जिरी – ६, दोलखामा जन्मिएकी सुशीला खड्का ‘हसिना’ बहुविधामा कलम चलाउँछिन् । हाल काठमाडौँस्थित चावाहिल बस्दै आएकी ‘हसिना’ले आफ्नो पहिलो कृतिका रुपमा कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ प्रकाशनमा ल्याएकी छिन् । सो पुस्तकलाई पेजट टर्नरले प्रकाशनमा ल्याएको हो ।

प्रस्तुत छ, उनै ‘हसिना’सँग साहित्यपोस्टका लागि गरिएको संवादको सम्पादित अंशः

===

कुरा तपाईँको नामबाट गर्न मन लाग्यो । ‘हसिना’का बारेमा केही बताइदिनुस् न !

म सानैदेखि हँसिली थिएँ । क्याम्पस पढ्दा साथीहरूलाई हँसाइरहन्थेँ त्यसैले साथीहरूले ‘हसिना’ नाम राखिदिए । त्यही नामलाई उपनामको रुपमा प्रयोग गरेकी हुँ । उपनाम लेख्न थालेपछि मात्र ‘हसिना’को अर्थ थाहा भयो, फूलको एक प्रजाति रहेछ, सुन्दर स्त्री रहेछ ।

अब किताबको नामको कुरा गर्न मन लाग्यो । ‘पहिरोभित्रको घाम’ कस्तो हुँदो रहेछ ? किताबलाई यही नाम किन दिनुभयो ?

‘पहिरोभित्रको घाम’ उज्यालो र आशावादी हुँदोरहेछ, प्रभातमा सूर्यको आभाजस्तै । जति गर्दा पनि नहुने समय वा समाजमा अँध्यारोपछि उज्यालो, दुःखपछि सुख, रातपछि दिन र निरासापछि अवश्य आसा हुन्छ भन्ने विषयलाई समेटेर किताबको नाम ‘पहिरोभित्रको घाम’ राखेकी हुँ ।

‘पहिरोभित्रको घाम’ तपाईँको पहिलो पुस्तकाकार, कवितासङ्ग्रह हो । पाठकहरूबाट के कस्ता प्रतिक्रियाहरू पाइरहनुभएको छ ?

हजुर ‘पहिरोभित्रको घाम’ मेरो पहिलो कवितासङ्ग्रह हो । अहिलेसम्म पाठकहरूबाट राम्रै प्रतिक्रिया पाएकी छु । पुस्तकमाथि विमर्श हुन बाँकी नै छ, त्यतिबेला पाठकले दिएका प्रतिक्रिया नोट गरेर आफूलाई कविता लेखनमा परिमार्जन गर्ने छु ।

‘हसिनाको कविता लेखन असिना जस्तै बररर बर्सिने शैलीको लाग्छ मलाई त !’ यो वाक्य तपाईँको पुस्तकको पछिल्लो गातामा राजेन्द्र थापाले लेख्नुभएको हो । आफ्ना कवितामाथि दिग्गज साहित्यकारबाट आएको यो प्रतिक्रियालाई कसरी लिनुभएको छ ?

उहाँको प्रतिक्रियामा सहमत छु । उहाँले केही बुझेरै लेख्नुभएको होला, म कविता मात्र नभएर गजल, मुक्तक, गीत, कथा र लघुकथा पनि लेख्छु । चिया बसाइँमा कहिलेकाहीँ तुरुन्त कविता सृजना गरेर एकअर्कामा सुनाइन्थ्यो । लेख्छु भनेर सुरु गरेपछि पूरा गर्ने मेरो बानी छ ।

‘पहिरोभित्रको घाम’मा सङ्ग्रहित कविताको स्रोत के हो ? तपाईँले बाँचिल्याएको जीवनका आरोह–अवरोहहरूलाई यसले के कति सम्बोधन गरेको छ ?

‘पहिरोभित्रको घाम’मा सङ्ग्रहित कविताका स्रोत मैले देखेको, भोगेको समाज नै हो । म पात्र भएर कविता रच्दा आफ्नै कथा भन्न मिल्दैन तर पनि कतिपय कुराले मन र मस्तिष्क तरङ्गित बनाएर कविता सृजना गरेकी छु ।

तपाईँका कविताले तपाईँको जीवनलाई पनि सम्बोधन गरेको छ भने, के कसरी सम्बोधन गरेको छ ?

