चितवन साहित्य परिषद् (चिसाप) ले गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’लाई ‘चिसाप माधव खनाल साहित्य पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारबाट पुरस्कृत कृतिका स्रष्टा सापकोटाले सम्मानपत्रका साथमा रू. ३५ हजार ४५ रूपियाँ नगद प्राप्त गर्ने छन् ।
प्रस्तुत छ, हाल बेलायतमा बसोबास गर्दैआएका नवलपुरका आख्यानकार सापकोटासँग चिसाप पुरस्कार पाएपछि साहित्यपोस्टले गरेको संवादको सम्पादित अंशः
…
१. तपाईँको कृतिले चिसपा पुरस्कार प्राप्त गर्यो । यसलाई कुन रुपमा लिनुभएको छ ?
मेरो उपन्यास चिसो बाफले चिसाप पुरस्कार पाएकोमा स्वभाविक रूपमा खुसी लागेको छ । लामो समयदेखि लेख्दै आइरहेको छु । चलिरहेको धारभन्दा अलिक फरक धारमा बसेर लेख्न मन पराउँछु । चिसो बाफ पनि अलिक फरक विषय र शैलीमा लेखिएको उपन्यास हो । लेखनको त्यो पक्षलाई सम्मान गरिएको महसुस गरेको छु ।
२. अक्सर, पाठकको माया पाएका र पुरस्कार पाएका कृतिहरु अलग–अलग उभिएको देखिने गरेको छ । तर तपाईँले पाठक र पुरस्कार दुबै पाइरहनुभएको छ । यो पाठक र पुरस्कार दुबै पाउने काइदा के हो ? बताइदिनुस् न !
म त जहिले पनि राम्रो लेखुँ भन्ने कुरामा धेरै फोकस गरिरहेको हुन्छ । पाठकहरूप्रति सम्मान छ, तर म लेख्ने बेलामा पाठक र पुरस्कार केही पनि सोच्दिनँ, मात्र मैले उपन्यासमा देखाउन चाहेको कुरामा फोकस गर्छु । त्यसको गुणात्मकतामा ध्यान दिन्छु । किताब आएपछि पाठकको माया र पुरस्कार पाउँदा चाहिँ खुसी लाग्छ ।
३. एक सर्जकका लागि पाठकमात्र पाउनु र पाठकका साथसाथै पुरस्कार पनि पाउनुबिचको फरक कस्तो हुँदो रहेछ ? बताइदिनुस् न ।
मुलत: लेखन नै पठनका लागि हो, त्यसैले पाठक पाउनु महत्त्वपूर्ण कुरा हो । त्यसले नै लेखनलाई जीवन्त राखिरहन्छ । पाठकका साथसाथै पुरस्कार पाउँदा थप खुशी र उर्जा मिल्छ । नयाँ लेख्नका लागि अझ प्रोत्साहन मिल्छ ।
४. तपाईँलाई यो सम्मानित पुरस्कार प्रदान गर्ने चिसापलाई के भन्न चाहनु हुन्छ ?
पुरस्कारका लागि चिसापलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।
५. तपाईँलाई प्रेम गरिरहने पाठकहरुका लागि अब कस्तो उपहार पस्किँदै हुनुहुन्छ ?
अहिले म नयाँ किताबमा काम गरिरहेको छु । हेरौं, कति गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।