मैले अस्ति पनि भनेको थिएँ र आज पनि भन्दै छु कि कवितामाथिको पहिलो रियालिटी शो “दो पोइट आइडल”सँग सम्बन्धित व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रम जारी नै छ । त्यसैले आजको बसाइमा आइडलको फाइनल राउन्डसम्म पुग्न सफल चार जना कवि मध्ये एक भोजपुरका मिल्सन राईसँगको कुराकानी राख्नेछु । कवि राईको जन्म भोजपुरमै भएको हो । माता फूलमाया तामाङ र पिता मिलन राईका उहाँ एक्लो सन्तान हुनुहुन्छ । यति बेला भने उहाँ ललितपुरमा बस्दै आउनु भएको छ । उहाँ कवितामा गद्य र  पद्य दुवैमा बराबर कलम चलाउनु हुन्छ ।

अब लागौँ पोइट आइडलको सेरोफेरोमा रहेर कवि मिल्सन राईसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।

कवितामाथिको पहिलो रियालिटी शो “द पोइट आइडल”को फाइनल राउन्डसम्म पुग्नु भयो । यस हिसाबले हेर्दा आइडलको यात्रा लामै रह्यो । आइडलपछि चाहिँ कवितासँगको यात्रा कसरी अघि बढिरहेको छ ?

– बढिरहेको छ । बढिरहने छ भन्ने आशाले नै बढिरहेको छ । भाग्यमानी पनि रहेछु, फाइनलसम्म पुग्न सफल जो भएँ । धेरै अवसरहरू पाइरहेको छु । अब चाँडै नै केही सुन्न पाउनु हुनेछ— म आजभोलि केमा अस्तव्यस्त छु भनेर । प्रतीक्षामा बसिरहनुस् है ।

पोइट आइडलमा भाग लिएर फाइनलसम्म पुगिसकेपछि एक किसिमको चर्चा र  परिचय त बन्यो नै । यसले थप चुनौती र जिम्मेवारी पनि बोध गराएकै होला । यो थपिएको चुनौती र जिम्मेवारीलाई आगामी दिनमा चाहिँ  कसरी पूरा गर्ने योजना बनाउनु भएको छ ?

– मूलतः लेखेका कुरा बाँच्दै अनि लेखनीलाई निरन्तरता दिँदै । यो भन्दै गर्दा, अर्को कुरा के पनि हो भने नि— म केवल एउटा “आयाम”भित्र अटाउॅंदिन। यो कुरामा म पहिल्यैदेखि अवगत थिएँ । धेरै योजनाहरू बनिरहेका छन् । पहिल्याउॅंदै छु ।

लामो समयको सङ्घर्षपछि कहिले कविताको बलले त कहिले भोटको साथले फाइनलसम्म पुग्नु भयो । फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित हुनु पर्दा चाहिँ मन कत्तिको कुँडिँदो रैछ ?

– भोगटे खाएको पो याद दिलाउनु भो’ । लु, तपाईंकै भाष्य प्रयोग गरेर भन्न पऱ्यो, कुँडिँदो रै’न छ । मलाई त खुसी पो लागिरहेको थियो । न पत्याए पुनः “फिनाले” र “बिहाइन्ड द सिन”को एपिसोड हेर्नुस् त ।

पोइट आइडलको भोटिङ राउन्ड सुरु भएदेखि यता जम्मा दुई पटक रेड जोनमा पर्नु भयो । यसको मतलब तपाईंलाई भोटको राम्रै साथ थियो भन्न पर्छ । फाइनल प्रवेश गर्दै गर्दा “उपाधि त मेरै हो” भन्ने चाहिँ लागेको थिएन ?

– धेरैले भोट गर्नु र धेरै भोट गर्नुमा अन्तर हुन्छ । मानवीय प्रवृत्तिभन्दा माथि मेरो पनि मानवता न होला । हरेक मानव जित्ने अठोट लिएरै जन्मेको हुन्छ । तर म “द पोइट आइडल”मा जित्न आएको थिएँ, कसैलाई हराउन हैन । जब कवि पिङ्की बोहरासॅंग पहिलो पटक म “आशु कवि राउन्ड” मा परेँ  र तोकिएको समयभित्र कविता लेखिसकेर म सेफ भएँ, तब मभित्र ग्लानिबाहेक केही थिएन । ग्लानि, केवल ग्लानि । क्लोज-क्याम्पमा पुग्नासाथ पिङ्कीजीलाई मैले मनमा लागेका कुराहरू सबै भनेँ । उहाँले पनि धेरै सम्झाउनु भयो मलाई ।

फाइनलमा पुगेपछि तपाईं आफूबाहेक यदि अर्को कसैले पोइट आइडलको उपाधि लैजान्छ भने त्यो उपाधि कसको हातमा जाला भन्ने सोच्नु भएको थियो ?

