गीतिकथा लेखक काशीराज आचार्य कवि, निबन्धकार पनि हुनुहुन्छ । उहाँ विभिन्न संघसंस्थामा आबद्ध भएर भाषा साहित्यमा सेवा पुर्याउँदै आउनु भएको छ । उहाँले ‘मुहानदेखि दोभानसम्म’ कवितासङ्ग्रह र ‘मिसन यात्रा’ संस्मरणात्मक नियात्रा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ । उहाँ भानु साहित्य उद्यान नामक संस्थाका महासचिव हुनुहुन्छ ।

प्रस्तुत छ, कवि तथा लेखक काशीराज आचार्यसँग साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?

व्यक्तिको व्यस्तता कहिल्यै सकिन्न । समय भनेको आफैले निकाल्नु पर्छ । प्राय: हामीले अल्पक्षण (पेटीटाइम) लाई त्यति मान्यता दिँदैनौ । केही लेखेर सिद्ध्याउनु पर्ने छ र आधा घण्टापछि समाचार हेर्नु छ भने समाचार पछि लेखौंला भनेर त्यो आधा घण्टा समय हामी त्यसै खेर फालिदिन्छौं । यस्तो समय खेर फाल्ने काम नुहाएपछि, खाना खाएपछि, फलानोलाई भेटेपछि भन्दै जाँदा एकदिनको सक्रिय समयबाट २/३ घण्टा नै नोक्सान परिराखेको हुन्छ । हुँदा हुँदै यस्तो कुरो लम्बिएर भ्रमणबाट आएपछि वा यो साल गएपछि वा उस्तै परे छोराछोरीको बिहा भएपछि भन्नेसम्म पनि पुग्छ । यो त भयो प्राय: मान्छेको प्रवृत्ति । जसले गर्दा संसारका मान्छेको बर्सौंवर्ष बराबरको सिर्जनात्मक क्षण त्यसै उडिरहेको छ ।

काशीराज आचार्य

काशीराज आचार्य

मेरो कुरा गर्नु हुन्छ भने म एउटै किताबमा घोत्लिएर गहिरो अध्ययन गर्ने मान्छे होइन । म स्किमरिडर हुँ । छोटो समयमा धेरै कुरा भ्याउनु पर्ने हुन्छ । फेरि कुनै कुरा अध्ययन गर्दागर्दै अचानक त्यसैसँग सम्बन्धित बनेर अर्को कुरा फुर्न वा सिर्जना (सेरेन्डिपिटी क्रिएसन) हुन थालेमा त्यो कुरा छोड्न पनि सकिँदैन । यी सबै बेहोराको उचित सन्तुलन गरेर लेखन तथा पुस्तक प्रकाशनको काम गरेको हुन्छु ।

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

साहित्य आफैँमा गजबको रोचक जीवन-यापन शैली हो । साहित्य बाहेक अरू विषयका विधाहरूमा पनि यदि साहित्य  छिर्न पायो भने त्यसको स्वादै अर्कै हुन्छ, टेस्टमेकर राखे जस्तो हुन्छ । यस बारे म बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा पढ्दाको कारुणिक घटना सुनाउँछु ।

श्रमसम्बन्धी विषयमा खोज-अनुसन्धान गर्न एकजना प्रोफेसर मोरक्को देश पुगे । त्यहाँ एउटी महिलाले कविता लेखिएको एउटा कागज प्रोफेसरको हातमा थमाइदिइन् । आफ्नो श्रीमान् वैदेशिक रोजगारका लागि हल्यान्ड, जर्मनी, बेलायत, फ्रान्स गएको सन्दर्भ त्यहाँ लेखिएको थियो । उनी भन्छिन् – ‘बिहा भएको लगत्तै मेरो हातको मेहन्दी आलो हुँदाहुँदै ऊ विदेश गयो । ऊ तिमीलाई सुन्दर बनाउन त्यता आएको छ । म यता कुरूप हुँदै गइरहेछु । वर्षदिनमा ऊ तिमीसँग ११ महिना बस्छ, मसँग बिदामा आएको बेला मात्र १ महिना । ल भन त ऊ कसको मान्छे हो ?’

