नेपालभन्दा बाहिर रहेका नेपाली सर्जकहरू र उहाँहरूले गर्ने साहित्यिक गतिविधिका आधारमा हेर्ने हो भने युएई निक्कै सक्रिय देखिन्छ । यति कुरा गर्वका साथ  भन्न सकिने अवस्था सिर्जना भइसकेको छ युएईमा र यो यहाँ रहनु भएका सर्जकहरूको मेहनतको प्रतिफल पनि हो भन्दा फरक नपर्ला ।

नेपाल लगायत अन्य देशमा रहनु भएका सर्जकहरूका लागि युएई अहिले आकर्षणको केन्द्रबिन्दु पनि बन्दै गएको छ साहित्यिक हिसाबले । किन भने थुप्रै सर्जकहरूलाई युएईले निमन्त्रणा गरेर न्यानो आतिथ्यता प्रदान गरिसकेको छ । कतिपय सर्जकको त पहिलो साहित्यिक प्रवास यात्रा युएईबाटै सुरु भएको छ । जस्तो अहिले सर्वाधिक चर्चामा रहेका गजलकार प्रदीप रोदन, युवा पुस्तामा सशक्त रूपमा कवितामा कलम चलाउँदै आउनु भएका कवि प्रोज्ज्वल अधिकारी । उहाँहरूको पहिलो प्रवास साहित्यिक यात्रा युएईबाट सुरु भएको थियो । गजलकार रोदनलाई सिर्जना वाचन डबली र कवि अधिकारीलाई सगरमाथा साहित्य प्रतिष्ठानले युएई निमन्त्रणा गरेका थिए ।

यसै सिलसिलामा पछिल्लो समय गजल लेखनमा निक्कै सम्भावना बोकेर उदाउँदै गर्नुभएकी गजलकार इन्दिरा अधिकारीको पनि पहिलो प्रवास साहित्यिक यात्रा युएईबाटै सुरु भएको छ । नेपालका थुप्रै गजल महफिलहरूमा आफ्नो बलियो उपस्थिति जनाइसक्नु भएकी गजलकार अधिकारीले युएईमा पनि आफ्नो प्रभाव छोड्न सफल हुनु भएको छ ।

साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना, युएई” द्वारा दुबईमा गत अगस्ट २७ तारिख आइतबार आयोजित “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” मा गजलकार अधिकारीको विशेष गजल वाचन रहेको थियो । कार्यक्रममा गजलकार अधिकारीलाई अतिथि गजलकारको रूपमा निमन्त्रणा गरिएको थियो । कार्यक्रममा उहाँले करिब एक दर्जन गजल वाचन गर्नुभएको थियो  । सोही कार्यक्रममा विशिष्ट कवि/संस्कृतिविद् तुलसी दिवसलाई “साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान” र  साहित्यपोस्टका प्रधान सम्पादक/लेखक अश्विनी कोइराला र गायक राज सिग्देललाई “साहित्यवार्ता स्रष्टा सम्मान”बाट सम्मान गरिएको थियो ।

०००

इन्दिरा अधिकारी

इन्दिरा अधिकारी

गोरखामा जन्मनु भएकी गजलकार अधिकारीको स्थायी बसोबास चितवन हो । आमा अम्बिका देवी अधिकारी र बुबा सोमनाथ अधिकारीकी उहाँ काइँली छोरी हुनुहुन्छ । कामको सिलसिलामा पछिल्लो केही वर्षदेखि उहाँ काठमाडौँ बस्दै आउनु भएको छ । नर्सिङ पेसामा आबद्ध गजलकार अधिकारीले मेडिकल काउन्सिलरको रूपमा निजी व्यवसाय सञ्चालन गरिरहनु भएको छ । २०७२ सालबाट उहाँ नर्सिङ पेसामा हुनुहुन्छ । चितवन मेडिकल कलेजमा स्टाफ नर्सको रूपमा उहाँले ४ वर्ष काम समेत गर्नुभएको थियो ।

२०६५ सालबाट साहित्य लेखनको आरम्भ गरेको बताउने उहाँ विशेष गरी गजल लेखनमा रुचि राख्नु हुन्छ । कहिलेकाहीँ गीत र कवितामा पनि उहाँको कलम चल्ने गर्छ । गजल मञ्च चितवनमा आबद्ध भएर  उहाँ विभिन्न साहित्यिक गतिविधिमा पनि सक्रिय हुनुहुन्छ । त्यसै गरी उहाँ साहित्यपोस्टको आजीवन सदस्य पनि हुनुहुन्छ । ग्र्याण्ड महफिल, गीत गजल शीतल, चितवन कचहरी लगायत गजलसँग सम्बन्धित दर्जनौँ मञ्चहरूमा उहाँका दमदार गजलहरू गुञ्जिसकेका छन् ।

यिनै गजलकार इन्दिरा अधिकारी आफ्नो प्रस्तुतिका लागि युएई आएको मौका पारी साहित्यपोस्टका लागि मैले केही कुराकानी गर्ने जमर्को गरेको थिएँ । अब लागौँ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ…

नेपालभन्दा बाहिर यो तपाईंको पहिलो गजल वाचन हो । कस्तो रह्यो कार्यक्रम समग्रमा ?

