अनेसास बेलायत च्याप्टर उपाध्यक्ष माया गुरुङ हाल बेलायतमा हुनुहुन्छ । ‘जिन्दगी’ कवितासंग्रहबाट साहित्यकाे यात्रा गर्नुभएको उहाँले हालसम्म ‘ ऐना’ कवितासंग्रह, ‘बाको जुत्ता’ बालकविता संग्रह प्रकाशन गरिसक्नु भएको छ । गद्यमा लेख्न रुचाउने उहाँले मुक्तकसंग्रह प्रकाशनकाे तयारीमा हुनुहुन्छ । 

प्रस्तुत छ, कवि  माया गुरुङसँग उहाँकाे लेखनयात्रा र डायस्पाेरिक साहित्यबारे केन्द्रित भई साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश: 

तपाईंको व्यस्तता आजभोलि कतातिर र कुन कुरामा छ ?

– नमस्कार, यस संवादको लागि साहित्यपोस्ट र हजुरलाई धेरै धेरै धन्यवाद छ । विदेशको ठाउँ प्रायः व्यस्त रहने नै हो सबैजना । प्रवास भन्नसाथ “पर बास” भन्ने शब्दले नै धेरै कुरा बोलिदिन्छ, जहाँ अरूको समयको रफ्तारमा चल्नु पर्छ । त्यसमा पनि म महिला र घरमा दुई वटा स-साना नातिहरू भएकोले अलि बढी व्यस्त नै हुने भयो । तैपनि समय समयमा साहित्यिक कार्यक्रमहरू हुन्छ त्यसमा र अरू सामाजिक कार्यक्रमहरूमा सहभागी हुन्छु । समय निकालेर पुस्तकहरू पढ्ने गर्छु र कहिले लेख्ने गर्छु पनि ।

माया गुरुङ

माया गुरुङ

अहिले के लेख्दै हुनु हुन्छ ?

– समय निकालेर अहिले मुक्तक लेख्न थालेकी छु । जुन मेरो लागि नयाँ विधा हो । कथामा पनि पहिलेदेखि रुचि हुनाले कहिलेकाहीं लेख्ने गर्छु ।

तपाईंले पहिलो कृति कति सालमा प्रकाशन गर्नु भएको हो ?

– २०७८ मङ्सिर १० गते ।

तपाईंको पुस्तकको बारेमा संक्षेपमा उल्लेख गरिदिनु हुन्छ कि ?

– मेरो पहिलो पुस्तक “जिन्दगी” कवितासंग्रह हो । चाहेर होस् या नचाहेर होस् हरेक मानिसको जीवनमा दुख–सुख, हाँसो–रोदन त हुन्छ नै तर हाम्रो समाजमा त्यसभन्दा पनि अरू अनावश्यक भेदभाव र असमानता, निर्धोहरू नै दबिनु पर्ने, जहाँ पनि हेपिने-चेपिने जस्ता असह्य व्यवहारहरू देखिने र छोरा र छोरीमा गरिने भिन्न व्यवहार छोरी र बुहारीमा गरिने अन्तर आदि कुराहरू अपच महसुस हुने हुँदा समाजमा यी नै कुराहरू नहोस्, थोरै भए पनि चेतना आउन् भन्ने चाहनाले नै यो कवितासंग्रह जन्मेको हो ।

नयाँ पुस्तक निकाल्नु भयो भने कुन र कस्तो हुनेछ ?

– भरखरै शुरुआतमा छु र मुक्तकसंग्रह हुनेछ । यसमा पनि मलाई लाग्छ हामी सामाजिक प्राणी हुनाले समाजबाट पर न त रहन सक्छौँ न त अरू अलग सोच्न सक्छौँ । त्यस्तै प्रकृतिसँग औधी रमाउँछौँ पनि जसले गर्दा यी नै कुराहरूले नै आकर्षित तुल्याउने रहेछ । त्यसैले यसमा पनि समाजमा हुने वास्तविक कुराहरू नै हुनेछन् ।

तपाईं सबैको प्यारो साहित्यकार हुनुहुन्छ । सरल मिठो लेख्नुहुन्छ पनि ! तपाईं कसरी धेरै पाठक वर्गहरूको मनको ढुकढुकी बन्नु भएको छ, यो कसरी ?

