नेपाली साहित्यमा हेमप्रभास अधिकारी एक परिचित नाम हो । कविता सिर्जना र वाचनमा उनको आफ्नै खालको लय छ । प्रकृति, संस्कृति र समाजलाई आफ्नो सिर्जनाको मूल विषय बनाएर अघि बढ्ने उहाँ एक शालीन कविका रूपमा पनि चिनिनुहुन्छ । विगत दुई दशकदेखि निरन्तर साहित्य साधनामा क्रियाशील उहाँका थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् भने उहाँ विभिन्न राष्ट्रिय पुरस्कार एवम् सम्मानहरूबाट सम्मानित हुनुहुन्छ ।
प्रस्तुत छ, कवि तथा सम्पादक हेमप्रभास अधिकारीसँग साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनुभएको छ ?
– व्यस्तता नै जीवनको पर्याय हो । कुन कार्यको लागि कसरी समय विभाजन गर्ने भन्ने कुरा चाहिँ आफूमा निर्भर रहन्छ । आफ्नो दैनिक भागदौडका बाबजुद केही समय निकालेर रचनात्मक कार्यमा खर्च गर्ने गरेको छु । म पनि अरूजस्तै एक सामान्य मानिस हुँ । आफ्ना दिनहरूलाई अलि बढी सिर्जनात्मक बनाउन पाए हुन्थ्यो भन्ने मोहले मलाई पनि छोड्दैन । यसैको परिणति स्वरूप समय मिलेको झैँ लाग्छ ।
साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईंले कसरी हेर्नुभएको छ ? जीवन के हो ?
– निकै जटिल कुराको उठान गर्नुभयो । यसबारे संसारभर विज्ञहरूले अनेकौँ अवधारणाहरू प्रकट गरेका छन् । मलाई लागेको सामान्य कुरा चाहिँ म भन्छु । साहित्य हृदयको संवेदना हो, जसमा हामी बग्छौँ । दर्शन संसारलाई नियाल्ने दृष्टिकोण हो । आत्मा कुनै अदृश्य शक्ति वा ईश्वर हो भने प्रकृति त हाम्रो जननी हो । जीवन चाहिँ जन्मेदेखि नमरुन्जेलसम्म हरेकले अभिनय गर्ने रङ्गमञ्च हो ।
तपाईंलाई जाँगरिलो कवि भन्थे नि, हो ?
– त्यस्तो त होइन होला । मेरो आफूलाई नै मन नपर्ने खास बानी भनेकै म अल्छी छु । यस्तो अल्छी मानिस पनि कसरी जाँगरिलो हुन सक्ला ? तर, कुनै बेला चाहिँ म खुब जाँगर चलाउँछु । मेरो जाँगरको अवधि खासै लामो हुँदैन ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लैजान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?
– यस सन्दर्भमाथि म विश्वास गर्छु । अध्ययन र एकाग्र चिन्तनले मानिसलाई अर्कै दुनियाँमा लैजान्छ । अध्ययन र चिन्तनको सम्मिश्रणबाट उठेको जीवन सुकिलो हुन्छ ।
तपाईंका कविता बेजोड छन् हो ? कविता राम्रो लेख्न के गर्नुपर्छ ?
– मैले लेखेका कवितामाथि धारणा बनाउने अरूले हो । राम्रो लेख्ने प्रयास त हरेक लेखकले गरिरहेकै हुन्छ । फेरि राम्रो वा नराम्रो भनी मूल्याङ्कन गर्ने मापदण्ड त केही छ जस्तो लाग्दैन, यो दृष्टिकोणमा भर पर्ने कुरा हो । हरेक कुरा मानिसलाई आफू अनुकूल हुँदा राम्रो र आफ्नो प्रतिकूल हुँदा नराम्रो लाग्ने हो । कविता कसरी राम्रो लेख्न सकिन्छ भन्ने बारे चाहिँ म निरन्तर अभ्यास गरिरहेको छु ।
तपाईंले लेखन प्रेरणा कोबाट पाउनुभयो ?
– मेरो प्रेरणाको स्रोत भनेको प्रकृति हो, वातावरण हो, समाज हो । जहाँ म जसरी हुर्कंदै आएँ, तिनैले मलाई लेख्न प्रेरित गरेका हुन् । चराहरुको आवाज, बतासको लहरले सुस्तरी हल्लिने फूलका डालीहरू, हतारिँदै झर्ने झरना र सुस्तरी बग्ने नदीहरूबाट नै मैले लेखनको लय टिपेको हुँ ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– समय कहिल्यै खाली भएजस्तो त लाग्दैन । भागदौड चलिरहेकै छ । कुनै बेला कहीँ पर एकान्तमा बसेर प्रकृतिको सम्मोहनमा आफूलाई भुलाइदिऊँ जस्तो लाग्छ । बेलाबेला उपत्यकाबाट बाहिर पनि निस्कन्छु । बचेको समयमा म प्रायः एक्लै हुन्छु र आफैँसँग बातचित गर्छु ।
तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नुपर्छ ?
