साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” २०८० का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’का स्रष्टा गगन याेक्पाङ्देनसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
गगनजी, ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?
नेपाली साहित्यकाे भण्डारमा कृतिहरुकाे बग्रेल्ती छन् । यति भइकन पनि सधैं असल कृतिहरुकाे भने अभाव नै महसुस भइरहन्छ । तसर्थ म चाहान्थेँ, मेरो कृति फगत कागजको डङ्गुर मात्रै नबनाेस् । मैले मेरो कृतिलाई सुन्दर बनाउन निकै परिश्रम गरेको थिएँ । पाठक प्रतिक्रियाले पनि केही उत्साहित भइरहेको थिएँ । अझै “साहित्यपाेस्ट उत्तम काव्य पुरस्कार”काे छाेटाे सूचीमा मेरो कृति पर्दा मेरो परिश्रम र कविताप्रतिकाे समर्पणले सम्मान/सार्थकता पाएकाे महसुस गरेको छु ।
प्रकाशक तथा बिक्रेताहरु आख्यानका तुलनामा कविताकृतिहरु ज्यादै कम बिक्री हुन्छ भन्छन् । आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविता नै किन रोज्नु भयो ?
मैले कहिले पनि बजारलाई हेरेर लेखिनँ । बिक्री मात्रै उत्कृष्ट कृतिको मापदण्ड होइन । यदि बजारलाई मात्रै प्राथमिकतामा राखेर लेख्ने/प्रकाशन गर्ने हाे भने दुईचार पैसा आर्जन पनि हाेला तर खास सिर्जना तत्त्व चैँ छुट्छ जस्तो लाग्छ । दृष्टान्तका लागि बजारकाे दबाबमा परेर लेख्ने लेखक र उनीहरुकाे साहित्यकाे अध्यान गर्न सकिन्छ । कसरी उनीहरु साहित्यका गम्भीर अध्येता र पाठकहरुकाे विश्वासबाट चुक्दैछन् । फेरि लेखकहरु भनेको त सर्जकहरु हुन्, व्यापारी होइनन् । भलै एउटा लेखक लेखेरै आत्मानिर्भर हुने कुरा अत्यन्तै सकारात्मक पक्ष हाे । यसाे भन्दैमा बजारको पछि लाग्नु मात्रै उपयुक्त नहाेला । बजारको कुरा अर्कै हुन्छ (दिगमिग लाग्दा उदाहरणहरु पेश नगराैँ क्यारे) ।
किन कविताकै कृति ? भन्ने प्रश्नको सबैभन्दा सहज उत्तर त – ‘मसँग कविताहरु तयारी अवस्थामा थिए’ भन्ने नै हाेला । यदि भविष्यमा आख्यान नै लेखेको छु भने पनि बजारलाई प्राथमिकतामा राखेर लेख्ने छुइनँ ।
तपाईँ पोएट आइडलबाट कविका रुपमा परिचित हुनुभयो । पोएट आइडलमा सहभागी हुनुअघिको तपाईँको कविता लेखन तथा साहित्य कर्मका बारेमा बताइदिनुस् न !
म जन्मिएको हुर्किएकाे माेरङकाे मिक्लाजुङमा हाे । याे ग्रामीण क्षेत्र भए पनि यस ठाउँमा २०२६ सालमा नै पुस्तकालयकाे स्थापना भएको थियो भने २०२७ सालमा साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास छ । करिब आधा शताब्दीअघि नै साहित्यकाे जगनिर्माण भए पनि यस ठाउँले साहित्यकाे क्षेत्रमा अपेक्षाकृत प्रगति गर्न सकेन । पचास र साठीकाे दशकमा केही प्रयत्न भएको पाइन्छ । लामाे समयसम्म याे क्षेत्र प्रायः साहित्यिक गतिविधिबिहिन रह्यो । सत्तरीकाे दशकमा जब हाम्रो पुस्ता तयार भयो तब यस क्षेत्रले कलासाहित्यकाे विधामा पुन: गति समात्याे । र, यस क्षेत्रमा नियमित साहित्यिक गतिविधि हुन थाल्यो ।
पाेएट आइडलमा जानूअघि र अहिलेसम्म पनि म यसै क्षेत्रमा बसेर कहिले पत्रपत्रिका प्रकाशन गर्दै कहिले विभिन्न संघसंस्थाकाे नेतृत्व गर्दै र कहिले विभिन्न साहित्यिक अनुष्ठान गर्दै निरन्तर कलासाहित्यकाे विधामा समर्पित छु ।
‘केवाफुङ्को गीत’ नै कविताकृतिको नाम किन राख्नु भयो ? समग्र कविताहरुलाई यो शीर्षकले कसरी प्रतिनिधित्व गरेको छ ?