– त्यो त म कसरी भनूँ ? तर धेरै जना अग्रजहरूले पनि मलाई भन्नु भयो कि म सरल र मिठो भाषामा लेख्छु र दिमागबाट होइन आत्माबाट लेख्छु । वहाँहरूको यी शब्दहरूले मलाई ज्यादै हौसला मिलेको छ । सबैको मनको ढुकढुकी त खै म कसरी भनूँ ?

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नु पर्ला ? र कसरी ?

– वास्तवमा कुनै पनि देशको पहिचान त्यस देशको भाषा साहित्य हो । यसलाई अन्तर्राष्ट्रियकरण गर्न पहिलो कुरा त नेपाली कृतिहरूलाई अन्य भाषामा अनुवाद गर्नु नै हो । जुन कुरा केही समयदेखि देशले र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपालमा रहनु भएका हाम्रा विद्वान व्यक्तित्वहरूले प्रयास गरिरहनु भएको छ ।

डायस्पोराको शाब्दिक अर्थ के हो ?

– परिस्थिति र समयले गर्दा कुनै कारणवश देशबाट बाहिर विदेश, अर्काको भूमिमा लामो समयसम्म जीवन गुजारा गरिरहेको अवस्था हो भन्ने मलाई लाग्छ ।

डायस्पोरामा बसेर लेखिने साहित्य विधा कस्तो हुनु पर्छ ?

– भन्न त धेरै साथीहरूले डायस्पोरामा बसेर लेखिने साहित्य डायस्पोरिक वा विदेशी कुराहरू र यता विदेश बारे नै लेखेको होस् भन्ने चाहन्छन् । कति अग्रजहरूले पनि कति नेपालकै हिमाल र नदीनालाको कुरा लेख्नु हुन्छ ? अरू त्यताकै गल्ली गल्छेंडा अथवा बाटा घाटाकै लेखे हुन्न जस्तो कुरा पनि सुनाउनु हुन्छ । तर यो मन जब विदेशमा बसेर स्वदेशको माटोको याद र तिर्खाले आकुल व्याकुल हुन्छ नि त्यस बखत मन र भावना त मातृभूमिकै बग्ने भयो । अनि लेखिन्छ के त ? त्यसकारण डायस्पोरामा बसेर लेखे पनि जहाँ बसेर लेखे पनि साहित्य सिर्जना त जुन भावना सर्वाधिक प्रबल भएर मन र आत्माबाट उब्जिने अनेकौं संवेग-संवेदनाहरू नै सिर्जनामा परिणत हुनु हो । त्यसैले यस्तै हुनु पर्छ भनेर म भन्न सक्दिन ।

साहित्यमा जीवन, दर्शन, आत्मचिन्तन र प्रकृतिलाई तपाईंले कसरी हेर्नु भएको छ ? 

– कुनै पनि व्यक्तिले जन्मदेखि मृत्यसम्मको अवधिमा जे जति घटना, परिघटनाहरू भोगेको हुन्छ ती सबै सुख-दुख, मिलन-बिछोड, हाँसो-रोदन आदिको सम्मिश्रण नै उसको जीवन हो । मानव जीवनको यी यावत कुराहरू हामीलाई प्रकृतिले नै स्पष्ट ज्ञान दिइरहेको हुन्छ । जस्तो घाम उदाउँछ, साँझ अस्ताउँछ, आकाशमा बादल लाग्छ, कुनै दिन चर्को घाम लाग्छ आदि । यसरी हामी सबैले समय परिस्थिति र सामाजिक वातावरण अनुसार थुप्रै कुराहरू अनुभव गर्दै, भोग्दै जानु पर्ने रहेछ । प्रकृतिले नै हरेक तरहले मानव जीवनका कुराहरू बताइरहेको हामी पाउँछौं ।

साहित्य लेखन, अध्यापन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा पुऱ्याउँछ भन्ने कुरामा यहाँ कति विश्वास गर्नु हुन्छ ?

