साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” २०८० का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’का स्रष्टा सुशीला खड्का ‘हसिना’सँगको संवाद प्रस्तुत गरिएको छ ।

===

हसिनाजी, ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा मेरो पहिलो पुस्तक पहिरोभित्रको घाम कवितासङ्ग्रह छनौटमा पर्दा गर्वले छाती फुलेको छ । अत्यन्तै गौरवान्वित महसुस गरेकी छु । साँच्चिकै साहित्यको लहरमा उभिन पाएकी छु । एक किसिमको बजार चर्चा पनि पाइरहेकी छु ।

प्रकाशक तथा बिक्रेताहरू आख्यानका तुलनामा कविताकृतिहरू ज्यादै कम बिक्री हुन्छ भन्छन् । आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविता नै किन रोज्नुभयो ?

साहित्यिक यात्रामा कलम समातेर लेखेको पहिलो अक्षर नै कवितार्को क’ भएको कारण मैले आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविताकृतिलाई रोजेकी हुँ । कविताकृति रहर मात्रै हो, कविता कृति निकाल्नु भनेको बजारमा चाउचाउ बेच्न बसेजस्तै हो भन्नेहरूका लागि कविता शक्तिशाली हुन्छ, आख्यानले जति नै कविताले पनि पाठकवर्गलाई पठन र श्रवण दुवैमा सन्तुष्ट दिन्छ भन्ने दृढ विश्वासकासाथ कविताकृतिलाई प्रकाशनमा ल्याएकी हुँ ।

तपाईँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । साहित्य र आफूले अपनाएको पेसाको अन्तर्सम्बन्ध कस्तो पाउनुहुन्छ ?

साहित्य र आफूले अपनाएको पेसाको अन्तर्सम्बन्ध गहिरो पाउँछु । विद्यार्थीलाई नेपाली भाषा पढाउने शिक्षिका भएको नाताले कक्षा कोठामा पनि कविता, कथा, गजल, निबन्ध आदि पढाइन्छ, ती विभिन्न विधाका शीर्षकअनुसार भाव बताइन्छ र कसरी लेख्ने भन्नेबारे सैद्धान्तिक ज्ञानको छलफल गराइन्छ । आफूले लेख्दा पनि सिद्धान्त बुझेर लेखिन्छ । दुवै कार्यमा शब्दसँग खेलिन्छ ।

छोटो सूचीमा तपाईँका कृतिसँगै अन्य चार बलिया कविताकृतिहरू रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।

छोटो सूचीमा मेरा कृतिसँगै अन्य चार बलिया कविहरूका कविताकृति छनौटमा परेका छन् । आदरणीय सबै कवि र कविका कृतिलाई भव्य शुभकामना दिन्छु । साहित्यिक बगैँचामा भर्खरै कोपिला लाग्दै गरेकी म फूल फुल्न बाँकी नै छु । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ जित्दा हौसला पाउनुको साथै मेलै समातेको साहित्यिक कलममा ऊर्जा थपिने छ ।

मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार–२०८०’ घोषणा हुनै बाँकी छ । पाउँछु या पाउँदिन त्यो त भोलिको दिनमा थाहा हुन्छ । यदि मैले पाएँ भने मभन्दा निम्न वर्ग पनि यही समाजमा बाँचिरहेकाले उनीहरूको जनजीवनलाई ध्यानमा राखी साहित्यिक वा सामाजिक क्षेत्रमा केही गर्ने सोंचमा छु । आफ्नै भान्साको नुनतेल वा चामल किन्नमा खर्च गर्ने छुइनँ ।

अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरू के के छन् ?

मेरा आगामी साहित्यिक योजनामा सर्वप्रथम त निरन्तर कविता सृजना गर्ने र समाजमा काव्यिक रसस्वादन गराउने नै छ । त्यसपछिका योजनाहरूमा उपन्यास लेख्ने तयारीमा छु साथै नियात्रा लेख्ने रहर पनि मनमा जागेको छ । हेरौँ कुन विधालाई पुस्तकाकार दिन सफल हुन्छु ।