मेरा कविताले थोरै मात्रमा मेरो जीवनलाई सम्बोधन गरेको होला तर अधिकांश हजारौँ मनहरूलाई सम्बोधन गरेको छ, जो अभावमा बाँचेका छन्, अधिकारबाट बञ्चित छन्, आफ्नाबाटै चिथोरिन्छन् र समयको खातामा उनका नाम अट्दैनन् ।

तपाईँको कविताको शक्ति कथानक र सदृश्यता रहेको देखिन्छ । कथानक र दृश्यताको ‘नृत्य कला’मा पनि महत्त्वपूर्ण हुन्छ । तपाईँ नृत्यकला र अहिलेको कविताकलाबिच के कस्ता समानता पाउनु हुन्छ ? अनि विविधता नि !

बाल्यकाल तथा कलेज जीवनमा अलिअलि नाचिन्थ्यो । गीत, सङ्गीत, साहित्य तथा नृत्य सबैमा मन, भावना र मस्तिष्कको मेल हुन्छ । गीत, सङ्गीत, साहित्य तथा नृत्य सबैले जीवन सृजनात्मक बनाउँछ । सबैको उद्देश्य समाजलाई सकरात्मक पक्षमा लैजानु हो । कला पक्षमा विविधता भएपनि उद्देश्य एउटै हुन्छ ।

उपन्यास र कथातिर साहित्य बगिरहेको समयमा तपाईँ कविता बोकेर आउनुभयो । किन ?

लेख्न नजानेरै त होइन । मेरो पहिलो रचना नै कालरात्रि लघुकथा हो । बिस्तारै कथा र उपन्यासका पनि कृतिका आकार बन्लान् । यतिबेला भने कविता सृजना गर्दा वा रसस्वादन गर्दा स्वादिलो रस पाएकी छु । कवितालाई चाउचाउसँग तुलना गर्ने एकखालको बजारलाई पनि कविता शक्तिशाली हुन्छ, यसले बजार पाउनुपर्छ भन्ने उदाहरण दिनको निम्ति पहिलो सङ्ग्रह कवितासङ्ग्रह रोजेकी हुँ ।

तपाईँले कविता लेख्न सुरु गरेको समय कुन हो ? अनि तपाईँले कविता लेख्ने समयचाहिँ कुन हो ?

वि.सं.२०५८ सालदेखि कविता लेख्न थालेकी हुँ । वि.सं.२०५८ मै फिलिङ्गो साहित्य समाजमा आवद्ध भएर जिरीको मझेरी साहित्यिक पत्रिकामा सहसम्पादक भएर काम गरेकी थिएँ । त्यसबेलादेदि नै मेरा कविता पत्रपत्रिकामा छापिएका हुन् । मलाई कुनै विषयले छोएपछि समय निकालेर कविता लेख्ने गर्छु । मैले कविता लेख्न कुनै समय छुट्याएकी छुइनँ । जतिबेला मन लाग्छ त्यतिबेला लेख्छु ।

हाम्रा लेखकहरूलाई आफू पढ्दैनन् भन्ने आरोप लाग्छ । तपाईँ चाहिँ कतिको पढ्नु हुन्छ ? तपाईँले पछिल्लो पटक पढेको पुस्तक र पछिल्लो पटक अधिक मन परेको पुस्तक बताइदिनुहोस् न !

मैले पछिल्लोपटक कवितामा ज्योति ‘जङ्गलको आधा शिर उचालेर’ पढेँ । समाजलाई चिरेर कविता रचेको पाएँ र सशक्त पनि लाग्यो । नेपालीमा अनुवाद गरिएको म्याक्सिम गोर्कीको विश्वप्रख्यात आमा उपन्यास पढेँ, दोहोर्याएर पढेँ, त्यति मन छोयो । भर्खरै अश्विनी कोइरालाको जुकरवर्ग क्याफे सुरु गरेकी छु ।

अन्त्यमा, प्रश्न स्वतन्त्र छ । उत्तर तपाईँले भन्न चाहेको दिनुहोस् न !

साहित्यपोस्टको परिवार हुन पाएकोमा खुसी व्यक्त गर्दै अमूल्य समय दिएर मेरो अन्तर्वाता समेट्न जमर्को गरेकोमा साहित्यपोस्ट परिवारप्रति हार्दिक धन्यवाद दिँदछु ।