नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
आजकल तपाईँ व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?
– म व्यस्त हुने भनेको नै अध्ययन र लेखनमा हो । म जागिरे जीवनको दासता राम्ररी बुझेर समय अगाडि नै त्यसबाट अलग भएको हुँ । आयआर्जन सामान्य बिहान बेलुका आधा पेट भए पनि चलोस् भन्दा माथिको सोचमा म कहिल्यै रहिनँ । त्यसैले मलाई यी कुरामा समस्या छैन । रह्यो प्रकाशनको कुरा यसमा चाहिँ आर्थिक रूपले अप्ठेरो पर्ने हो, त्यसका लागि तपाईंहरू नै सहयोगी हुनुहुन्छ । मान्यजनमा हरिभक्त सिग्देल, डा. अर्जुनदेव भट्ट ,समकक्षी मित्रहरूमा स्पन्दन विनोद र अमर त्यागीको नाम लिइन भने म कृतघ्न ठहर्छु । उहाँहरूका सहयोगबाट सहज चलिरहेको छ मित्र !
साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईँले कसरी हेर्नुभएको छ ?
– ईश्वर मान्नेले प्रकृतिलाई छुट्टै रूपमा लिन्छन् तर म प्रकृतिलाई नै आत्माका रूपमा लिन्छु, ईश्वर भने पनि यही हो । अर्को छुट्टै कुनै ईश्वर छैन । कायर मनोलोकले बाँच्नका लागि निर्माण गरेको बिम्ब मात्र हो- ईश्वर नामको जन्तु । विकसित भनौँ वा पहिलो र दोस्रो विश्वमा चाहिँ सत्ताखेलको माध्यम बनेको छ ईश्वर । जीवन दर्शन भनेको लहड होइन, गम्भीर छ । अनायास जीवन जन्म्यो, सहज मृत्यु नआउन्जेल बाँच्नाका लागि केही गर्नु छ- असल अर्कोको हित हुने गरी भन्ने सोच नै जीवनदर्शन हो । यो मेरो, उसको दृष्टिमा भन्ने हुँदैन । जीवनदर्शनका दृष्टिमा पुग्ने सबैको जीवनदर्शन उही हो । अब आयो साहित्य र जीवनबिचको सम्बन्ध ।
असल साहित्य जीवन हो र जीवन नै असल साहित्य हो । न जीवनबिनाको असल साहित्य हुन्छ, न असल साहित्यविनाको सच्चा जीवन हुन्छ । साहित्यविनाका जुनसुकै क्षेत्र/तप्का/लप्काका मानिस किन नहुन् दश इन्द्रियमध्ये नवनवांश इन्द्रिय दु:ख, पीडा, छट्पटीजस्ता तनावमा बाँच्छन् अर्थात् असन्तुष्ट रहन्छन् भने सच्चा साहित्यकार मात्र नवनवांश इन्द्रिय शान्त, उल्लासमय, हर्षित अर्थात् सन्तुष्ट जीवन बाँच्छन् । यसर्थ सच्चा साहित्य र सच्चा जीवन एक अर्काका परिपूरक हुन् यसमा द्विविधा छैन । सच्चा भन्नाले बोली, व्यवहार, लेखन र जीवनयात्राको गतिमा अलिकति पनि भिन्नता हुनुहुन्न । नेपाली साहित्यको विगतलाई नै हेर्ने हो भने पनि यस जीवनदर्शनमा सफल साबित हुने महाकवि लक्ष्मीप्रसाद देवकोटा मात्र हुन् ।
तपाईंलाई जाँगरिलो गुरु, कवि, लेखक र पत्रकार भन्दा हुन्छ ? तपाईँले साहित्यमा धेरै विद्यार्थी जन्माउनु भएको छ यो उपजको ऊर्जा कहाँबाट पाउनु भएको छ ?