– पहिलो कुरा त यो अवसर नै मेरा लागि सबैभन्दा महत्त्वपूर्ण क्षण हो । मेरो लागि एउटा उत्सव भएको छ यो कार्यक्रम । मैले कति गर्न सकेँ त्यो जिम्मा हजुरहरूलाई नै छोडेँ । यति चाहिँ खुब खुसी लाग्छ कि जहाँ नेपाली त्यहाँ नेपाली साहित्य छ । त्यसको एक हिस्सा मलाई पनि बनाइदिनु भयो । समग्रमा मेरा लागि  मेरो साहित्यिक यात्राको यो एउटा मोड हो।

नेपालका गजल महफिलहरूमा पनि तपाईं बसिसक्नुभएको छ । गजलको यो प्रवास यात्राले भोलिका दिनमा तपाईंको गजल लेखन र व्यक्तिगत जीवनमा त्यस्तो केही विशेष प्रभाव पार्ला ?

– साहित्य लेखेर कापीमा राख्ने मात्र हो भने त्यो कस्तो छ भन्ने कुरा थाहा हुँदैन । कसैको लेखन कस्तो छ भन्ने कुरा बजारले पनि बताउँछ । आफूलाई परिमार्जित गर्न त्यसले निकै सहयोग गर्छ र आफ्नो लेखनमा निख्खरता ल्याउन निकै सहयोग गर्छ । चाहे त्यो देशभित्रको मञ्च होस्, चाहे त्यो देशबाहिरको मञ्च होस्, त्यसले साहित्य लेखनलाई पक्कै पनि ऊर्जा भर्ने काम गर्छ । प्रवासको यो पहिलो साहित्यिक यात्राले अझ प्रेरणा मिलेको छ र मेरो लेखनको दायरा अझ फराकिलो हुनेमा आशावादी छु ।

समग्रमा युएईमा नेपाली साहित्यको माहौल कस्तो पाउनुभयो ?

– म लेखनमा बामे सर्दै गरेको मान्छे हुँ । त्यति धेरै विश्लेषण गर्न सक्ने क्षमताको त भएकी छैन । तर पनि युएईले नेपाली साहित्यलाई गरेको माया, सद्भाव र सम्मान निकै गर्विलो लागेको छ ।

नेपालमा बसेर पनि तपाईंले युएईको नेपाली साहित्यलाई नियालिरहनु भएको थियो । यहाँ आएर प्रत्यक्ष सहभागी हुनुभयो, देख्नुभयो । नेपाल हुँदा अनुमान गरेको र यहाँ आएर देखेकोमा केही फरक पाउनुभयो ?

– नेपाल हुँदा मैले तपाईंहरूले लेख्नुभएको मात्र देखेको थिएँ । तपाईंहरूको दुख देखेको थिइन । यहाँ आएँ, तपाईंहरूको जागिरे जिन्दगी, व्यस्त समय, आफ्नाहरूबाट टाढा भएर बस्नु परेको पीडालाई प्रत्यक्ष देख्न पाएँ । त्यस बिचमा पनि साहित्यलाई निकै माया गर्नुभएको छ । यसलाई प्रशंसा गर्ने कुनै शब्द नै छैन जस्तो लाग्छ । साहित्यप्रतिको मोह बढेको छ ।

तपाईंको पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति युएईबाट सुरु भएको छ । यसअघि केही सर्जकहरूको पनि पहिलो विदेश यात्रा यहीँबाट सुरु भएको थियो । भोलि तपाईं अन्य देशहरूमा पनि जानु होला । भोलिका दिनमा युएईलाई कसरी सम्झिनु हुन्छ होला ?

