कवितामाथिको पहिलो रियालिटी शाे “द पोइट आइडल”सँग सम्बन्धित व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रम जारी नै छ । आजको बसाइमा पोइट आइडलका कार्यक्रम सञ्चालक दिव्यदेवसँगको कुराकानी राख्नेछु । पोइट आइडलको पहिलो सिजन सफल रूपमा सम्पन्न भइसकेको छ र यसको दोस्रो सिजन चाँडै आउनेछ भनेर यसका निर्देशक तथा परिकल्पनाकार अमन प्रताप अधिकारीले घोषणा गरिसक्नु भएको छ । आइडलको कप्तानी आफूले सम्हाले पनि पहिलो सिजन सफल हुनुमा सिङ्गो टिमको हात रहेको उहाँले बताइसक्नु भएको छ । फरक यति हो कि कोही पर्दामा देखिए भने कोही पर्दा पछाडि बसेर आफ्नो हिसाबले सक्दो मेहनत गरे आइडललाई सफल पार्न । पक्कै पनि कुनै ठुलो योजना सफल पार्न कुनै एक व्यक्ति विशेषको पहलले मात्रै पनि पुग्दैन । त्यसको लागि त्यससँग जोडिएका हरेकको भूमिका लगभग बराबर नै रहन्छ । जसरी साहित्यपोस्टको नेतृत्व अश्विनी कोइरालाले गरिरहनु भएको छ र यसमा तपाईँले पनि कुनै न कुनै रूपमा सहयोग गरिरहनु भएको छ । हामी धन्य छौँ त्यसको लागि ।

कुरा जोडौँ पोइट आइडलकै । यो सफल र सुन्दर ढङ्गले सम्पन्न हुनुमा कार्यक्रम प्रस्तोताको भूमिका पनि मुख्य रह्यो नै । सुन्दर व्यक्तित्व र बुलन्द आवाजका धनी दिव्यदेवको सञ्चालन शैलीलाई पोइट आइडल हेर्ने अधिकांशले खुब मन पराइदिनु भयो । कार्यक्रम अवधिभर दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेर राखिराख्न सक्नु नै कार्यक्रम सञ्चालकको सफलता हो । जुन खुबी दिव्यदेवमा पनि देखियो । तर यो उहाँको जीवनकालमै पहिलो कार्यक्रम सञ्चालन थियो । विशेष गरी उहाँ नेपाली नाटक र चलचित्र क्षेत्रमा सक्रिय कलाकार हुनुहुन्छ । सन् २०१० देखि उहाँ पूर्ण रूपमा यसैमा समर्पित हुनुहुन्छ ।

यस अवधिमा उहाँले दुई दर्जन बेसी नाटकमा मुख्य र सहायक भूमिकामा आफ्नो अभिनय कला प्रस्तुत गरिसक्नु भएको छ । यसका साथै आधा दर्जन जति नेपाली कथानक चलचित्रमा नायक र सह-नायक भएर खेलिसक्नु भएको छ । ३० भन्दा धेरै सर्ट फिल्म र म्युजिक भिडियोमा पनि उहाँले अभिनय गर्नुभएको छ । NCELL, DISH HOME, ASIAN PAINTS लगायत अन्य थुप्रै विज्ञापनहरूमा पनि उहाँलाई तपाईँले देख्नु भएको हुन सक्छ । यसको मतलब विगत एक दशकभन्दा लामो समयदेखि उहाँ पूर्णकालीन कलाकारितामा आबद्ध भएर जीवन बिताइरहनु भएको छ । यसका साथै उहाँ “भोइस ओभर आर्टिस” पनि हुनुहुन्छ । नेपाली र अङ्ग्रेजीमा गरेर उहाँले हालसम्म एक हजारभन्दा धेरै सामग्रीका लागि आफ्नो आवाज दिइसक्नु भएको छ । यसदेखि बाहेक पनि उहाँले गर्नुभएका अन्य थुप्रै कामहरू छन् । त्यसलाई पछि अर्को कुनै बसाइमा लेखौँला । नायक दिव्यदेवको गृह जिल्ला बैतडी हो भने लामो समयदेखि काठमाडौँ स्थित बालुवाटारमा बस्दै आउनु भएको छ । आमा देवकी पन्त र बुबा धनीदत्त पन्तका उहाँ जेठो सन्तान हुनुहुन्छ ।

अब लागौँ कार्यक्रम प्रस्तोता तथा नायक दिव्यदेवसँग पोइट आइडलमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशतर्फ :

पोइट आइडल सम्पन्न हुने बित्तिकै यसका निर्देशक अमन प्रताप आधिकारी सिक्किमसम्मको बाइक यात्रामा निस्कनु भयो । तपाईं चाहिँ कतै निस्किनु भएन ? अथवा पोइट आइडल सकिएपछि अहिले तपाईं चाहिँ के गरिरहनु भएको छ ?

