कवितामाथिको पहिलो रियालिटी शो द पोएट आइडलको दोस्रो सिजनको भोटिङ राउन्डबाट कविहरू बाहिरिने क्रम जारी छ । यसैक्रममा आइडलको उत्कृष्ट ११ मा पुगेर कालेबुङ भारतका कवि विशाल नाल्बो बाहिरिनु भएको छ ।

सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा दोस्रो पटक रेडजोनमा पर्नुभएका कवि नाल्बो “आशु कवि राउन्ड” मा कोहलपुर बाँकेकी कवि अनु शाहीसँग ४.५ अङ्कको अन्तरले पराजित हुनु भएको थियो ।

रेडजोनमा परेपछि उहाँहरूलाई “उपहार” शीर्षकमा कविता लेख्न आधा घण्टाको समय दिइएको थियो । जसमा निर्णायकहरुले दिने २ सय पूर्णाङ्कमा कवि शाहीले १ सय ५३ र कवि नाल्बोले १ सय ४८.५ अङ्क प्राप्त गर्नुभएको थियो । यसअघि कवि नाल्बो तनहुँका कवि विनायक पन्तसँग रेडजोनमा पर्नुभएको थियो । जसमा कवि पन्तलाई ३.५ अङ्कले पराजित गर्दै कवि नाल्बोले आइडलको उत्कृष्ट ११ मा आफ्नो स्थान सुरक्षित गर्नुभएको थियो ।

आइडलको मञ्चमा कवि नाल्बोले एक पटक “लाइन अफ द विक” को उपाधि समेत जित्नु भएको थियो । हरेक हप्ता प्रस्तुत कविता मध्ये निर्णायकहरूको मूल्याङ्कनका आधारमा कविताको उत्कृष्ट एक पंक्तिलाई यो उपाधि दिने गरिएको छ ।

पोएट आइडलको मञ्च छोड्ने क्रममा कवि नाल्बोले आफ्नो त्यहाँको यात्रा टुङ्गिए पनि  आइडलप्रतिको प्रेम सधैँ रहिरहने बताउनु भयो । नेपाली कविताको लागि पोएट आइडल सबैभन्दा ठुलो मञ्च भएको स्वीकार गर्दै उहाँले  कवितालाई आम-पाठकमाझ पुर्‍याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । त्यसका लागि उहाँ पोएट आइडल टिमलाई धन्यवाद पनि व्यक्त गर्नुहुन्छ ।

पछिल्लो झन्डै डेढ दशकदेखि कविताको यात्रामा रमाइरहनु भएका कवि नाल्बोको सन् १९९७ मार्च ३ तारिख कालेबुङ स्थित तम्याङमा जन्म भएको हो । माता खरीमाया सुब्बा (लिम्बू) र पिता राजवीर सुब्बा (लिम्बू)का उहाँ जेठो सन्तान हुनुहुन्छ । सन् २०१० मा आफ्नो कविता पहिलो पटक प्रकाशित भएको उहाँ जानकारी गराउनु हुन्छ । कविताका अलावा उहाँ गीत, संस्मरणात्मक निबन्ध, नाटक, कथा र फिल्मका स्क्रिप्ट पनि लेख्ने गर्नु हुन्छ ।

लेखनबाहेक उहाँ सम्पादन कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ कलरव धरान साहित्य संस्था, हाम्रो किताब घर, पेरुङगो  साहित्यिक समूह लगायत संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

धरानबाट प्रदान गरिँदै आइएको विमल गुरुङ युवा प्रतिभा पुरस्कार सन् २०२३ मा उहाँलाई प्रदान गरिएको थियो । आफ्नो पहिलो कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको उहाँ जानकारी गराउनु हुन्छ ।

पोएट आइडल हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आको छ । पछि यसलाई “OSR Reality” युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीप्रति समर्पित आइडललाई डन डिरेक्टर अमन प्रताप अधिकारीले निर्देशन गरिरहनु भएको छ । पोएट आइडलमा कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका केकी अधिकारी निर्णायकको  भूमिकामा हुनुहुन्छ । त्यसै गरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ ।

अब प्रस्तुत छ कालेबुङ निवासी कवि विशाल नाल्बोसँग पोएट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

 

पोएट आइडलको उत्कृष्ट ११ मा पुगेर आउट भइसकेपछि के कस्ता प्रतिक्रिया पाउनुभयो/पाइरहनु भएको छ ?

– मिश्रित प्रतिक्रिया पाइरहेको छु । मेरो कविता मन पराउनु हुने पाठक, श्रोताहरूले  दुख व्यक्त गर्नु भएको छ । तपाईँ पोएट आइडलको मञ्चमा अलिक अघिसम्म जानु पर्ने कवि हो भनेर माया देखाउनु भएको छ । उहाँहरूको प्रेमलाई मेरो सम्मान छ । खुसी लाग्छ, सुन्दर-सुन्दर प्रतिक्रिया पाइरहेको छु ।

पोएट आइडलमा जानुभन्दा पहिल्यै नै कविको रूपमा एक किसिमको परिचय बनाइसक्नु भएको कवि हो तपाईं । आइडलको मञ्चमा अलिक परैसम्म गइएला भन्ने लागेको थियो होला नि ?

– पोएट आइडलमा जानुभन्दा अघि थोरबहुत कविको परिचय बनाएको हुँदा सजिलो चाहिँ भयो । सबैले प्रेम गरे, माया गरे । परैसम्म गइएला भन्दा पनि, जहाँसम्म पुगेँ, सुन्दर यात्रा गरेर फर्केँ ।

तपाईं यसअघि पनि कम्ती भोट प्राप्त गरेको आधारमा रेडजोनमा पर्नुभएको थियो । कविताको बलले अर्को चरणमा प्रवेश गर्नुभयो  । दोस्रो पटक  रेडजोनमा पर्दै गर्दा यसपालि पनि म जोगिन्छु होला भन्ने चाहिँ लागेन ?

