सक्रिय रूपमा गजल लेखनमा लागेको ८ वर्षपछि पोखराका गजलकार परिविक्रमले पहिलो गजल सङ्ग्रह “अङ्कमाल” प्रकाशन गरेर नेपाली साहित्यको बजारमा आफ्नो पहिलो उपस्थिति जनाउनु भएको छ । २०७२ सालदेखि उहाँ गजलमा सक्रिय हुनुहुन्छ । तर लेखनको सुरुवात भने उहाँले २०६६ सालबाटै गर्नुभएको थियो । १० वर्षकै उमेरबाट साहित्य लेखनमा रुचि राख्नु हुने उहाँ  जीवनको २५ औँ वसन्तमा आइपुग्दा एउटा कृतिको लेखक बनिसक्नु भएको छ ।  कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ स्थित नागडाँडा गाउँमा २०५६ साल वैशाख ९ गते उहाँको जन्म भएको थियो । माता नारायणी परियार र पिता खेमराज परियारका उहाँ जेठो सन्तान हुनुहुन्छ । अध्ययनको सिलसिलामा पछिल्लो केही वर्षदेखि उहाँ चितवनमा बस्दै आउनु भएको छ । कृषि तथा वन विज्ञान उहाँको अध्ययनको विषय हो ।

Parivikram

परिविक्रम

गजलसँगै पछिल्लो समय उहाँ कविता र मुक्तक लेखनमा पनि उत्तिकै सक्रिय र सशक्तका साथ आइरहनु भएको छ । विशेष गरी उहाँका छोटा आकारका कविताहरू बेसी मन पराइएका छन् सञ्जालमा । सामाजिक सञ्जाल फेसबुक र पोखराको साहित्यिक वातावरणले आफ्नो लेखनमा विशेष प्रभाव पारेको उहाँ बताउनु हुन्छ । बहर बहार र गजलकार आवाज शर्माको सान्निध्यले गजलमा कलम चलाएको उहाँ उल्लेख गर्नुहुन्छ ।

गजलकार परिविक्रम गजल र कविताका विभिन्न प्रतियोगिताहरूमा सहभागी भइरहने एउटा नाम  हो । थुप्रै प्रतियोगिताहरूमा उहाँ विजेता पनि बनिसक्नु भएको छ ।

२०७४ सालमा रक्तदान सम्बन्धी राष्ट्रव्यापी कविता प्रतियोगितामा उहाँ  द्वितीय हुनु भएको थियो । त्यसै गरी सगरमाथा साहित्य प्रतिष्ठानको विश्वव्यापी गजल प्रतियोगितामा सान्त्वना, FNB नेपालले आयोजना गरेको कविता प्रतियोगितामा द्वितीय, नेपाली सेनाले आयोजना गरेको कविता प्रतियोगितामा उत्कृष्ट ४० मा पर्नु भएको थियो । यस्तै नेपाल गजल प्रतिष्ठानद्वारा गत साल आयोजित विश्वव्यापी गजल प्रतियोगितामा प्रथम,  सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी, पुलचोकले गत साल नै आयोजना गरेको पोयट्री च्याम्पमा प्रथम र २०७९ सालमा हल्कारा चलचित्रले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगितामा पनि उहाँ प्रथम हुनु भएको थियो । अब भने गजल र कविताका कुनै पनि प्रतियोगिताहरूमा प्रतिस्पर्धीको रूपमा सहभागी नहुने उहाँले सार्वजनिक रूपमै घोषणा गर्नु भएको छ ।

यिनै युवा पुस्ताका आशालाग्दा गजलकार परिविक्रमको गजल सङ्ग्रह “अङ्कमाल” गत जेष्ठ १३ गते काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा आयोजित एक समारोहका बिच विमोचन गरिएको थियो । यस सङ्ग्रहलाई उहाँ आबद्ध नेपाल गजल प्रतिष्ठानले प्रकाशन गरेको हो । उहाँ  ए. एफ्. यु साहित्य सञ्जाल, चितवनमा पनि आबद्ध भएर साहित्य कर्ममा लागिरहनु भएको छ । उहाँको गजल सङ्ग्रहभित्र ८० ओटा गजल, २० ओटा मतला र ६० ओटा फर्द समावेश छन् ।

अब लागौँ कवि/गजलकार परिविक्रमसँग साहित्यपोस्टका लागि गरिएको कुराकानीको सम्पादित अंशतर्फ :

 

पहिलो कृतिको रूपमा गजल सङ्ग्रह लिएर आउनु भएको छ । एउटा सर्जकका लागि पहिलो सन्तान जन्मिनु र पहिलो कृति आउनु उस्तै खुसीको कुरा हो भन्छन् । पहिलो कृति बजारमा आउँदा कस्तो महसुस भइरहेको छ ?