– दाइहरू चाहिँ उता जानु भयो सिक्किमतिर । खासमा मलाई पनि एकदमै रहर थियो जानलाई । तर लगातारको कार्यक्रम सञ्चालन अनि एक महिना १० दिन जसो नाटक चल्यो । त्यसले गर्दा एकदमै थकान महसुस भएको थियो । मलाई ब्रेक चाहिरहेको थियो । त्यसमाथि मलाई अलिक सन्चो पनि थिएन । त्यही भएर म चाहिँ अहिले आरामै गर्ने मनस्थितिमा पुगेँ र अहिले आरामै गरिरहेको छु । अब केही समयको लागि तत्कालै केही कामहरू लिइसकेको छैन मैले । अहिले आफ्नै लागि समय छुट्याएको छु । अहिले पढ्ने, व्यायाम गर्ने, आराम गर्ने यही नै चलिरहेको छ मेरो ।

तपाईं त पहिलेदेखि चलचित्र र नाटकमा रमाइरहेको कलाकार, कवितामाथिको रियालिटी शोको कार्यक्रम सञ्चालकको रूपमा कसरी आइपुग्नु भयो ?

– यो होस्ट हुन्छु अथवा होस्टिङ गर्छु भनेर कहिल्यै पनि मैले सोचेको नै थिइन खासमा । प्रस्तावहरू नै नआएको चाहिँ होइन पहिले पनि । सानातिना कार्यक्रमहरू गर्नको लागि प्रस्ताव आएका थिए । तर मैले जहिल्यै पनि त्यसलाई रिजेक्ट गरिरहेको थिएँ । तर यस पोइट आइडलमा चाहिँ किन-किन दाइ (अमन प्रताप अधिकारी)ले कसरी राजी गराउनु भयो र म आफू पनि राजी भएँ । अनि विशेष गरी साहित्यप्रति आफ्नो लगाव, पहिलेदेखि नै त्यसप्रति एक किसिमको माया भएकोले यसमा चाहिँ नाइँ भन्न सकिएन । फेरि पोइट आइडलका टिम मेम्बरहरू पहिलेदेखि चिने जानेकै भएकोले पनि टिम राम्रो छ, यसमा सबैको साथ सहयोग भयो भने गर्न सकिन्छ जस्तो लागेर गरियो भनौँ न । अहिले फर्केर हेर्दा राम्रो निर्णय नै गरिएछ भन्ने लाग्छ ।

पोइट आइडल चलिरहँदा धेरैको एउटा साझा भनाइ थियो, “कार्यक्रम सञ्चालकको रूपमा दिव्यदेवले कार्यक्रमलाई जुन किसिमको न्याय गरे, कार्यक्रममा जुन किसिमको मिठास थप्ने काम गरे, कार्यक्रममा जुन किसिमको ओज थप्ने काम गरे, यदि उसको ठाउँमा अरू कोही भइदिएको भए सायदै त्यो हुने थियो” । यसमा म पनि पूर्ण सहमत छु । तपाईं आफूले चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– खासमा मैले पनि यो किसिमको प्रतिक्रिया पाउँछु भनेर सोच्दै सोचेको थिइन । साँच्चै भन्दा खेरी कल्पनाभन्दा बाहिरको कुरा थियो । खासमा त मलाई डर लागिरहेको थियो । कहिल्यै पनि नगरेको काम, कस्तो खालको प्रतिक्रिया आउला भनेर । तर त्यसको ठ्याक्कै उल्टो भइदियो । कहिलेकाहीँ त्यस्तै हुन्छ जिन्दगीमा । नचिताएको कुराहरू, कहिलेकाहीँ अर्कै नजिता आइरहेको हुन्छ । यसमा पनि त्यस्तै भयो । जुन मैले सोचेकै थिएन र कार्यक्रम ३३ भागसम्म गरिरहँदा त्यो माया कहिल्यै पनि कम भएन । अनि यति धेरै बृहत् दर्शकहरूमाझ पुग्न पाइयो ।