कविता लेख्नु जतिकै गाह्राे रहेछ, कृतिको शीर्षक राख्ने विषय पनि । विभिन्न नाउँहरुमाथि छलफल भएर अन्ततोगत्वा कृतिको नाउँ “केवाफुङ्काे गीत” रहन गयो । म चाहन्थेँ, मेरो कृतिले मेरो समुदाय, मेरो सभ्यता र साँस्कृतिक साैन्दर्यलाई प्रतिनिधित्व गराेस् । त्यसकारण पनि मलाई याे नाउँ उपयुक्त लाग्यो ।
लिम्बू समुदायमा एउटा मिथ छ । उहिले नै याे पृथ्वीमा मरूभुमि छायाे । खाेला नाला बग्न छाड्यो, फूलहरु ओइलिएर झर्न थाल्यो । ब्राह्मणबाट हावा निस्किएर गएकाे, घामजून मरेको कथा छ । याे सबै देखेपछि केवाफुङ्लाई विरह चलेर गीत गाउँदा फेरि पृथ्वीमा हरियाली भएको, फूलहरु फुल्न थालेको, खाेलानालाहरु बग्न थालेको, घामजून बाँचेकाे र ब्रह्माण्डमा हावा फर्किएर आएकाे कथा छ । जसरी केवाफुङ्काे गीतकाे सामर्थ्यले सृष्टिले निरन्तरता पाएकाे र सिङ्गो ब्राह्मणले पुनर्जीवन पाएकाे कथा छ । त्यस्तै मानव जातिमा मानवता, नैतिकता, सदाचार , प्रेम, करुणालगायतका विषय क्षीण भइरहेकाे र पर्यावरणमा आएको परिवर्तनले सिङ्गो पृथ्वीकाे स्वास्थ्यमा ह्रास आइरहेको छ । अब हरेक मान्छे केवाफुङ् बन्न जरुरी छ । केवाफुङ्काे गीतले सृष्टि बचाए जस्तै अब हरेक मान्छेकाे विचारले, व्यवहारले मानवमा मानवता, नैतिकता, सदाचार, प्रेम, करुणालगायतका विशेषताहरु जार्गित गर्नु छ । पर्यावरणमा भइरहेकाे ह्रासलाइ न्युनीकरण गर्दै पृथ्वी बचाइराख्नु छ ।
मेरा कविताहरुले पनि यिनै कुराहरुकाे पैरवी गर्छ । त्यसकारण कृतिको शीर्षकले कविताको प्रतिनिधित्व गर्छ भन्ने लाग्छ ।
छोटो सूचीमा तपाईँका कृतिसँगै अन्य चार बलिया कविताकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।
पुरस्कार, सम्मान वा पदवीकाे लालचाले लेखन विधामा लागेकाे होइन । मेरा सिर्जनाले कसैकाे हृदयमा स्यानाे भए पनि स्थान पाउँछ भने त्यो नै मेरो सफलता वा पुरस्कार हाे । समाज वा बाैदि्धक जमातले मूल्यांकन गरेर दिएकाे सम्मान प्राप्त गर्ने लालासा सबैमा हुन्छ । म कसरी अपवाद बन्न सक्थेँ र ! तर पुरस्कार/सम्मानकाा लागि गरिने साैदाबाजी र चाकडीकाे सक्त विराेध गर्छु ।
याे पुरस्कारका लागि मेरो सँगै अन्य कविहरुकाे पनि कृति परेको छ । मूल्यांकनकर्ताहरुले गरेको मूल्यांकन सही नै हाेला भन्ने लागेको छ । पुरस्कार प्राप्त हुनु र नहुनुले एउटा समर्पित र स्वाभिमानपूर्वक लेखिरहेको सर्जकलाइ त्यत्रो ठूलो असर पार्छ जस्तो लाग्दैन ।
मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?
घरपरिवारसँग गृहस्थ जीवन बिताइ रहेको छु । दैनिक व्यवहारिक जीवनमा विभिन्न समस्याहरु आइरहेका हुन्छन् । याे पुरस्कार प्राप्त गरे, घरव्यवहारमै खर्च गर्छु ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?
जानेर, नजानेर, जसरी भए पनि म याे सिर्जनात्मक विधामा लागेँ, म अत्यन्तै खुसी छु । कवि श्रवण मुकारुङकाे उद्गार सम्झन्छु – गाैतम बुद्ध पनि कवि हुन् । कवि हुनु भनेको अर्को बुद्ध हुनु हाे । तसर्थ म आफू कवि भएकोमा सर्वाधिक गाैरवन्वित छु । आगामी दिनहरूमा पनि म साहित्य क्षेत्रमै साधानारत हुनेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।