प्रोफेसरले पढाउने क्रममा कक्षामा यो कविता भन्दा हामी विद्यार्थीहरू स्तब्ध भयौ । हाम्रा आँखाहरू रसाए ।

त्यसैले साहित्यमा जीवन छ, जीवन सञ्चालनको दर्शन छ, आत्मालाई चित्त बुझाउने खुराक छ । प्रकृतिको त कुरै छोडूँ, मानवलाई रसिक र रोमान्टिक बनाउने यन्त्र, तन्त्र र संयन्त्र नै प्रकृति हो ।

तपाईंलाई जाँगरिलो कवि भन्थे नि हो ?

म जाँगर भएको, तर विचारमा असङ्गठित प्रकृतिको व्यक्ति हुँ । अस्तव्यस्त खालको मान्छे हुँ । एकै पटक फरक फरक विधामा हात हाल्ने खालको मेरो बानी छ, जुन राम्रो होइन । मेरा अझै पनि ३०/४० वटा डायरी छन्, जसमा साहित्यका विविध विधाका लेख रचनाहरू छन् । खेस्रा कागजमा हातले लेखेका त थुप्रै छन् । म प्रमुख जिल्ला अधिकारी भएर अर्घाखाँचीमा रहँदा माओवादी आक्रमणमा परी करिब १००० पृष्ठ हुने जति सामग्री त्यतै खेर गए । समयमा प्रकाशन गर्न नसक्नु मेरो ठुलो कमजोरी हो । त्यतिबेला बाँच्नु नै ठुलो कुरा थियो । नबाँचेको भए हाल यसरी लेख्न, बोल्न कहाँ पाइन्थ्यो र ?

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

यो कुरा सही हो । तपाईं कविता पढ्नु हुन्छ भने कविता नै लेखूँ लेखूँ लाग्छ । कथा, उपन्यास पढ्दा त्यस्तै हुन्छ । यस्तो प्लट त मसँग पनि छ नि भन्ने भाव मनमा आउँछ । अरूका कृति पढ्नु भनेको आफ्नो कृति उत्पादनका लागि कच्चापदार्थ प्राप्त गर्नु हो । चिन्तन, मनन भन्नु त उँचो मानसिकता बनाउन अनिवार्य नै छ ।

तपाईं आदिकवि भानुभक्त आचार्यका सन्तान हुनुहुन्छ, चुँदीरम्घामा साहित्यकारको अवस्था कस्तो छ ?

चुँदीरम्घा साहित्यका निम्ति आफैमा एउटा उर्वरक भूमि हुनुपर्ने हो । लेख्यका हिसाबले वासुदेव त्रिपाठी, जयराज आचार्य जस्ता २/४ जना भाषासाहित्यका प्राध्यापक त हुनुहुन्छ । तर सिर्जनाका हिसाबले स्व क्षेत्रप्रताप अधिकारी, हालमा विधान आचार्यले कुल धानेको जस्तो लाग्छ । यसमा भानुको कुलवंशको सदस्य नाताले म पनि दुई कृति र अनगिन्ती लेखहरूका माध्यमद्वारा स्थापित हुने जमर्को गरिरहेछु ।