मैले नाटक गरेकै लगभग १२ वर्ष भइसक्यो । बिचमा केही चलचित्र पनि गरियो । तर एउटा सीमित दर्शकहरूमाझ मात्रै सीमित रहिरहेको थिएँ । यसरी मलाई बृहत् दर्शकहरूमाझ पुग्नका लागि मलाई जुन मौका मिल्यो त्यसका लागि म अमन दाइलाई जहिल्यै पनि सम्झिरहने छु । धेरै दर्शकहरूमाझ पुगेर यति धेरै माया पाएको छु, कमाएको छु । म साह्रै नै खुसी छु यसमा । अब आफ्नो मूल्याङ्कन आफैँले गर्न चाहिँ गाह्रै हुन्छ । तर केही हदसम्म कार्यक्रमलाई न्याय गर्न सकियो कि भन्ने लाग्छ । यद्यपि अझै राम्रो गर्न सकिने ठाउँहरू थुप्रै थिए । अब दोस्रो सिजनमा त्यसलाई सुधार गर्ने कोसिस गर्नेछु । यही नै हो । अरू त के भनौँ र ।

पोइट आइडलमा कार्यक्रम सञ्चालकको रूपमा प्रस्ताव आउँदा तपाईंको पहिलो प्रतिक्रिया के थियो ?

– सुरुमा प्रस्ताव आउँदा खेरी त म अक्क न बक्क परेको थिएँ । दाइ (अमन प्रताप अधिकारी)लाई चाहिँ म सोचेरै भन्छु भनेँ । अनि सोचेँ । त्यो राती मलाई निन्द्रै लागेन खासमा । किन कि लाखौँ दर्शकमाझ पुग्ने एउटा ठुलो जिम्मेवारी थियो त्यो । मैले त्यो गर्न सक्छु, सक्दिन भन्ने आँट नै थिएन सुरुमा चाहिँ । अनि भोलिपल्ट हामी फेरि भेट्यौँ । त्यसपछि दाइले पनि राम्रोसँग बुझाउनु भयो । यो टिमवर्क हो, हामी सबै मिलेर गर्ने हो, तिमीले गर्न सक्छौ भन्ने खालको कुरा गर्नुभयो । फेरि दाइले पहिलेदेखि नै मेरा नाटकहरू, मेरा कामहरू, मेरा अन्तरवार्ताहरू हेरिरहनु भएको थियो । अब दाइलाई नै त्यत्रो विश्वास थियो भनेपछि त मलाई पनि आँट आयो । त्यसपछि यात्रा अघि बढ्यो ।

पोइट आइडल सकिएपछि AP1 टेलिभिजनमा दिएको एक अन्तरवार्तामा तपाईंले भनेको कुरा सापटी लिन मन लाग्यो, “पहिले मैले कहिल्यै पनि कार्यक्रम सञ्चालन गरेको थिएन । कार्यक्रम सञ्चालन गर्न सक्छु होला भन्ने आँट पनि ममा थिएन” यस्तै यस्तै । कार्यक्रम सञ्चालन गर्न सक्छु होला भन्ने आँट नभइरहेको बेला पोइट आइडलमा चाहिँ कसरी आँट आयो कि “म गर्न सक्छु” भनेर ? यसको थोरै जवाफ त माथि  दिइसक्नु भएको छ । त्यसैमा थप जोड्न चाहेँ ।

– मैले माथि पनि भनेँ, यो टिमवर्कले नै सम्भव भएको हो । त्यो टिम एकदमै नौलो भइदिएको भए सायद मलाई आँट आउँदैन थियो होला । आइडलमा काम गर्ने लगभग ६० प्रतिशत व्यक्तिहरूलाई मैले पहिलेदेखि चिनेको थिएँ । उहाँहरूसँग पहिले कतै न कतै काम गरिसकेको र मन खाएको आफ्नै साथीहरू भएको हुनाले गर्न सकिन्छ जस्तो लाग्यो । मुख्य कुरा चाहिँ यही थियो । यसले गर्दा नै आँट आएको हो । फेरि अमन दाइले सुरुमा प्रस्ताव गर्ने बेलामा नै भन्नुभएको थियो कि “तिमीले केही चिन्तै लिन पर्दैन, म छु नि, किन डराउँछौ तिमी ?” भन्नुभएको थियो । मलाई लाग्छ यिनै कुराहरूले गर्दा नै हो । पछि-पछि त झन् आइडलका प्रतिस्पर्धीहरू पनि थपिनु भयो र एउटा पुरै ठुलो परिवार नै भयौँ हामी । परिवार भइसकेपछि त एकदमै सहजता आउन थाल्यो र एक दुई ओटा एपिसोड गरिसकेपछि आफूलाई पनि झन्-झन् कन्फिडेन्स बढ्दै गयो । पछि चाहिँ सजिलै लाग्न थाल्यो ।

