बि.स. २०१२ साल फाल्गुन ४ गते, तेह्रथुममा जन्मनुभएका बसन्त श्रेष्ठ  न्यू ह्याम्प्लायर बिश्वबिद्यालय, अमेरिका अर्थशास्त्रमा एम.ए. गर्नुभएकाे छ । उहाँका बसन्त श्रेष्ठका कविता (कवितासङ्ग्रह, २०६४ ), भावनाका लहरहरू (कवितासङ्ग्रह, २०६६ ), उज्यालो खोज्ने आवाजहरू (कवितासङ्ग्रह, २०६७), अर्को गोलार्धमा उभिएको मान्छे ( कवितासङ्ग्रह) २०७७) जस्ता कृतिहरू प्रकाशित  छन् । उहाँ नेपाली साहित्य प्रतिस्ठान, उत्तर अमेरिकाका अध्यक्ष हुनुहुन्छ भने अरू धेरै सङ्घ संस्थाहरूमा पनि अबद्ध हुनुहुन्छ । उहाँ सम्पादक तथा समीक्षक पनि हुनुहुन्छ । विभिन्न पुरस्कारबाट सम्मानित उहाँ विदेशमा रहेर नेपाली साहित्यको सेवा र साधनामा समर्पित प्रतिभा हुनुहुन्छ । हाल उहाँ भर्जिनिया, अमेरिकामा बसोबास गर्नुहुन्छ।

प्रस्तुत छ, साहित्यकार बसन्त श्रेष्ठसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

० ० ०

तपाईं व्यस्त हुनुहुन्छ तै पनि अध्ययन, लेखन र पुस्तक प्रकाशन लाई कसरी समय मिलाई रहनु भएको छ ?

– समयले मानिसलाई होइन व्यक्तिले समयलाई व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यता बोकेको मान्छे म । तसर्थ समय आफ्नो अधीनमा रहेको कारणले व्यवस्थापन गर्नुमा कुनै अप्ठेरो महसुस मैले गर्न परेको छैन ।

साहित्य, जीवन र दर्शन आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नु भएको छ ?

– यी सबै एक अर्काका पर्याय कुरा हुन् । एकले अर्कोसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हरेक प्राणीमा यी सबै अन्तर्निहित हुने कुरा हुन् । तर त्यसलाई कसरी ग्रहण गर्ने र आत्मसात् गर्ने कुरामा भर पर्ने कुरा हुन् । म साहित्यलाई अवलम्बन गर्छु । जीवनमा सधैँ सदाचार धारण राख्ने गर्छु । व्यवहारिक र सापेक्षिक दर्शनको विचार बोकेर आत्मालाई शुद्ध पारेर सुन्दर प्राकृतिक दृश्यको छटा लिएर जिउने कोसिस गर्छु ।

बसन्त श्रेष्ठ

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ? पाश्चात्य साहित्य र पूर्वीय साहित्यिकमा  के फरक पाउनु हुन्छ ?

– म आफूलाई जाँगरिलो लेखक मान्दिन । म मध्यममा पर्छु होला शायद ।

पूर्वीय दर्शन पश्चिमी दर्शनको गुरु हो । मतलब हरेक प्राणीको सुरुका वैयक्तिक, सामाजिक र राजनीतिक व्यवस्थाका उच्चतम सिद्धान्तका प्रतिपादक नै पूर्वीय दर्शन हो । त्यसैले प्रत्येक बस्तुलाई पूर्वीय दर्शन द्वारा विचरण गरियो भने सांसारिक प्रत्येक चिजको विकास सहज हुने गर्दछ । यो कुरा भर्खरै हामीमा कोरोना कहरको विपत्तिको समयमा पनि प्रमाणित भएको कुरा हुन् ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– यो प्रश्नमा मेरो पुरा समर्थन छ र पूर्ण विश्वास पनि छ ।

तपाईंले साहित्यमा निकै कलम चलाउनु भएको छ तर तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्छन् नि किन ?

– यो प्रश्नमा त्यति विश्वास गर्दिन । किनभने म आफूलाई त्यति प्रतिभाशाली व्यक्ति ठान्दिन ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?