– हजुर ‘अङ्कमाल’ मेरो पहिलो गजल सङ्ग्रह हो । मैले हजुरको प्रश्नकै उत्तर दिन सकिन कि लाग्छ । किनकि पहिलो सन्तान जन्मिँदाको खुसी कस्तो हुन्छ थाहा छैन । बरु पहिलो कृति बजारमा आउँदा चाहिँ भर्खर प्रेममा परेको अवस्थासँग दाँज्न मिल्छ कि भन्ने लागेको छ । अलिअलि कौतुहलता, अलिअलि उत्साह, अलिअलि डर पनि । इन्द्रेणी समय हुँदो रहेछ । पुस्तक आएको जम्मा १ महिना भयो । यो माया, साथ, सद्भाव, प्रतिक्रिया सबैबाट खुसी छु ।

गजल सङ्ग्रह बजारमा आएको एक महिना बेसी भइसक्यो । सङ्ग्रहलाई लिएर के कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ ?

– प्रतिक्रियाहरू विमोचन भएको पहिलो दिनबाटै आउन थालेको हो । अहिलेसम्म त्यति नराम्रो प्रतिक्रिया भने आइपुगेको छैन । धेरैलाई मन परेको छ । उहाँहरूलाई मन परेको शेर, गजल फेसबुक, टिकटकमा आइरहेको पनि छ । प्रतिक्रिया राम्रा छन् । यसले पनि म हौसिएको छु ।‌ तर मात्तिएको चाहिँ छैन ।

गजल सङ्ग्रहको नाम “अङ्कमाल” राख्नु भएको छ । यो नाम कसरी जुराउनु भयो ? यही नाम राख्नुको केही विशेष कारण छन् भने त्यो पनि खुलाइदिनुस् न ।

– सुरुमा त त्यति धेरै सोचेर राखेको नाम होइन अङ्कमाल । बरु राखेपछि चाहिँ धेरै सोचियो कि जस्तो लाग्छ । खासमा त हामीले पुस्तकको नाम “अधियाँ” राख्ने कि भन्ने सोच थियो । एउटा गजलको एउटा शेरले पनि यसको भाव बोकेको थियो ।

“खै के गरेर भर्लास्, विक्रम तँ यो भकारी

अक्षरको खेती त्यो नि अधियाँ कमाउनेले”

तर हामीले अधियाँ शब्द र यो थिमलाई न्याय गरेर आवरण बनाउनै सकेनौँ ।अनि, प्रेसरमै म “अ” बाट आउने शब्द शब्दकोशमा हेर्दै थिएँ, अङ्कमालले कस्तो आँखा र मन तान्यो के । “अ” बाट सुरु भएको छ, बीचमा फेरि “क” छ । ‘अ’ र ‘क’ भनेका दुबै पहिलो अक्षर हुन् । अङ्कमालको छुट्टै अर्थ छ । त्यसमाथि अङ्क र कमाल पनि छ । आवरण पनि गजबको बनाउन सकियो  र, अङ्कमाललाई नै फाइनल गर्‍यौँ ।

“अङ्कमाल” भन्ने बित्तिकै यस कृतिभित्र तुलनात्मक रूपमा प्रेमिल गजलहरूको सङ्ख्या अलिक बेसी होला भन्ने मेरो अनुमान हो । यसमा के कस्ता गजलहरूले स्थान पाएका छन् ?

– यो सङ्ग्रहमा मेरा सुरुवाती चरणका गजलदेखि अहिलेसम्मका राम्रा गजलहरू समेट्ने प्रयास भएको छ । हो, प्रेमिल गजल धेरै छन् तर विविध क्षेत्र पनि समेटिएका छन् । प्रेममा पनि विराट कुरा हुन्छन् । त्यसका विविध पाटाका पनि शेर र गजल यसमा समाविष्ट छन् ।

कृति प्रकाशन अघि र पछिको कवि/गजलकार परिविक्रममा केही परिवर्तन महसुस गर्नुभएको छ ?

