प्राध्यापक डा. गोविन्दराज भट्टराई नेपाली साहित्यमा मूलतः समालोचकको रूपमा स्थापित हुनुहुन्छ । उपन्यास, नियात्रा र निबन्धमा पनि उत्तिकै दखल भए तापनि उहाँको समालोचकीय व्यक्तित्व बढी प्रभावशाली मानिन्छ ।
लामो समयसम्म भाषा–साहित्य र शिक्षाको अध्यापनपछि त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त भट्टराईका पहिलाे कृति मुगलान (उपन्यास) हाे । र मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरीजस्ता उपन्यास, तथा उत्तराधुनिक ऐना, उत्तराधुनिक विमर्श, समयबोध र उत्तराधुनिकता, काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तराधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीको बाछिटा आदि समालोचनाका अनेक ग्रन्थ प्रकाशित छन् । विभिन्न पुरस्कारहरूबाट समान्नित उहाँको आज सम्ममा ६९ वटा कृति प्रकाशित भए । ७०औंमा काम गर्दै हुनुहुन्छ । जसको नाम हो शिलाङ तेजपुर गुवाहाटी (यात्रा साहित्य) ।
प्रस्तुत छ, प्राध्यापक डा. गोविन्दराज भट्टराईसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
तपाईँको व्यस्तता आजभोलि कतातिर र कुन कुरामा छ ?
– यो सिर्जना गरौँला, यो सिद्धान्त ब्युँझाउँला, यी कृति पढौँला भन्ने आकाङ्क्षाहरूको माला हुँदो रहेछ । चिताए जति वर्षभरिमा सकिँदैन । फेरि पनि तिनै थाँती कर्मसित लर्नु र नयाँ नयाँलाई पनि सकेसम्म सम्हाल्दै जानु यस्तै रहेछ, एक स्रष्टाको दैनिकी । यतिखेर भर्खरै सकिएको सात दिने आसाम साहित्य सम्मेलनबाट फर्किआएँ । त्यही अनुभवलाई अक्षरमा सुरक्षित गर्ने कार्यमा लागेको छु । त्यो भन्दा महत्त्वपूर्ण कुरा – वर्तमान अनेसासकै एक परिकल्पनालाई पूर्ण गर्न तीन वर्षदेखि हामी कस्सिएर लागेको छौं । त्यो कर्म हो महाकवि देवकोटालाई अङ्ग्रेजी माध्यममा विश्वसमक्ष चिनाउने उद्देश्यले प्रेरित समग्रता बोकेको एक महत प्रयत्न । यसमा दुई विद्वान भाइ साथमा हुनहुन्छ – डा. रामजी तिमसिना र श्री महेश पौडेल । माघभरिमा प्रेस जाला ।
त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिएपछि हाल तपाईँले के गर्दै हुनुहुन्छ ?
– त्रिविबाट सेवा निवृत्त भएपछि डेढ दर्जन जति पाण्डुलिपिका खेस्रा फिँजाएर बसेको छु । एकैचोटि निकाल्न त धेरै लाग्छ । क्रमिक रूपमा यी तयार पार्छु फेरि बीचमा अल्झाउने नयाँ कर्म र यात्राले समय खान्छन् । नयाँ कर्म पनि थपिरहन्छन्, तिनैमा छु म ।
तपाईंको पहिलो उपन्यास ‘मुगलान’ सबै पाठक वर्गहरूको रुचिको विषय बन्नुको कारण खुलाइदिनु हुन्छ कि ?
