साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार” २०८० का लागि ५ कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको उपन्यास ‘विषाणु ऋ’का लेखक प्रज्ञासँगको संवाद प्रस्तुत गरिएको छ ।
===
प्रज्ञाजी, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
जब मैले साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार कृति छनौटको निम्ति कृतिहरु पेश गर्न गरिएको सूचना पाएँ, मलाई यो प्रतिस्पर्धामा सामेल हुन मन लाग्यो । हुन त आफ्नो कृति सबैलाई मन पर्छ तर पनि लेखनीको खास मूल्यांकन भने समीक्षक र पाठकहरुको प्रतिक्रियाबाट नै हुने गर्छ । कृति कत्तिको खरो छ भन्ने कुराको जानकारी कृतिले पाएका पुरस्कारहरुबाट पनि थाहा हुन्छ ।
अझ लेखकको पहिलो कृतिको निम्ति त झन् पुरस्कारको भूमिका अहम् हुन्छ किनभने नयाँ लेखकबाट आएको पुस्तक सबैखाले पाठकले किन्न संकोच मान्छन् । अझ भनौँ, पाठकहरुलाई नौलो लेखकको कृतिप्रति शङ्का हुनु पनि स्वाभाविकै हो । नेपाल जस्तो देशमा जहाँ पठन संस्कृति बल्ल बन्दैछ, त्यहाँ नयाँ लेखकहरुले प्रकाशक तथा बजार पाउन निकै संघर्ष गर्नुपर्छ । आफ्नो पुस्तक प्रकाशनको क्रममा मलाई यो यात्राको अनुभव भइसक्यो। साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार मेरो निम्ति आफ्नो लेखनी कत्तिको छ भनेर मूल्यांकन गर्ने अवसर भएको मैले महसुस गरेँ, त्यसैले पुरस्कारमा पेश गरेको हुँ ।
यस वर्ष धेरै नयाँ पुस्तक आएका थिएँ । मलाई म लामो तथा छोटो सूचीमा पर्छु कि पर्दिन भन्ने कुरामा शङ्का थियो । तर पनि म कौतुहलपूर्वक पुरस्कारको लामो सूची हेर्न लालायित थिए । जब पुरस्कारको लामो सूचीमा मेरो पुस्तक विषाणु ऋ परेको जानकारी साहित्यपोस्ट पेजबाट थाहा पाएँ, म दंग भएँ । मैले राम्रै लेखेछु जस्तो महसुस भयो । त्यसपछि म छोटो सूचीको व्यग्र प्रतीक्षामा थिएँ र छोटो सूचीमा पनि मेरो आख्यान परेपछि झन् मेरो खुशीको सीमा नै रहेन ।
मलाई यो छनौट निर्णयले अझ धेरै पाठकहरु समक्ष पुग्न मद्दत गर्यो । पुस्तक नपढेका कतिपय साथीहरुले पुस्तक मगाएर पढे । त्यसकारण मलाई साहित्यपोस्टको यो प्रेरणादायक प्रयास निकै सराहनीय लागेको छ । मलाई विश्वास छ, यो पुरस्कारको व्यवस्था र छनौट निर्णयहरुबाट म जस्ता थुप्रै लेखकहरुले अझ जिम्मेवारपूर्वक लेख्ने प्रेरणा पाएका छन् ।
मलाई यो सूचीले पुस्तक प्रकाशन गर्दाको दुःख बिर्साइदिएको छ र थप मेहनत गरेर लेख्ने प्रेरणा पनि दिएको छ । पहिलो पुस्तक भए पनि यो मेरो दशकौँको साहित्यको शैक्षिक, पठन तथा लेखन साधानाको परिणाम हो । यो मलाई मैले सुनाउनै पर्ने र भन्नै पर्ने लागेको सामाजिक विसंगतिहरुको पाण्डुलिपि हो । कृति छोटो सूचीमा पर्दा मेरो मेहेनत खेर गएको छैन जस्तो लागेको छ ।
अक्सर पहिलो कृतिका रुपमा कवितासङ्ग्रह प्रकाशनमा आउने गर्छन् । तपाईँले आख्यान लेख्नुभयो । बजारलाई हेरेर उपन्यास प्रकाशनमा ल्याउनुभएको हो ?
