देवतापानी, दुराडाँडामा जन्मेका बहुआयामिक व्यक्तित्वका धनी तीर्थराज अधिकारी हाल अमेरिकामा हुनुहुन्छ । कवि अधिकारी, साहित्यमा एक सुपरिचित नाम भए तापनि मुक्तक साहित्यमा भने उहाँको नाम विशेष किसिमले लिने गरिन्छ । उहाँलाई “मुक्तकमणि” भन्ने गरिन्छ । मुक्तक लेखनमा उहाँको महत्त्वपूर्ण योगदान छ ।
प्रस्तुत छ, उनै तीर्थराज अधिकारीसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः
===
तपाईंको विचारमा साहित्य के हो ? तपाईंले कलम चलाउनु भएका साहित्यका विधाहरूलाई कसरी परिभाषित गर्न मन पराउनु हुन्छ?
कुनै लेखन वा पङ्क्तिहरूबाट जिन्दगीलाई स्पर्श हुनु नै साहित्य हो। कसैले “आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रूप नै साहित्य हो” भनेका छन्। साहित्यलाई हामीले पानी जस्तै निर्मल बनाउनु पर्दछ, जस्तो पानी जसले पिउँछ उसैको तृष्णा मेटिन्छ, त्यस्तै साहित्य पनि जसले पढ्यो उसैको जीवन बोल्नु पर्दछ। यदि कुनै साहित्यकार आफ्नो भाषाको आग्रह गर्दछ भने ऊ आफ्नो सारा स्मृति तथा संस्कारको आग्रह गर्दछ, स्वतन्त्र राष्ट्रको आफ्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ।
कविको संवेदनशीलता पाठकको संवेदनशीलता भन्दा केही अगाडि हुनु पर्दछ। साहित्य अभिव्यक्त मात्र हुँदैन यो सम्प्रेषित पनि हुन्छ। जहिलेसम्म साहित्य पाठक वर्गसँग पुग्दैन तबसम्म अधुरो रहन्छ। पाठक वर्गले सहज अनुभूति गर्न सक्ने साहित्य नै वास्तविक साहित्य हो। कविले केवल कविताको लागि मात्र लेख्नु हुँदैन। कविता समाजको लागि लेखिनु पर्दछ, मानवताको लागि लेखिनु पर्दछ। समाजभित्र प्रिय कविता सङ्कलन गर्नु पर्दैन, आफैँ सङ्कलित हुन्छ। कहिलेकाहीँ आफैँले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ, त्यस्तै कहिलेकाहीँ साहित्यिक जगतलाई गैह्र साहित्यिक आँखाले हेर्न जरुरत हुन्छ। अन्याय, भेदभाव र कुरीतिको विरुद्ध लेखिएको साहित्य जनप्रिय हुन्छ। साहित्यकारले समाजको नाडी छाम्दछ र उपचारतिर लाग्दछ। साहित्यकार स्वप्न द्रष्टा मात्र होइन भविष्य द्रष्टा पनि हो। साहित्यको सर्वोत्तम परिभाषा “जीवनको आलोचना” पनि हो। -मैथ्यू आरनाल्ड। मेरो विचारमा सत्य र सुन्दरताको बयान नै साहित्य हो।
साहित्यिक जगतमा तपाईंलाई “मुक्तक मणि” भनेर चिन्दछन्। तपाईंकाे परिभाषामा मुक्तक के हो ?
“शब्द र अर्थको बिचको भाव नै मुक्तक हो”। प्रबन्ध काव्य एक वनस्थली हो भने मुक्तक एक फूल गुच्छा भनिन्छ। मुक्तक काव्यको यस्तो विधान छ जसमा कुनै कथाको पूर्वापर सम्बन्ध हुँदैन, प्रत्येक बनावट आफैँ पूर्णतः स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै रूप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्र मात्र उपस्थित हुन्छ। कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलता पूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ। कुशलतापूर्वक सृजन गरिएको स्वयममा पूर्ण, अपेक्षाकृत लघु रचनालाई मुक्तक भनिन्छ।”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”(अर्थात् चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ) ।
मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन। एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न पर्याप्त हुन्छ। यसले पाठकको उच्छ्वसितता जीवनमा एउटा नयाँ अङ्ग स्थापित गरिदिन्छ। मानव जीवनलाई उन्नत बनाउँछ, उत्कृष्ट तथा अलौकिक आनन्द सित परिचित गराउँछ। कुनै पनि मुक्तकको शिष्टता, सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ। एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ, गुम्फित हुन्छ र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ। यस कारणले कुनै साहित्य सम्मेलन वा सांस्कृतिक प्रदर्शन हुँदा आरम्भमा नै कुनै आकर्षक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो,जसले गर्दा आमन्त्रित महानुभावहरूको ध्यान आकर्षित गरोस्।
हिजो र आजको सिङ्गो नेपाली साहित्यलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
हिजोको साहित्य भावनाप्रधान थियो भने आज विचारप्रधान भएको छ। आजको समाजले साहित्यमा स्वर खोजेको हुन्छ। छिटो र छरितो प्रक्रिया अपनाउन चाहेको हुन्छ। आजको साहित्यले आधुनिकता खोजेको छ। यो प्रविधि र युगको माग हो। युग सापेक्ष साहित्यमा नवीनतम निखार आउन पर्दछ।
अब साहित्य जति सक्यो अपेक्षाकृत लघु हुनु नितान्तता आवश्यक छ। मोबाइल, इन्टरनेटको जमानामा महाकाव्य तथा उपन्यास जस्ता ठुला पुस्तक खरिद गरेर अध्ययन गर्ने समय सबैलाई उपलब्ध नहुन सक्दछ।
घरदेश र परदेशको गति र गुणस्तरीयतालाई कसरी हेर्नु भएको छ?
