चुँदी रम्घा, तनहुँमा जन्मनुभएकी प्रभा भट्टराई (आचार्य) अध्यापिका हुनुहुन्छ । विभिन्न विधामा कलम चलाउँदै आउनुभएकी स्रष्टा प्रभा भट्टराई शास्त्रीय छन्द कविताका क्षेत्रमा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँले सरित्-सङ्गम कविता सङ्ग्रह, डेढ दर्जन जति बालसाहित्यका पुस्तकहरू, नेपाली बालनाटकको अध्ययन र सङ्कलन अनि एउटा जीवनीको पुस्तक प्रकाशित गरिसक्नुभएको छ । लेखनाथ काव्य  पुरस्कारबाट सम्मानित उहाँ विभिन्न सङ्घसंस्थाहरूमा अबद्ध हुनुहुन्छ ।

प्रस्तुत छ, बहुप्रतिभाशाली साहित्यकार प्रभा भट्टराई (आचार्य)सँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

कलेज, घरपरिवार र लेखनलाई कसरी तारतम्य मिलाउनु हुन्छ ?

प्रभा भट्टराई

धन्यवाद ! नेपालमा घरमुली गृहिणी भएर रहँदा अरू थप पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वहरू समेत रहन्छन् ! तर हामी जुन काम मनैदेखि प्राथमिकताका साथ गर्छौं, त्यो पूरा गरेरै छोड्छौँ । छोराछोरी धेरै भए पनि जसरी आमाले कसैलाई बुईमा, कसैलाई काखमा, कसैलाई काँधमा राखेर कसैलाई सँगसँगै डोर्‍याउन पनि सक्छिन्, म आमा पनि  हुँ ! एकसाथ धेरै प्रकारका जिम्मेवारी उठाउने जात हो आमाको ! त्यसैको फाइदा उठाउँदै छु !

तपाईं भानुभक्तको वंशज पनि हुनुहुन्छ । साहित्य र जीवनलाई कसरी हेर्नु भएको छ ?

हजुर ! आदिकवि भानुभक्तको वंशज हुनु मेरा लागि एउटा सुन्दर र सुखद संयोग हो, जसका कारण मैले जन्मँदैमा साहित्यिक माहौल भेट्टाएँ । जीवन कविता जस्तै र कविता जीवन जस्तै हुन्छ भन्ने बुझेँ ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

जाँगरिलो त नभनौँ, मैले लेखनलाई पूरा समय दिन सकेकी छैन । आफ्ना सबै जिम्मेवारीबाट थोरै थोरै समय चोरेर लेखनलाई अघि बढाएकी हुँ । जे होस् म कछुवा-लेखक हुँ, जो उडान भर्न पनि सक्दैन र गति रोक्न पनि सक्दैन ।

भानु र लक्ष्मीप्रसादको साहित्यलाई नेपाली साहित्यिक आकासमा कसरी हेर्नु भएको छ ?

भानु झिसमिसे बिहानी हुन् भने लक्ष्मीप्रसाद झलमलाउँदा दिन ! नेपाली साहित्य र साहित्यकारले दुवैबाट ऊर्जा पाएका छन् ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

एकदमै विश्वास गर्छु ! जीवन सन्तुलन बिना चल्दैन । चिन्तन, मनन, अध्ययन आफ्ना लागि हुन्, तर साहित्य लेखन समाजका लागि पनि हो । मान्छे सामाजिक प्राणी हो, त्यसैले यी बाहेक पनि अरू धेरै विषयमा सन्तुलन मिलाएर नै व्यक्तित्वको उचाइ बढ्छ ।

तपाईंलाई नेपाली साहित्यलाई संसारको साहित्यको तुलनामा अगाडि बढाउन के गर्नु पर्छ जस्तो लाग्छ ?

साहित्यकार जति फैलन सक्यो उति सफल हुन्छ । संसारभरि फैलनको निम्ति विचारको फैलावट, साधना, चिन्तन र प्रस्तुतिको विशिष्ट कला आवश्यक हुन्छ ।

तपाईंले साहित्य लेखनमा प्रेरणा कोबाट पाउनु भयो ? तपाईंको बुवा पनि साहित्यकार हुनु हुन्थ्यो, हैन र ?

प्रश्नमा नै उत्तर आइसकेको छ । मेरो लेखनको प्रेरणा मेरो आफैँ जन्मेको माटो, साहित्यिक परिवार र वातावरण हो । भानुभक्तको रामायण र फुटकर कविता, आफ्नै बुवा नारायण दत्त शास्त्रीका कविता र अरू धेरै कविका कविता बुवाआमाका मुखबाट सुन्दै हुर्केकी हुँ । यी सबै मेरा प्रेरणाका स्रोत हुन् । बुवा नारायणदत्त शास्त्री शिक्षा कार्यालयमा हुनुहुन्थ्यो । शिक्षा-सेवा काम थियो, साहित्यिक लेखन कर्तव्य र सोख दुवै थियो । म नजन्मँदै बुवाका नाटक, काव्य र साहित्य-शास्त्रका पुस्तकहरू प्रकाशित भइसकेका थिए । मेरो बाल्यकाल स्वतः काव्यमय हुने नै भयो । कुरा यत्ति हो, ठूलो भएपछि पनि मैले साहित्यको सङ्गत छोडिनँ ।

नेपाली महिलालाई संसारका ठूला ठूला महिला लेखकको तुलनामा माथि पुर्याउन सरकार तथा निकाय र अब हुर्कंदै गरेको पिँढीले के गर्नु पर्ला ?