पहिले पहिले तपाईं पनि कविता, गजल लेख्नु हुँदो रैछ भन्ने कुरा पत्ता लाग्यो । पोइट आइडलमा त्यति लामो समयसम्म कविहरूको सङ्गत गरिरहँदा, उहाँहरूको कविता सुनिरहँदा भोलिका दिनमा “अब म पनि अलिक गम्भीर भएर कवितामा लाग्छु” भन्ने सोच चाहिँ आएन ?

– जीवनमा मलाई पछुतो हुने कुराहरू त धेरै छैनन् । तर मैले अलिक पछुतो मान्ने  भनेको यही हो कि  मैले लेख्न चाहिँ छोडेँ । एक समय कक्षा ८ देखि १२ पढ्दासम्म म निरन्तर रूपमा लेखिरहन्थेँ । पछि बिचमा म अस्ट्रेलिया गएँ । त्यता गएपछि पढाइ र कामले गर्दा समय नै मिलेन । जसले गर्दा लेखन छुट्यो र एक पटक छुटेपछि छुटेको छुटै हुँदो रहेछ । त्यही भएर पनि हाम्रा निर्णायकहरूले कार्यक्रममा भाग लिन आउने कविहरूलाई निरन्तर लेखिराख्नुस् भनेर भनिरहनु हुन्थ्यो । यो त साधना हो । त्यही भएर पनि निरन्तर लेखिराख्नु पर्ने चाहिँ रहेछ । यदि साहित्यमै लामो समयसम्म आफ्नो भविष्य बनाउने हो भने निरन्तर लेखिराख्नु पर्ने रहेछ । लेख्न छोडेकोमा मलाई पछुतो चाहिँ हुन्छ । तर अब यति लामो समय बितिसक्यो कि पुनः गएर लेखन सुरु गर्ने खासै त्यस्तो सोच पनि छैन र आँट पनि छैन । तर अब आफ्नै लागि चाहिँ लेखिन्छ होला तर  सार्वजनिक रूपमा लेख्ने आँट छैन । यहाँ धुरन्धर लेखकहरू हुनुहुन्छ । उहाँहरूलाई नै त्यो जिम्मा । म चाहिँ  बरु राम्रो दर्शक, राम्रो पाठक, राम्रो श्रोता बन्न चाहन्छु ।

सुरुवाती चरणमा पोइट आइडलले निक्कै आलोचना खेप्नु परेको थियो । पछि त बिस्तारै  ती आलोचनाहरू स्वतः प्रशंसामा बदलिन थाले । सामाजिक सञ्जालमा आलोचनाहरू आइरहँदा कस्तो लाग्थ्यो तपाईंलाई चाहिँ ?

– सुरुमा आलोचनाहरू एकदमै धेरै आएको थियो । एउटा त केही नयाँ कुरा गर्दा स्वतः गाह्रो हुन्छ त्यसलाई सजिलै स्वीकार गर्नको लागि जो कसैलाई पनि । त्यसमाथि हामीले पनि पहिलो पटक गरिरहेको हुँदा हाम्रा पनि केही कमीकमजोरीहरू थिए होलान् । कार्यक्रमको फर्म्याट बुझाउन नै अलिकति समय लाग्यो । त्यस बिचमा पनि मेरो लागि व्यक्तिगत रूपमा चाहिँ राम्रो प्रतिक्रियाहरू आइरहेका थिए । तर पनि म पूर्ण रूपमा खुसी नै हुन सकिरहेको थिएन । किन कि कार्यक्रम सफल भए पो म पनि सफल हुने हो । मेरो काम पनि देखिने हो । अब पछिसम्मै यस्तै पो हुने हो कि ? भनेर डर र चिन्ता पनि थियो । तर हामीलाई एक किसिमको विश्वास चाहिँ थियो कि जब अडिसन राउन्ड सकिन्छ र उत्कृष्ट १४ छानिएर प्रस्तुतिमा गइसकेपछि राम्रो हुनेछ भन्नेमा मलाई चाहिँ विश्वास थियो । किन भने हामीले छानेका हरेक कविमा आ-आफ्नै क्षमता थियो । त्यो क्षमता दर्शकमाझ पुग्दा उहाँहरूले कुनै न कुनै रूपमा कविका शब्दहरूमा आफूलाई पाउनु हुन्छ भन्नेमा एकदमै विश्वास थियो र पछि त्यस्तै पनि हुँदै गयो । त्यसपछि त खुसीको सिमै रहेन ।