जति नेपाली युवा परदेश जान्छन् आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन्। प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र आआफ्नो उपज हो। साहित्य त एक माध्यम हो। नेपाल भन्दा टाढा अन्य विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ ।
प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेको हुन्छ। आफू जहाँ रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन, सिद्धान्त तथा चिन्तन सँग जोडिएको छैन। यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण पनि गरेको हुन्छ। तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन। यसै भएर नै प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए। प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कारसित जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन्। त्यही मेसोमा निम्न लिखित विषयहरू पनि समाविष्ट गर्दै संवेदनाको एउटा बिटो बनाउन सकेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सबैको सह्रानीय बन्न सक्ने छ र सकोस् पनि….।
अनेसासले जुन पहिचान स्थापित गरेको छ, जसरी नेपाली अस्मिता जोगाएको छ त्यो पहिले हुन सकेको थिएन। हामीसँग नेपाली साहित्यको जुन विरासत छ त्यो सुरक्षित राखेर भावी पिँढीलाई सुम्पनु पर्दछ। अनेसासको माध्यमबाट नेपाली संस्कृति जीवित र सुरक्षित छ।
तपाईंका सिर्जनाले समाजलाई केही दिए जस्तो लाग्छ ?
साहित्य मनोरञ्जन मात्र होइन। निरस पनि हुँदैन। साहित्य भरिलोको साथै खँदिलो पनि हुन्छ। निरस साहित्य त विज्ञान हो। अनुभूतिको तिव्रता र भावनाको प्रधानता साहित्यको जीवन्तता हो। समाज र साहित्यलाई जोड्ने रसायन (वस्तु) भनेको नै संवेदना हो। भावनाको पुञ्ज र अनुभूतिको आभास भयो भने साहित्य श्रेष्ठ हुन जान्छ। श्रेष्ठ रचना तब सिर्जना हुन्छ जब दिल र दिमाग दीप र दृष्टि बन्दछ। यो साहित्य पठनीय र ग्राह्य हुन जान्छ। श्रेष्ठ साहित्यले जीवनको यथार्थता प्रकट गर्दछ। मानिसको चरित्र निर्माणमा पनि सहायक बन्दछ। साहित्य निर्माणको उद्देश्य मानव उपयोग, मानव कल्याण र मनोरञ्जन हो। मान्छेले साहित्यलाई दैनिक रूपमा जिन्दगीसँग मिसायो भने सफल जिन्दगी बन्दछ। यसैकारण पनि मेरा मुक्तकहरूमा यथार्थता झल्किन खोजेका हुन्छन् भन्ने ठानेको छु।
साहित्य साधन हो कि साध्य ?
प्रारम्भमा साहित्य भाषा निर्माणमा लाग्यो। भाषाले स्थायी रूप लिन थाले पछि मात्र परिमार्जित साहित्यिक चिन्तन पट्टि समाजको ध्यान गएको हो। भाषाको स्थायित्वले विचार र भाव पैदा गरायो। जीवनको वास्तविकता र अनुभूति दर्साउने भाषा वा लेखनलाई नै साहित्य भनियो। भाव र विचार प्राधान्य साहित्यले मानिसको हृदयलाई स्पन्दित गर्दछ। यसले सुसंस्कृत समाज निर्माण गर्न बल पुर्याउँछ। असल समाज निर्माणमा साहित्य एक साधन हो भन्न उपयुक्त ठान्दछु।
राजनीतिक समवयस्कहरू वर्तमान देशको नेतृत्व गरेका छन्, तपाईं ?