महिला मात्रै होइन सिङ्गो नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सरकारले साहित्यलाई प्राथमिकतामा राख्नुपर्छ । साहित्यको स्तरीकरण गरेर छानिएका पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु पर्छ । साहित्य लेख्ने नयाँ पुस्ताले प्रचारप्रसारको निम्ति हतार होइन साधनामा समय लगाउनु पर्छ

खाली समय कसरी बिताउनु हुन्छ ?

समय खाली रहने सम्भावना कम‌ै छ । फुर्सदमा मन परेका पुस्तक पढ्ने, टीभी हेर्ने र छोराछोरीको समेत फुर्सद मिलेको बेला कतै घुम्न निस्कन्छु ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

पहिलेका तुलनामा साहित्यिक पत्रिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको त छ तर कैयौँ पत्रिका लामो समय चल्न सक्दैनन् । कतिपयले स्तर बढाउन भन्दा बाँच्न मात्रै चाहना राख्छन् । लेखकलाई पारिश्रमिक दिन नसक्दा सस्तो बेसाहामा चित्त बुझाएका छन् ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

सामाजिक र आध्यात्मिक विषयका पुस्तक पढ्न मन पर्छ ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

लेखेर बाँच्न साहित्यकारले मात्रै मेहनत गरेर पुग्दैन, पठन संस्कृतिको विकास पनि हुनुपर्छ । पढ्नेले नपढिदिए जति राम्रो लेखेर पनि के गर्ने ? नेपालमा अझैसम्म लेखेर मात्रै बाँच्न सकिने दिन आएको जस्तो लाग्दैन ।

साहित्यको मापदण्ड के हो ? 

नवीनता, आलङ्कारिक, समाज सापेक्षता, भाषिक-कला र अरू अनेकौँ हुन सक्छन् ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको साहित्यिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

साहित्य निकै विस्तारित भएको छ, झाँगिएको छ, राम्रो कुरा हो । गुणस्तरको भन्दा प्रचारप्रसार र लोकप्रियताको ध्यान हुनु र ससाना गुट उपगुटमा साहित्यकारहरू विभाजित हुनु निराशाजनक हो ।

अहिलेको साहित्यमा विचार युग चेतना विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?

अहिलेको साहित्यमा युग चेतना प्रशस्तै छ । नेपालीको पहुँच विश्वका कुना कुनामा पुगेको देखिएको छ ।

नेपालमा पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ ?

पुरस्कार अधिक सङ्ख्यामा स्थापित हुनु राम्रो हो तर यसको व्यवस्थापन, पात्र चयन र नियतमा बेला बेला प्रश्न उठिरहेका हुन्छन् जुन पुरस्कार ग्रहणकर्ता र प्रदानकर्ता दुवै थरीलाई राम्रो होइन । कुनै पनि स्वार्थबाट प्रेरित भएर पुरस्कार लिन दिन हुँदैन । समालोचनाको पनि हालत उस्तै छ । समालोचनाका नाममा प्रशंसा लेखाइमाग्नेले र लेखिदिनेले यसको अर्थ र गरिमालाई मनन गर्नुपर्ने छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

डयस्पोरामा विकसित साहित्यले साहित्यको दायरा फराकिलो पारेको छ । मातृभूमि छोडेर परदेशमा बस्नेहरूका अनुभूतिलाई समेत यस्तो साहित्यले समेटेको छ । साहित्यले डाँडाकाँडा ढाक्ने यो क्रम राम्रो हो ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

संसारभरि छरिएका नेपाली भाषीलाई भावनात्मक रूपमा समेटेर अनेसासले सह्रानीय काम गरेको छ । जहाँ जहाँ पुगे पनि नेपालीलाई साहित्यको माध्यमबाट एकै ठाउँमा जम्मा पार्न सकेको छ यसले !

कस्ता खालका विदेशी तथा स्वदेशी कुन कुन साहित्यकारलाई मन पराउनु हुन्छ र किन ?

साहित्य पढेपछि सिधै मुटु छिचोलोस् भन्ने चाहन्छु । मान्छेको हाँसो, खुसी संवेदना बोकेको साहित्य नै पढ्न रुचाउँछु ।

एक निष्पक्ष लेखक, विद्वान तथा साहित्यकार स्वतन्त्र नागरिकको नाताले, नेपालको भ्रष्टाचार सेटिङलाई भत्काउन के गर्नु पर्छ जस्तो लाग्छ ?

आफ्नै मुटुमा हात राखेर, सन्ततिलाई साक्षी राखेर काम गर्नुपर्छ । संसार अनित्य छ भने भ्रष्टाचार गरेर कमाएको धनले कसैलाई अमर बनाउँदैन । विद्यालयको पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदै बालबालिकालाई कोरा र सतही शिक्षा लदाए बापतकाे सजाय हो यो ! अब नेताहरूलाई एउटै कक्षामा थुनेर नैतिक पाठ घोकाउनु पर्छ खुट्टामा सुम्ला पर्ने गरेर !

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

पढ्नुस् खूब पढ्नुस्, तर असल साहित्य मात्रै छानेर पढ्नुस् ! आफूलाई चिनौँ अनि आफू अनुकूलका पुस्तक पढौँ । सबै पुस्तक सबैलाई उत्तिकै उपयोगी र रुचिकर नहुन सक्छन् ।

यी सबै प्रश्नका लागि आभार व्यक्त गर्दछु ! मेरा नितान्त निजी विचारलाई माया गरेर पढिदिनु भएकोमा प्रिय पाठकहरूलाई पनि धेरै धेरै धन्यवाद !