‘कवच’, ‘ब्रासलेट’, ‘माई लभ’ जस्ता नेपाली चलचित्र र ‘भाग्य आआफ्नो’, ‘परिबन्ध’, ‘जलगेदा’, ‘सन्ध्या’ जस्ता टेलिफिल्मका लेखिका जया ओझा उपन्यासकार पनि हुनुहुन्छ । ‘आवरण’ र ‘अनुराग’ प्रकाशित गर्नुभएकी ओझा ‘रुमानी’ उपन्यास प्रकाशनकाे तयारीमा हुनुहुन्छ । उहाँ कलाकार पनि हुनुहुन्छ ।
प्रस्तुत छ, उनै कलाकार तथा साहित्यकार जया ओझासँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश;
आजकल के गर्दै हुनुहुन्छ ?
बिहान र बेलुका केही कलेजमा अध्यापन गर्छु, दिउँसोको भ्याएसम्मको समय वकालततिर अभ्यासमा लागिपर्छु । एउटा टेलिचलचित्रको लेखन कार्य पनि अगाडि बढिरहेको छ । यस्तै यस्तै नियमितको दिनचर्यामा पिएचडीको काम र तेस्रो उपन्यास ‘रुमानी’ प्रकाशनको तयारीको काम पनि भइरहेको छ ।
साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ?
सबैको हित गर्ने नै साहित्य हो । साहित्यले हित गर्न नसके पनि अहित गर्नु भएन । साहित्यमा युद्ध पनि हुन्छ, शान्ति पनि हुन्छ, प्रेम पनि हुन्छ, घृणा पनि हुन्छ, साहित्यकारले नाङ्गो आँखाले मात्रै हेर्छ कि कलाको लेन्स लगाएर हेर्छ त्यो उसमा नै भर पर्छ, साहित्यमा अत्यन्तै तागत हुन्छ ।
‘जीवन’ भोगाइ उमेर, समय र परिस्थितिजन्य हुँदो रहेछ । यही हो भनेर परिभाषा दिन गाह्रो कुरा हो । जसले जस्तो भोग्छ र बुझ्छ त्यो जीवन हो भन्ने लाग्छ । मेरो भोगाइअनुसार जीवन परिवर्तनशील हुन्छ, गतिशील हुन्छ, सङ्घर्षशील हुन्छ, जहाँ चुनौती रोकिन्छ, बाधा अड्चन रोकिन्छ, त्यहाँ जिन्दगी पनि रोकिन्छ । दर्शन त फूलको आँखामा फूलै संसार भन्छु म । दृष्टि अनुसारको सृष्टि ।
‘प्रकृति’ यो सत्य हो, जसरी मृत्यु सत्य हो, जो नाशवान् हुँदैन । जो दिन्छ मात्रै लिँदैन । जस्तै वृक्ष, जस्तै सूर्य, धर्ती, आकाश । प्रकृतिलाई कसैले जित्न सक्दैन ।
तपाईं साहित्यको मान्छे स्क्रिप्ट लेखनमा कसरी आकर्षित हुनु भयो ?
म साहित्य चलचित्र लेखनमा पुगेकी हुँ । यस अर्थमा मेरो लेखन यात्रा साहित्यबाट नै सुरु भएको हो । चर्चा मैले चलचित्रबाट पाएँ हुँला किनभने चलचित्र रङ्गिन दुनियाँ हो, जहाँ सबैको नजर पर्छ । अर्को कुरा चलचित्र लेखन पनि रङ्गिन दुनियाँको दृश्य साहित्य हो । दुवै लेखनमा मलाई आनन्द लाग्छ, दुवै मेरो आत्मा हो ।
“साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उँचाइमा लान्छ” भन्ने भनाइमा कतिको सहमति हुनुहुन्छ ?
पक्कै पनि । गल्ती गर्दै सिक्दै जानको लागि एक जीवन काफी हुन्न । अरूले गरेको गल्तीबाट सिक्नु र कमीकमजोरीबाट आफूलाई पहिचान गरी सुधार गर्नु बुद्धिमानी हो । एउटा किताब पढ्दा मान्छेले अन्य कयौँको जिन्दगी पढ्न पाउँछ । अध्ययन, चिन्तन र मनन त्यसैले जरुरी छ । एउटा वास्तविक साहित्यकार हो भने त झन् साहित्य लेखन नै उसको दुनियाँ हुन्छ । त्यो दुनियाँ मात्र उसको हुँदैन, अरू सबैको साझा दुनियाँ हुन्छ । अरूको दुनियाँमा रमाउने, रुने मान्छे चर्चा कमाउन लालायित हुन र असफल हुन डराउँदैन । असफल हुन नडराउने नै जिन्दगीको उँचाइलाई चुम्न सक्छ ।
तपाईँलाई साहित्यमा मन पर्ने विषय के हो ? यात्रा र अध्यात्मलाई कसरी हेर्नु हुन्छ ?
