साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” २०८० का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘साँझको सङ्गत’का स्रष्टा प्रकाश रम्घालीसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
प्रकाशजी, साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
— खुसी लाग्नु स्वभाविक नै हो । कविता लेखनमा लामो समय सक्रिय रहेँ । पुस्तकका रुपमा आउन सकिरहेको थिइनँ । दुई हजार असी सालमा किताबका रुपमा — साँझको संगतमार्फत् आएँ । साहित्यपोस्टको उत्तम काव्य पुरस्कारको छोटो सूचीमा पर्दा यसले विशेष अर्थ राखेको महसुस गर्दैछु ।
प्रकाशक तथा बिक्रेताहरु आख्यानका तुलनामा कविताकृतिहरु ज्यादै कम बिक्री हुन्छ भन्छन् । आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविता नै किन रोज्नु भयो ?
— साँझको संगत प्रकाशन भएको आठ/नौ महिनाका बीचमा जुन उत्साहका साथ बिक्री–वितरण भयो । र, चर्चा पनि भयो । यसबाट म निकै उत्साहित भएँ । पाठकहरुले अत्यन्तै माया गरिदिनु भयो । मुख्य कुरा, आफूसँग भएका चिज असल र गुणस्तरीय हुनु पर्यो । आख्यान छाडेर कविता प्रकाशन गर्न खोज्नु वा रोज्नु चाहिँ — मूलतः म कवि हुँ । एक कविका नाताले कविता प्रकाशन गर्नु मेरो रुचि वा कर्तव्य पनि ठानेको छु । कविता बिक्री हुँदैन भन्ने कुरा चाहिँ हामी आफैँले निमार्ण गरेको एक विषाद भ्रमजस्तो लाग्छ ।
तपाईँले जीवनको महत्वपूर्ण समय सैनिक जीवनमा बिताउनु भयो । सैनिक अर्थात् अनुशासन, कविता अर्थात् स्वच्छन्दता । यो दुईको मिलाप कस्तो हुँदो रहेछ ? थोरै अनुभव सहित साझा गर्दिनुस् न ।
— पेशा र लेखन फरक कुरा हुन् । पेशामा रहँदा जहिल्यै म अनुशासनमा हुन्थेँ । तर मेरो चिन्तन र कल्पना भने कुनै सीमा वा अनुशासनले बाँधिदैनथ्यो । म चराजस्तो उडिहिँड्थेँ । आकाशजस्तो फैलिरहन्थेँ । भनौँ न— लेखनमा एकप्रकारले स्वच्छन्द थिएँ ।
‘साँझको सङ्गत’ नै कविताकृतिको नाम किन राख्नु भयो ? समग्र कविताहरुलाई यो शीर्षकले कसरी प्रतिनिधित्व गरेको छ ?
— साँझ मेरा लागि प्रिय थियो । र, अहिले पनि छ । मलाई लाग्छ— सायद साँझ, फूल, वसन्त मन नपराउने मानिस हुँदैन होला । आजको मानिस निराश छ । अनेक भौतिक सुखको खोजीमा झन्–झन् दुःख पाउँदो छ । भीडमा एक्लो छ । आफैँसँग खुसी छैन । साँझको संगतले मानिसलाई प्रेम र खुसी दिलाउने प्रयत्न मात्र गरेको छैन । आफू भएको । आफ्ना कुराहरु सुनाइरहेको । एक असल मानिसको तर्फबाट प्रेमको हार्दिक आव्हान गरेको छ । समग्रमा मेरा कविताहरुले मानिसका बीच पुग्ने स्यानै भए पनि कोशिस गरेका छन् ।
छोटो सूचीमा तपाईँका कृतिसँगै अन्य चार बलिया कविताकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
— प्रतिस्पर्धामा गएपछि— आशा वा दावीजस्तो केही चीज रहन्छ । यसलाई पर राखिदिने हो भने— एक कविलाई आफ्नो लेखनबाहेक पुरस्कार वा यस्तै केही कुराहरु गौण हुन्छन् जस्तो लाग्छ ।
मानिलिऔँ, तपाईँले साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ जित्नुभयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
— रकमका हिसाबले आजको समयमा पचास हजार रुपियाँले खास ठुलो योजना बनाउन त सकिँदैन । तर पुरस्कार हो — खुसी भने यसले अवश्य दिन्छ । आफ्ना स्याना/ठुला आवश्यकताहरु पूर्ती गर्ला । किताब निकाल्ने । अथवा आफूलाई मन परेका तर किन्न नसकेका किताबहरु किन्ने । र, एउटा लाइबेरी बनाउनेतर्फ पनि सोच्न सकिन्छ ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
— कवितामा नै काम गरिरहेको हुनेछुु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।