– सानु छँदादेखि नै कथा र उपन्यासहरू पढ्न साह्रै मज्जा मान्दथेँ र के लेखेको भन्ने त्यति ज्ञान नभए पनि केही न केही लेख्ने गर्दथेँ । प्राथमिक स्कूल सकी भरखर हाई स्कूल पढ्ने बेलातिर नै भेटेको किताबहरू निकै धेरै पढिसकेकी थिएँ त्यसमा एक दुई नाम; ‘राक्षस राज्य’, ‘आँसु’ र अरू तिलस्मी किसिमका कथा- उपन्यासहरू साथै रानु र गुलशन नन्दाका उपन्यासहरू हुन् जबकि त्यसबेला यी पुस्तक मात्र नभएर अरू कोर्समा भएका पुस्तकहरू बाहेक बाह्य पुस्तकहरू पढ्न बिलकुल बन्देज थियो । ठूला कक्षाका दाइ दिदीहरूका पाठ्यक्रमका पुस्तकहरू पनि लुकी लुकी पढेर भ्याउँथेँ । यी नै कुराहरूको चिन्तन मनन त हुने नै भयो । तर यसैले गर्दा उचाइमा पुऱ्याउँछ भनेर त यसै भन्न सकिन तर भावना, विचार र संवेदनाको क्षेत्र भने फैलिन्छ भन्ने लाग्छ ।

तपाईं कस्ता खालका पुस्तक पढ्न रुचाउनु हुन्छ ?

– पढ्न त मुड आउँदा र समय मिल्दा कथा, निबन्ध, कविता सबै पुस्तक पढ्छु तर विशेष गरी सामाजिक उपन्यास पढ्न रुचाउँछु । पढिसकेपछि त्यसभित्रका पात्रहरूले दुख, पिडा र अन्याय पाएका भए त्यसले मलाई निकै समयसम्म पछ्याइरहन्छ र दुखिरहन्छु ।

के तपाईंको कवितामा पनि व्यङ्ग्य मिसिएको हुन्छ ?

– हजुर, कहिलेकहीं त हुने नै भयो । समाजमा हुने विकृतिलाई व्यङ्ग्यात्मक शैलीले सुधार गर्न खोज्नु नै यसको प्रयोगको उद्देश्य हो जुन स्वाभाविकै हो ।

तपाईं विदेशमा बस्नु भएको महिला घर, परिवार चलाएर नेपाली साहित्य प्रति कसरी आकर्षित हुन पुग्नु भयो ?

– हरेक व्यक्तिको आ-आफ्नै इच्छा र चाहना हुन्छ । मलाई भने सानैदेखि साहित्यमा रुचि रहेछ जुन कुरा मैले उमेरको हिसाबले जीवनको उत्तरार्द्धमा लागेर ज्ञान भयो र यसमै रमाइरहेकी छु । लेख्ने गरेको भए तापनि संकलन गर्ने र प्रकाशन गर्ने काम त सोचाइमा आएन । बेलायतमा आएर जब अनेसाससँग आबद्ध भएँ त्यसपछि विस्तारै यसमा अझ रमाउन थालेँ । जब कुनै राम्रो पुस्तक हातमा आउँछ त्यसबेला नसिध्याएसम्म मन शान्त नै हुँदैन । त्यस्तै जब मनले प्रस्फुटित गरेको कुनै सिर्जना लेख्छु, त्यो पूरा भएपछि आत्मा नै आनन्द हुन्छ, तृप्त हुन्छ यो अनुभूति मेरो लागि एउटा अनुपम अनुभूति हो ।

तपाईंको बाल्यकाल बारे अलिकता चर्चा गरिदिनु हुन्छ कि ?