– यो अजीवको प्रश्नको उत्तर म नै कसरी दिऊँ ? म र भेडोको स्वभावमा त्यति भिन्नता छैन । म धेरै सोच्छु र निर्णयमा पुग्छु । भौतिक रूपमा सफलतालाई यो बाधक बन्दो रहेछ । जीवनजगत्को अध्ययनबाट एउटा टुङ्गोमा पुगिसकेपछि निर्णायक आफ्ना यात्रामा हिँड्दा यी सबै कुरा सहज बन्दा रहेछन् । गुरु बनौँ भनेर मैले कहिल्यै सोचिन, सोच्नेहरू बन्न सकेनन्, मलाई सबैले भन्छन्, गरेको केही छैन । कोही सिक्न चाहन्छन्, जानेको सिकाउँछु त्यसमा म कुनै लालसा राख्दिन, भूमिका, शुभकामना लेख्दे भन्छन्, मोलतोल नगरी नलेख्ने धेरै छन्, म कुनै चाहना राख्दिन । यसकारण पनि सहज भएर गुरु भनेका होलान् । म पछिल्लो पुस्ता अगाडि जावोस् भन्ने चाहना राख्छु । अहङ्कार र दम्भबाट मुक्त रहूँको अत्यधिक प्रयास ममा रहन्छ । यसर्थ पनि हो कि ? ऊर्जाको सवालमा चाहिँ मेरो आत्मविश्वास, समर्पण, सङ्कल्प र निरन्तरतामा वातावरण र प्रकृतिले साथ दिएको छ ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?
– सङ्कल्प, समर्पण र निरन्तरता तपाईंका प्रश्नमा थप्नोस् उत्तर यो नै अन्तिम हो ।
तपाईंका कविता बेजोड छन्, हो ? कविता राम्रो लेख्न के गर्नु पर्छ ?
– मेरा कविता बेजोड कुन अर्थमा यो त मलाई थाहा हुने कुरा भएन तर म भिन्न छु । म गोठालालाई कविता बुझाउनु पर्छ भन्ने पक्षमा छैन । उसको क्षेत्र नै अलग हो । म जीवनका अन्तरमर्मलाई प्रकृतिसँग जोडेर कलात्मक शिल्पशक्तिको प्रस्तुतिमा जीवन र जगत् घनीभूत भएर उभिएको कविता रुचाउँछु, लेख्छु, यसमा माध्यमले बाधा पारे पनि चासो गर्दिन, आवश्यक पनि छैन । यसर्थ म म नै भएर आएँ, छु र जाने छु । राम्रो कुन अर्थमा ? कलात्मक अर्थमा सबभन्दा उत्कृष्ट यही हो ।
अन्य वा लेनिनवादी चिन्तनका अर्थमा साहित्य गोठाला, खेताला, निरक्षर सबैलाई उचाल्ने खालका लेख अनि म सत्तामा पुग्छु भन्ने दर्शनमा विश्वास गर्ने मित्रहरू हुनुहुन्छ । म यो भनाइ दर्शन हो भन्न नै चाहन्न, अब कसरी लिने ?
तपाईँले लेखन प्रेरणा को बाट पाउनु भयो ? त्यहाँको साहित्य अवस्था कस्तो छ ?
– मैले लेखन प्रेरणा आफ्नै अभावको गहिराइ, पीडाको अन्तरमर्म र मानवीय संवेदनाको चरम अभावबाट पाएको हुँ सुरुमा । ठूलो परिवार, आफ्नो आयले मात्र तीन महिना खान पुग्थ्यो । नौ महिना अर्काकै पर्मअर्मले घर चल्थ्यो । चेतना आर्जनको सपना त सुदूर कतै सुषुप्तमा लुकेको थियो । विद्रोहका आगामा सल्केर रातको बाह्र बजे घरबाट भागी राजधानी छिर्दा र यहाँ सामन्तका घरमा भात पकाउने, भाँडा माझ्ने गर्दा के कस्ता यातना भोग्नु पर्यो । तिनै अन्तर्पीडाको उपज नै मेरो लेखन प्रेरणा हो । दोस्रो प्रेरक व्यक्तिका रूपमा दाजु सुरेन्द्रप्रसाद दाहाल रहनु भयो ।
प्रकाशन प्रेरणाचाहिँ सुरुमा माधवप्रसाद भट्टराई रहनु भयो भने पछि आएर डा.गोविन्दराज भट्टराई र हरि गौतम रहनु भयो ।
अहिलेको नेपाली साहित्यिक अवस्था समयानुसारको छ । भौतिक लालसाका उग्र मनोद्वेग विकसित भएका बेला यसै गतिमा सङ्ख्याका चाङ् मूल्यमा भ्वाङ् भनेमा फरक परोइन अपवादलाई छाडेर ! तैपनि आशाका त्यान्द्रामा बाँधिएर भन्नै पर्छ युवापिँढी गम्भीर अध्ययनमा लागेर कलात्मक शिल्पचेत उठाओस्, अघिल्लो पिँढीमा सरलता, सौम्यता, हार्दिकता र मिलनसारिताका सकारात्मक गुण पलाउन् ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– खाली समय नै रहन्न । हरेक दिन स्पन्दन विनोदद्वारा जन्माइएको नेपाली साहित्य विश्व सञ्जाल विधा-उपविधाका लेखन, त्यसमै हुने प्रशिक्षणले धेरै समय त गइहाल्छ । बाँकी केही समय सुतेर बिताइदिन्छु नत्र लेखन र पठनमै बित्छ समय ।
तपाईँलाई गजल, गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?
