युवा गजलकार हिमाल सरोवर ठकुरी गत शनिबार (साउन २० गते) मण्डला थिएटरमा सुनिए । बिम्ब आर्टस्को प्रस्तुति ‘उत्सव, शृङ्खला ०.२’मा सरोवर आफ्ना गजलका शेरहरुमार्फत् स्रोताहरुलाई रुझाउन सफल देखिए ।

गजलकारको परिचय गजल लेखन परिधिभित्र मात्र सीमित छैनन् । उनी विभिन्न विधामा कलम त चलाउँछन् नै, साथै सम्बन्धित विधाका समस्या र सबलताका बारेमा प्रस्ट धारणा पनि राख्छन् । प्रस्तुत छ, उनै सरोवरसँग उत्सव र गजलका बारेमा साहित्यपोस्टले गरेको संवादको सम्पादित अंशः

===

हिमालजी, समग्रमा ‘उत्सवः शृङ्खला ०.२’ कस्तो भयो ?

– कार्यक्रम नयाँ नयाँ नै भए पनि त्यहाँको तामझाम, उपस्तिथि र कार्यक्रमपश्चात् पाएको सामान्य प्रतिक्रियालाई हेर्दा उत्सव केही हदसम्म सार्थक भएको जस्तो मलाई लागेको छ ।

तपाईंका गजल सुन्न १५० रुपियाँ तिरेर स्रोताहरूको गज्जब उपस्थिति देखियो । निःशुल्क स्रोता र सशुल्क स्रोता बिच केही फरक पाउनुभयो ?

– साहित्यमा नि:शुल्क र सशुल्क भन्नेभन्दा पनि, सहित्यको त कुनै मूल्य नै छैन जस्तो मलाई लाग्दछ । यो अमूल्य त हुन्छ नै, तर पनि दर्शकको १५० अशुल भयो होला भन्ने अपेक्षा मेरो छ । साहित्यलाई निःशुल्क कर्मका रूपमा हेर्ने संस्कार अन्त्य गर्ने हाम्रो अभियान पनि हो । यसमा सबैको साथ भयो भने सर्जक र सिर्जनाको थोरै भए पनि सम्मान हुनसक्छ कि भन्ने हाम्रो मान्यता हो ।

प्राप्त जानकारी अनुसार तपाईंले गजल सुनाएबापत १० हजार प्राप्त गर्नुभयो । नगद लिएर गजल सुनाउँदाको अनुभूति कस्तो हुँदो रहेछ ? अनि, १० हजार पारिश्रमिकलाई कुन रूपमा ग्रहण गर्नुभएको छ ?

– हो, १० हजार प्राप्त गरेँ । आयोजकले जुन मेहनत गरेर कार्यक्रम गर्नुभयो र मलाई सम्मानस्वरूप पैसा र केही उपहारहरु दिनुभयो त्यो मेरा लागि निकै महत्त्वपूर्ण कमाइ हो । यसलाई साहित्यमा थप उर्जाको रूपमा मैले लिएको छु । त्यसका लागि उहाँहरूलाई मेरो हृदयदेखि सम्मान छ । म सदैव ऋणी रहनेछु । मलाई उपहारस्वरूप sangrila books ले दिनुभएका ४ पुस्तकहरू र अन्य मसँग भएका केही पुस्तकहरूसहित १० पुस्तक धिरेन अनुपमले कर्णालीमा सुरु गर्न लाग्नुभएको पुस्तकालयलाई दिने घोषणा गरिसकेको छु ।

तपाईं प्रायः मोफसलमा रहनुहुन्छ । मोफसलका स्रष्टाहरूको प्रायः केन्द्रसँग गुनासो रहिरहेको हुन्छ । तपाईंमा पनि थिए होलान् । यो कार्यक्रमले केही परिवर्तन ल्यायो कि ?

– गुनासो गर्नुभन्दा पनि सहकार्य हुन जरुरी छ । मोफसल र केन्द्रबिच सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ । मसँग गुनासो त्यस्तो छैन तर केन्द्रमा रहेकाहरूले अझै पनि सबै ठाउँ र तप्कामा नजर पुर्याउने कोसिस गरून् भन्ने सुझाव दिन चाहन्छु । उत्सव समग्र गजल क्षेत्रको उत्थान र संरक्षण गर्ने कार्यमा सधैँ अग्रसर रहनेछ भन्ने आशा र विश्वास मैले गरेको छु । परिवर्तन पक्कै आउनेछ ।

थोरै फरक प्रसङ्ग, नेपालको परिप्रेक्ष्यमा, तपाईंले बुझेको गजल के हो ? व्यक्तिगत रुपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?