– त्यस्तो साह्रो त छैन । तर अलिकति केही न केही फरक त हुने रहेछ ।

एउटा सर्जकका लागि पहिलो कृति धेरै अर्थमा महत्त्वपूर्ण रहन्छ । साहित्यको बजारमा यसले सर्जकलाई कत्तिको बिकाउँछ र टिकाउँछ भन्ने यो एक किसिमको “परीक्षण प्रसारण” पनि हो । यसरी व्यावसायिक रूपमा आफ्नो पहिलो कृतिले कस्तो सफलता हात पार्ला भन्ने यहाँलाई लाग्छ ? कत्तिको आशावादी हुनुहुन्छ ?

– पक्कै पनि पहिलो कृतिको अर्थ त हुन्छ । यसबाट पनि मूल्याङ्कन हुन्छ । तर यही नै अन्तिम भन्ने पनि होइन । सुविन भट्टराई दाइ दोस्रो कृति “समर लभ”मा अझ सफल देखिनुभयो, उहाँको पहिलो कृति “कथाकी पात्र” हो ।

सफलता भन्ने कुरा सापेक्ष हो । कतिलाई सफल भएको मान्ने भन्ने हो । तर मैले जुन आशा र अपेक्षा राखेको थिएँ, त्यो भन्दा धेरै नै माया, साथ र सहयोग पाएँ । म खुसी छु । म यसलाई सफल भएकै रूपमा लिन्छु ।

कृति विमोचन भएसँगै विभिन्न ठाउँमा आयोजित गजल/कविता वाचनका कार्यक्रमहरूमा पुगिरहनु भएको छ । विभिन्न ठाउँको भ्रमणमा  पनि निस्कनु भयो । यो यात्रा कस्तो भइरहेको छ ? र यसले कृतिको प्रचार-प्रसारमा कस्तो खालको भूमिका खेलिरहेको छ ?

– कृति नहुँदा पनि विभिन्न कार्यक्रममै गइन्थ्यो नै । तर कृति भइसके पछिको कार्यक्रममा जानुको स्टेज चढ्नुको छुट्टै रौनक र महत्त्व हुने रहेछ । पाठक र श्रोतामा नै पनि छुट्टै उत्साह भेटिने रहेछ । समग्रमा यस्ता कार्यक्रम कृतिकै प्रचार प्रसारका लागि हुने हुन् । यसले गज्जब गर्दो रहेछ । पाठक र लेखक बिचको सम्बन्धलाई पनि अझ सुदृढ बनाउँदो रहेछ ।

पहिलो कृति निकाल्नु भएका सर्जकहरूको भनाइलाई आधार मानेर भन्नुपर्दा,  कृति प्रकाशनको केही समयसम्म आफ्नो लेखनमा एक किसिमको मन्दी छाउँछ, सन्नाटा आउँछ, “राइटर्स ब्लक” भनिन्छ क्यारे अङ्ग्रेजीमा । तपाईंको पनि कृति आएको एक महिना बेसी भइसक्यो । तपाईंले चाहिँ त्यस्तो भोग्नु पर्यो कि छैन ?

– एकदम राम्रो प्रश्न गर्नुभयो । मेरो लेखनी ठप्पै त भएको छैन । तर पनि मन्दी भने छाएको छ । एक किसिमको लेखनीबाट एउटा कृति त बजारमा पुर्‍याइयो । तर अब अझै जिम्मेवार, फरक र केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटी जागेको छ । यति कुराका लागि विश्राम पनि जरुरी छ । यो हुनु सामान्य नै हो । मलाई यसमा अन्यथा लागेको छैन ।

तपाईं कवितामा पनि उत्तिकै सक्रिय र सशक्तताका साथ कलम चलाउँदै आउनु भएको छ । तर कृतिको रूपमा पहिले गजल सङ्ग्रह आयो । आफूलाई कवि भन्दा पनि बेसी गजलकारको रूपमा चिनाउने योजना हो ?

– मैले “अङ्कमाल”मा आफ्ना कुरा राख्दा पनि लेखेको छु – गजल मेरी पहिलो प्रेमिका हो । मैले गजललाई धेरै माया गरेर, सम्मान गरेर, समय दिएर लेखेँ । कहिले पढाइ छोडेर पनि लेखेँ । कहिले खानै छोडेर पनि लेखेँ । प्लस टु पढ्दा ताका मेरो गजलप्रति यस्तो पागलपन थियो कि मलाई दिनको कम्तीमा एउटा गजल लेख्नै पर्थ्यो । बिहान म कलेज पढ्थेँ र आएपछि दिनभरि कापी समातेर गजल लेखेर बस्थेँ । मलाई गजल नलेखेको दिनमा राती राम्रो निद्रा पर्दैनथ्यो ।

