा पनि हेर्न अनुरोध गर्दछु ।
तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईं किन लेख्नु हुन्छ ?
– मैले कविता गाउन आफ्ना हजुर्बा स्व वीरशाली शर्मा खनाल र हजुर आमा स्व मधुमाया खनालबाट र लेख्न स्व-अध्ययन बाटै सिकेको हुँ । म नेपाली भाषाको विद्यार्थी होइन । व्यवस्थापन संकायको अध्ययन हो । यद्यपि आफ्नो आत्मरुचिले यता रमाएँ ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– आजकल खाली समय पाएँ भने कविता लेख्छु या कविता पढ्छु ।
अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनु हुन्छ ?
– अनेसास नेपालबाहिर रहेका विभिन्न साहित्यिक संस्थाहरूमध्ये सबैभन्दा सक्रिय र व्यापक फैलावट भएको साहित्यिक संस्था हो । तर अलि गैरसाहित्यिक व्यक्तिहरूको उपस्थिति धेरै रह्यो र अपेक्षाअनुसार नेपाली साहित्यको मूलप्रवाहमा डायस्पोरिक साहित्यलाई जोड्न काम गर्न सकेन भन्ने गुनासो पनि मैले सुनेको छु । यसमा भविष्यमा आउने नेतृत्वले काम गर्नुपर्छ । यहाँ वा र विवादहरूलाई स्थान दिन हुँदैन र सबै अट्ने र सबैले अपनत्व महसुस गर्ने वातावरण मिलाएर यो संस्था अगाडि बढ्नुपर्दछ ।
तपाईंलाई गित, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ र किन ?
– मलाई साहित्यका विधामध्ये कविता बढी रुचिकर लाग्छ यद्यपि सबै विधाको आआफ्नै महत्त्व छ ।
तपाईं लगातार नेपाली भाषा-साहित्य र पत्रकारितामा निकै लाग्नु भएको थियो हैन र ? नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– मैले केही समय जागिरे जीवनको क्रममा ‘मिर्मिरे’को सम्पादनमा संलग्न भएर काम गरेको हुँ ।
नेपालमा साहित्यिक पत्रकारिताको माहौल सुखद छैन भन्ने सबैले बुझेको कुरा हो । यसमा बाहिर बसेर म थप टिप्पणी गर्न चाहन्न । बरु सुधारका लागि के गर्न सकिन्छ त्यतातिर सोच्नुपर्दछ । समस्या मात्र देखाएर केही हुँदैन ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
– अलि गम्भीर तर पढिरहूँ लाग्ने पुस्तक मात्र पूरै पढ्छु । निद्रा लाग्ने पुस्तक जबरजस्ती पढ्ने मेरो बानी छैन । त्यस्ता पुस्तक म सञ्चय पनि गर्दिन । तर त्यस्ता पुस्तकबाट म के सिक्छु भने मैले लेख्ने पुस्तक पनि त्यसरी नै आधा पढेर फालिने कोटीमा नपरुन् । यदि पाठकले ननिदाई र नबिराई पढ्ने गरी पुस्तक लेख्न सके त्यस्तो लेखक लेखेरै पनि अब बाँच्न सक्छ । मेरो आफ्नो सन्दर्भमा म कविता मात्र लेखेर बाँचिने विश्वास गर्न सक्दिन । त्यस्तो समय आउन अझै धेरै समय लाग्छ ।
साहित्यको साहित्यिक संघ संस्थाको मापदण्ड के हो ?
– गैह्र राजनीतिक, गैह्र जातीय, र गैह्र नश्लीय, कुनै पनि प्रकारका भेदभावहरूबाट, गुटबन्दीहरूबाट मुक्त सम्पूर्ण विचार र सम्पूर्ण समाजले आफ्नो सम्झने शाश्वत हुनुपर्छ – साहित्यिक संस्था । यति भयो भने त्यो संस्था चिरस्थायी हुन्छ ।
एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
– नेपालमा राजनीतिक स्थायित्व अझै पनि प्राप्त हुन सकेको छैन र अविश्वास र विग्रहकै वातावरण बनिरहेको म देख्छु । जुन राष्ट्रिय उन्नति र स्थायित्वको हिसाबले चिन्ताको विषय हो । वर्तमान राजनीति पहिरोले थुनिएको नदीजस्तो अवस्थामा छ ।
अहिलेको साहित्यमा विचार, युग चेतना, विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– विश्व साहित्यको विषयमा बोल्न यसबारे गहिरो अध्ययन हुनुपर्छ । यसबारे विज्ञहरूबाट सुन्न चाहन्छु । यद्यपि मानवीय पीडाहरूको प्रतिविम्बन विश्वसाहित्यमा बढेर गएको छ र पीडितहरूको, आर्तहरूको आवाजले नवीन रूपमा स्थान पाउँदै गएको छ भन्नेमा म सचेत छु । आन्तरिक रूपमा चाहिँ विद्रोहात्मक धार प्रबल छ । दर्शनका हिसाबले मार्क्सवादी दर्शनको प्रभाव धेरै देखेको छु । लामो र विशुद्ध साहित्यिक विकासका हिसाबले यो अल्पकालीन प्रवृत्ति हो भन्ने मलाई लाग्दछ । विश्व साहित्यसँग दाँजेर हेर्दा नेपाली साहित्यले धेरै गर्न बाँकी छ ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल, र अनेसासमा ?