– मेरो लेख्न प्रेरणाको श्रोत नै मेरो दिवङ्गत पूज्य पिताजी हुन् । मेरा पिताजीले  भारतमा उच्च अध्ययन गर्नु भए पछि आफ्नो गाउँमा साक्षरता अभियानको लागि विसं २००४ सालमा श्री सिंह बाहिनी मिडिल स्कुलको स्थापना मात्र गर्नु भएन । संस्थापक हेडमास्टर भएर पनि  धेरै वर्ष शिक्षक भएर काम गर्नु भो । स्कुल अहिले पनि सञ्चालनमा छ र बुबा आफ्नो पुरा नामले भन्दा पनि एनएम सर  नाम बाट आज पनि चिनिने गर्नुहुन्छ ।

वहाँकै लालन पालन, शिक्षा र दीक्षाबाट साहित्यका लेखन र सम्पादनमा पनि प्रेरणा मिलेको हो । विसं २००८ देखि नै बुबाले हस्तलिखित पत्रिका “मगज” स्कुलबाट निकाल्नु भएको थियो । वहाँले कथा, कविता र नाटकहरू पनि लेख्नु भयो । बुबाकै प्रेरणाबाट मैले सानै उमेर देखि कविता लेख्ने गर्थें । म बाह्र वर्षको उमेरमा भाइ कवि विश्व विमोहन श्रेष्ठ सँग मिलेर “तीनजुरे” हस्तलिखित पत्रिका निकालेका थियौँ ।

खालि समय कसरी बिताउनु हुन्छ ?

– फुर्सदको समयमा साहित्यिक पुस्तक पढ्ने र समाचार हेर्ने गर्छु ।

तपाईंलाई मुक्तक गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? 

– साहित्यका सबै विधा मलाई मन पर्छ। धेर थोरका कुरा मात्र न हुन् । सबै नै पढ्ने गर्छु । साहित्यमा मुक्तक,कविता, गीत र संस्मरण लेख्ने गर्छु । तर उपन्यास पढ्न मन पर्छ । साहित्य राम्रो लेखनको लागि अध्ययन र अभ्यास नै ठुलो कुरा हो । त्यसमा लगनशीलता भयो भने त सुनमा सुगन्ध भई हाल्यो ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुहुन्छ ?

– वर्तमानमा प्रविधिको उच्चतम विकासले गर्दा साहित्यिक पत्रकारिताको विकास पनि धेरै चुलिएको महसुस गर्छु । विभिन्न नयाँ नयाँ प्रविधिबाट साहित्यिक खुराकहरू प्रेषित गरिरहेको पाएको छु । यसको विकासप्रति म उत्साहित नै छु भन्दा फरक नपर्ला ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– साहित्यकारले लेखेर बाँच्नको लागि मेहनत गर्नु पर्छ । धेरै भन्दा धेरै पाठकले मन पराउने साहित्य सिर्जना गर्न सक्नु पर्छ । अध्ययन, मनन र लेखनमा माझिन सक्नु पर्छ । अहिले साहित्यका पाठक छन् । तर उच्चस्तरको साहित्य सिर्जना गर्न सकेका छैनौँ ।

साहित्यको मापदण्ड के हो ?

– साहित्यको मापदण्ड निर्दिष्ट, निर्धारित र विधान हुँदैन । सबैको आ-आफ्नो विचार, भावना र रुचि अनुसारको साहित्य मन पराउने भएको कारणले त्यसको निश्चित मापदण्ड हुन्छ भन्ने मलाई लाग्दैन । तर मेरो विचारमा र मलाई त्यो साहित्य मन पर्छ जुन साहित्यले मानव जीवनको सरोकारको विषयलाई अभिव्यक्त गर्दछ । संक्षेपमा जीवन र जगतलाई सूक्ष्म रूपमा  अभिव्यक्त गरेको साहित्य नै आजको मूल साहित्य हुनु पर्छ भन्दा फरक नपर्ला !

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– साहित्य, समाज र राजनीतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अग्रगामी समाजको लागि साहित्यले राजनीतिलाई डोर्याउन सक्नु पर्छ । साहित्यले समाजको पछि होइन अघि लागेर समाजलाई उचित बाटोमा डोर्याउन सक्नु पर्छ । यस अर्थमा हामी चेतनशील नागरिक भएको नाताले नेपालको राजनीतिलाई सूक्ष्म रूपले नियालिरहेकै हुन्छौँ ।

वर्तमानको नेपालको राजनीतिलाई मध्यनजरले हेर्ने हो भने देश विकासको लागि नयाँ आशा, नयाँ उमङ्ग र नयाँ विश्वासहरू जाग्न लागेको देखिँदै छ । जुन अति राम्रो सङ्केत हुन् भन्दा फरक पर्दैन । रूढ, पश्चगामी र सङ्कीर्ण विचारले देशको उन्नति र प्रगति हुँदैन । त्यो बाधक हुन् । तसर्थ अब अन्ततोगत्वा देशले काँचुली नफेरी सुखी छैन । जुन वर्तमानमा केही सङ्केत देखा परिरहेको देखिन्छ । जुन राम्रो लक्षण हो । म आशावादी छु ।