यो कुरा सबै लेखकको निम्ति साँचो नहुन सक्ला तर प्रश्न पढेपछि झट्ट सम्झिँदा मलाई पनि पहिलो कृति कविता प्रकाशन गरेरपछि आख्यानतिर गएका लेखकहरुको याद आयो । मेरो सवालमा म कविता नलेख्ने होइन। मलाई मैले लेख्न थालेको आफूलाई याद भए सम्म ६ कक्षा पढ्दा हो जस्तो लाग्छ । मैले लेखेको कविता र निबन्धहरु मेरो विद्यालयले हप्ताको अन्तराल (कि मासिक, भुलेछु ) मा प्रकाशित हुने ‘ब्लुमिंग बड्स’ नामको सानो विद्यालय पत्रिकामा प्रकाशित हुन्थ्यो ।
म साहित्यको विद्यार्थी भएकाले मेरो रुचिभित्र कविता पनि पर्छ । अहिले झट्ट सम्झिँदा मलाई मनपर्ने कविताहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ र वाल्ट विट्म्यानको ‘लिभस अफ ग्रास’ याद आउँदैछ । तर मैले आख्यान निकाल्नुको पछाडि चाहिँ बजारलाई मध्यनजर गरेर हैन कि मैले भन्न खोजेको कुरा कविता उपयुक्त विधा होइन भनेर हो।
मलाई धेरै विषयवस्तुमा लेख्नु थियो, त्यसको निम्ति अलिक बढी विषयवस्तु पस्कन सकिने विधा छनौट गर्नु पर्थ्यो । त्यसमध्ये पनि आख्यान विधालाई पारम्परिक रुपमा नभई विधाभञ्जन गर्नु जरुरी थियो । पात्र पनि त्यसैअनुसार छनौट गर्नु थियो । त्यसकारण मैले आख्यान विधा छनौट गरेको हुँ । त्यसो भन्दै गर्दा पाठकप्रति उदासीन भएर खाली विषयवस्तु पस्किने भोकले मात्र पनि मैले आख्यान रोजेको हैन । मलाई कविता अलिक गहन चिन्तनयुक्त पाठकले मात्र पढ्न रुचाउछन् जस्तो लाग्छ र आख्यान भने प्रायः सबैले सजिलै बुझ्न र पढ्न रुचाउने भएकोले आख्यान नै रोजेको हुँ । धेरै भन्दा धेरै पाठकहरुले यो कृति पढेर प्रतिक्रिया दिन सकून् भनेर पनि आख्यान नै रोजेको हुँ ।
‘विषाणु ऋ’ जस्तो अजिवोगरिब नाम उपन्यासको किन राख्नु भयो ? तपाईँको उपन्यास पाठकले केका लागि पढ्ने ?
‘विषाणु ऋ’ शीर्षक राख्नु पछाडि मेरो आफ्नो भाषाप्रतिको मोह र पुस्तकभित्रको यो पाठप्रतिको लगाव मुख्य कारक हुन् ।
मैले कथाले मागेअनुसार वनास्पतीय प्रतिक्रियाको निम्ति एउटा जिवाणु नामांकन गर्नु थियो। मैले अहिलेसम्म झट्ट सम्झिँदा जिवाणुहरुको नाम प्रायः अंग्रेजी शब्द र विदेशी भाषामा मात्र भएको तथ्यांक भेटेको थिएँ । र, मैले घटना लेख्दै गर्दा मलाई मेरो भाषामै उक्त तत्त्वको नाम दिन मन लाग्यो। त्यसपछि मैले आजभोलि हाम्रा लोपोन्मुख वर्णमालाहरु सम्झेँ र तिनै मध्ये ‘ऋ’ मैले छनौट गरेँ । किनकि, यो नेपाली वर्णमालाको स्वरवर्ण मध्ये एक अति नै मौलिक वर्ण हो । यसबाट ऋचा, ऋषि, ऋतु जस्ता शब्दावलीहरु आउँछ । त्यसैले यो नै मेरो छनौटमा पर्यो ।