– म एउटा मध्यम वर्गको परिवारमा जन्मेको बाबा आमाको छ जना सन्तानमध्यकी कान्छी छोरी हुँ र गाउँले परिवेशमा पले बढेको महिला हुँ । बचपनदेखि मेरो आँखाले र मनको आँखाले जुन विभेद, कुरीति, कुप्रथा र अरू पितृसत्तात्मक समाजको अनावश्यक उपजहरू देख्दै र बुझ्दै कतिपय प्रश्नका अनुत्तरित जवाफहरूमा रुमल्लिंदै हुर्केको भए तापनि म अति सकारात्मक विचार लिने, सोझी र जहिले खुशी रहने खालको व्यक्ति थिएँ । पढाइमा जेहेन्दार थिएँ । करिब ६ वर्षको उमेर छाँदादेखिको कुरा सम्झन्छु कि; मेरी परम पूज्यनीय आमाजीले हरेक दिन बेलुकी सुत्नुभन्दा पहिले महाभारत र रामायणको पाठ खूब मिठो लयमा वाचन गर्नु हुन्थ्यो र म सुन्दासुन्दै निदाउँथें ।

तपाईं कहिलेदेखि साहित्यमा लाग्नु भयो ? यदि मिल्छ भने यहाँ हाम्रो पाठक सामु संक्षिप्त प्रकाश पारिदिनु हुन्छ कि ?

– सबै मानिस जीवनमा खुशी हुन चाहन्छ, सुखी हुन चाहन्छ र यो स्वाभाविकै हो । सुख र खुशी खोज्दै कोही परिस्थितिले कोही इच्छा रहर र आवश्यकताले बिदेसिन पुग्छ । त्यस्तै मेरी छोरी पूजा गुरुङ उच्च शिक्षा हासिल गर्न बेलायत आएकोले हामी पनि उनलाई पछ्याउँदै यहाँ आयौँ । तर टाढाबाट हेर्दा देख्दा टलक्क टल्किने वस्तु सबै हिरा हुँदैन, त्यसैले प्रवास भन्ने बित्तिकै सबै कुरा बाहिरबाट देखिएकोभन्दा यथार्थ फरक हुन्छ । भन्नको मतलब यहाँ साहित्यिक कार्यक्रम र कार्यक्रम गर्ने अग्रज साथीभाइहरूले बोलाउनु भए पनि सहभागी हुन र लाग्न धेरै समय लाग्यो । निकै पहिलेदेखि अनेसाससँग आबद्ध भए पनि जब २०१९ सालमा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्यिक सम्मेलन बेलायतमा भएको थियो त्यस बेलादेखि आखिर मैले ढिलै भए पनि माथि भनेजस्तै आफूले खोजेको खुशी साहित्य नै हो भनी बुझेँ र यसमै समय दिन थालेकी हुँ । साहित्य भावनाको एउटा त्यस्तो पवित्र कुण्ड हो जहाँ डुबेपछि मानवको चेतन अवचेतनमा रहेका अन्धकार हटेर प्रकाशले नुहाउँछ ।

तपाईंलाई अनेसास परिवारले किन मन पराउँछ ? यसमा कुनै कारण छ कि ?

– मलाई अनेसास परिवारले मन पराउँछ या छैन, त्यो त म जान्दिन । तर मेरो लागि अनेसास ठूलो छ, अनेसाससँग हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गर्दछु । अनेसास बेलायत च्याप्टरले गर्दा नै साहित्य जगतमा मेरो जन्म भएको हो । पछि २०२०-२०२२ को केन्द्रीय कार्यसमितिमा रहेर काम गर्ने मौका पाएँ त्यसबेला थुप्रै विशिष्ट साथीहरूसँग परिचित हुन पाएँ जसको लागि म आफूलाई भाग्यशाली ठान्दछु । वहाँहरूद्वारा धेरै कुरा सिक्ने मौका पाएँ र निरन्तर सिकिरहेकी नै छु ।

तपाईंले साहित्यमा लागेर के पाउनु भयो ? र साहित्यमा लागेर के गुमाउनु भयो ?