– म, प्लप् मामा (पल्लबीव सिंगोकलाई मैले मामा बनाएको नि, हाहा…) र नीलम, हामी तीन जना छतमाथि थियौँ राती । तब यसबारे लामो कुराकानी भएको थियो । तब जे जे कुरा भए, हामी तीन जनालाई मात्र थाहा छ । पछि चिहानसम्म पुग्न सकोस् । इट इज ह्वाट इट इज ।

पहिलो पोइट आइडलको उपाधि भारतीय नेपाली साहित्यको हातमा परेको छ । उपाधिलाई लिएर कत्तिको सन्तुष्ट हुनुहुन्छ तपाईं आफू चाहिँ ?

– सन्तुष्ट छु ।

सामान्यतया कुनै कविता प्रतियोगिताहरूमा सहभागी कविले आफू विजेता नभएपछि विजेता भएको अर्को कविलाई सार्वजनिक रूपमा बधाई तथा शुभकामना दिने चलन नेपाली कविहरूमा खासै पाइँदैन । तर तपाईंले चाहिँ नीलम गुरुङलाई बधाई दिनुभएको थियो सामाजिक सञ्जालमा । मिल्सन राई साँच्चै खुल्ला हृदय भएको कवि हो ?

– हामी सबै जनाले शुभकामना र बधाई दिएका थियौँ । मैले म खुल्ला हृदयको हुँ भनेर श्रेय कसरी लिऊॅं ?

मैले गोप्य रूपमा थाहा पाएको एउटा कुरा, पोइट आइडलको क्लोज क्याम्पमा बसिरहँदा “पोइट आइडलको उपाधि त मैले नै लाने हो, म त उपाधि जित्न नै आएको हो” भन्नुहुन्थ्यो अरे साथीहरू माझ । यो साँचो हो ? कि साथीहरूको बिचमा मजाक मात्र थियो ? कि मैले सुनेको चाहिँ गलत हो ?

– हामी प्रायः जसो “फूलबारी”मा “किमा-नुडल्स” खान जान्थिम् । तपाईंको गोप्य सूचकले यो भन्न बिर्सिनु भएछ नि हाहा । यो त ठट्टा हो । सुरुसुरुमा सबै जना मेरो लागि “प्रतिस्पर्धी” मात्रै थिए । यात्राको अन्त्यसम्म आइपुग्दा “परिवार” भए ।

पोइट आइडलको मञ्चमा पहिले पनि  एक पटक रेड जोनमा परिसक्नु भएको थियो र पछि फाइनल पुग्नु भन्दा एक कदम अगाडि आएर फेरि पर्नु भयो । त्यो नै आइडलको अन्तिम भोटिङ आउट  राउन्ड पनि थियो । अन्तिम पटक रेडजोनमा पर्दै गर्दा “मेरो यात्रा यति नै रहेछ” भन्ने लागेको थियो कि ? अथवा “कविताको बलले भए पनि फाइनलसम्म त पुग्छु नै” भन्ने लागेको थियो ? के चलिरहेको थियो मनमा त्यति बेला ?

– केही थिएन । कवि अनुप न्यौपाने ( ए.जे. बब) को “आशु कवि राउन्ड” को रेकर्ड कसैले पनि न तोडोस् मबाहेक भन्ने मात्रै थियो । हा हा हा… । ए.जे. बब मेरो लागि “ब्रदर-फिगर” हुनुहुन्थ्यो/हुनुहुन्छ, मलाई सधैँ हौसला र साथ दिने । सिजनको अन्तिम आशु कवि राउन्डमा ए.जे. बब बिमार पर्नु भएको थियो । त्यसले उहाँको आशुत्वमा असर गऱ्यो । यो प्रसङ्ग किन जोड्न पुगेँ भन्दा, म ए.जे. बबलाई फाइनलमा देख्न चाहन्थेँ । यी यावत् कुराहरू नै चलिरहे मनमा ।

आइडलको मञ्चमा दुई पटकसम्म रेड जोनमा परेर “आशु कवि राउन्ड” मा आधा घण्टाभित्र कविता लेख्नु पर्दाको सकस पनि सुनौँ न ।

– मलाई चाहिॅं भएन सकस । प्लप् मामा (पल्लविब) सधैँ चिन्ता लिँदै भन्नुहुन्थ्यो, “भान्जो, म त एक चोटि रेड जोन अर्थात् बटम टुमा परेँ भने त सिधै आउट हुन्छु । कसरी लेख्न सक्नु ? तीस मिनेटभित्र ?”

