मदन पुरस्कारको सूचिमा यसपटक सञ्जय विष्टको ‘माटाको घर’ अन्तिम पाँचमा सूचिकृत भयो । नेपालमा साहित्यकार सञ्जय विष्ट न चिनिएको नाम हो न ‘माटाको घर’ नै यहाँ पढिएको छ  ।  अचानक मदन पुरस्कारको सूचिमा पर्दा लेखक सञ्जय विष्टको  खोजी सुरु भएको छ ।

सञ्जय विष्टको जन्म लाब्दा बस्ती, मङ्पू, दार्जिलिङमा सन् १९६८ मा भएको हो । उनले लाब्दा प्राथमिक पाठशालाबाट आफ्नो प्राथमिक शिक्षा हासिल गरेपछि दार्जिलिङको टर्नबुल हाई स्कुल र सरस्वती उच्च विद्यालय, मङ्पूबाट माध्यमिक तहसम्म र दार्जिलिङ सरकारी महाविद्यालयबाट उच्चतर माध्यमिक र नेपालीमा अनर्ससहित स्नातक उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले काशी हिन्दु विश्वविद्यालयबाट १९९४ मा नेपाली विषयमा एम. ए. गरेका गरेका हुन् । दार्जिलिङ सरकारी महाविद्यालयमा अध्ययनरत रहँदा उनले अलग राज्य प्राप्तिका आन्दोलनमा विद्यार्थीहरूको नेतृत्व पङ्क्तिमा रहेर काम गरेका थिए ।

माटाकाे घर सञ्जय विष्टले आफ्नो लेखन कार्य एघारौँ श्रेणी पढ्दादेखि नै सुरु गरेका हुन् । उनी दार्जिलिङ सरकारी महाविद्यालयको वार्षिक मुखपत्र ‘पाइन्स एण्ड केमेलियाज’को सम्पादक पनि हुन् । उनका कथाहरू स्थानीय पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । ‘शब्दान्त’ (१९९३) उनको पहिलो कथासङ्ग्रह हो । यसपछि उनको ‘अस्ताचलतिर’ (२००७), ‘जुन जस्तै घाम’ (२०१५) कथासङ्ग्रह प्रकाशित छन् । यीबाहेक उनका केही भाषिक चिन्तनपरक समालोचनात्मक लेखादि प्रकाशित भएका छन् । हाल उनी कालेबुङ महाविद्यालयका वरिष्ठ प्राध्यापकका रूपमा कार्यरत छन् ।

सञ्जय विष्ट केही समयदेखि भारतीय राजनीतिमा पनि सक्रिय छन् ।  उनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाका महासचिव पनि हुन् । कथाकारका रूपमा ख्याति कमाइसकेका उनले अहिले आएर नेपाली साहित्यलाई आफ्नो पहिलो औपन्यासिक कृति दिएका छन् । विद्यार्थी कालमा विद्यार्थी नेतृत्वका रूपमा रही माटाको आन्दोलनमा सक्रिय रहँदा कारावासको यन्त्रणा समेत भोगेका विष्टको पहिलो उपन्यास ‘माटाको घर’ लेखेका हुन् । यही किताब अहिले मदन पुरस्कारको सूचिमा परेको हो ।

यसै विषयमा रहेर उनीसँग नवीन पाैड्यालले गरेको कुराकानी :

तपाईंको उपन्यास मदन पुरस्कारको सूचिमा रहेको छ । यस अर्थमा  तपाईँ आफूलाई कथाकार मान्नु हुन्छ कि अब उपन्यासकार ?

साहित्य सिर्जनामा मैले पक्रेको मूल विधा कथा हो । निक्कै लामै अवधि म कथा लेखनमै केन्द्रित रहेँ । मलाई मैले गर्न सक्ने काम पनि त्यही हो भन्ने लागिरह्यो सधैँ । जतासुकै कलम चलाउन मलाई डर लाग्थ्यो, त्यो डर ममा आज पनि यथावत् छ । ’१७ सालमा आस्तित्विक सङ्घर्षकै क्रममा डाकिएको १०५ दिने बन्दको अवधि यो विषय उपन्यासको हो भन्ने लाग्यो र ‘माटाको घर’को मोटामोटी लेखन त्यही समय भएको हो । धेरै समयसम्म त्यो त्यही अवस्थामा थियो । विश्वव्यापी महामारी कोरोनाका कारणले थालिएको मार्च ’२० देखिको ‘लक डाउन’मा मैले उपन्यासलाई परिष्कार गर्ने अवसर पाएँ ।