– म साहित्यका सबै विधालाई उत्तिकै प्रेम गर्छु । हृदयबाट निचोरिएर लेखिएका शब्दहरूले नै हृदय छुने हो । संरचनात्मक हिसाबले हेर्दा मात्रै ती संवेदनाहरू गीत, कविता, कथा, उपन्यासहरूमा विभाजित हुने हुन्, भाव त उही हो । पूर्वीय साहित्यशास्त्रमा उल्लेख भएझैँ प्रतिभा, व्युत्पत्ति र अभ्यासको त्रिकोणात्मक सम्बन्धबाटै सायद सिर्जनाहरू क्रमशः राम्रा बन्दै जान्छन् ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
– साहित्यिक पत्रकारिता पहिलेभन्दा तुलनात्मक रूपमा धेरै राम्रो हुँदै गएको छ । स्रष्टाहरूका विचार र भावनाहरूलाई प्रकटीकरणको सेतुका रूपमा कार्य गर्ने हुनाले यसले सर्जकहरूलाई थप क्रियाशील हुन पनि प्रेरित गर्दछ जस्तो लाग्छ ।
साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
– बजारको विस्तृतीकरण हुने र पाठकको अपेक्षाअनुरूपका सामग्रीहरू लेख्दै जाने हो भने लेखनलाई नै पेसा बनाएर अघि बढ्न पनि सकिन्छ तर नेपालको सन्दर्भमा हेर्दा यो अलि जोखिमपूर्ण नै छ ।
एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगत्लाई कसरी नियालिरहनु भएको छ ?
– साहित्य र राजनीतिभन्दा पर जीवन छैन । साहित्य हृदयको स्पन्दन हो भने राजनीति विचारहरूको पुञ्ज हो । समग्र मानव जीवन भनेकै विचार र संवेदनाको परिधिमा घुमिरहेको हुन्छ । तर, नेपालको परिप्रेक्ष्यमा हेर्दा स्वस्थ प्रतिस्पर्धामा उत्रनु आवश्यक छ । नीतिहरू मध्येको पनि उपल्लो नीति भएकोले राजनीतिले एक ठोस आयतन धारण गर्न सकेमा अन्य क्षेत्रहरू क्रमशः उन्नतिशील हुन सक्नेछन् ।
अहिलेको साहित्यमा विचार, युग, चेतना, विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– सूचना र सञ्चारको व्यापकताले गर्दा विश्वजनीन चेतना दिन प्रतिदिन अभिवृद्धि हुँदै गइरहेको छ । लेखकहरू मात्र नभई अचेल पाठकहरू पनि उत्तिकै सचेत भएका छन् । चेतनाको तह वृद्धि हुँदै जाँदा समग्र मानव समाज नै चेतनशील बन्ने हो । आजको साहित्य यिनै चेतनशील संवेदनको प्रतिच्छाया हो ।
पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
– क्रमिक रूपले यो क्रम पनि बढिरहेको छ । यसले लेखनमा थप ऊर्जा अवश्य प्रदान गर्नेछ । राम्रा कुराहरू पुरस्कृत हुनु त राम्रो हो नि । समालोचनाको अवस्था चाहिँ नेपालमा दयनीय छ । अचेल कुनै रचना वा कृतिमाथि असली समालोचना भएको कमै पाइएको छ । समालोचना त पचासको दशकपछि मृतप्राय भइसकेको जस्तो लाग्छ ।
अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनुहुन्छ कि ?
– हालसम्म मेरा पाँच पुस्तकाकार कृति प्रकाशित छन् । ओइलिएका कुसुमहरू, गजलसङ्ग्रह २०६१, पहाड बोकेर पहाडतिर, कवितासङ्ग्रह २०६६, सहर पसेको मान्छे, कवितासङ्ग्रह २०७०, गीतैगीतको गाउँ, कवितासङ्ग्रह २०७१ र उल्झन, उपन्यास २०७४ हुन् । पछिल्लो समय म कविताकै नयाँ सङ्ग्रहको तयारीमा छु । सायद यसै वर्षभित्र प्रकाशनमा आउँछ होला ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– डायस्पोरिक साहित्य पनि खुब मजैसँग आइरहेको छ । यसले विश्वभर छरिएका हाम्रा मौलिक विम्ब, चेतना, अवधारणा र समाज सबैलाई एकसाथ जोड्ने काम गर्छ । डायस्पोरिक साहित्य प्रकाशनको क्रममा अझै बढोत्तरी आओस् भन्ने चाहन्छु ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ?
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यको श्रीवृद्धिका लागि अनेकौँ रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्नुका साथै प्रकाशन, प्रसारणलाई तीव्रता दिएको छ । यसले संसार नै हाम्रो घर हो भन्ने विश्वबन्धुत्वको भावना जगाउने कार्यमा पनि विशेष भूमिका निर्वाह गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।