– मेरो विचारमा साहित्य भन्ने विषय एउटा अलौकिक कुरा वा अनुभव हो । यसमा के पायो र के पाएन भन्ने कुरा नै आउनु हुन्न जस्तो लाग्छ । मानव हितको भावना र विचारहरूको मेल वा समूह यसमा लागेको हुन्छ । यो कुनै स्वार्थ र लालचले गरिने कुरा नै होइन जस्तो मलाई लाग्छ । यसमा लागेर जुन साना र ठूला जे जस्ता काम या कृति गर्न सकिन्छ त्यसले हाम्रो भाषा, साहित्य, कला र संस्कृति थोरै जगेर्ना  हुन सक्यो भने पनि ठूलो भलो कार्य हुन्छ भन्ने लाग्छ । यसबाट समाजमा विद्यमान गलत सोच परिवर्तन गर्न सकिन्छ, मानवमा चेतना जगाउन सकिन्छ । वास्तवमा गुमाउनु केही पनि पर्दैन, मनको शान्ति तथा आनन्दानुभूति पाउन सकिन्छ । यस्तो बाटो खन्नु हुने र हिँड्नु हुने सबै अग्रज-अनुजहरूप्रति हृदयदेखि नै आभारी छु । उहाँहरू सबैप्रति गर्व गर्दछु ।

तपाईंले कलम चलाउँदा र सपना देख्दा नेपाल आउँछ कि बेलायत ?

– कलम चलाउँदा त धेरै नेपाल नै आए पनि यदाकदा बेलायत पनि आउँछ, तर सपनामा भने नेपाल नै हो आउने । यद्यपि यहाँ बसेपछि आउँदै आउँदैन बेलायत त भन्न सकिन्न । नेपाल भन्ने बित्तिकै माइत घरमाथिको बगैंचामा र त्यसभन्दा अलि माथिको सानो बनमा आफूलाई हिंडेको, डुलेको केही काम गर्दै गरेको देख्छु । बडो आनन्द लाग्छ, त्यहीं पुगेको जस्तै ।

तपाईं साहित्यकार हुनुहुन्छ ! तपाईंको घर परिवारमा साहित्य लेख्न र पढ्न रुचाउने को को हुनु हुन्छ ? साहित्य सेवामा लाग्नुको पछाडि कुनै कारण छ कि ?

– मेरो घर परिवारमा पढ्न त सबैले पढ्छन् तर लेख्न भने छैन भने पनि हुन्छ । मेरा पूज्य बुवा ( स्व.दान बहादुर गुरुङ ) हुनु हुँदा लेख्नु हुन्थ्यो । वहाँले हाम्रो गाउँको श्री त्रि शहीद हाई स्कूल, पञ्चमूल स्याङ्जाको विशेष २०११ सालदेखि २०२१ सालसम्म अविछिन्न रूपले दौडधूप, कड़ा परिश्रम एवं व्यक्तिगत सम्पत्तिको लगानी गरी धेरै दुख गरेको स्कूल भएकोले सानो इतिहास लेखेर राख्नु भएको मैले पाएको थिएँ जुन म स्नातक पढिरहेको समयमा प्रकाशन गरेकी थिएँ । त्यस समयमा प्रकाशन गर्नु पर्छ भन्ने कुराहरूको उति ज्ञान समेत थिएन । यो स्कूल मेरो बुवाको बाजेले स्थापना गर्नु भएको थियो, यो नाम अहिले परिवर्तन भएको छ र Shree Tri-Shaheed Model Secondary School Estd १९८७, Pachamool Syangja भएको छ । मलाई लाग्छ यदि लेख्न मन गऱ्यो भने मेरी माहिली छोरी पूजा गुरुङमा यो गुण र लक्षण देख्छु, उनले नेपालमा महेन्द्र भवन हाई स्कूलबाट श्रेणी ४ पढेर ईण्डिया हुँदै वेलायतमा उच्च शिक्षा हासिल गरेकी हुन् तर अचम्म र धेरै खुशी लाग्छ कि उनले कहिले कहीं लेख्नु पर्दा नेपालीमा पनि राम्रो लेख्छिन् । मेरी जेठी दिदी कमला गुरुङकी छोरीहरूले पनि कहिले कहीं मिठा रसिला कथा, कविताहरू लेख्छन् । खुशी लाग्छ ।

नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा भिन्नता के छ ?