समाज र प्रेम नै मलाई मन पर्ने विषय हो, विशेष गरी समाज र व्यक्तिको मनोविज्ञान मलाई मन पर्छ । आत्माभन्दा ठुलो कुरो शरीर पनि होइन । केही पनि छैन । हतपत म यात्रा नै गर्दिनँ । यात्रा मात्रै त मलाई खासै मन पर्दैन, यात्रा गरिहाले पनि त्यस्तो ठाउँमा मात्रै गर्छु, जहाँ कोलाहल, बनावटी र देखावटी नहोस्, जहाँ शान्ति होस्, जहाँ प्रकृति होस् । जहाँको जिन्दगीलाई म लेख्न सकूँ । विगत एक दशक अगाडिदेखि म पनि ध्यान, योगामा रम्ने कोसिस गरिरहेकी छु । जहाँसम्म लाग्छ, अध्यात्मको बाटो सरल छ, सुन्दर, शान्त र आनन्दको हुन्छ ।
तपाईं नेपाली साहित्य र चलचित्रको भविष्य कस्तो देख्नु हुन्छ ?
अन्योलग्रस्त उही राजनीतिक अवस्था जस्तै । राजनीतिक अवस्थाको प्रतिफल हो यो । यो नसुध्रेसम्म एउटै क्षेत्रको भविष्य उज्ज्वल छ त्यो हो, भ्रष्टाचार, लुटपाट, छलकपट, अपराध ।
तपाईं धेरै विधामा छरिनु भएको छ । तपाईंलाई कुन विधा मन पर्छ र आफूले आफैँलाई कुन विधामा सशक्त मान्नु हुन्छ ?
साहित्य मेरो मनको विधा हो । मेरो मन र विवेकसँग नाटक, गीत, गजल, कथा र उपन्यास जोडिएको छ, चर्चा कुनैमा कमाएकी छैन हुँला, जब साहित्यकारले पाठकको स्वाद र आवश्यकतालाई बुझ्न सक्छन् । त्यसपछिका दिनमा मात्रै साहित्यकारले लेखेर बाँच्न सक्छ ।
साहित्यको मापदण्ड के हो ?
मेरो विचारमा साहित्यको एउटै मापदण्ड छ, त्यो हो, स + ‘हित’ होस् ।
एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियाली रहनुभएको छ ?
बोल्नै पर्ने र धेरै बोलूँ भन्ने इच्छा भएर पनि बोल्न नचाहेको मेरो जिन्दगीको सबैभन्दा अन्योलपूर्ण विषय नै राजनीति हो । साहित्यिक आँखाको कुरा त परै जाओस्… एउटा सिधासादा नागरिकको हैसियतले यसो विचार गर्छु, कहिले सीमा दुख्छ, कहिले मुगलान दुख्छ, कहिले काली दुख्छ, कहिले राष्ट्रियता दुख्छ, कहिले पुरै देश दुख्छ । स्थायी सरकार बनाउन सक्दैनन् । कुकुरका बिचमा रहेको हड्डी जसरी लुछिरहेका छन् देश । राजनीतिक दलका सिद्धान्तको हत्या भइसक्यो, अब एउटै मै खाऊँ, मै लाऊँ र मै बाचूँ भन्ने सिद्धान्तमा आधारित देखिन्छन् । यही स्थिति भइरहने हो भने, यो देश इतिहासका पानामा मात्र रहन्छ होला भन्दा मात्रै पनि मुटु चसक्क दुख्छ ।
अहिलेको साहित्यमा विचार, युग चेतना र विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?
समसामयिक परिवेश, समय र देशकाल परिस्थितिबाट साहित्य सिर्जित हुन्छ । अहिलेको साहित्यले पनि भरपुर समसामयिक युगको बोध गराउन सफल भएको छ जस्तो लाग्छ मलाई । हाम्रो साहित्यमा पनि विश्व अटाएको छ । विश्व परिवेश छ । यसका लागि विभिन्न साहित्यकारहरूले आफ्नो रुचि क्षेत्रलाई फराकिलो बनाएका छन् । साहित्यका विभिन्न विधालाई अभिव्यक्तका माध्यम चुनेका छन्, यो राम्रो पक्ष हो ।
पुरस्कार, सम्मान र अभिनन्दनको विश्वसनीयतामा तपाईंको भनाइ के छ ?