पोइट आइडलको दोस्रो सिजन आउँछ भनेर यसका निर्देशक अमन प्रताप अधिकारीले पहिलो सिजनको फाइनलमै घोषणा गरिसक्नु भएको छ । दोस्रो सिजनमा पनि तपाईंलाई नै सञ्चालकको रूपमा देख्न पाइन्छ भन्ने कुरमा हामीले शङ्का नगर्दा हुन्छ होला, कि के छ अवस्था ?

– दोस्रो सिजन चाहिँ पक्कै पनि आउँछ र छिट्टै पनि आउँछ । अब सञ्चालकको रूपमा मलाई देख्न पाइने नपाइने भन्ने कुरा पक्कै पनि टिमकै निर्णयमा भर पर्छ । आधिकारिक रूपमा अहिले नै त्यस्तो केही निर्णय भने भइसकेको छैन । तर व्यक्तिगत रूपमा म आफू चाहिँ गर्न चाहन्छु । तर उहाँहरूले के निर्णय गर्नुहुन्छ त्यसमा भर पर्छ । सायद मेरो निरन्तरता नै हुन्छ कि ? हेरौँ ।

पहिलेदेखि नै चलचित्र र नाटकहरूमा सक्रिय रहँदै आएको भए पनि पोइट आइडलले तपाईंको परिचय, तपाईंको पहिचानलाई अलिक फराकिलो पारिदियो भन्ने कुरामा त दुई मत छैन । के भन्नुहुन्छ ?

– पक्कै पनि त्यो त हो । सन् २०१० बाट मैले नाटक खेल्न सुरु गरेको हो । केही चलचित्र पनि गरेको छु । यसर्थ नाटक र चलचित्र समानान्तर रूपमा गरिरहेको हो मैले । तर एकदमै सीमित दर्शकहरूमाझ मात्र मेरो पहिचान थियो । तर पोइट आइडलले एकै चोटि लाखौँ दर्शकहरूमाझ पुर्याइदियो । एउटा कलाकारको लागि, यो क्षेत्रमा लागेको मान्छेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै दर्शकले रुचाइदिनु भयो भने त्यसले यात्रालाई अलिक सहज बनाइदिन्छ । त्यसले जिम्मेवारी पनि थपिदिन्छ । हौसला पनि मिल्छ । अझै राम्रो गर्ने ऊर्जा पनि आउँछ । त्यही भएर दर्शकको माया एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसकारण मलाई आम दर्शकमाझ पुर्याउने  श्रेय म अमन दाइलाई नै दिन्छु ।

योभन्दा अगाडिको कुनै कामले त्यस्तो खास केही हुन सकिरहेको थिएन । लाखौँ दर्शकमाझ पुग्नु यो चानचुने कुरा होइन । यसलाई मैले एकदमै ठुलो कुरा मान्छु । आइडलले मलाई राम्रो रूपमा दर्शकमाझ पुर्याएको छ । चिनिनु त मान्छे जसरी पनि चिनिन सक्छ । तर उहाँहरूले जुन किसिमको माया दिनु भएको छ त्यो महत्त्वपूर्ण कुरा हो । अहिले पनि मलाई थुप्रै प्रतिक्रियाहरू आइरहेका छन् । यसलाई मैले विशेष रूपमा लिएको छु र म धन्य छु यसको लागि ।

पोइट आइडलमार्फत आफ्नो पहिचान अलिक फराकिलो भइसकेपछि अब भोलिका दिनमा चलचित्र अथवा भनौँ नाटकहरूमा थुप्रै अफरहरू आउलान् भन्ने आशा जगाइदिएको होला है ?