– खासै फरक लाग्दैन, साहित्य भावनाको कुराहरू व्यक्त गर्नु वा पोखाउनु नै हो । ठाउँ र भाषा मात्र फरक हो भावना र विचारहरू त उस्तै हो । जुन सुकै भाषाको साहित्य भए पनि यसले गर्ने मूल कार्य त एउटै हो मनोभाव र मनभित्रको विचारहरूलाई व्यक्त गर्ने । त्यसैले कुनै फरक भाषा हुँदैमा साहित्यमा भिन्नता हुँदैन ।

नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अङ्ग्रेजीमा उल्था गरेर सार्वजनिक गर्दा के के फाइदा हुन्छ ? त्यसका लागि कुन कुन संस्थाले के के गर्नु पर्ला ?

– धेरै फाइदा हुन्छ । नेपाली साहित्य बारे मात्र नभएर हाम्रो देश, धर्म, संस्कृतिको पहिचान विश्वमा हुन्छ । त्यति मात्र नभएर नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूलाई विश्वले चिन्ने सुअवसर पाउँछ । यसको लागि अनेसास, भाषा साहित्यको उन्नयनमा लागिरहेका अन्य संस्थाहरू र राष्ट्रद्वारा नै प्रशस्त महत्त्वपूर्ण कार्यहरू हुनु जरुरी छ र भइरहेको छ ।

साहित्य समाजको दर्पण हो भन्ने उक्ति कति सान्दर्भिक छ ?

– साहित्य समाजको ऐना हो, त्यसकारण साहित्यको रूप स्वच्छ हुनु पर्दछ । साहित्य गलत प्रवृत्ति रहित, भेदभावरहित, सरल, सभ्य र मौलिक हुनु पर्दछ र समाज रूपान्तरण गर्न सकारात्मक बाटोतिर ढल्किने किसिमको हुनु आवश्यक हुन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? तपाईं आफै अभियन्ता हुनु हुन्छ ।

– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषा साहित्य र संस्कृतिलाई जगेर्ना गर्दै, विकाश र विस्तार गर्दै विश्व सामु पुऱ्याउने एउटा बलियो संस्था हो । भाषा साहित्यप्रति लगाव त थियो तर जब अनेसाससँग आबद्ध भएर हिँड्न थालेँ त्यसपछि धेरै कुराहरू सिक्ने-बुझ्ने मौका पाएँ र मेरो पुस्तकहरू पनि प्रकाशन भयो, साथसाथै साहित्यिक पुरस्कारहरूद्वारा पुरस्कृत हुने सौभाग्य मिल्यो जुन कुराहरू कहिले सोचाइमा पनि थिएन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अनेसाससँग सम्बन्धित सबैलाई सम्मान गर्दछु र सबैप्रति आभारी छु ।

अन्त्यमा नेपाली साहित्यले हाम्रो नेपाली समाजलाई के दियो, यस बारे केही प्रस्ट पारिदिनु हुन्छ कि ?

– साहित्य भनेको राष्ट्रको मेरुदण्ड नै हो । कुनै देशको पहिचान र त्यहाँको सभ्यता सहित धेरै कुरा जान्नको लागि त्यस देशको भाषा र साहित्यलाई नै हेरिन्छ, बुझिन्छ । सभ्यताको आत्मा नै साहित्य हो भने पनि कुनै अत्युक्ति नहोला ।

मैले सोध्न बिर्सेको र हजुरलाई पाठक समक्ष भन्न मन लागेका कुनै कुराहरू छन् कि ?

– जीवनमा समयमा नगरेको कुरा अब यो उमेरमा आएर के हुन्छ र ? भन्ने विचार छाडेर आफूलाई तयार पारी प्रयत्नशील बनाउनु भएमा अवश्य साहित्य रसमा रमाउनु हुन्छ भनी सबैलाई भन्न चाहन्छु । ज्ञान, बुद्धि र विवेक भन्ने कुरा जुन बेला आर्जन गरे पनि हुने कुरा हुन् । जय भाषा साहित्य ! जय अनेसास ! जय साहित्यपोस्ट ।