त्यति बेला पनि फाट्टफुट्ट कविता त लेखेँ । तर मैले बल गरेर कहिल्यै कविता लेखिनँ । कविता आफैँ आएर मलाई लेख् भन्यो भने मात्र लेख्थेँ । आज भन्दा एक डेढ वर्षअघि लेख्न थालेको छोटो कविता भने धेरैले धेरै मन पराइदिनु भयो । यद्यपि लामो लम्बाइका कविता पनि राम्रै मन पराइएका छन् । यस कारणले जो जो अलि पछि जोडिनुभयो उहाँहरूलाई मैले गजल लेख्छु भन्ने कुरा कम थाहा छ । त्यसैले कतिपयले “यो कविता सङ्ग्रह हो ?”  भनेर पनि सोध्नुहुन्छ । एक लाइनमा भन्दा, मैले गजललाई धेरै प्रेम गरेर धेरै लेखेँ । तर थोरै लेख्दा पनि कविताले धेरै माया पायो । तर गजलले पाएको माया पनि कम त छैन ।

गजल लेखनको विषयलाई लिएर होस अथवा कहिलेकाहीँ गजल प्रतियोगिताका नतिजालाई लिएर होस् सामाजिक सञ्जालमा विवाद देखा परिरहन्छ । तपाईं आफूले पनि कहिलेकाहीँ त्यसमा क्रिया-प्रतिक्रिया जनाइरहेको पाउँछौँ । यस किसिमका विवादहरूको पछि नलागी गजल सिर्जना मात्र गरिरहन पनि त सकिन्थ्यो होला नि ?

– आधा घडा छचल्किन्छ भने झैँ आधा मात्र जान्दा म पनि अलि विवादतिर झगडा गर्दै गरेको भेटिन्थेँ । बिस्तारै बुझ्दै गइयो, अलि पाको पनि भइयो होला, छोडेँ अनि । म यस्तो विवादतिर नलागेको थुप्रै वर्ष भयो । जुन तपाईंको प्रश्न छ, गजल मात्रै लेखे हुन्न र भन्ने ।‌ पहिलो काम त लेख्ने नै हो । तर छलफलमा भाग लिनु पनि जरूरी छ । होला, गजलमा छलफल नै भए पनि विवाद भनेर नामकरण गरिदिने जमात त छ । वादे वादे जायते तत्त्वबोध भने जस्तै हो । सहभागी हुनु पर्छ । तर, छलफल छलफल जस्तो हुनुपर्छ । त्यसको मर्यादा राखेर छलफल गर्नुपर्छ ।

साहित्यपोस्टसँगकै अन्तरवार्तामा गजलकार लोकेन्द्र बञ्जाराले, “नेपाली गजलमा अतिवादीहरू धेरै छन्, त्यसकारण यस किसिमका विवादहरू सिर्जना भएका हुन्” भन्ने खालको कुरा गर्नुभएको थियो । यहाँलाई चाहिँ नेपाली गजलमा विवाद किन छ  होला जस्तो लाग्छ ?

– दाइले भनेको सही हो । अतिवादीहरू धेरै छन् । नेपालमा गजल धेरै अभ्यास भएको विधा होइन । मोतिराम भट्टले अलि पहिले ल्याए पनि मोतिराम भट्टको मृत्यु पश्चात् गजल पनि चीर निद्रामा नै पर्‍यो । २०६७ सालतिर ज्ञानुवाकर पौडेलहरूले गजललाई पुनर्जीवन दिएपछि त हो गजलको अझ चर्चा हुन थालेको र, लेखिन थालेको । यसरी हेर्दा आधा शताब्दी पनि पूरा भएको छैन । यो बेलामा छलफल हुनु स्वाभाविक र रामै कुरा हो । तर विवाद हुनु, पानी बाराबारकै स्थिति हुनु चाहिँ गलत हो । विवाद हुनुको कारण त अर्धज्ञान, मै मात्र जान्ने हुँ भन्ने अहम् र गुटबन्दी हो जस्तो लाग्छ ।

गजलका होस् अथवा कविताका, अधिकांश प्रतियोगिताहरूमा तपाईं सहभागी भइरहनु हुन्छ र थुप्रै ठाउँमा विजेता पनि बनिसक्नु भएको छ । अब त “कस्ता सिर्जना प्रतियोगितामा विजेता बन्छन्” भन्ने कुरा पनि थाहा पाइसक्नु भयो होला है ? र यस किसिमका प्रतियोगिताहरूले एउटा सर्जकलाई माथि उठाउन कस्तो भूमिका खेल्ला ? यहाँको अनुभव  सुनौँ न ।