अहिलेको साहित्यमा विचार युग चेतना विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ।

– प्रविधिको उच्चतम विकासले गर्दा विश्व आज एउटा सहर बजार नभएर एउटा सानो गाउँमा परिणत भएको छ । विश्वका हरेक कुनाको व्यक्ति सँग निसङ्कोच कुनै व्यवधान बेगर सम्पर्क स्थापित गर्न सकिन्छ । खबर भनौँ या अन्य कुनै उपलब्धि एक निमेषमा आदान प्रदान गर्न सम्भव भएको छ । सम्पूर्ण चेतनशील व्यक्तिहरूको चेतनाको स्तर सीमाहीन भएको पाइन्छ । कुनै पनि विषय वा स्थानको कुराले छेकबार भेटिँदैन । मानवले आफूलाई  ज्ञानको भण्डारमा परिवर्तित गरिरहेको देखिँदै छ । तसर्थ आजको युग विकासले चरम उन्नति र प्रगति गरिरहेको समय हो ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– अहिलेको प्राविधिक विकासको अवस्थाले हरेक कुराको लागि सर्व सुलभ बनाएको छ । सामर्थ्य हुनु पर्यो । चाहना राख्नु पर्यो । कोसिस गर्न छोड्नु हुन्न । सफलता प्राप्त हुने गर्छ । यी नै सबै कारणले गर्दा साहित्यको लागि मात्र नभएर हर क्षेत्रमा सम्भावना प्रशस्त भेटिन्छ । त्यसको लागि क्षमता, कोसिस र चाहना हुनुपर्छ सफलीभूत बनाउँछ भन्दा केही फरक पर्दैन । तर केही अपवाद छोडेर प्राप्ति सर्वसुलभ छ तर त्यसको गरिमा हलुको महसुस हुन्छ ।

अहिले सम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– हाल सम्म मेरो प्रकाशित पुस्तकहरू –

१. बसन्त श्रेष्ठका कविता – कविता सङ्ग्रह विसं २०६४ साल

२. भावनाका लहरहरू – कविता सङ्ग्रह , २०६६ साल

३. उज्यालो खोज्ने लहरहरू – कविता सङ्ग्रह २०६७ साल

४. अर्को गोलार्धमा उभिएको मान्छे -कविता सङ्ग्रह २०७७ साल

५. अँगालो भरिको अनुभूति – संस्मरण  २०७९ साल

६. नारायणमान श्रेष्ठ इतिवृत्त – जीवनी २०७९ साल

 

डायास्पोरिक साहित्यको बारेमा तपाईंको धारणा के छ ?

– डायास्पोरिक साहित्य भन्ने शब्दप्रति नै म त्यति सहजता लिन सक्दिन । डायस्पोरा शब्दको उत्पत्ति र व्यवस्थापनको कुरालाई मध्यनजरले हेर्ने हो भने यो विवादित देखिन्छ । डायस्पोरा साहित्य भन्नाले कसलाई र कसरी बुझ्ने र त्यसको मापदण्ड के हुन् भनेर अझसम्म पनि कहीँ कतै उल्लेख गरेको भेटिँदैन । यो कुरा लिखितम् नभएर हौवाको भरमा चलिरहेको देख्छु । हामी साहित्यकारलाई डायस्पोरा साहित्यकार भन्ने आधार के छन् त्यसको तय हुनु पर्यो । निर्क्योल हुनु पर्यो तब न त्यसको शब्दको ग्रहण गर्न सकिन्छ नि । हाम्रै नेपाली शब्द “अमेरिकाली नेपाली साहित्य” भन्न किन नहुने ? “प्रवासी नेपाली साहित्य” भन्दा के फरक पर्छ ? यी नेपाली शब्द हुन् । यसलाई ग्रहण किन नगर्ने ?

सन् २०१० को दशकतिर यो शब्दको प्रचार प्रसार हुन थाल्यो । २०१३ मा टेक्सास राज्यमा एएनए को सम्मेलनमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले एउटा गोष्ठीको आयोजना गरी सम्पूर्ण साहित्यकारको मनोभावना बुझ्नको लागि एक सेमिनारको आयोजना गरिएको थियो ।