भानु साहित्य उद्यान नामक संस्थाको पहलमा भानुभक्तको जन्मथलो रम्घाकोटमा भानुको विशाल मूर्ति स्थापना गरी साहित्यिक तीर्थस्थल बनाई राष्ट्रिय एकता र जागरणको केन्द्रबिन्दु बनाउन करिब ४०० रोपनी जग्गा अधिग्रहण गर्ने प्रयास भएको छ । सो मध्ये हालमा करिब १०० रोपनी जग्गा प्राप्ति पनि भइसकेको छ । जसमा भविष्यमा रामायण मन्दिर, कवि साहित्यकारका मूर्तिहरूको स्थापना, नेपालमाता भवन, भानु सर्किट (पदमार्ग), सप्तधाम निर्माण आदिको लक्ष्य रहेको छ । संस्थाका अध्यक्ष प्राडा जयराज आचार्य, महासचिव काशीराज आचार्य, सचिव कर्णबहादुर रानाभाट र अन्य पदाधिकारी रहेका यस संस्थाले रम्घा डाँडो विकासको विस्तृत गुरुयोजना बनाउने तयारीमा भानु नगरपालिकालाई प्राविधिक र प्राज्ञिक सहयोग प्रदान गर्दै आएको छ । भानु साहित्य उद्यान  विदेशमा रहेका नेपालीहरूको संस्था अनेसास, साहित्यिक मन, पर्यटन व्यवसायी र राष्ट्रिय जागरणका अभियन्ताहरूबाट पनि सहयोगको अपेक्षा गर्दछ। यस प्रकार रम्घामा साहित्यिक रौनक थपिँदैछ भनेर विश्वास गर्न सकिन्छ ।

तपाईंले लेखन प्रेरणा कोबाट पाउनु भयो ?

प्रेरणाको स्रोत हाम्री आमा नै हुनुहुन्छ । पिताजी केही वर्ष भारततिर रहनु भएका बेला हाम्री निरक्षर आमाले ‘बिहानै टाँगामा बसी काग कराउँछ, प्रभु हुनहुन्छ देशमा मन यो डराउँछ । छोरो भन्छ जुत्ता छोरी भन्छे कल्ली, हजुरै भए नि बिसेक हुन्थ्यो अल्ली’ भनेर कविता लेख्नु भएको थियो । त्यस्तै घरायसी वातावरणका र तीजका गीत पनि बनाउनु हुन्थ्यो । हाल त उहाँ ९२ वर्षे निष्प्रभावी, तर अरूका लागि प्रेरक जीवन बिताइरहनु भएको छ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ?  किन ?

कविता, गीत, कथा, लघुकथा, नियात्रा, उपन्यास सबै मेरा प्रिय क्षेत्र हुन् । आफूसँग विचार (प्लट) छ र भाषा पनि छ भने अभ्यासले त्यसलाई सुललित बनाउँछ । यो गुण जति विस्तारित भयो त्यति नै लेखक तथा पाठक पक्ष दुबैलाई फाइदा पुग्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

निजी क्षेत्रबाट साहित्यिक पत्रकारिता धान्न सक्नु नेपालजस्तो देशमा असम्भव प्राय: नै छ । तर करिब ५० वर्ष अघिदेखि नै अभिव्यक्ति पत्रिकालाई प्रकाशनमा निरन्तरता दिने वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अत्यन्त श्रद्धाका पात्र हुनुहुन्छ । यस्तै दायित्व पत्रिकाले पनि यस क्षेत्रको दायित्व निरन्तर निर्वाह गर्दै आएको छ । सरकारी लगानीका कविता (एकेडेमी), मधुपर्क, युवामञ्च, नारी पत्रिकाले राम्रो संरक्षण पाएका कारण अस्तित्वमा छन् । राष्ट्रिय दैनिकका सहप्रकाशनहरू मूल संस्थाका अस्तित्व सँगै गाँसिएका छन् । हिमाल मिडिया समूहले आफ्नो हिमाल पत्रिका प्रकाशनको निरन्तरता दिइआएको छ । सबैभन्दा दुख्खको कुरो त यो छ कि साझा प्रकाशनको खराब हालतले गर्दा छोटो समयमा साहित्यिक पत्रकारितालाई शिखरमा पुर्याउने ‘गरिमा’ जस्तो पत्रिकाले हाल आएर निरन्तरता दिन सकेको छैन ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