– म यी बाहेकका पनि सबै विधा–उपविधा लेख्छु, सबै मन पर्छन्, तर मनोद्वेगलाई, मनोच्छ्वलनलाई भाषा र भावको, विचार र दर्शनको, जीवन र जगत्को विशाल सरोवरमा जता चाहिने हो त्यतै, जसरी चाहिने हो त्यसरी नै पौडाउने चाहिँ मात्र-गद्य/पद्य कविता, उपन्यास, लामा कथा, खण्डकाव्य/महाकाव्य मात्र हुन् । यिनमा मजाले पौडन नसक्ने/नचाहने, भौतिक लालसाका भतेरमा रमाउने स्रष्टात्व क्षमता कम हुनेका लागि मात्र अन्य लेखन लहरहरू ।
सम्बन्धित विषयका सामान्य सिद्धान्तको ज्ञानपछि सम्बन्धित विषयका सुरुदेखि अहिलेसम्मका, पुराना स्थापित स्रष्टादेखि भर्खर कलम चलाउँदै गरेका सबै रचना वा कृतिहरूको सोलोडोलो अध्ययन पहिलो कुरा हो । लेखन निरन्तरता दोस्रो कुरा हो । सङ्कल्पित रहने र लगनशीलतामा विश्वास मुछ्न सकेमा राम्रा साहित्यिक प्राङ्गण निर्माण गर्न सकिन्छ तर व्यक्तिमा स्रष्टात्वको अंशचाहिँ जन्मजात भएकै हुनु पर्दछ । बिनादही मदानी हल्लाएर घिउ निस्कन्न । किनको उत्तर अलि जटिल छ । सामान्य अर्थमा समय बिताउन तथा काल पर्खन । गम्भीर अर्थमा आफ्नो चिन्तनलाई, आफ्नो सोचलाई समाजमा इतिहासमा स्थापित गराउन चाहिने हुन् माथिका त्यागहरू । स्रष्टा भनेको समाज, राज्यव्यवस्थाजस्ता सङ्कीर्ण क्षेत्रसँग मात्र सम्बन्धित होइन । ऊ त लामो समयदेखि भत्किएको/बिग्रिएको विराट् प्रकृतिको पुनर्निर्माण पनि हो-वि निर्माणक । यसर्थमा पनि ऊ गम्भीर र सचेत हुनुपर्छ, सच्चा स्रष्टा हुने हो भने ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– समर्पित साहित्यिक पत्रकारिता नेपालमा छँदै छैन । नाम चलाऊँ, इतिहास रचौँ भन्ने मात्र चाहनामा सञ्चालित केही साहित्यिक पत्रकारिताका संस्थाहरू छन् । तिनका सीमा हदभन्दा बढी नै साँघुरा छन्, नत्र सिङ्गा समाचार पत्रिकाहरूले नै साहित्यिक पत्रकारिताका भूमिका निर्वाह बरु राम्ररी गरेका छन् । यसमै समर्पित समग्र समेट्न र विश्वस्त हुनसक्ने साहित्यिक पत्रकारिताका संस्था सुदृढ हुन सके राम्रो तर देखिएका छैनन् ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
– म जुन सीमामा जन्मेको छु त्यस आधारमा साहित्यिक लेखनलाई पेशा मान्दिन । यो स्वैच्छिक लेखन हो । पेशाका रूपमा लिने पनि छन् । कुनै संस्थाले आयोजन गरी स्थलगत रूपमा उपन्याससम्म लेखन गराएर आर्थिक आर्जन गर्नेको जमात पनि छ तर यस्ता लेखन सही साहित्यिक मूल्य निरूपणमा खरा उत्रन्नन् । जीवन र जगत्का देखिनेभन्दा निकै परको अविदित सत्यसँग भाव र भाषाको चुल्ठी परेका कृति जसले मेरो विचार/भावको धरातललाई पढिसकेपछि एक बित्ता माथि उठाउन् त्यस्ता कृति अध्ययनमा म विश्वास राख्दछु ।
साहित्यको मापदण्ड के हो ?