डायस्पोरा किन, कसको लागि र के के आधारहरूको निर्क्योल गर्नको लागि कार्यपत्र प्रस्तुत गर्न र छलफलको कार्यक्रम राखिएको थियो । प्र. डा. गोविन्दराज भट्टराई (नेपाल), प्रा. डा. खगेन्द्र लुइँटेल (नेपाल) र अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी (अमेरिका) द्वारा कार्यपत्र प्रस्तुत गर्ने अन्य विद्वान साहित्यकारहरू सामेल भएर छलफलको कार्यक्रम निर्धारित गरिएको थियो । कार्यपत्रमा छलफल गरिने र घोषणा सभा नेपालमा गएर गरिने कार्यक्रम राखिएको थियो । ती कार्यपत्रहरू मसँग अहिले पनि सुरक्षित छ । कार्यपत्र प्रस्तुत गर्न र छलफलमा भेला हुन् नेपालबाट विभिन्न कारणले गर्दा अमेरिकामा कार्यपत्र प्रस्तुत गर्न आइपुग्न सक्नु भएन । सो कार्यक्रम सफल हुन् सकेन ।

तसर्थ हामी साहित्यकारलाई आप्रवासी नेपाली साहित्यकार भन्ने कि ? अमेरिकाली नेपाली साहित्यकार भन्ने कि ? या डायस्पोरा नेपाली साहित्यकार भन्ने । यी कुरा त हामीले आफै छान्नु पर्ने हो नि कारणहरू जानेर बुझेर । तर अहिले डायस्पोराको विषयमा विवादित नै देखिन्छ । तर मेरो डायस्पोरा शब्दसँग कुनै आपत्ति छैन । तर कुनै सभा, समारोह अनि  सम्मेलन गरेर प्रवासमा रहनु हुने साहित्यकारका मतका आधारमा नामकरण तय भएको भए कुनै कसैलाई आपत्ति नहुनु पर्छ । त्यसैले मेरो बिचारमा यी सबैको हल तय गर्नु पर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।

तपाईंको प्रश्नमा प्रवासमा नेपाली भाषा साहित्यको भरमग्दुर विकास र फैलावट भएको छ भन्दा फरक पर्दैन । तर सङ्ख्यात्मक भन्दा गुणात्मक र स्तरीय साहित्यको सिर्जना र प्रकाशन भएको खण्डमा हाम्रो साहित्यले पनि अन्तर्राष्ट्रिय स्तरमा काँधमा काँध मिलाएर अघि बढ्न सक्छ भन्ने मेरो ठम्याई छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?

– नेपालमा हास्यव्यङ्ग्यका प्रहसन, नाटक, टिभी सो र  चलचित्र मार्फत निकै स्तरीय र राम्रा राम्रा कार्यक्रमहरू प्रसारण भइरहेका छन् । यस अर्थमा हास्यव्यङ्ग्यका  लेखनहरू नलेखिएका होइनन् । तर हास्यव्यङ्ग्य साहित्यको प्रकाशन चैँ मेरो अनभिज्ञता हो कि मैले त्यति धरै पढेको र सुनेको छैन । भैरव अर्याल रामकुमार पाण्डे का हास्यव्यङ्ग्यका साहित्य अझै पनि अभाव महसुस हुन्छ ।

तपाईं अन्तर्राष्ट्रिय साहित्य समाजको तपाईं पूर्व अध्यक्ष पनि हुनुहुन्छ । अहिले यो संस्थालाई यहाँले कसरी हेर्नु भएको छ ? यहाँ अनेसासको वर्तमान प्राज्ञ परिषदमा पनि हुनुहुन्छ ।

– म यस संस्थामा रहेर काम गरेको पनि अब तिस वर्ष पुगिसकेछ । म यस संस्थामा सन् १९९४ सालदेखि जोडिएको हुँ । त्यसैले यो संस्थाको उतार चढावको एक जीवित साक्षी हुँ । यस अर्थमा यसको हरेक गतिविधिको सूक्ष्म रूपमा नियालिरहेको नै हुन्छु ।

वर्तमानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विश्व व्यापी करणको उन्नति, प्रगति र व्यापकता देखेर मलाई गर्व लाग्छ । अनेसासका ट्रस्टी, आजीवन सदस्य र पदाधिकारीहरूको उत्साह, उमङ्ग र हौसलाबाट म अति नै प्रभावित छु । यस संस्थाको पुस्तक प्रकाशन, कार्यक्रम तर्जुमा र पुरस्कार वितरणको र अन्य नियमित कार्यक्रम तारिफयोग्य नै छन् ।

संस्था, समय र परिस्थितिअनुसार चल्नु पर्ने हुन्छ । आजको बदलिँदो र प्रविधिको उच्च विकासको समयमा यस संस्थाले पनि पुरानो यथास्थिति लाई अझ विकसित र परिमार्जित गर्न आवश्यक छ भन्ने मैले देखेको छु । कार्यक्रममा स्तरीयता, प्रकाशनमा गुणात्मक रूपमा वृद्धि गर्ने र उच्चस्तरको साहित्य लाई प्रकाशन गर्ने भएमा यस संस्थाको भविष्य अझ उज्ज्वल र संस्थाको प्रगताेन्मुख हुन्छ भन्ने मेरो विश्वास छ ।

तपाईं अहिले के गर्दै हुनुहुन्छ ?