– त्यसले पक्कै पनि फरक पार्छ नै । किन कि यो क्षेत्रमा चिनिएको अनुहारलाई अलिकति प्राथमिकता दिइन्छ नै ।  किन भने  त्यसमा व्यापार पनि जोडिएको हुन्छ । त्यसो हुँदा त्यसले केही सहयोग गर्छ भन्ने मलाई लाग्छ । तर म पहिलेदेखि नै नाटकहरूमा सक्रिय भइरहेकोले गर्दा मलाई अफरहरू चाहिँ आइरहेकै हुन्छन् । पहिले पनि आएकै हुन् । तर पोइट आइडले पनि यसमा थप सजिलो  बनाइदिएको छ कि भन्ने लाग्छ । उहाँहरूलाई पनि ममाथि विश्वास गर्न सजिलो होला कि भन्ने लाग्छ । तर मैले त्यति धेरै सोचिहालेको छैन । तर केही न केही फरक  चाहिँ पार्छ भन्ने लाग्छ ।

कार्यक्रम सञ्चालक भएर हेर्दा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के थियो ?

– यसका थुप्रै पाटोहरू छन् । थुप्रै सुन्दर पक्षहरू छन् । एक त यो मौलिक कार्यक्रम । त्यसमाथि यसलाई यसरी गर्न सक्नु र यो उचाइसम्म पुर्याउन सक्नु आफैँमा एउटा सुन्दर कुरा थियो । विशेष गरी आर्थिक रूपमा अप्ठ्यारो परिस्थितिका बाबजुद पनि आफ्नो छुट्टै पहिचान बनाउन सक्यो कार्यक्रमले । त्यो पनि सुन्दर पक्ष भयो । अर्को महत्त्वपूर्ण कुरा हामीभित्र जसरी एउटा परिवार बन्यो, त्यसले सुरुवातदेखि नै हामीमा एक किसिमको आत्मीयता कायम राख्यो । पछि झनझन गाढा हुँदै गयो । टिमभित्रका सबै मान्छे आफ्नै परिवारका सदस्य जस्तो लाग्ने ।

मलाई चाहिँ त्यो लाग्छ आइडलको एकदमै सुन्दर पक्ष एउटा । अन्य रियालिटी शोहरूमा पहिले नै सिर्जित सिर्जनाहरूको प्रस्तुति दिने गरिन्छ । तर पोइट आइडलमा त हरेक हप्ता नयाँ नयाँ सिर्जनाहरू, सुन्दर रचनाहरू हेर्न सुन्न पाउने, त्यसमा प्रत्यक्ष सहभागी हुन पाउने, त्यो एउटा माहौल जम्ने, यो पनि यसको सुन्दर पक्ष हो । मुख्य कुरा चाहिँ टिमवर्क नै हो जस्तो लाग्छ । एकदमै कम जनशक्तिमा, एकदमै सीमित आर्थिक स्रोतका बाबजुद पनि हामीले एउटा परिवार भएर, कुनै मनमुटाब बिना मजाले यो कार्यक्रमलाई ३३ भागसम्म ल्याउन सक्यौँ । त्यो नै एउटा गज्जबको कुरा हो जस्तो लाग्छ ।

पोइट आइडलको उपाधिलाई लिएर तपाईं आफू चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– कार्यक्रमको फर्म्याट अनुसार यो एक जनाले जित्ने हो । त्यसमा जो कोही पनि पर्न सक्थ्यो । किन भने सबै उत्कृष्ट-उत्कृष्ट कविहरू हुनुहुन्थ्यो ।  उहाँहरू मध्ये जसले जिते पनि म त्यति नै खुसी हुन्थे जति अहिले नीलम गुरुङले जितेर खुसी भएको छु । नीलमले आफ्नो जिम्मेवारीलाई, यो उपाधिलाई राम्रोसँग अगाडि बढाएर लैजानु हुन्छ भन्ने लाग्छ । त्यसको महत्त्व उहाँले बुझ्नु भएको छ र त्यसको गरिमालाई उहाँले कायम राख्नु हुनेछ भन्ने लाग्छ । त्यसैले यो उपाधिप्रति म त खुसी नै छु ।

पोइट आइडलको भोटिङ राउन्ड अर्थात् उत्कृष्ट १४ सम्म पुग्ने मध्ये तपाईंलाई अलिक बेसी मन परेको कवि कोही  हुनुहुन्थ्यो ?