– हरेक पहिलो चिज महत्त्वपूर्ण हुन्छ मानिसको जीवनमा । भएको हरेक पहिलो कुरा महत्त्वपूर्ण र सम्झन लायक हुन्छन्, जस्तो जन्मदिन । पहिलो पाइला चालेर नै जीवनका कयौँ जँघारहरू तर्ने हो । भोलि लेखनकै सिलसिलामा म अन्य देश पनि जाउँला । तर यो यात्राको सुरुवात युएई हो भनेर हृदयमा रहनेछ । यसका लागि तपाईंहरू जहिल्यै पनि धन्यवादको पात्र बन्नुभएको छ । युएईले दिएको प्रेम र सम्मानका लागि म सधैँ आभारी रहिरहने छु ।

युएईमा रहेर साहित्य सिर्जना गरिरहनु भएका सर्जकहरूलाई केही सुझाव सल्लाह ?

– यो प्रश्न मेरा लागि मैले जीवनभर लेख्ने हरेक गजलका शेरहरूभन्दा गह्रुङ्गो छ । म यो प्रश्नको जवाफ  दिन सक्ने क्षमताको छैन । तथापि आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरेर तपाईंहरु नेपाली साहित्य लेखनमा लागिरहनु भएको छ । साहित्य मनले लेख्ने हो, देशको सीमाले लेख्ने होइन । युएईमा तपाईँहरूले भोग्ने दुखको कथा बाहिरबाट देख्ने र हेर्नेले लेख्न सक्दैन । त्यसैले आफ्नो भोगाइ लेख्न नछोड्नु होला ।

छोटो समयमा युएई जति देख्नुभयो, जति बुझ्नुभयो यो देश चाहिँ कस्तो लाग्यो ?

– घरै-घरको सहर । देशमा शासन गर्ने मानिसले देशका लागि सोच्यो भने देशले मुहार फेर्दो रहेछ भन्ने कुरा देखियो । छुट्टै संसार जहाँ दिन र रात एउटै पाएँ । सहरले आराम गरेको देखिन । राम्रो सोच र कडा नीति नियम भयो भन्ने देश धेरै माथि पुग्ने रहेछ भन्ने कुरा बुझ्ने मौका पाएँ ।

विश्वको सबैभन्दा अग्लो मानव निर्मित भवन (बुर्ज खलिफा) भएको देशमा पाइला राखिरहँदा “म पनि सगरमाथाको देशको मान्छे पो हो त !“ भन्ने भाव चाहिँ आयो कि आएन ?

– बुर्ज-खलिफा हेर्दै गर्दा यस्तो लाग्यो, अहो ! हामी त प्रकृतिले नै यस्ता धेरै स्तम्भहरू दिएको देशको मानिस । विश्वको अग्लो हिमाल भएको देशमा जन्मिएर पनि सगरमाथा पुग्न नसकेको म, विश्वको मानव निर्मित सबैभन्दा अग्लो भवन बुर्ज-खलिफा आइपुग्दा एक्लै मुस्कुराएको थिएँ । मानव निर्मित भवनको त यसरी संरक्षण र प्रचार भएको छ । हामी प्रकृतिले नै धनी छौँ । यस्ता प्राकृतिक धरोहरहरू भएको देशको नागरिक हुँ भन्दा पनि गर्वले छाती फुल्दो रहेछ । बुर्ज-खलिफाको फेदमा उभिएर मैले  देश र आमा सम्झिएको थिएँ ।

एउटा फरक प्रसङ्ग जोड्न चाहेँ । तपाईंकै गजलको एउटा शेर सापटी लिन मन लाग्यो ।

“न गहिराइ बुझ्छ न मनको हाल बुझ्छ
ऊ माया भन्ने बित्तिकै अङ्कमाल बुझ्छ ।।”

तपाईंले बुझेको माया चाहिँ कस्तो हो ?

– माया भनेको गरिरहने कुरा हो । यो अनन्तसम्म भइरहन्छ । यो अन्तर हृदयबाट हुने कुरा हो । मायामा न गुमाउने डर हुन्छ, न पाउने ।

जाँदाजाँदै अन्त्यमा केही ?

– मलाई यो अन्तर्वार्ताका लागि उपयुक्त पात्र सम्झनु भयो । त्यति मात्र होइन, मलाई पहिलो पटक प्रवास बोलाएर साहित्यलाई देशको सीमाले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्ने अवसर दिनु भयो । तपाईंहरूप्रति निकै आभारी छु । विशेष गरी कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगर दाजु, कार्यक्रम प्रमुख व्यवस्थापक दीपराज नेयोङ्हाङ सर, सहसंयाेजक डिजी शर्मा र काठमाडौँमा हुने मेरो भाइ प्रज्वल अधिकारीलाई विशेष धन्यवाद भन्न चाहन्छु ।

त्यसै गरी युएईमा रहनु भएका सर्जकहरू जसले मलाई माया र सम्मान दिनु भयो, उहाँहरूलाई पनि विशेष धन्यवाद भन्न मन छ । धन्यवाद ।