– गजल मनको भाव, समाज र देश बोल्ने एउटा साहित्यको विधा हो । म गजल नै किन लेख्छु, यसको कुनै ठ्याक्कै कारण त छैन तर गजल मलाई मन पर्ने विधा हो । म गजल मात्रै लेख्दिनँ, कविता गीतहरु पनि लेख्छु । तर गजल केही अगाडि बजारमा आएको मात्रै हो । म बिस्तारै सबै विधाहरू ल्याएर तपाईंहरूमाझ आउने कोसिस गर्दैछु ।

नेपाली साहित्यको परिप्रेक्ष्यमा गजल विधा सर्वाधिक विवादमा रहँदै आएको छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?

– यो एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ । म यस विषयमा उत्सव कार्यक्रममै बोल्न चाहन्थेँ तर दर्शकहरूले गजलको माग बढी गर्नुभएकाले यो विषय उठाउने समय पुगेन ।

हामीले सोचे जस्तो गजलमा त्यति ठुलो विवाद नै पनि छैन । केही व्यक्तिले एकाअर्काको अस्तित्व स्वीकार गर्न नसक्नुले यो अवस्था आएको हुनसक्छ । बहर र स्वतन्त्र भनेर जुन विवादको अवस्था छ यसको समाधान गर्न उहाँहरू दुबै पक्ष मिलेर अगाडि जानू आजको आवश्यकता हो । बहरमा गजल हुनुपर्छ भन्ने मान्यता छ भने र स्वतन्त्र गजल गजल नै होइन भने जुन रफ्तारले स्वतन्त्र गजल आम मानिससँग पुगेको छ यसलाई रोक्नुपर्छ । बजारका हर गल्लीमा स्वतन्त्र गजलकै किताबहरू छन्, कार्यक्रमहरू भैरहेका छन् तर सिद्धान्तमा लेख्छु भन्नेहरूले त्यति सक्रिय भएर आफ्ना कार्यक्रमहरू गरेको देखिँदैन । स्वतन्त्र लेख्नेले किन बहर लेख्दैनन् वा बहर लेख्नेले किन स्वतन्त्रलाई मान्दैनन् भन्ने कुराको जड पत्ता लगाउने र दुबै पक्ष कसरी सहकार्य गर्दै जान सकिन्छ भन्ने कुरा हामीले सोच्नु पर्नेछ । यसका लागि गजलमा सामूहिक बहसका कार्यक्रमहरू भइरहका छैनन् । यस्ता कार्यक्रमहरू गरेर निचोड निकाल्नु पर्ने आवश्यकता छ । गजलका जिम्मेवार व्यक्तित्वहरू मौन बस्नु हुँदैन भन्ने मलाई लाग्छ।

गजल चोरी (वा प्रभावित गजल भनौं) का बारेमा तपाईंलाई जति कसलाई पो थाहा होला । नेपाली गजलकारमा गजलको चोरी वा अनुकरण र अनुशरणको अवस्था कस्तो छ ? के कारणले यस्तो भइरहेको छ जस्तो लाग्छ ?

– हैन, यो कुरा मलाई मात्रै थाहा भएको होइन । जसले गजलको अध्ययन गर्नुहुन्छ उहाँहरू सबैलाइ थाहा छ । तर बोल्न डराउनु हुन्छ । म डराउँदिनँ । फरक यत्ति हो । गजलमात्रै नभै यो सबै विधाहरूमा व्याप्त विकृति हो । गजलमा पनि छ । यसो हुनको कारण भनेको केही व्यक्तिहरू चलाख बनेर हिन्दी, उर्दु अथवा अन्य भाषाबाट उल्था गरेर सोझासाझा पाठकलाई ठग्ने प्रवृत्ति छ । अध्ययनको अभावले हामी ठगिएका छौँ । केही व्यक्तिहरू भन्नुहोला – हैन, हाम्रो परिवेश एउटै, रहनसहन एउटै, भाव मिल्नु स्वभाविक हो । हो, मैले पनि मान्दछु कि हाम्रो भाव कहिलेकाहीँ मिल्न सक्छ । तर मिलेको कुरालाइ हटाउनु पर्छ । बीस वर्षअगाडि कसैले लेखिसकेको कुरालाई आज कसैले मेरो हो भनेर भन्छ भने त्यो लेखक आफैँलाई घाटा हो । एउटा लेखक भइसकेपछि अरुभन्दा बेग्लै लेख्ने कोसिस गर्नुपर्ने हुन्छ । नवराज पराजुलीकै कविता सारेर कविता लेखिन्छ भने त नवराज पराजुलीको डुप्लिकेट भयो । डुब्लीकेट कहिल्यै ओर्जिनल हुन सक्तैन । त्यो सार्ने व्यक्तिको आफ्नो पहिचान रहेन । केही सोझा पाठक-स्रोताको नजरमा वाहवाही पाउला तर मजस्ताको नजरमा त्यो चोर भयो । त्यसैले यस्ता गतिविधि नगर्नुहोस् भन्ने आग्रह गर्दछु ।