– त्यो निम्नवर्गका पहाडे युवाले भोगेको चरम दुःखको कथा हो । प्रत्येक जसो नेपाली मुगलान पुगेको छ, दुःख पाएको छ । त्यसैले यस प्रतिनिधि कथाले सबैलाई छुन्छ नै ।
लीलालेखन कस्तो साहित्य अन्तर्गत पर्छ, यसबारेमा केही प्रस्टपारि दिनु पर्दा ।
– यो सिद्धान्त हो पश्चिमका फ्रान्सेली चिन्तक डेरिडाले ल्याएको डिकन्ट्रक्सन (विनिर्माण) को सिद्धान्त । त्यसलाई ल्याएर आई.बि. राईले पूर्वीय नाम आभा र आवरण दिए – लीला । विश्वभरि डेरिडा प्रख्यात छन्, भारतमा विशेष । प्रतिभा रायको द्रौपदी हेर्दा थाहा हुन्छ ।
नेपालमा लीला–लेखनले प्रवेश कति सालमा पायो ?
– २०३४ साल हो क्यारे ! आई.बी. सरको रूपरेखा पूर्णाङ्क २०० को विशेषाङ्कमा प्रकाशित लेखदेखिको । केही वर्षपछि त्यसको प्रयोग आयो उहाँको कठपुतलीको मन, एउटै नेपाली कथाका सम्भावित विनिर्माणहरू ।
डायस्पोराको शाब्दिक अर्थ के हो ?
– यसको आशय हो उत्पत्ति भूमि छोडेर अन्य भूमिमा बस्न थालेको व्यक्ति समूह । यसको शाब्दिक अर्थ द्वैध मानसिकतासँग बसेको आफ्नो उत्पत्ति भूमि र आर्जित भूमिका भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल, कानुन सबै तत्त्वको बीचमा चेपिएको व्यक्ति । विशेष गरी समुदाय ।
डायास्पोरिक समुदायमा बसेर लेखिने साहित्य विधा कस्तो हुनुपर्छ ?
– आर्जित भूमिमा बसेर अतीत स्मृतिमा डुबेको, नोस्टाल्जियाले छोपेको अथवा वर्तमान यथार्थ भोगाइको भिन्नतालाई यथार्थमा उतारिरहेको । क्रमिक रूपले एउटा डायोस्पोरिक समाज आर्जित भूमिमा डायास्पोरिक समुदायमा स्वाङ्गीकरण (एसिमिलेसन) हुन्छ अनि मूलभूमि दन्त्यकथा मात्रै रहन्छन् । तर उसको परिचय भने हजारौं वर्षसम्म उसकै भूमिसँग जोडिन्छ, जस्तै : नेपालका मारवाडी, नेपाली पञ्जाबी, आसामे नेपाली, मनिपुरे नेपाली, बर्मेली नेपाली आदि ।
कस्तो हुनुपर्छ भन्ने त छैन तर मनमा जुन कुराले छोप्छ त्यसैको चित्र लेख्ने हो । आफ्नो मूल भूमिमा बिस्तारै अपरिचित हुन्छ कि भन्ने भएर कतिले त्यताको ज्यादा लेख्छन् । कतिले आर्जित भूमिका नवीन भोगाइ पनि लेख्छन् । तर राम्ररी नपचेको भूमि र संस्कृति हुन्छ । राम्ररी आधिकारिक पाराले पहिलो पुस्ताले लेख्न सक्तैन । लेखेको कुरामा अनिर्णय र द्वन्द्व हुन्छ ।
साहित्यमा जीवन, दर्शन, आत्मचिन्तन र प्रकृतिलाई तपाईँले कसरी हेर्नु भएको छ ?
– जीवनको बारेमा सोच्दासोच्दै राम्ररी सोच्नै नपाई यो चिप्लिरहेको हुन्छ । यसको क्षणभङ्गुरता र क्षणिकता नै सर्वाधिक प्रबल कुरा रहेछन् । हर्ष, उल्लास, सन्देह, चिन्ता, भय अनेक प्रकृतिका संवेदनाहरूले घेरिएको जीवनमा एक तत्त्व भोग्दाभोग्दै इन्द्रेनीको अर्को रङ्ग आउँदो रहेछ ।
यी सबै कुरको अंश ता प्रकृतिबाटै आएको छ । प्रकृति सबैकी आधार बिम्ब हुन् । मानव जीवनको प्रतीकात्मक स्वरूप प्रकृतिमै पाइन्छ । जल गएर सागरमा समाहित हुने, वृक्ष फलीफुली बुढो भएर मर्ने, ताराहरू उदाउने, अस्ताउने आदि ।
साहित्य लेखन, अध्यापन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा पुर्याउँछ भन्ने कुरामा तपाईं कति विश्वास गर्नुहुन्छ ?