– जोगिन्छु होला भन्ने चाहिँ लागेन । थाहा थियो, मेरो भोट कमजोर छ भनेर । त्यसैले दिनभरि साथीहरूसँग जिस्किरहेको थिएँ, ‘यस पटक म घर जाँदै छु’ ।  मनले पनि भनिरहेको थियो यसपालि घर जाने पालो तेरो हो भनेर । रिजल्ट आएपछि पो, साथीहरूको प्रेमले भावुक बनायो । साथीहरूसँगै अनायासै रोइपठाइछ, हैट !

दुई-दुई पटक रेडजोनमा परेर “आशु कवि राउन्ड” मा आधा घण्टाभित्र दिइएको विषयमा कविता लेखिसकेको अनुभव तपाईंसँग छ । कस्तो हुँदो रैछ त्यो समय ?

– बडो अप्ठ्यारो समय । घिटिक-घिटिक हुने रैछ । तर मैले चाहिँ खुब इन्जोइ पनि गरेँ ।

निर्णायक केकी अधिकारी भन्नुहुन्छ, “समय अवधिभित्र रहेर एउटा फ्रेममा लेख्न गाह्रै हुन्छ । यसले तपाईं कमजोर कविता लेख्नुहुन्छ भनेर निर्धारण गर्दैन ।” उहाँले भनेजस्तै यसरी कुनै ढाँचामा रहेर कविता लेख्दा गतिलो कविता नआउने सम्भावना पनि हुँदो रैछ ?

– केकी अधिकारी मेमको कुराप्रति मेरो शतप्रतिशत सहमत छ । आधा घण्टामा कविता मात्र होइन कुनै पनि कुरा गतिलो आउँदैन । यस मानेमा अनुभव पीडादायी र सुखदायी दुवै रह्यो ।

पहिले नै कविको परिचय बनिसकेको तपाईंको परिचयलाई पोएट आइडलको मञ्चले अझै फराकिलो बनाउने सन्दर्भमा कस्तो भूमिका खेल्यो जस्तो लाग्छ ?

– पोएट आइडल परिवारका सम्पूर्ण सदस्य/परिवार (म त मेरो सिर्जनात्मक घर र आफन्तहरू भन्छु) प्रति  आभारी छु । मेरो परिचय बृहत् बनाउनुमा ठुलो भूमिका खेल्नु भएको छ ।

पोएट आइडल भनेको कविता लेखनसँगै वाचन र प्रस्तुतीकरणको पनि प्रतिस्पर्धा हो । यी तिनै कुरालाई एकसाथ मिलाएर लैजानु कत्तिको सहज रैछ ?

– खासमा पोएट आइडल भनेको समग्रमै कविताको रिभोलुसन हो । यस मञ्चले ठुलो इतिहास रच्ने  कुरामा  ढुक्क भए हुन्छ । वाचन र प्रस्तुतीकरणको नयाँ प्रयोगले यसको सुन्दरता बढाएको छ । सहज त पक्कै छ । तर सजिलो पनि छैन ।

समग्रमा पोइट आइडलको आफ्नो यात्रालाई कसरी सम्झिनु हुन्छ त्यो यात्रालाई ?

– बडो अविस्मरणीय । अबिर्सालु यात्रा । जो सधैँ-सधैँ गरिरहुँ लाग्ने ।

पोइट आइडलले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला ?

– पोएट आइडलले इतिहास निर्माण गर्ने कुरामा पनि म चाहिँ ढुक्क छु ।

पोएट आइडलको सबैभन्दा धेरै मन परेको पक्ष के हो ?

– अनुशासन, सद्भाव, प्रेम र सिर्जनात्मकता ।

पोएट आइडलको सिङ्गो टिमलाई केही विशेष सुझाव दिन चाहनु हुन्छ ? ताकी भोलिका दिनमा यो अझै राम्रो भएर अगाडि बढ्न सकोस् ।

– मेरो आफ्नै परिवार हो, घर हो, पोएट आइडल  भनेको । सुझाव भन्दा पनि माया सम्झिनु होला । धेरैभन्दा धेरै टेक्स्टमा ध्यान दिनु होला । बाँकी त छँदै छ ।

तपाईंको लागि कविता के हो ? र किन लेखिरहनु भएको छ ?

– कविता भनेको केही न केही पक्कै हो जो शब्दमा भन्न सकिन्न । कविता यही हो भनेर थाहा पाएको दिन तपाईँलाई सुनाउँला है ।

आफ्ना कवितामा विशेष गरी पहिचानका कुरालाई उठाउँदै आउनुभएको छ । कवितामार्फत आफ्ना कुराहरू सम्बन्धित ठाउँसम्म पुर्‍याउन कत्तिको सहज छ ?

– हामी आफ्नो कुरा लेख्नु पर्छ भन्नेहरूलाई एकदमै गाह्रो छ यो समय । पहिचान भन्ने  बित्तिकै जातिवादी कविको उपनाम दिनेहरूको झुन्ड छ । उनीहरूले जहिले हामीलाई किनारातिर धकेल्न खोजिरहेका हुन्छन् । तर पनि हामीले  हाम्रो आवाजलाई लेखिरहेका छौं । चुनौतीहरूका बीच आफ्नो कुरा गरिरहनु गाह्रो त छ । तर मज्जा पनि यसैमा छ ।

जाँदाजाँदै अन्त्यमा केही ?

– तपाईं लगायत साहित्यपोस्ट परिवारप्रति आभारी छु यो मायाको निम्ति ।