प्रतिक्रियामा कतिपय पाठकहरुबाट ‘विषाणु ऋ’लाई विज्ञान कथा जस्तो वा पश्चिमी पर्यावरणीय स्त्रीवाद (इको फेमिनिस्म ) जस्तो भनिए पनि यो मेरो विशुद्ध पूर्विय चेतनाको उपजस्वरूप रचना गरिएको परिकल्पना हो । पूर्विय दर्शनमा चौरासी लाख योनिको प्रसंग छ । यहाँ प्रकृति केन्द्रित दृष्टिकोण छ । त्यसैले मानव सृष्टिको केन्द्र छैन । हाम्रो दर्शनमा सम्पूर्ण ब्रम्हाण्ड नै चेतनाका पुञ्ज छन् । हाम्रा पर्वत, खोलानाला, पत्थर, जनावर, वनास्पतिहरु दैवीकरण गरिएका छन् । यसको अर्थ, हाम्रो दर्शनले सबै जैविक तथा अजैविक तत्त्वहरुको चेतन स्तर स्वीकार गर्छ र सबैलाई सम्मान गर्न सिकाएको छ । यसै विचारमा टेकेर मैले मानव पनि कुनै जन्ममा वनस्पति भएको र वनास्पति मौन मात्र देखिए पनि सम्पूर्ण सृष्टिको ज्ञाता भएको देखाउन खोजेको हुँ । मैले विषाणु ऋ पाठ लेख्दा एक चेतनाको धारा प्रवाहमा बगेर लेखेको थिएँ । त्यो पाठ मबाट लेखिए पनि लेख्ने अस्तित्व थियो जस्तो मैले महसुस गरेको थिएँ । त्यसकारण पनि मैले पुस्तकको नाम यही राखेँ ।
मेरो उपन्यास सस्तो मनोरञ्जनको निम्ति लेखिएको हैन । यो पाठकहरुलाई उठान गरिएका विषयवस्तुमा सोच्न बाध्य पार्न लेखिएको हो । जसरी उपन्यासको पात्र सामाजिक विसङ्गतिहरुप्रति संवेदनशील छ त्यसरी नै पाठकहरु पनि यी समस्याहरुप्रति संवेदनशील भएर ती बिसंगतिहरु चिर्दै अघि बढुन् भन्ने मेरो चाहाना हो ।
छोटो सूचीमा तपाईँको कृतिसँगै अन्य चार बलिया आख्यानकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
पुरस्कार जित्नु र नाजित्नुको पक्कै पनि परिणाम हुन्छ । पुरस्कार जितेमा पक्कै पनि मलाई व्यक्तिगत रुपमा आगामी साहित्य यात्राको निम्ति थप प्रेरणा मिल्नेछ । नवलेखक भएर नेपाली साहित्यमा पदार्पण गरे पनि पक्कै पनि पुरस्कारपछि थुप्रै पाठकहरुले मेरो पुस्तक किनेर पढ्ने हिम्मत गर्नेछन् । नयाँ पुस्तक ल्याए पनि लेखकलाई स्थापित गर्न पुरस्कारले उलेख्य भूमिका खेल्नेछ भन्ने मलाई लाग्छ ।
तर यसो भन्दै गर्दा मैले नै पुरस्कार पाउनुपर्छ वा पाउनु नै हुँदैन भनेर म भन्दिनँ। मैले पुरस्कार जित्नु वा नजित्नुभन्दा पनि यसरी निःष्पक्ष रुपमा छनौटमा पर्दै छोटो सूचीसम्म आएको छु, यो छनौट पनि मेरो निम्ति पुरस्कार नै साबित भएको छ । अब हुने निर्णयमा पनि मेरो पूर्ण समर्थन र भरोसा हुनेछ ।
मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
यदि मैले साहित्यपोस्ट उत्तम साहित्य पुरस्कार जितेँ र ५०००० प्राप्त गरे भने म त्यो रकम आगामी पुस्तक प्रकाशनमै अथवा विशुद्ध नेपाली साहित्यको उत्थानमै समर्पण गर्ने मेरो चाहाना छ ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
मैले पहिलो पुस्तक बजारमा पाठक माझ ल्याएपछि कतिपय गम्भीर पाठकहरुबाट निकै हौसला पाएको छु। त्योभन्दा पनि बढी मलाई साहित्य लेखनमा रस बसेको छ । त्यसकारण म अझै दमदार पुस्तक ल्याउने योजनामा नयाँ कथाहरू बुन्दै छु । यो पुस्तक प्रकाशन गर्दा आएका चुनौतीहरुबाट मैले पाठ पनि सिकेको छु । त्यसकारण, अबको लेखन र प्रकाशन यात्रा अझ धेरै सुझबुझका साथ गरेर पाठकहरुको मन जित्ने योजना छ । मेरो अबको कृति बिल्कुलै नयाँ विषयवस्तुमा आधारित भए तापनि प्रयोगवादी आख्यान नै हुनेछ र यसमा मैले जानेअनुसार र अध्ययनले भ्याएसम्म हाम्रो पूर्विय दर्शनसम्बन्धी विषयवस्तुमा नै केन्द्रित हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।