म पनि “हावा कुरा नगर्नू, प्लप् मामा । बाहिरबाट हेर्दा मात्रै त्यस्तो लाग्ने हो । आफू पर्दाखेरि दिमाग चल्छ । लेखिन्छ हौ !” भन्ने गर्थेँ । पछि लेखेरै हामी दुवै फाइनलमा पुग्यौँ ।

पोइट आइडलको मञ्चमा वाचन गरिएका तपाईंका कविताहरूमा पहिचानका स्वरहरू, पहिचानका मुद्दाहरू, अस्तित्वको लडाइँ, विद्रोहका झिल्काहरू राम्रैसँग देख्न पाइयो । मिल्सन राई आफूलाई विशेष गरी  पहिचानवादी कविको रूपमा स्थापित गराउन चाहन्छ हो ?

– (हो ! हैन ! हो .! हैन .! हो..!! हैन ..! हो शायद । हैन शायद ।) मेरा अन्तर्विरोध हुन् यी । विरोधाभास ।

पोइट आइडलको फाइनल प्रवेश गर्दै गर्दा तपाईंले भनेको कुरा सापटी लिन मन लाग्यो । “यो यात्राले उपाधि जित्ने नजित्ने आफ्नो ठाउँमा छ । तर म यहाँबाट निस्किएपछि एउटा बेटर ह्युमन भएर निस्किने रैछु भन्ने कुरामा चाहिँ म विश्वस्त नै छु” भन्नुभएको थियो । पोइट आइडलको यात्राले त्यस्तो के चमत्कार गर्यो र यसो भन्नुभयो ?

– “द पोइट आइडल” आफैँमा चमत्कार हो र यसको भागीदार हुन पाएँ । म अत्यन्तै भाग्यमानी रहेछु । मेरो बाबा पनि यही भन्नुहुन्छ ।

पोइट आइडलकै दौरानमा “निर्माणभन्दा पनि विनिर्माणतिर लाँदै छु आफूलाई” भन्नुभएको थियो । सामान्य अर्थमा विनिर्माण भन्नाले चलिरहेको परम्परालाई भङ्ग गर्नु अथवा भनौँ चलिआएको धारभन्दा विपरीत धारमा हिँड्नु भन्ने बुझिन्छ । कुन मानेमा तपाईंले आफूलाई विनिर्माणको बाटोमा हिँडाउन खोज्नु भएको हो ?

– यो त भयङ्करै लामो हुन जान्छ । तपाईं कुनै दिन नेपाल फर्किनु भयो भने र प्रत्यक्ष भेट भएको बेला, कुनै “आर्ट एक्जिविशन”मा लगेर पेन्टिङ हेर्दै/हेराउॅंदै मेरो आफ्नो विनिर्माणको गति स्थितिबारे भन्नेछु है ।

 कविता लेखनका लागि हरेक हप्ता विभिन्न तरिकाले एउटा विषयवस्तु दिइन्थ्यो । विषयवस्तु दिइसकेपछि मोबाइलसमेत खोसेर राखिन्थ्यो । अथवा भनौँ कविहरूलाई एक किसिमले सबै कुराबाट टाढा राखिन्थ्यो र २४ देखि ३६ घण्टाभित्रमा कविता लेखेर बुझाइसक्नु पर्थ्यो । त्यस्तो अवस्थामा दबाब त पक्कै सिर्जना हुन्थ्यो होला । भने जसरी कविता पनि फुर्दैन थियो होला । फुरिहाले पनि अरूको भन्दा राम्रो भयो कि भएन ? भनेर चिन्ता पनि हुन्थ्यो होला ।  यी सबै भइरहँदा “पोइट आइडलले यो के सजाय दिएको होला ?” भन्ने पनि लाग्थ्यो होला है ?

– सजाय ? यही पाटो त ब्युटिफुल थियो ।

“दिइएको विषयवस्तुमाथि कविता लेख्न जति गाह्रो हुन्थ्यो त्यो भन्दा गाह्रो काम आफ्नो लागि भोट माग्न हुन्थ्यो” भनेर पोइट आइडलको भोटिङ राउन्डमा पुग्नु भएका अन्य कविहरूले भन्नुभएको छ । तपाईंको लागि चाहिँ कत्तिको सकसपूर्ण रह्यो यो भोट माग्ने कुरा ?

– हात फैलाएर नै कसैलाई अँगालिन्छ । मैले फैलाएँ, मलाई माया र विश्वास गर्नु हुनेले अँगाल्नु भयो न्यानो । पुँजीवादको विरोध गर्नेहरूले त भोट गरे हामी सबैलाई । गाह्रो पार्ने भनेको भोटले नपुग्ला र विश्वासी मनलाई पो असहज होला कि ? भन्ने मात्रै हुन्थ्यो ।

तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?

– सर्वस्व सबै भन्न पाई नि है ?