साहित्य लेखेकै भरमा आफूसहित घरपरिवार धानेका व्यक्ति नेपालमा छैनन् भने हुन्छ । हातमुख जोर्ने कुनै अर्को स्थायी पेसा चाहिन्छ । बरु यस्तोचाहिँ देखिएको छ – कुनै लेखकको भाषा साहित्यको योगदानलाई कदर गर्दै उत्तरकालमा सरकारले कतै नियुक्त गरेर जीवन सञ्चालन गर्न सजिलो बनाएको वा उसलाई ससम्मान पुरस्कार दिई पछिल्लो जीवनकाल अलिक सहज बनाएको । तर त्यसमा पनि राजनीतिक छत्रछाया अपरिहार्य नै छ । लेखेर बाँच्नका लागि नेपाली साहित्यको बजार निकै ठुलो हुनुपर्छ, जसका लागि निकै प्रयास गर्नुपर्छ ।

साहित्यको मापदण्ड के हो ?

सिर्जनालाई कुनै मापदण्डमा राख्न सकिन्न । भाषामा सैद्धान्तिक पाटो बढी प्रबल हुन्छ भने साहित्यमा सिर्जनाको । सर्जक हुन पढेलेखेको नभए पनि हुन्छ । तर पढाइ-लेखाइले स्तरीयताचाहिँ प्रदान गर्छ । निरक्षर गन्धर्व, लोकलयका धनी गाउँले, पहिलेका हाम्रा बाआमाहरूले कति मिठो गीत, कविता लेखेका छन् । मनको आवेगलाई मिसावट नदिई कुनै शास्त्रीय मान्यता अँगालेर वा स्वतन्त्र रूपमा भावाभिव्यक्ति दिनु नै साहित्यको मापदण्ड हो । दण्डीले भनेका छन् हृदयलाई अकस्मात् झङ्कृत गर्ने बिम्बात्मक तत्त्व साहित्यमा हुनुपर्छ ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

साहित्य राजनीति भन्दा जेठो हुन्छ । कुनै खालको राजनीतिक गतिविधि नभएका बेला संस्कृतका वेदव्यास, वाल्मीकि, कालिदास, माघ, भारवि, भवभूतिजस्ता कवि, लेखकले आफ्नो कर्म गरेकै हुन् । भानुअघिका र भानु आफै पनि राजनीतिक आँखाले हेरिएका व्यक्ति होइनन् । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, भीमनिधि तिवारी, माधव घिमिरे, गुरुप्रसाद मैनाली, भवानी भिक्षु आदिलाई माथि उठ्न राजनीतिक लौरो कहिल्यै चाहिएन । तर हाल आएर नेपालमा राजनेत्रको प्रभाव औधी छ । यो कुरा विश्वविद्यालय तथा एकेडेमीमा नियुक्त पदाधिकारीको क्षमता र योग्यता हेर्दैमा थाहा हुन्छ । सबैभन्दा जेठोलाई कान्छो बनाउँदा मर्यादा-सीमाको हालत के हुन्छ यहाँ पनि यस्तै भएको छ । भागबन्डाको राजनीतिमा साहित्यकार पनि आफ्नो पेसागत अनुशासनभन्दा बाहिर गएर जसरी होस् फायदा लिने काममा पोख्त भैसकेका छन् ।

अहिलेको साहित्यमा विचार, युगचेतना  अनि विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु भएको छ ?