– वरिष्ठ तथा अग्रज साहित्यकारहरूसँगको मेरो सान्निध्य र वहाँहरूको सङ्क्षिप्त जानकारीको लेखहरूको सँगालोको पुनर्लेखन र मुक्तक सङ्ग्रहको अन्तिम तयारीमा काम गर्दै छु । अब चाँडै नै प्रकाशन गर्ने योजनामा छु ।

तपाईं चर्चित साहित्यकार हुनुहुन्छ । तपाईंको लेखनमा र अन्य साहित्यकारमा के फरक पाउनु हुन्छ ? तपाईंलाई मन पर्ने पुराना र नयाँ पुस्ताका कुन साहित्यकारलाई मन पराउनुहुन्छ र किन ?

– यो प्रश्नसँग म सहमत छैन । म त्यति चर्चित या कुनै वरिष्ठ पनि हुँ भन्ने म ठान्दिन । म एक नेपाली साहित्यको अथक सिर्जनशील व्यक्ति हुँ । साहित्य सिर्जना भनेकै एक आविष्कार हो भन्ने म मान्दछु । त्यसैले प्रत्येक इमानदार सर्जकको अन्य सर्जकको भन्दा सिर्जना अलग्ग र बेग्लै नै हुन्छन् । यही अर्थमा मेरो दाबी पनि यही नै हो कि अन्य साहित्यकारका भन्दा मेरो साहित्यिक सिर्जना बिचारले, लेखाइले, भाषा र शैली ले फरक नै छन् ।

नेपाली साहित्यका थुप्रै अग्रज र अन्य धेरै राम्रा साहित्यकार मेरो मन पर्ने हुन् । सबैको नाम लिनु र अन्यलाई छोड्नु त्यति उचित नहुने कारणले मैले नाम यहाँ उल्लेख गर्न असमर्थ रहेँ ।

भर्खरै निकाल्नु भएको पुस्तक कस्तो छ ? अन्य कविता तथा साहित्यमा फरक के छ ?

– मेरो नवीनतम दुई कृति प्रकाशनमा आएको छ ।

पहिलो कृति “अँगालोभरिको अनुभूति” संस्मरण कृति हो । यस भित्र मेरो बाल्यावस्था, उच्च अध्ययन, विद्यार्थी राजनीति र अमेरिका आउँदादेखि अमेरिकाका म संलग्न भएका विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरू एएनए, अनेसास, जिबिएनसी (बोस्टन), अमेरिका नेपाल सोसाइटी (वासिङ्टन डिसी) र अन्यसँगको मेरो संलग्नताको संस्मरणहरू रहेका छन् ।

दोस्रो कृति “नारायणमान श्रेष्ठ इतिवृत्त” । यो पुस्तक मेरो बुबाको जीवनी पुस्तक हो । यस पुस्तकमा बुबाले तेह्रथुम म्याङ्लुङ बजारमा गर्नु भएको सामाजिक, आर्थिक,  राजनैतिक अनि शैक्षिक क्षेत्रमा बुबाले गर्नु भएको योगदानको विस्तृत उल्लेख गरिएको छ । सत्तरी पचहत्तर वर्ष पुरानो दस्ताबेजहरू समावेश गरेर बुबाको योगदानको तथ्यगत कार्यहरूको विवरण समावेश गरिएको छ । अध्ययन अनुसन्धान गर्ने शाेधार्थीहरूको लागि यो पुस्तक धेरै लाभदायक हुन सक्ने मैले विश्वास गरेको छु  ।

अन्तमा पाठकलाई के भन्न चाहनुहुन्छ ?

– माथि नै थुप्रै प्रश्नका उत्तर आई नै सकेका छन् । प्रवासमा रहनु हुने सम्पूर्ण नेपाली भाषीहरूलाई मेरो अनुरोध छ । कृपया घरमा आफ्नो बालबालिकासँग आफ्नो मातृ भाषा नेपालीमै बोल्नु होला । किनभने भाषा नै मानव जीवनको परिवर्तनको मस्तिष्क र मुटु हो । भाषाले नै जातीय पहिचानको संवाहक हो । तसर्थ आफ्नो भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण संवर्द्धन र विकास गर्ने अभियानमा तपाईँ पनि जोडिनु होला । मेरो यही सबैमा अनुरोध छ ।