कवितामाथिको पहिलो रियालिटी शो “द पोएट आइडल” को दोस्रो सिजनमा भोटिङ राउन्डबाट कविहरू बाहिरिने क्रम जारी नै छ । यसै क्रममा भारत सिक्किमकी कवि सबिना राई आइडलको उत्कृष्ट १० मा पुगेर बाहिरिनु भएको छ । भोट कम्ती प्राप्त भएको आधारमा उहाँ पहिलो पटक रेड जोनमा पर्नु भएको थियो । रेड जोनमा परेसँगै रेड जोनमा पर्ने कविहरूसँगको अन्तिम प्रतिस्पर्धा अर्थात् “आशु कवि राउन्ड” मा उहाँ पराजित हुनु भएको हो ।
उहाँसँगै विपना अधिकारी (इलाम), विनायक पन्त (तनहुँ) र बुङ्छेन सेचन राई (मोरङ) रेड जोनमा पर्नु भएको थियो । त्यसमध्ये कविद्वय विपना र विनायकले आइडलको उत्कृष्ट ८ मा आफ्नो स्थान सुरक्षित गर्नुभयो भने कविद्वय सबिना र बुङ्छेन आइडलको मञ्चबाट बाहिरिनु भयो ।
२० वर्षीय कवि सबिना राई पछिल्लो ४/५ वर्षदेखि लेखनमा सक्रिय हुनुहुन्छ । घरमा दिदीले पनि कविता लेख्ने गरेकोले त्यसको प्रभाव आफूमा पनि परेको उहाँ बताउनु हुन्छ । त्यसका साथै कविता लेखनका लागि विद्यालयमा शिक्षकहरूले प्रोत्साहन गर्ने गरेकोले पनि कवितामा आफ्नो रुचि बढ्दै गएको उहाँ सुनाउनु हुन्छ ।
सन् २००४ सेप्टेम्बर ११ तारिख पूर्वी सिक्किम स्थित रानीपुलमा कवि सबिनाको जन्म भएको थियो । माता आशा राई र पिता गणेश राईकी उहाँ कान्छी छोरी हुनुहुन्छ । नेपाली साहित्य परिषद् सिक्किमले २ सय ९ औँ भानु जयन्तीका अवसरमा आयोजित राज्य स्तरीय कविता प्रतियोगितामा उहाँले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यसै गरी अन्तर्राष्ट्रिय अखिल किराँत राई सिक्किमबाट पनि उहाँले सम्मान पत्र प्राप्त गर्नुभएको थियो ।
पोएट आइडल हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आको छ । पछि यसलाई “OSR Reality” युट्युब च्यानलमा पनि हेर्न सकिने छ । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीप्रति समर्पित आइडललाई डन डिरेक्टर अमन प्रताप अधिकारीले निर्देशन गरिरहनु भएको छ । पोएट आइडलमा कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका केकी अधिकारी निर्णायकको भूमिकामा हुनुहुन्छ । त्यसै गरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ ।
अब प्रस्तुत छ सिक्किम भारतकी कवि सबिना राईसँग पोएट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।
पोएट आइडलको उत्कृष्ट १० मा पुगेर आउट भइसकेपछि के कस्ता प्रतिक्रिया पाउनुभयो/पाइरहनु भएको छ ?
– पोएट आइडलबाट म बाहिरिएपछि मेरा प्रतिस्पर्धी दाजु दिदीहरु निकै निराश हुनुहुन्थ्यो । साथै सामाजिक सञ्जालबाट मलाई हेर्नु हुने दर्शकहरू पनि निकै निराश भएको पाएँ । उहाँहरूलाई मेरो कविताको प्रतीक्षा रहेको बताउनु भयो ।
पोएट आइडलको मञ्च छोड्दै गर्दा तपाईं स्टेजमै रुनु भएको थियो । के सम्झिनु भयो त्यतिबेला ?
– हजुर म स्टेजमै रोएको थिएँ । कारण, म आउट भएर जाँदै गर्दा मैले फेरि यो काव्यिक माहौल पाउँदिन होला भन्ने डर थियो । साथै मेरा प्यारा दाजु दिदीहरूलाई पनि छोडेर जानु परेकोले दुख लाग्यो । उहाँहरूले मलाई टाढाबाट आएको महसुस हुन दिनु भएन । र सबैले आफ्नै बहिनी मानेर माया गर्नु भयो । पोएट आइडलमा आउँदै गर्दा मेरो घर, परिवारबाट मैले सोचेको जस्तो साथ पाइनँ । तर पनि मैले आफूलाई आफैँले अगाडि बढ्ने, पोएट आइडलको स्टेजमा टेक्ने हौसला दिएँ र यहाँसम्म आइपुगेँ । अरूको लागि नभए पनि मेरो लागि यो धेरै ठुलो सफलता हो । यसैले म आफ्नो सफलता देखेर पनि खुसी थिएँ । पोएट आइडलमा आउँदाको मेरा ती सङ्घर्षहरूलाई सम्झिल्याउँदा मेरा आँखाहरू रसाए र आँसु रोक्नै सकिनँ मैले । त्यसैले म स्टेजमै रोइपठाएँ ।
भोटिङ राउन्ड सुरु भएदेखि यता तपाईं पहिलो पटक रेड जोनमा पर्नुभएको थियो । भोट कम्ती भए पनि कविताको बलले एक पटक आफूलाई सुरक्षित राख्ने अवसर त थियो नि ? रेड जोनमा पर्दै गर्दा के सोच्नुभएको थियो ?