आजभोलि साहित्यिक मन भएका व्यक्ति विदेश गएपछि उनीहरूको अनुभव-लेखनले एकातिर विश्वपरिवेश पनि स्वतः चित्रण हुन्छ भने  अर्कोतिर उनीहरूको वैचारिक धरातल पनि फराकिलो हुँदो रहेछ । डिजिटल साहित्यको कारण पनि अहिले समय फराकिलो भएको छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

डायस्पोरिक साहित्यले आम-मान्यता पाएको छ । ऐतिहासिक कालमा नेपाली बाहिर जाने भनेको भारत नै हो र त्यहाँबाट पनि नेपालीले स्थायी आप्रवसन वा अस्थायी बसोबास भएका बखत पनि केही न केही मनोभाव कागजमा लेख्दै, पोख्दै आए । अन्य देशमा जानेले पनि गरे । यसको विकसित र विस्तारित रूप हाल युरोप, अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया आदि देशमा बसेका नेपालीबाट देखिएर आयो र विगत ३ दशक अघिदेखि ‘डायस्पोरिक साहित्य’ को विकास हुँदै आयो। जहाँ आफू बसोबास गरिन्छ त्यहाँ आफ्नो नेपालीपन पनि प्रयोग हुन्छ । यस्तो प्रायोगिकतालाई लेख्यमा उतार्दा त्यहाँ साहित्यको जन्म हुन्छ । कर्मथलो (विदेश) बाट जन्मथलो (स्वदेश वा आप्रवसनपूर्वको देश) लाई लेख्य वा प्रदर्शन माध्यमद्वारा सम्झँदा डायस्पोरिक साहित्यको जन्म हुँदो रहेछ ।

भानुभक्त पछिको नेपाली साहित्य लेखनलाई कसरी हेर्नु भएको छ ?

नेपाली भाषा साहित्यको युगलाई दुई फ्याक लगाई हेर्नु पर्छ – भानुभक्त अगाडि र भानुभक्त पछाडि । भानुले दिएका  सन्देश हुन् अनुवादमा मौलिकता, छन्द प्रयोगमा शार्दूलता, फुटकर कवितामार्फत् समाज सञ्चालनका सामान्य पहलहरूमा पनि साहित्यिक लेप दिन सकिन्छ भन्ने विश्वास र लेखनद्वारा सांस्कृतिक एकीकरणको भाव । यही कुरा भानु पछिका साहित्यकार केहीले त अँगालेका छन् ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई कसरी हेर्नु भएको छ ?  

अनेसासको सक्रियतामा नेपाली साहित्यमा लेखन, प्रकाशन र विस्तारणको मात्रा बढ्दै गरेको महसुस गरेको छु । प्रतिस्पर्धात्मकता, पुरस्कार वितरण र सम्मान/अभिनन्दन, महोत्सवको आयोजना र कृतिहरूको प्रकाशन भएबाट यसको सामर्थ्यमा बढोत्तरी भएको देखिन्छ । तीस वर्ष भन्दा बढीको प्रौढतातिर गइरहेको यो संस्थाको क्रियाकलाप आफैमा यौटा स्तरियताको सूचक हो ।

अन्त्यमा, पाठकलाई के भन्न चाहनु हुन्छ ?

हामी पाठकलाई सम्मान गर्छौं, गर्नै पर्छ । पाठकको स्वाद पनि जमानाअनुसार परिवर्तन हुँदै जान्छ । लेखकले त्यस्तो चुरो पत्ता लगाउनु पर्छ । कुनै किताब वा लेख पढ्दा कुनै कुनै पाठकले शीर्षक हेरे कै भरमा सबै पढिसकेँ भन्ने पनि गर्छन् । यसो गर्दा लेखको मर्म थाहा हुन्न र राम्रो प्रेरणा पाइने तत्त्व त्यहाँ रहेछ भने आफू त्यसबाट वञ्चित पनि भइन्छ । अर्को कुरा पाठकको सानो त्याग सङ्कलन हुँदै जाँदा भौतिक रूपमा लेखकलाई केही सहयोग हुन सक्छ, यो कुरा पाठकले बुझिदिनु पर्छ । कतिपय उम्दा कृतिहरू प्रकाशनमा आउन नसक्ने अवस्थालाई कुनै संस्थागत माध्यम बनाएर केही गर्न सकिन्छ जस्तो लाग्छ ।