– दृश्यका बस्तुलाई अन्तरमा राखेर शिल्प र कलाको चकाचौध मर्करी प्रकाशमा अर्को सुन्दर संसारको सिर्जना गर्न सक्नु नै एक मात्र साहित्यको मापदण्ड हो । अहिले देखिएका अधिकांश साहित्यकार र साहित्यिक लेखन यसका छेउछाउसम्म पनि पुगेको देखिन्न । अहिले आँसु र हाँसो, बसाइ र उठाइ, बास र गाँसका गफमा सीमित छन् ।
एउटा साहित्यकारको नाताले तपाईँ नेपालको राजनीतिक जगत्लाई कसरी नियालिरहनु भएको छ ?
– अहिले राजनीतिक जगत् भनेको विचार शून्य, अडान शून्य, आदर्श शून्य जागिरेको जमघट मात्र भएको छ । अहिले यस भूगोलमा मात्र नभएर तेस्रो विश्वकै सम्पूर्ण राजनैतिक धरातल राजनेतारहित भ्रष्ट कार्यकर्ताको जागिरे जमघटको अराजक स्थल भएको छ ।
अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– साहित्यमा तपाईंले भनेका तीनवटा कुरा प्राप्त हुन जीवन र जगत्का हरेक पाटा-राजनीति, अर्थनीति, शिक्षानीति, कानुन प्रणाली, साहित्यिक गतिविधि सम्पूर्णको जानकारी भएको साहित्यिक व्यक्तित्व चाहिन्छ । त्यस्ता साहित्यकार नेपालमा छन् ? असम्भव ! एकपक्षीय ढङ्गले एकांश विचारलाई पनि गरिमामय कलाका उचाइ दिन नसक्नेका जमातबाट यसको अपेक्षा नगर्नु राम्रो ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
– पुरस्कार वितरक संस्थाहरू छन् छिचिमिरा जन्मेजस्ता । मदन पुरस्कारजस्ता संस्था त पक्षीय खाडलमा, चाकडीका जालमा परिसकेका छन् भने अहिले नेपालमा पुरस्कार/सम्मान पाउने व्यक्तिभन्दा नपाउने व्यक्ति/स्रष्टाचाहिँ माथिल्लो दर्जामा गनिन्छ । अब तपाईं नै भन्नु होस्-यिनको हालत कस्तो होला?
समालोचना प्रभावपरक, परिचयपरक, कृतित्व/स्रष्टात्वको मूल्याङ्कनभन्दा भिन्न स्वभावले अगाडि बढिरहेको बेला छ एकाध अपवादलाई छाडेर । अझ विश्वविद्यालयीय नोट स्तरमा सीमित भने पनि फरक पर्दैन । अपवाद अगाडि आउने आशाचाहिँ गर्न सकिन्छ ।
अहिलेसम्म तपाईँका प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?
– अहिलेसम्म नौ वटा कृति प्रकाशित छन् विविध विधाका । अप्रकाशित तर प्रकाशनयोग्य कृति यसभन्दा बढी छन् । यिनका बारेमा त माथिका विचारकै फेरिफेरिका रहेका छन् सम्पूर्ण कृतिहरू ! भन्नू त नहुने तर भनिहालौँ- म ‘वाह! वाह !’ मा विश्वास गर्दिनँ । भेडेभीडमा साहित्यिक आस्था राख्दिनँ । सम्मान/पुरस्कारका मोहलाई सुइरो बनाएर पनि सिर्जना गर्दिनँ । जीवन र जगत्का चौकुनाको मर्मबोध नै मेरा कृतिका मुटु हुन्, मर्म हुन् ।
डायस्पोरिक साहित्यका बारेमा तपाईँको धारणा के छ ?
– यसका बारेमा मेरो एकदम अलग र बस्तुगत धारणा छ । एक ठाउँबाट अर्को ठाउँ गएको स्रष्टाव्यक्तिले छाडेका ठाउँका गथासा, गफ गरेर लेखेको साहित्य डायस्पोरिक होइन । ऊ रहेको ठाउँको बस्तुस्थिति, समाज, चालचलन, रीतिरिवाज, भूपरिवेशमा आधारित भएर रचिएका साहित्यिक सिर्जनाचाहिँ डायस्पोरिक हुन्छन् । अहिलेसम्म केही अपवादलाई छाडेर डायस्पोरिक साहित्यको परिभाषा नै अलग गरिएको छ । जस्तो नेपालबाट अमेरिका गएको स्रष्टाले त्यहाँ बसेर नेपाल रोएको, पत्नी पीडित भएको गीत गाउनुलाई डायस्पोरिक सिर्जनामा राखिने गरिएको छ तर यो डायस्पोरिक होइन । उसले त्यहाँ सोह्र घण्टा खडेबाबा हुँदा सहनु परेका संवेदना, संस्कार र शैलीचाहिँ डायस्पोरिक हुन्छन् । त्यसो गर्ने स्रष्टात्वको हिम्मत देखिएको छैन । नदेखिनु रहेका ठाउँको चाकडी हो, निजी स्वार्थ हो – डायस्पोरिक होइन ।
भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?