– हजुर म पहिलो पटक नै रेड जोनमा परेको थिएँ र त्यतिखेर म एकदमै अत्तालिएको थिएँ । मैले लेख्न खोजेको कुरालाई प्रस्टसँग लेख्न सकिनँ । त्यसैले म आउट भएँ ।
विभिन्न चरण पार गरेर उत्कृष्ट १४ अर्थात् भोटिङ राउन्डमा प्रवेश गरिसकेपछि आइडलको मञ्चमा कहाँसम्म पुग्ने सपना बुन्नु भएको थियो ?
– हजुर मलाई उत्कृष्ट १४ बाट अघि बढ्दै गर्दा उत्कृष्ट १० भन्दा सायद म अलिक परसम्म चाहिँ पुग्छु जस्तो लागेको थियो । अथार्त् उत्कृष्ट ६ सम्म । तर म त्यहाँसम्म पुग्न सफल भइनँ । त्यहाँ मभन्दा अब्बल कविहरू हुनुहुन्छ । जो टाइटलको हकदार हुनुहुन्छ भन्ने थाहा थियो मलाई । त्यसैले मैले बेसी परसम्म पनि सोचेकी वा सपनाहरू बुनेकी थिइनँ ।
पोएट आइडलको पहिलो सिजनमा कवि नीलम गुरुङलाई सिक्किमले यसरी साथ दियो कि, विजेता नै बनाइदियो । तपाईंले पनि सिक्किमबाट त्यस्तै साथको अपेक्षा राख्नु भएको थियो होला है ?
– हजुर मैले अपेक्षा गरेकी थिएँ र मैले सोचेको भन्दा बेसी नै उहाँहरूको साथ पनि पाएँ । त्यसको लागि आभारी छु म, सिक्किमबाट मलाई सहयोग गर्नु हुने सम्पूर्णप्रति ।
रेड जोनमा परिसकेपछि “आशु कवि राउन्ड” मा आधा घण्टाको समय दिइएको थियो कविता लेख्नको लागि । आधा घण्टामा कविता लेखिसक्नु कतिको सजिलो/गाह्रो हुँदो रैछ ?
– मलाई चाहिँ अत्ति नै साह्रो परेको थियो । अत्तालिएकी पनि थिएँ । हामीलाई आशु कवि राउन्डमा “साँचो” शीर्षक दिइएको थियो । मैले त्यस शीर्षकअनुसार त्यो साँचोलाई छोरीको सपनाहरूमा र इच्छाहरूमा समाजभन्दा पहिला आफ्नै घर परिवारको सदस्यले नै लगाइदिने साँचो अथवा छोरीले गरेका प्रयासहरूमा गरिने अनेकौँ प्रश्नहरुसँग जोड्न खोजेकी थिएँ । माथि पनि भनिसकेँ मैले सोचेको जस्तो कविता लेख्न सकिनँ । त्यसमा मलाई पछुतो पनि छ ।
विभिन्न तरिका अपनाएर कविता लेखनका लागि विषय बस्तु दिइने पोएट आइडलको तरिका कस्तो लाग्यो ?
– म पोएट आइडलमा आउनुभन्दा अघि यसरी विषयमा बाँधिएर नलेखेको हुँदा अथवा स्वतन्त्र विषयहरूमा लेख्ने बानी भएकोले गर्दा सुरु-सुरुमा निक्कै साह्रो परेको थियो । तर त्यसरी विभिन्न विषयहरूमा बाँधिएर एउटै विषयलाई भिन्न-भिन्न प्रकारले हेर्न सक्नु, लेख्न पाउनु धेरै लाभदायक भयो र लेखनको अभ्यास पहिलेको भन्दा झन् बढी उत्कृष्ट भएको पाएँ ।
पोएट आइडल भनेको कविता लेखनसँगै वाचन र प्रस्तुतीकरणको पनि प्रतिस्पर्धा हो । यी तिनै कुरालाई एकसाथ मिलाएर लैजान कत्तिको सहज भयो तपाईंको लागि ?