– सबैले जाने बुझेको कुरा हो । हाम्रो राजनीति तथा संस्थाहरू सबै नै, राजनीतिक हस्तक्षेपबाट प्रत्यक्ष वा परोक्ष रूपमा ग्रस्त छन् । राम्रो होइन आफ्नो खोज्ने त परम्परा जस्तै भैसक्यो । समालोचकहरू पनि धेरै हदसम्म राजनीतिबाट प्रभावित छन् । आफ्नो भए, गुटको भए, राजनीति मिल्ने भए, जात धर्म र क्षेत्रीयता मिल्ने भए बखान गर्न र नमिल्ने भए बोल्दै नबोल्न र बोल्नै परे कहाँ कहाँ दोष छन्, के के कमजोरी छन् त्यो मात्र गनेर बस्ने सम्म गर्छन् । खोजेर, बुझेर, पढेर, देखेर लेख्नेहरू भेटी नै छोडिसके । ठुलालाई ठुलो भएको अहंकार र सानालाई सानो भएको लघुताभासले गाँजेको अवस्था छ । आजको तीतो यथार्थ हो । त्यसमा पनि एकाध बाहेक अरूहरू डायस्पोरातिर त आँखा पनि लगाउँदैनन् ।
के अनेसासका साथीहरू मिलेर आफ्नै शेयरमा आफ्नै पब्लिकेशन, आफ्नै अनलाइन गरेर साहित्यको सबै काम आफैंले गर्न मिल्दैन र ?
– अनेसासले प्रकाशन सम्बन्धी सबै काम गर्न सक्दैन । यद्यपि वितरणमा यसले केही सहयोग गर्न सक्छ । आपसमा मिलेर गर्न सकिने कुराहरू मात्रै गर्न सके पनि धेरै राम्रो हुन्छ । आफ्नै प्रकाशन संयन्त्र विकसित गर्न श्रोतको अभाव छ । यद्यपि यसबारे अध्ययन गर्न सकिन्छ ।
डायस्पोरिक साहित्य बारे तपाईंको धारणा के छ ?
– सानो संख्यामा सुरु भए पनि डायस्पोरिक लेखन छोटो अवधिमै ठूलो आकार ग्रहण गरिसकेको छ । अबको समय भनेको गुणात्मक लेखनको समय हो । गुणात्मक फड्को नमारी देशीय नोस्टाल्जियामा मात्र रमाएर यो चिरस्थायी बन्न सक्तैन ।
भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य र लेखनाथ पौडेलपछि कविता लेखनलाई कसरी हेर्नु भएको छ ?
– हास्यव्यङ्ग्यमा राम्रो विकास भएको देखेको छु । यद्यपि लेखनाथ पौडेलको युगीन आदर्शवादी धारालाई नाघ्ने गरी कविता लेखिन सकेका छैनन् ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
– यसले नेपाली डायस्पोरिक साहित्यको विकासमा ठूलो भूमिका खेलेको छ । नेपाली साहित्यको क्षेत्रमा काम गर्ने नेपाल बाहिर रहेको यो यौटा जीवन्त संस्था बनेर गएको छ । नेपाल छोडेर बाहिरिएका हामी साहित्यिक रुचि भएका सबैलाई जोड्ने सेतुको रूपमा यो संस्था विकसित हुँदै गएको छ । यद्यपि सबै यसमा जोडिन बाँकी छ । त्यसमा हामीले आफ्नो पहल बढाउनु पर्दछ ।
भनिन्छ नेपाली भाषा बिस्तारै लोप हुँदै छ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नु पर्ला ?
– झट्ट हेर्दा त्यस्तो लागे पनि नेपाली भाषा विश्वभर फैलेर पो गएको छ । अहिले अमेरिका युरोप र अस्ट्रेलियातिर समेत नेपाली भाषाको अध्ययन अध्यापन सुरु भएको छ । भुटान भारत र म्यान्मारमा त पहिले देखि नै थियो । भाषिक विकासको काम पनि भएकै देखिन्छ । यस्तोमा नेपाली भाषा मर्छ भन्ने कुरामा म विश्वास गर्दिन ।
अहिले अनेसासको चुनाव नजिकिंदैछ अनेसासलाई कस्तो नेतृत्वको खाँचो छ ?
– सन्तुलित र सर्वग्राह्य, वाद र विवादहरूबाट गुट र उपगुटहरूबाट मुक्त नेतृत्व आउनु पर्छ ।
साहित्यिक ऊर्जा कसरी प्राप्त गर्नु हुन्छ ?
– कोशिस हो । कर्म गर्ने हो । बाँकी पाठक र श्रोताहरूको मूल्याङ्कन हो । कविता भन्ने बित्तिकै आएको निद्रा पनि हराउँछ । खै कसरी र किन भन्ने चाहिँ म आफैले पनि बुझ्न सकेको छैन । यहाँ अरूहरू कमाउन दौडन्छन् । त्यतै रमाउँछन् । म चाहिँ माहौल भए कवितामै रमाउँछु र त्यतै दौडिन्छु ।
अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?
– पाठक भनेका कवि, लेखकहरूका शिक्षक वा गुरु हुन् । तर तीनले पनि आग्रह पालेर होइन स्वतन्त्र भएर अन्तरात्माले देखेको र लागेको सत्य बोल्नुपर्छ भन्ने कुरा स्मरण गराउँदै विनम्रतापूर्वक हार्दिक नमस्कार भन्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।