साङ्ग्रिला पुस्तक प्रा. लि. नेपालबाट एक वर्षअघि २०२२ सालमा उपन्यास छापियो । उता कतिले पढे, कस्तो प्रतिक्रिया भयो – मलाई थाहा छैन । यताका पाठकहरूले चाहिँ खोजेर पढेका थाहा पाएँ । कथा लेखिरहेको लेखकले उपन्यास लेखेपछि उसले आफूलाई कथाकार कि उपन्यासकार मान्ने भन्ने प्रश्नको उत्तर दिन स्वयम् लेखकलाई चाहिँ गाह्रै हुने कुरो हो । एउटा मान्ने कि अर्को मान्ने कि दुइटै मान्ने भन्ने यस प्रश्नको ठिक उत्तर बरु पाठकहरूबाट, तपाईंहरूजस्तै समालोचकहरूबाट पाइनु पर्ला, पाइएला ।

तपाईं राजनीतिमा उत्रिनुको कारण, पृष्ठभूमि केही छ कि ? 

सञ्जय विष्ट

सञ्जय विष्ट

केही दशकयता हाम्रो राजनीतिबाट सज्जन वर्ग टाढिँदै गएको यथार्थ सबैलाई थाहा छ । राजनीतिको वास्तविक अर्थ नबुझ्ने, राजनीतिलाई व्यक्तिगत स्वार्थ पूर्तिको साधन बनाउने गरिब मानसिकताका मानिसहरूको हातमा सत्ता पुग्नाको पछिल्तिर म एउटै कारण देख्छु – सक्रिय राजनीतिदेखि सज्जनहरूको पलायन ।

अर्को कुरो, रूपनारायण सिंह, शिवकुमार राई, रामकृष्ण शर्मा, पारसमणि प्रधान, अच्छा राई ‘रसिक’, गणेशलाल सुब्बा, आई बी सर, राज सर, लेख्नेहरू अरू पनि धेरै जनाले आफ्नो आफ्नै प्रकारले राजनीति गरे । संवेदनशील भएकाले त्यो मेरो विगत मोह हुन सक्छ तर मलाई पहाडमा उनीहरूको राजनैतिक उपस्थिति महत्त्वपूर्ण र रमाइलो लाग्छ । राजनीति पनि एक प्रकारले सिर्जना नै हो । साहित्य सर्जकको राजनीति पनि सिर्जनात्मक हुन्छ भन्ने ठान्दछु । अहिले आएर सक्रिय राजनीतिमा मेरो प्रवेश सिर्जनात्मक सोचका मानिसहरूका निम्ति बाटो खोलाइ पनि हो ।

साहित्यमा  तपाईं निकै सम्मानित हुनुहुन्छ, कस्तो लागेको छ तपाईंलाई ?

एउटा ‘दियोलो पुरस्कार’, अर्को कथाकार पूर्ण राईका नाउँमा दिइने ‘पूर्ण राई स्मृति पुरस्कार’। तर कृतिको मूल्याङ्कनको सबैभन्दा ठुलो आधार पुरस्कार हो भन्ने कुरो म मान्दिनँ । पाठक महत्त्वपूर्ण हुन् । पाठकले दिएको सम्मान बढी महत्त्वपूर्ण हुन्छ ।

तपाईंजस्तो अब्बल कथाकारले अहिलेसम्म भारतको साहित्य अकादमी पुरस्कार पाउनु भएको छैन । अब मदन पुरस्कारजस्तो प्रतिष्ठित पुरस्कार चयन प्रक्रियामा तपाईंको ‘माटाको घर’ उपन्यास पाँचौँ स्थानमा पुगिसकेको रहेछ । तपाईंलाई कस्तो लाग्यो ?

काठमाडौँबाट अस्तिको बिहानै साहित्यकार  तथा साहित्यपोस्ट अङ्ग्रेजीका सल्लाहकार सम्पादक शरद प्रधानले मेरो पुस्तक मदन पुरस्कारका निम्ति अन्तिम पाँचमा पुगेको खबर दिनु भयो । सुनेर खुसी लाग्यो । यता छापिएका पुस्तकहरू उता प्रायै पुग्दैनन्, त्यसैले नेपालमा म खासै नचिनिएको मान्छे थिएँ । त्यसो हुँदा उपन्यास धेरैले पढेका थिएनन् भन्ने लाग्छ । हाम्रो साहित्यमा यस्ता घोषणाहरूले पाठकमा जिज्ञासा बढाउने र खोजी पढ्ने परम्परा छ । यस उपन्यासका सन्दर्भमा पनि त्यसै होला भन्ने लागेर पनि खुसी लागेको छ ।

तपाईं त नेपाली भाषाको गम्भीर अध्येता, व्याख्याता हुनुहुन्छ । नेपाल र भारतको नेपाली भाषामा केही अन्तर पाउनु भएको छ कि ?  