– साँच्चै हो, भाइ ! यो पेसा नै साहित्यमय भयो । अङ्ग्रेजी भाषा र साहित्य पढ्नु–पढाउनु । त्यसले पनि भावना र चिन्तनको पाटो अलिक रसाएको हो । त्यसले नै विश्व चिनाउने आँखीझ्यालको काम गर्यो । त्यसले नयाँ सिद्धान्त, विचार र सङ्कल्प चिनायो । त्यसरी मनमा साहित्य जगत् भिज्दै गयो होला । चालीस वर्ष एकोहोरिएर भाषा साहित्यको अध्यापनमा लागेपछि त्यसबाट निवृत्त भए पनि, साहित्य मनन, चिन्तन बेगर म बस्न सकिनँ अर्थात् नसक्ने भएँ । उचाइको कुरा त आफैँले गर्नु सुहाउँदैन होला भाइ ! म एक नित्य निरन्तरको समर्पित हुँ ।
के तपाईँ कविता पनि लेख्नुहुन्छ ?
– हो भाइ ! मेरा दुई कवितासङ्ग्रह छन् : एक कल्प (२०७२) र भूकम्प प्रार्थना (२०७६) ।
भनिन्छ, तपाईँको कलम व्यङ्ग्य विधामा पनि जोडदारसँग चल्छ । यो सत्य हो ?
– सुरुमा मैले व्यङ्ग्य कविता लेखेँ । अझै पनि आउँछ, अलग सङ्ग्रह त छैन, त्यस्ता कविताको । अङ्ग्रेजीको एक, नेपालीको एक र अनूदित एक गरी थप तीन सङ्ग्रह कविता प्रकाशनमा लानु छ । मेरो आख्यान र निबन्धमा हास्य र व्यङ्ग्य दुवै तत्त्व हल्का मिसिएको हुन्छ । लेखान्तले जीवनमा व्यङ्ग्य लेखिरहेको रहेछ ।
तपाईँ अङ्ग्रेजी पढाउने गुरु, नेपाली साहित्यप्रति कसरी आकर्षित हुनुभयो ?
– यो देशले मलाई अङ्ग्रेजी शिक्षक बनाउन खर्च गर्यो, पढायो । अट्ठाइस वर्षको उमेरदेखि विश्वविद्यालयमा अङ्ग्रेजी पढाउन थालेँ तर मैले त्यस ज्ञान र चेतनालाई मेरा भाषाभाषी समक्ष प्रस्तुत गर्न सिक्न र सक्नु पर्छ नत्र म अङ्ग्रेजीको अभिमानले मातृद्रोही हुन सक्छु भन्ने चेतना मनमा भरियो । खघि घैलाडुवा हाइस्कुल पढ्दा ठुलो पुस्तकालय थियो त्यहाँका सबैजसो नेपाली पुस्तक पढेँ । धेरै ता दार्जिलिङका थिए, दियालो र भारती पनि आउँथे । अनि नेपाली भाषा साहित्यप्रति मेरो मोह भिज्दै गयो । बिस्तारै मैले मातृभूमिको ऋण तिर्न नेपालीमा समर्पित भइलागेँ । तर मेरा काम विविध छन्, अहिले गणना गर्दा अङ्ग्रेजी आधि नेपाली आधि होलान् ।
तपाईँको बाल्यकाल बारे अलिकता चर्चा गरिदिनु हुन्छ कि ?
