साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” २०८० का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’का स्रष्टा देवव्रतसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

देवव्रतजी, ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा तपाईँको पहिलो पुस्तक छनौट भयो । कस्तो महसुस गरिरहनुभएको छ ?

पहिलो कुरा त हाम्रो जस्तो मुलुकमा नयाँ स्रष्टाले लेखनमा सबैभन्दा बढी संघर्ष गर्नुपर्ने विषय नै आर्थिक हो । प्रत्येक वर्ष थुप्रै नयाँ लेखकहरु जन्मिने तर चाँडै लेखनबाट गोडा धर्मराउने कारण पनि यही हो । यसैले साहित्यपोस्टले नयाँ स्रष्टालाई प्रदान गरिरहेको यो पुरस्कारको अवधारणा नै मलाई राम्रो लागेको हो । मेरो पुस्तक पनि यस पुरस्कारका लागि छनोट भई शीर्ष पाँचभित्र परेको छ, पक्कै पनि खुसी लागिरहेको छ ।

‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ – कवितासङ्ग्रहको शीर्षक नै ‘कविता’ भएन ? अनि फेरि ‘ऊ’ चाहिँ एक शब्दमै कविता कसरी भयो ?

पहिलो प्रश्नको उचित जवाफ के हो मलाई थाहा छैन । मलाई उक्त कवितालाई यो शीर्षकले न्याय गर्न सक्छ भन्ने लागेको चाहिँ हो ।

‘ऊ’ कविताको बारेमा मलाई धेरैले सोधे पनि मैले बताएको थिइनँ । वास्तवमा भएको के थियो भन्दा मैले यो शीर्षकमा एउटा प्रेम कविता लेखेको थिएँ । यही शीर्षकको एक ‘एन्टिनेस्नालिस्ट’ कविता पनि थियो, जुन मैले संग्रहमा राखिनँ (शीर्ष कविताले पुग्छ सोचेर) । त्यो प्रेम कवितालाई म राम्रो बनाउन धेरैपटक सम्पादन गरिरहेको थिएँ । कहिले काट्दै थिएँ, कहिले थप्दै । यसैबीच भइदियो के भन्दा मनलाई निको भयो । प्रेम रित्तिँदै गयो । मान्छेहरु भन्छन् नि प्रेम मर्दैन, मर्दो रैछ । मर्‍यो । अरु कविता सम्पादन गर्ने क्रममा त्यो कविता पनि सम्पादन गरिरहेँ । म क्रुर भएँ कि प्रेमिल ? थाहा छैन । तर कविता कहिले गुलमोहर जस्तो त कहिले तीतेपाती जस्तो बन्यो ।

खासमा मलाई आफूले लेखेको त्यो कविता निकै मन परेको थियो, यसैले पनि धेरैपटक सम्पादन गरेँ । सम्पादन गर्दै जाँदा अन्तत: त्यत्ति एक शब्द बाँकी रह्यो । हुन त मलाई प्रयोगका लागि प्रयोग गर्न त्यो राखेको भन्नेहरु पनि छन् । तर होइन, यो म स्वीकार्दिनँ । मेरा लागि त्यो पूर्ण कविता हो । म धेरैथोक सम्झिन्छु त्यो कविता अर्थात् ‘ऊ’ पढ्दा ।

प्रकाशक तथा बिक्रेताहरु आख्यानका तुलनामा कविताकृतिहरु ज्यादै कम बिक्री हुन्छ भन्छन् । तपाईँ आख्यान पनि राम्रो लेख्नु हुन्छ । आख्यानकृति प्रकाशनमा ल्याउन छाडेर कविता नै किन रोज्नु भयो ?

धेरै किताब बिक्री हुँदा निको लाग्छ, स्वभाविक हो । तर मन परेको कुरा लेख्नु र अंकगणित फरक विषय हुन् कि ? कविता लेख्न त म बिक्री नै नभए पनि लेख्ने छु । किनकि कविता मेरो लागि ‘पर्सनल’ कुरा हो । मैले कसले के भन्ला नसोची आफूलाई मन लागेको कुरा कवितामा लेखेको हुँ । लेख्ने गर्छु । त्यसपछि बल्ल सार्वजनिक । आख्यानसँग पनि लगाव नभएको होइन, छ । आगामी दिनमा त्यसको काम हुँदै जाला ।

तपाईँ पत्रकार पनि । समग्रमा, लेख्नु र नलेख्नुले के फरक पार्छ ? कविता लेख्नु र समाचार लेख्नुका समानता र विषमता के–के पाउनु हुन्छ ?

समाचार सूचना हो । कविता हृदय आनन्दित तुल्याउने अर्कै केही चिज । बिलकुल फरक कुरा हो नि ।

छोटो सूचीमा तपाईँका कृतिसँगै अन्य चार बलिया कविताकृतिहरु रहेका छन् । तपाईँले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के–कस्तो अर्थ लाग्छ ।

खै ! थाहा नै पो भएन त । जेहोस् जसले पाए पनि उसलाई केही प्रोत्साहन त पक्कै हुनेछ नै ।

मानिलिऔँ, तपाईँले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ जित्नु भयो र ५० हजार नगद प्राप्त गर्नुभयो । अब यो पुरस्कार रकमले के गर्नुहुन्छ ?

हाहा… त्यो त अब त्यसपछि नै सोचौँला ।

अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरु के के छन् ?

केही विषयमाथि काम गरिरहेको छु । चाँडै केही नयाँ चिज साझा गर्ने योजना छ।