– भैरवअघि शङ्कर लामिछाने थिए । भैरव आए । छोटो समयमा नै चमत्कार देखाए । पिँडाली आए केही गरे । हास्यव्यङ्ग्यलेखनको उर्वर समय भनेको निरङ्कुश राजनैतिक माहौल पनि हो । अहिले सबै खुला भएकाले यसलाई सशक्त बनाउन गाहारो छ तैपनि स्रष्टाको लाम नभएको होइन । रामकुमार पान्डे, नरनाथ लुइटेल हुँदै युवराज मैनालीसम्मले यसको संवर्द्धन गरेकै छन् ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
– यो विचित्रको प्रश्न म चित्रमा कसरी उभ्याऊँ । संस्था निरपेक्ष स्वार्थमा कमै खोलिन्छन् । राष्ट्रिय संस्थाका गतिविधि हेर्दा नै वाक्क भएको मलाई अन्तर्राष्ट्रिय साहित्य समाज अर्थात् अनेसासको लौरो तेर्साउनु भयो । सायद यसमा तपाईं पनि हुनु होला ? यो सुरुमा जसरी अगाडि बढ्ला, पवित्रता ल्याउला, कञ्चन स्वरूपमा विश्वासको स्तम्भ होला भन्ने मेरो सोच थियो । पछिल्ला समयका गतिविधि, अन्तर्विवाद र मनमोटाव, गरिएका कार्यशैलीले यसलाई पनि त्यो उचाइमा राख्न नसकेको रूपमा पाउँछु म ।
तपाईँ कति बेला कविता रच्ने गर्नु भएको छ ? यसका लागि सिकारु कविलाई के भन्न चाहनु हुन्छ ?
– मलाई मुड चाहिन्छ, फुर्नु पर्छ, ए मलाई फुर्योजस्ता अनेकौँ बेतुके तर्क पनि सुनेको छु मैले । म जति बेला, जस्तै भीड, हल्लखल्ल किन नहोस् कविता लेख्न सक्छु । कुनै सीमा छैन मसँग तर सबैका लागि भन्ने हो भने बिहानको शान्त समयले दिव्यत्वको नजिक पुर्याउन सहयोग गर्दछ ।
आउँदै गरेका पुस्ताले जीवन, जगत् र व्यावहारिक ज्ञानका सीमालाई दर्शनका गहिराइमा पुर्याएर आफू कुन सिर्जनमार्गमा लाग्ने हो त्यसको निचोडमा पुग्नु अनिवार्य छ । त्यसपछि साहित्यिक क्षेत्रमा प्रतिस्पर्धा गर्ने अलग बाटो तय गर्नु पर्दछ । विषय नयाँ छैनन् तर चिन्तन नयाँ छन् । तिनको छनोट गरी शैलीगत नयाँपन स्थापित गर्न भरमग्दुर प्रयास गर्नु पर्दछ । गफले हुने कुरा साहित्यमा लेखेर दुई दिन वा ! वा ! हुनसक्छ, सच्चा साहित्यकार बन्न सकिन्न ।
अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?
– पाठक पनि जिम्मेवार हुनु पर्दछ । स्रष्टाका सिर्जन विन्दुका गहिराइमा पुग्न/त्यसको मर्म ठम्याउन भावकले पनि त्यही स्तरको मनोविज्ञान तयार पारेर अध्ययनमा लाग्नु पर्दछ । बाख्रे र गोठाले मानसिकताले कृति हेर्ने अनि ठोस लगाउने पाठकको कुनै अर्थ छैन । देखिएका/भोगिएका/अन्धपरम्पराका काखमा सत्ता होस् वा व्यक्ति, ईश्वर होस् वा बाबुआमाका स्तुतिमा लेखिएका कुनै पनि रचना साहित्यिक उचाइमा हुन्नन् र यस खालका पठनमा विश्वास गर्ने पाठकको पनि अर्थ नहुने हुनाले यो मर्म बुझेर ठोक्ने खालका निर्भीक पाठक भएपछि मात्र सही स्रष्टात्वको पनि विकास हुन्छ ।
धन्यवाद है त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।