– बाल्यकाल बारे ‘सम्झनाको सागरमा केही दिन (२०७२)’ शीर्षकको पुस्तक रत्न पुस्तक भण्डारबाट प्रकाशित छ । यसकारण ती कुरा यहाँ नबताए पनि हुन्छ जस्तो लाग्यो ।
तपाईँ कहिलेदेखि साहित्यमा लाग्नु भयो ?
– यस विषयमा मेरो अर्को पुस्तक छ, ‘आराधना’ निबन्धसङ्ग्रह । त्यसकारण यहाँ पुनरावृत्ति हुने डरले थपिनँ । यो पुस्तक मेरो अङ्ग्रेजी निबन्धसङ्ग्रह ‘पिल्ग्रिमेजिम्’को नेपाली अनुवाद हो ।
तपाईंलाई नव प्रतिभाले किन मन पराउँछन् ?
– किनभने म उनीहरूलाई असाध्यै मन पराउँछु, उनीहरू कुनै भौतिक प्रतिफल नदेखिने एक कठिन कार्यमा समर्पित भएर लागेका छन् । यसले कुनै भौतिक उपलब्धि नदिने रहेछ भन्ने बुझ्दा धेरै समय बितिसकेको हुन्छ । तर उनीहरू साहित्य, कला प्रेममा समर्पित भइसकेका हुन्छन् । साहित्य कला भनेको राष्ट्रको मेरुदण्ड हो । त्यो देशको सभ्यताको आत्मा हो । त्यो बेगरको राष्ट्र ता केवल ढुङ्गा माटाको डङ्गुर मात्र बाँकी रहन्छ । अचेत नागरिकहरूको समूह बाँकी हुन्छ । तिनैमाथि लाठा बर्साउने मूढ शासक बाँकी रहन्छन् । त्यसैले हामी जीवित र जीवन्त राष्ट्र हौँ भन्ने प्रमाण स्वरूप कला साहित्य नै चाहिन्छ ।
राजनीतिको झोलामा जादु देख्ने युवावर्ग दिग्भ्रमित हुन थालेपछि साहित्य भर्ने उमेर कटिसकेको हुन्छ । हाम्रा देशका विविध भाषाभाषी, जातीय र भौगोलिक भिन्नताका प्रतिनिधि आवाजहरूले साहित्यतिर हेरिदिनु हाम्रो जातीय सभ्यता अक्षुण्ण रहनेछ भन्ने अपेक्षा राख्नु हो । त्यसैले युवावर्गप्रति मेरो असीम प्रेम र विश्वास छ ।
तपाईँ साहित्यमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?
– पाउनु–गुमाउनुको भौतिक मापनभन्दा माथि र पर छ साहित्य । यसमा लाग्ने चेतना दिने दैवप्रति म आभारी छु र मनमा उत्पन्न हुने प्रबल भाव के छ भने यो ब्रह्माण्ड कुनै अज्ञेय स्रष्टाको महानतम कलाकारिता हो भने हामीमध्ये थोरैलाई त्यसको नक्कल गरी कलाकार बन्ने शक्ति दिँदो रहेछ उसले । त्यसैले म केही सिक्ने गर्दैछु रमाएर । त्यसैले म सबैलाई भन्ने गर्छु केही पढौँ र केही लेखी छोडौँ । भोलि तपाईँको कुनै डोब वा पाइला रहने छैन । साहित्य भनेको व्यक्ति, समाज र राष्ट्रको अमरता हो । अमरत्व आर्जन गर्ने एक माध्यम, एक मार्ग, एक उपाय हो । यसमा नित्य पाउनु छ, गुमाउनु केही छैन ।
तपाईंहरू (श्रीमान्–श्रीमती) दुवै जना यसरी खुलेर साहित्यसेवामा लाग्नुको पछाडि कुनै कारण छ ?