गम्भीर अध्येता भन्न नमिल्ला, भाषामा मेरो रुचि पेसाका कारणले हुन सक्छ । नेपाल र भारतको नेपाली भाषामाझको अन्तर वास्तवमा त्यो भाषिकागत अन्तर मात्रै हो । कथ्यको अन्तर हो, लेख्यको होइन । सिर्जनात्मक साहित्यमा कहिले कहीँ विषयले भाषाको कथ्य रूपको आग्रह गर्दछ । त्यसो हुँदा साहित्यमा भाषाका प्रान्तीय भेदहरूले ठाउँ पाउने हो । राम्ररी हेऱ्यौँ भने भारतमै पनि नेपाली भाषाका विभिन्न रूपहरू छन् ।

भारत र नेपालको नेपाली साहित्यमा पनि समानता र वैभिन्यता देख्नु हुन्छ कि ? 

हामी जातीयताले नेपाली हौँ, राष्ट्रियताले भारतीय । नेपालकाहरू दुवैले नेपाली । सङ्ख्यालघिष्ठ यताका हाम्रा संस्कार, संस्कृति र जातीयतामाथि सङ्ख्यागरिष्ठताकाहरूले घरी घरी कुठाराघात गरिरहन्छ ।  त्यो चिन्ता नेपालले लिइरहनु पर्दैन । त्यसैले पनि दुईतिरको साहित्य आफ्नो आफ्नै विशेषता र मौलिकताको हुन सक्छ । तर समान मानवीय संवेदनाले दुईतिरको साहित्यमा धेरै समानता पनि हुने नै हुन्छ ।

‘माटाको घर’ उपन्यास लेख्नुका पछाडि कुनै पृष्ठभूमि, कारण र उद्देश्य छन् कि ? 

भारतमा गोर्खाहरूको गौरवपूर्ण इतिहास छ तर विभाषी विद्वान्‌हरूबाट हाम्रो इतिहास कहिल्यै लेखिएन र लेखिएला पछिबाट भन्ने आशा पनि छैन । विगतमा पटक पटक भएका जातीय आन्दोलन पनि भारतीय गोर्खाहरूको इतिहास नै हो । सिर्जनात्मक साहित्यका रूपमा त्यसैको दस्तावेजीकरण उपन्यास लेखनको गौण उद्देश्य हो । गौण किनभने, सबैभन्दा पहिले म साहित्यलाई कला मान्दछु ।

तपाईंको आख्यान लेखनको कतिको मूल्याङ्कन भएको छ जस्तो लाग्छ ?  यसबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

साहित्य सिर्जना मलाई साह्रै श्रमसाध्य विषय लाग्छ । पहिले सोखका रूपमा थालिएको लेखनवृत्ति अब दायित्वजस्तो बन्यो । यसो हुँदा आफैले अपनाएको वृत्तिसितै पो डर डर पनि लाग्दो रहेछ । समय र श्रम खर्चेर, डर मानेर गरिएको सिर्जनाले अन्तिम रूप लिएपछि चाहिँ फेरि आफैलाई अनिर्वचनीय आनन्द पनि दिँदो रहेछ । त्यसरी सिर्जेको सिर्जनाबाट पाठकहरू पनि आनन्दित बनेको थाहा पाउँदा लेखकको आनन्द दोब्बर हुँदो रहेछ । मलाई यतिले यथेष्ट भइरहेको छ । मेरा कथाहरूको धेर थोर मूल्याङ्कन पनि भएकै छन् । फेरि मूल्याङ्कन हुनु, नहुनु, थोर हुनु, मनग्गे हुनु भन्ने कुरो कृतिमै अन्तर्निहित शक्तिमा निर्भर रहने हो । यसमा सन्तुष्टि असन्तुष्टिको कुरो आउँदैन । राम्रो कृतिको मूल्याङ्कन ढिलो छिटो हुन्छै हुन्छ ।

अबको तयारी के छ ? 

एक दुई वटा कथा लेखेको छु । अहिले मसित किताब बन्ने उस्तो केही छैन । उसै पनि म लेखनमा हतार गर्ने लेखक परिनँ ।