– अब त्यस्तो एकदमै बेसी मन परेको भन्दा पनि यस्तो चाहिँ हुँदो रैछ, कुनै हप्ता कुनै एक जनाको उत्कृष्ट लाग्ने, कुनै हप्ता अर्को कसैको उत्कृष्ट लाग्ने हुन्थ्यो । त्यो सिलसिला अन्तिमसम्म नै रहिरह्यो । तर व्यक्तिगत रूपमा चाहिँ उहाँहरू सबै जना नै उतिकै प्यारो हुनुहुन्छ । साँच्चै यो मैले भन्नको लागि मात्र भनेको होइन ।  एक जना मात्रै त म छान्नै सक्दिन । सबै जना नै उत्तिकै सम्माननीय हुनुहुन्छ ।

समग्रमा तपाईंका लागि पोइट आइडलको यात्रा कस्तो रहन गयो ?

– पक्कै पनि पछिल्लो ११/१२ वर्षको समग्र मेरो कला यात्राभरिमा यो समय उत्कृष्ट मध्ये एकमा पर्छ पोइट आइडलको यात्रा । लगभग पाँच- छ महिनाको यात्रा एकदमै धेरै विशेष रह्यो । एकदमै गर्व गर्न लायक यात्रा रह्यो ।

पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो  प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– समग्रमा आम मानिस र कविता अथवा भनौँ समग्र साहित्यको बिचमा सेतुको काम पोइट आइडलले गर्यो जस्तो लाग्छ । आफू टिमभित्रकै सदस्य भएकोले आफ्नो कामको मूल्याङ्कन आफैँले त्यति धेरै गरिहाल्न चाहिँ अलिक सकिँदैन । बाहिर बसेर चाहिँ बरु सकिन्छ । त्यही भएर ठ्याक्कै भन्न सकिन्न । ५/७ वर्ष अथवा १० वर्षपछि फर्केर हेर्दा खेरी बरु एउटा स्पष्ट चित्र आउँछ होला, यसले के प्रभाव पार्यो भनेर । पहिले जुन सोच थियो कविता बुझिँदैन भन्ने, कविता एउटा निश्चित वर्गको लागि हो भन्ने त्यसलाई तोडेर पोइट आइडलले कवितालाई आम मानिससम्म पुर्याउने कोसिस गरेको छ ।

कविता भन्ने कुरा अनुभूत गर्ने कुरा हो जस्तो पनि लाग्छ । महसुस गर्ने कुरा हो र आम मानिसले कवितालाई महसुस गर्न सक्नु भयो । हामीले कवितामा सङ्गीत भरेर, कलाका अन्य पक्षहरूलाई समेटेर अनुभूतिको त्यो तहसम्म पुर्याउन सक्यौँ । हरेक शब्द-शब्द केलाएर  नबुझे पनि एउटा आम मान्छेले त्यसलाई अनुभूत गर्न सक्छ, आफूसँग मिलेको अनुभव गर्न सक्छ भने त्यो भन्दा ठुलो सुन्दर कुरा त के होला र ? कविता आमा मान्छेसम्म पुग्नु भनेको चानचुने कुरा नै होइन । यसले समग्र कला क्षेत्रलाई नै हेर्ने दृष्टिकोण उच्च बनाइदिएको छ । त्यसकारण यस किसिमका कार्यक्रमहरूको निरन्तरता हुनु पर्छ । कविता अथवा भनौँ साहित्य चाहिँ आम मान्छेसम्म पुग्नै पर्छ र  त्यसमा पोइट आइडलले एक किसिमको भूमिका जरुर खेलेको छ । तर यस्ता कार्यक्रमहरू अन्य तहहरूबाट पनि, यस्तै रियालिटी शो नै नभए पनि अन्य किसिमका कार्यक्रमहरू गरेर भए पनि  साहित्यलाई आम पाठकमाझ पुर्याउने काम चाहिँ  गरिरहनु पर्छ ।

जाँदाजाँदै अन्त्यमा केही ?

– तपाईंलाई धेरै धेरै धन्यवाद । पहिलेदेखि नै यहाँले पनि हौसला दिइरहनु भएको हो । साहित्यकै लागि समर्पित पत्रिका साहित्यपोस्ट पनि जोडिएको छ पोइट आइडलसँग अनलाइन पार्टनरको रूपमा । पोइट आइडलसँग सम्बन्धित लेख रचनाहरू निरन्तर रूपमा लेखेर हामीलाई हौसला दिइरहनु भएको छ ।  त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।