– यो मेरो पहिलो अनुभव थियो कविता वाचनसँगै प्रस्तुति पनि । राम्रो अनुभव बटुल्न पाएँ । यसमा धेरै खुसी छु । कविता वाचनसँगै प्रस्तुति पनि गर्दा कवितामा कोरिएका शब्दहरू जीवन्त हुन्छन् । आफ्नो कवितासँगै बाँच्न सिकेँ ।
पोएट आइडलको मञ्चमा तपाईंले दुई पटकसम्म “पर्फमेन्स अफ द वीक” को उपाधि जित्नुभएको थियो । कविता सुन्दर बन्नुमा प्रस्तुतीकरणको भूमिका कस्तो हुँदो रैछ ?
– कविता सुन्दर बन्नुमा प्रस्तुतीकरणको ठुलो भूमिका रहन्छ । जब हामी कविता वाचन मात्र गर्छौं, तब हामीले थोरै मात्रामा कनेक्ट गर्न सक्छौँ । तर कवितासँगै प्रस्तुति पनि गर्दा हामी छिट्टै र धेरै मात्रामा कनेक्ट हुन सक्छौँ कवितासँग । यसरी कविता झन् उत्कृष्ट हुन्छ ।
कसरी सम्झिनु हुन्छ पोएट आइडलको यात्रालाई ?
– जीवनको सबैभन्दा सुन्दर यात्रा भन्छु, पोएट आइडलको यात्रालाई । मैले यो यात्रामा धेरै कुराहरू सिक्न पाएँ र सुन्दर यादहरू समेट्न पाएँ । अरू यात्रा त जीवनमा बाँकी नै छन् । जब म हताश हुन्छु, त्यतिखेर पनि म यो यात्रालाई सम्झिने छु र अगाडि बढ्ने छु ।
पोएट आइडलमा भाग लिएर त्यहाँसम्म पुगिसकेपछि आफ्नो व्यक्तिगत जीवन र लेखनमा केही विशेष फरक पर्यो ?
– धेरै फरक परेको छ । म पहिले बेसीजस्तो आफ्नो लागि लेख्थेँ । तर यहाँ आएर समाजको लागि सामाजिक विषयहरूमा कविताहरू लेख्न सक्ने भएँ । मेरो लेखन शैली पनि धेरै तिखारिएको छ ।
पोएट आइडलले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– पोएट आइडलले नेपाली कविताको क्षेत्रमा धेरै राम्रो प्रभाव पारेको छ । अझै पार्ने छ । हामीलाई धेरै कुरा सिकाएको छ । आउँदा दिनहरूमा पनि धेरै कविलाई पोएट आइडलले तिखार्ने छ । कविहरूका लागि पोएट आइडल ठुलो प्लेटफर्म हो । यो प्लेटफर्मले कवि र कविता दुबैलाई आम पाठकमाझ चिनाउने काम गरेको छ र अझै चिनाउने नै छ ।
भोलिका दिनमा आफ्नो कविता यात्रालाई के कसरी अगाडि बढाएर लैजाने योजना बनाउनु भएको छ ?
– म एक विद्यार्थी भएको कारणले गर्दा मैले धेरै जसो समय पढाइमा दिनु पर्ने हुन्छ । तर पनि म मेरो पढाइसँगै आफ्नो कवितालाई पनि अगाडि बढाउँदै लाने सोचेको छु । कविताहरू लेखिरहने छु । कवितालाई अझै बढी तिखार्दै लाने छु ।
तपाईंको लागि कविता के हो ? र किन लेखिरहनु भएको छ ?
– कविता ईश्वरले दिनु भएको उत्कृष्ट उपहारहरू मध्ये एक हो । मेरा कविताहरू मेरो एक्लोपनको साथी र म हुनुको प्रमाण पनि हुन् । मनको भावना अथवा विचारहरूलाई प्रकट गर्न र आफूलाई चित्त नबुझेका कुराहरूमा आवाज उठाउन म कविता लेख्छु ।
जाँदाजाँदै अन्त्यमा केही ?
– मेरा जति पनि उत्कृष्ट ८ मा पुगेका दाजु दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई धेरै बधाई दिन चाहन्छु । आउँदो दिनहरूको लागि शुभकामना भन्न चाहन्छु । यति धेरै मायाको लागि सबैलाई धेरै धन्यवाद । यात्रामा सुझाव सल्लाह दिनु हुने, सहयोग गर्नु हुने पोएट आइडलका सम्पूर्ण टिम र मेरो कविताको लागि यति ठुलो मञ्च दिनु हुने निर्देशक अमन प्रताप सरलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
माया र स्नेहले सुमसुम्याउँदा पत्थर पनि मुस्कुराउँदो रहेछ – मञ्जुल मितेरी
२ चैत्र २०८२, सोमबार 