मैले प्रायः नभन्ने गरेको विषय उक्काउनु भयो। सहपाठी त नभनूँ, राजनैतिक चिन्तन र योगदानमा होमिएका साथीहरू अहिलेको अवस्थामा देशको जिम्मेवारीमा रहनु भएको छ। यो देख्दा खुसी नै मानेको छु। मैले राजनीतिमा निरन्तरता दिन सकिन। जीवन निर्वाहको लागि कुनै व्यापार या व्यवसाय गर्नै पर्दो रहेछ। आर्थिक श्रोत मजबुत नहुनेले सामाजिक क्षेत्रमा पाइला टेक्दा धर्मराइँदो रहेछ। साथीहरू निरन्तर लागिरहनु भयो। मैले सकिन। पञ्चायती कालमा राजनीति कठिन थियो। म अडिन सकिन। सरकारी जागिर समातेँ। सुरुमै अधिकृत स्तरमा प्रवेश गरेँ। लोकसेवा पास गरेर। साथीहरू सित लोकसेवा दिने तयारी नहुन पनि सक्दछ। साथीहरूले अवसर पाउँदासम्म त मेरो निवृत्त भरण हुने बेला भैसकेको हुँदो हो।
प्रतिष्ठित पद र प्रतिष्ठा, व्यक्तित्वमा के फरक देख्नु हुन्छ ?
दयालु, इमान्दार, नैतिकवान् र सदाचारी मानिसलाई सबैले श्रद्धा गर्दछन्। श्रद्धा भन्नु नै प्रतिष्ठा हो। प्रतिष्ठाले समाजमा कुनै व्यक्तिको स्थिति निर्धारण गर्दछ। प्रतिष्ठाको मापन हुँदैन। प्रतिष्ठा आफै प्रभावकारी हुन्छ। कुनै पनि व्यक्तिले प्राप्त गरेको विश्वास, भरोसा र निष्कलङ्क व्यवहार प्रतिष्ठाको परिचायक हुन्। प्रतिष्ठित व्यक्तिले समाजमा उच्च स्थान ओगटेको हुन्छ। प्रतिष्ठाले कसैलाई पनि चोट पुर्याएको जानकारीमा छैन।
प्रतिष्ठित पद भन्नाले सरकारी ओहदा वा निर्वाचित पद भन्ने जनाउँछ। मर्यादा क्रममा उच्च पदलाई प्रतिष्ठित पद भन्ने गरिन्छ। जुन पदसँग अधिकार, हैकम, निर्णायक शक्ति केन्द्रित छ त्यही पदलाई प्रतिष्ठित पद भन्ने गरिन्छ। फरक यत्ति मात्र हो प्रतिष्ठित पदमा अ प्रतिष्ठित व्यक्ति पनि पुगेको हुन सक्दछ। प्रतिष्ठा कमाउन वा प्रतिष्ठित हुन सहज छैन। प्रतिष्ठासित त्याग, तपस्या र नैतिकता पनि जोडिएको हुन्छ।
लोक साहित्य वा लोक जीवन ?
लोक जीवनसँग मेरो गहिरो लगाव हो। मेरो गाउँ प्राकृत मात्र थिएन सजक पनि हो। मेरो साहित्यको श्रोत भन्नु नै गाउँले परिवेश, बनपाखा, लहरा झरना, मेलापात र ऐँचो पैँचो यही नै हो। यही परिवेशबाट मेरो लोक चेतना जागृत भयो। लोक साहित्यमा लोक मानवको आवाज आउँछ। प्रकृति बोल्दछ, गीत गाउँछ। लोक साहित्यको सौन्दर्य असीमित र अवर्णनीय हुन्छ। लोक साहित्यको भाषा शिष्ट र शास्त्रीय हुँदैन। यो सामान्य जनभाषा हो। यो लिखित साहित्य होइन, मौखिक हो, अनुभूति जन्य विषय हो।
साहित्यकारको विश्व दृष्टि भनेको के हो ?
विश्व दृष्टि सापेक्ष साहित्य रचना हुनु पर्दछ। सङ्कुचित सीमा बाहिर गएर साहित्य सृजन हुनु जरुरी छ। संसारको विषय सोच्नु पर्यो। अनेसास विश्वभर फैलिएकोले यसले विश्व दृष्टि अपनाएको छ। साहित्यमा जीवनको व्यापक चित्र उतारिएको हुनु जरुरी छ। ऐतिहासिक, मनोवैज्ञानिक, तथा सामाजिक पक्ष समेटिएको साहित्य नै कालजयी बन्दछ। साहित्यले अतीतबाट प्रेरणा लिएर वर्तमानलाई निर्देशन गर्दछ। जुन कुरा व्यापक रूपमा प्रदर्शित हुन्छ, समाजले त्यही देख्दछ। किनभने समाजले जुन चिन्तन गरेको हुन्छ त्यही कुरा समाजमा देखिने हो।
अन्तर्राष्ट्रिय नेपाली साहित्यलाई कसरी रोचक बनाउने ?
नयाँ पाठकलाई आफूले जानेको कुरा मात्र जबरदस्त लाद्नु हुँदैन। सामाग्री नै रोचक हुनु पर्दछ। विषय वस्तु नै रुचिकर हुनु जरुरी छ। बोलीचालीको भाषा सरल र सरस हुनु पर्दछ। जसको कोही छैन उसको पक्षधर साहित्य हुन्छ।
साहित्यले कहिल्यै पक्षपात गर्दैन।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।