– म आफ्ना पिता, दाजु, गुरुजन र असल विद्यालयको प्रेरणाले लागेँ । मेरी श्रीमती (डा.अञ्जना)का पिताजी (पं. कृष्णप्रसाद शर्मा वस्ती) कोशी अञ्चलमा नाम चलेका विद्वान् स्रष्टा र शिक्षासेवी हुनुहुन्थ्यो । उहाँको साहित्यिक योगदान ठुलो छ । त्यसैको प्रेरणाको प्रस्फुरण परिणाम, अञ्जनाले छ वटा कृति (अङ्ग्रेजी र नेपाली) रचिन्, अझै गर्दैछिन् । हाम्रा घरमा पनि दाजुभाइ छ जना यसमै समर्पित छौँ, त्यसले उनलाई पनि प्रेरित गर्यो । छोरी बुहारी पनि साहित्यमै हुनुहुन्छ ।
नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा भिन्नता के छ ?
– साहित्य दुवैको मूल स्वभाव एकै हो – मनोभावलाई व्यक्त गर्ने एक माध्यम । अङ्ग्रेजी भनेको ग्रिक, ल्याटिन, फ्रेन्च आदि घुम्दै तीन हजार वर्षमा स्थिर भएको साहित्य हो । नेपाली त्यसैगरी संस्कृत, प्राकृत हुँदै भर्खरै मात्र स्थिर भएको । अङ्ग्रेजीमा तेह्रौ शताब्दीमै काव्य लेखिए । नेपालीमा आदिकवि भानुको भर्खरै दोस्रो शतक मनाइयो । नेपाली नवीन, कलिलो, बामे सर्दैछ । अङ्ग्रेजी विश्वव्यापी पुरानो, ज्ञान भण्डार भिरका टुप्पाको एक बज्राँठको रुख जस्तै अटल भएको छ ।
नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अङ्ग्रेजीमा उल्था गरेर सार्वजनिक गर्न मिल्दैन ?
– मिल्छ, तर अनुवाद कलाका हाम्रो देशमा भर्खर नयाँ टुसा उम्रिंदै छन् । यो पलाएर फल्न निकै समय लाग्छ ।
साहित्य समाजको दर्पण हो भन्ने उक्ति कति सान्दर्भिक छ ?
– यो स्वयम् सिद्ध तथ्य हो । विश्वले त्यही भनिरहेको छ, हाम्रो मात्र भिन्न परिभाषा छैन । बरु साहित्य कला भनेको समाजको मात्रै नभएर हाम्रो चेतनाको, विवेकको, चिन्तन शक्तिको, सबै कुराको प्रतिबिम्बन हो । यसैमा अतीतका कुरा मिथकका कथा पुराण भएर सुरक्षित छन् भने वर्तमान यही मालामा उनिँदै छ, सुन्दर भविष्यतिर यसैले मात्र लान सक्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई कसरी हेर्नु भएको छ ?
– मेरो साहित्यिक उत्थानको समयमा अर्थात् आफू समर्पित भएर लागेको समयमा अनेसासले मेरो कृति (उत्तरआधुनिक ऐना)लाई सन् २००५ को उत्कृष्ट कृति पुरस्कार प्रदान गर्यो । मेरा अग्रज रमेश खकुरेल र गोपाल पराजुलीका कृति त्यसभन्दा अघि पुरस्कृत भइसकेका थिए । उक्त पुरस्कार ग्रहण गर्ने निहुँले मैले दोस्रो पल्ट अमेरिकाको भ्रमण गर्न पाएँ । मेरो नवीनतालाई अमेरिकी स्रष्टा मित्रहरूले बुझिदिनु भएछ । म त्यसको गुन कदापि भुल्ने छैन । त्यस अवसरमा होमनाथ सुवेदी, भारती गौतम, सुमन तिमसिना आदि सक्रिय रहेको सम्झिन्छु ।
अन्त्यमा नेपाली साहित्यले हाम्रो समाजलाई के दियो ?
– सौन्दर्य, चेतना र विविध दृष्टिकोण दियो । अनेकौं समाजका समय समयका प्रतिबिम्बनहरू दियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।