लामो समयसम्म पोइट आइडलको क्लोज क्याम्पमा रहनु भयो । त्यहाँको बसाइ चाहिँ कस्तो रह्यो समग्रमा ?

– शाकाहारी ।

द पोइट आइडल हुँदै छ भनेर थाहा पाएपछि त्यसमा सहभागी हुने कि नहुने ? भनेर तपाईंलाई सुरुमा दोधार भएको रैछ । कविहरूका लागि यति ठुलो कार्यक्रम आउँदा पनि सहभागी हुने विषयमा तपाईंलाई के कुराले दोधारमा पारेको थियो ?

– समयले । कमिट्मेन्ट दिन सक्छु होला र ? भन्ने कुराले मात्रै ।

डिजिटल अडिसनमार्फत पोइट आइडलमा सहभागी हुँदै गर्दा यसरी फाइनलसम्म पुगिएला भनेर त पक्कै सोच्नु भएको थिएन होला ? कि थियो ?

– सोचभन्दा पनि आकाङ्क्षा थियो । आकाङ्क्षा यो कि कविता भनिरहन पाऊॅं यो स्टेजमा ।

पहिले कविता लेखिरहँदा कुनै दिन यसरी कविताको पनि रियालिटी शो आउला भन्ने सोच आउँथ्यो कहिलेकाहीँ ?
– अमन सरको प्रशंसक मेरो बाबा “कृपा अनप्लग्ड”बाटै हुनुहुन्थ्यो । हामी दुवै जना गाना सुन्ने गर्थ्यौं र गाउने गर्थ्यौं । अमन सरको यो साहस, दृढ अठोट र वैचारिकीलाई सबै अग्रजहरूले पूर्वाग्रह नराखी हेर्ने हो भने र साथ दिने हो भने, विश्व साहित्यमा नै ठुलो फड्को मार्न सफल भइन्थ्यो ।

पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?

– कविता आफ्नै ठाउॅंमा छ, तर कविताले गर्दा जीवन सिकेँ ।

समग्रमा पोइट आइडलमा तपाईंको यात्रा कस्तो रह्यो ?

– अविस्मरणीय ।

पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो  प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– प्रभावबारे त मैले हैन, समयले बताउने हो ।

एउटा मुख्य कुरा त झन्डै छुटेको । लामो समयदेखि पालिरहेको कपाल पोइट आइडलको मञ्चमा काटिदिनु भयो । अथवा भनौँ कविताले मागेको कथालाई न्याय गर्नका लागि भनेर त्यति लामो आफ्नो कपाल नै त्याग गरिदिनुभयो कविता लागि । अलिअलि त माया पनि लाग्यो होला नै । यस प्रसङ्गलाई जोडेर के प्रश्न गर्ने भन्ने नै कन्फ्युज भयो । तपाईं नै भनिदिनुस् न त्यसका बारेमा ।

– क्रिएटिभ टिमसॅंग कुरा गर्दै गर्दा मैले जब “यो पर्फमेनस”मा म मुण्डन गर्न चाहन्छु भनेको थिएँ, सबै जना सक्ड् हुनु भएको थियो । अमन सरलाई प्रोसेस गर्नै अलि समय लागेको थियो, हाहा । सबै जनाको अनुहारमा त्यो, के भन्नु तर हुन्छ नि अर्कै भाव, हो त्यस्तै त्यस्तै देखेँ । म आफैँलाई थाहा थियो, मैले यस्तो गरेँ भने विवाद हुन सक्छ भनेर । तर जति विवाद आउॅंला भनेर सोच्या थिएँ, त्यति आएन, हाहा । तर स्टेजमा कपाल काट्ने ट्रिमरले राम्रोसॅंग काम गरेन । नत्र यतिखेर म टाक्ले हुने थिएँ । फाइनलमा कसरी पो टाक्ले भएर कविता वाचन गर्थें हौ भन्ने पो लागिरा’छ ।

यो कुरा नभन्दा पनि हुन्थ्यो होला । तर मलाई भन्न मन लाग्यो । “लामो कपाल भएको मिल्सन राई” भन्दा “छोटो कपाल भएको मिल्सन राई” नै बेसी ह्याण्डसम लाग्यो मलाई त । तपाईं आफूलाई चाहिँ कस्तो महसुस भइरहेको छ ?

– आइयाउऽऽऽ हा हा ! अँ ! सायद होला । कपाल काटेपछि धेरै जना राम्री राम्री केटीहरूले रिक्वेस्ट पठाउनु भा’थ्यो हाहा हा… । तर, म जसलाई मन पराउॅंछु नि, उसले मलाई “मिल्सन, तिमीले कपाल फेरि लामो नपालेसम्म, म तिमीसॅंग भेट्दिन ।” भन्या छिन् हाहा । अरू केही भन्न पर्छ त मैले अब ? हा हा …