–  कस्ता खालका कविता र गजल पुरस्कृत हुन्छन् भन्ने कुरा निर्णायक र आयोजकमा पनि भर पर्ने कुरा हो । सँगै रचना नै राम्रो हुनुपर्ने भन्ने कुरा त भइहाल्यो । कस्ता, र कुन हुन्छन् भन्ने मैले पनि भेउ पाउन त सकेको छैन । सुरुवाती चरणमा नवसर्जक यसरी विजेता बन्दा त ठुलै ऊर्जाको काम गर्छ । सबैमाझ चिनिन पनि मद्दत गर्छ । मेरो हकमा पनि यसले धेरै नै मद्दत गर्‍यो । अब भने मैले कुनै पनि कविता, गजल प्रतियोगितामा प्रतियोगीको रूपमा भाग नलिने स्वनिर्णय गरेको छु ।

प्रतियोगिताकै कुरा गर्दा यस किसिमका प्रतियोगिताहरू कत्तिको निष्पक्ष हुन्छन् भन्ने यहाँलाई लाग्छ ? अहिलेसम्मको तपाईंको अनुभवले के भन्छ ?

– केही हुन्छन् । तर सबै हुँदैनन् । हामीलाई थाहा छँदै छ । यसमा थप टिप्पणी नगरौँ ।

नेपाली गजलमा विशेष गरी दुई धार देखिन्छन् । एउटा, बहर पक्षधर र अर्को, बेबहर पक्षधर । तपाईं आफूलाई कुन धारमा उभ्याउनु हुन्छ ? कि यसरी धार छुट्याउनु गलत हुन जान्छ ?

– मलाई पनि एउटा ट्याग त लगाइएकै छ । म चाहिँ बहरमा लेख्न रुचाउँछु । तर म गजलको पक्षधर हुँ । भोलि भविष्यमा आफैँ मूल्याङ्कन होला । अझ बुझेको अझ जानेको पुस्ता आउला । उसले समीक्षा गर्ला ।

नेपाली गजल लेखनप्रति आकर्षण निक्कै बढ्दै गएको देखिन्छ । यसमा आउन चाहने र लेखिरहनु भएका नव गजलकारहरूका लागि के सुझाव दिन चाहनु हुन्छ ?

– पहिला सुरुमा त पढ्नुस् भन्न चाहन्छु । मज्जाले पढ्नुस् । नेपाली गजल पढ्नुस्, हिन्दी पढ्नुस् । उर्दू पढ्नुस् । थुप्रै गजल सुन्न पनि पाइन्छन् ।‌ सुन्नुस् । गजलका सिद्धान्तका किताबहरू पनि बजारमा थुप्रै छन् ती पनि अध्ययन गर्नुस् । जस्तै: आवाज शर्माको ‘अरूज विज्ञान’ । सँगै लेख्ने पनि कोसिस गर्नुस् । जस्तो भए पनि लेख्नुस् र अग्रजसँग पनि सल्लाह सुझाव लिनुस् । र, लेख्दा आफ्नो र आफू लेख्नुस् । आफैँको नजरबाट लेख्नुस्, अरूको नजरबाट अरूले नै लेखिसके ।

लेखनलाई लिएर तपाईंका भोलिका केही विशेष योजनाहरू छन् भने त्यो पनि सुनौँ न ।

– त्यति धेरै त केही छैन । कविता सङ्ग्रह पनि बिस्तारै आउँछ होला । नेपालमा २ सय ५१ शेर लामो गजल सम्भवतः त मेरै मात्र गजल हो कि जस्तो लाग्छ । १ सय ११ शेर लामो गजल पनि छ । जम्मा २, ३ वटा गजलको एउटा गजल सङ्ग्रह निकाल्ने सोच छ ।  हेरौँ, के हुन्छ ।

माथिका प्रश्नहरूमा छुटेका तर भन्न मन लागेका आफ्ना र गजल सम्बन्धी केही कुराहरू छन् भने यहाँ राख्न सक्नु हुनेछ ।

– हजुरले धेरै पाटाहरू केलाउने मौका दिनुभयो । हजुरलाई धन्यवाद । “अङ्कमाल” लाई माया गर्ने सम्पूर्णमा पुनः आभार व्यक्त गर्न चाहन्छु । यति लामो अन्तरवार्ता पढ्ने हजुरलाई पनि धन्यवाद ।

शुभ पल ।

जय गजल ।