हा हा, यहाँ अझै साहित्यिक संस्था पनि जोड्नुभएको भए हुन्थ्यो नि । सबैको हैसियत उस्तै हो । सबैमा चलखेल, खिचातानी, फोहोर राजनीति, कुटनीति, नातावाद, पैसावाद केके रहेको छ होला म त सोच्न पनि सक्दिनँ । भन्न त अरू के सक्छु र ? पहिले पहिलेको पुरस्कार, सम्मान र अभिनन्दनको कुरा गर्ने हो भने विश्वास गर्ने आधार छन् ।
साहित्य लेखन र प्रकाशनको सहजता कस्तो पाउनुहुन्छ ?
साहित्य सिर्जना गर्न के नै गाह्रो हुन्छ र ? गफै त हो । तिनीहरूको गफलाई पैसो हालेर कसले छापिराखोस् । जसले लेख्छ, उसैले खर्च गर्नुपर्छ । हामी त छाप्ने हौँ, बिक्री भएछ भने खाइन्छ, भएनछ भने ठिकै छ । यही सोच र परिपाटीमा साहित्यकारलाई आफ्नो कृति प्रकाशन गर्न कति सहज होला ? यसको उत्तरको जिम्मा जो जससँग सम्बन्धित छन् र हुन्छन् ।
अनेसास र डायस्पोरा साहित्यका बारेमा तपाईंको धारणा के छ ?
अनेसासको म आजीवन सदस्य भएको पनि ६ वर्ष भयो सायद । मैले एउटै अधिकार र समाचार पाएकी छु त्यो हो चुनाव । नत्र कहाँ साहित्यिक कार्यक्रम हुन्छ, को को जान्छन्, कसरी जान्छन्, मिटिङ हुन्छ या हुँदैन म त्यसको बेखबर छु ।
डायस्पोरा साहित्य र साहित्यकार हाम्रै हुन्, बस् नामकरणले फरक हो भन्ने बुझ्छु म । साहित्य आखिर साहित्य नै हो । साहित्यकार जहाँ, जुनुसुकै अवस्थामा बसे पनि उसको मन, विचार, आत्मा आफ्नो मातृभूमिसँग जोडिएको हुन्छ । उसले अरू मुलुकमा बसेर नेपाल लेख्छ, नेपाली लेख्छ र नेपाली साहित्यको इतिहासलाई फराकिलो बनाउँदै अगाडि बढाउँछ । यो गौरवको कुरा हो । सबैप्रति मेरो सदा सम्मान रहनेछ ।
वर्तमान समालोचनाले साहित्यलाई कस्तो मूल्याङ्कन गरेको देख्नु हुन्छ ?
खल्तीमा दुई चार जना र दुई चार पैसा छ भने कमजोर लेख्नेलाई प्रोत्साहन, वा ! वा !, पुरस्कार र अभिनन्दन अनि देश विदेशको गौरवमय यात्रा । खल्तीमा दुईचार पैसा र मान्छे छैनन् भने राम्रा लेख्ने भए पनि रद्दी साहित्यकार र साहित्यको उपनाम पाइन्छ । नकारात्मक सोच जस्तो लाग्ला तर यथार्थ यही हो । सत्य कुरा तीतो नै हुन्छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
उद्देश्य र विधान त राम्रो पक्कै होला तर कुरो को चुरो उही हो, नामअनुसारको काम भएको मैले मात्रै नदेखेको हो कि ? म त भन्छु, उही पुरस्कार दिने र आफ्ना र आफन्तलाई घुमाउनेबाहेक थप काम भएकै नहोला कि ?
नेपाली साहित्यलाई विश्व साहित्यको तुलनामा पुर्याउन के गर्नु पर्ला ?
यो त लहरो र पहरोको कुरा जस्तै हो, यहाँका राजनीतिक, आर्थिक, शैक्षिक स्थिति नसुध्रेसम्म विश्व साहित्यसँग तुलना गर्ने हैसियत बनाउने कुरा सोच्नसमेत सकिँदैन । अर्को कुरा ती मुलुकमा साहित्यलाई हेर्ने आँखा जस्तै नेपालमा साहित्यलाई हेर्ने आँखाहरू हुनुपर्छ ।
आजकल कुन पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ ?
मेरो साहित्यिक यात्राको चौथो कृतिको रूपमा तेस्रो उपन्यास ‘रुमानी’ प्रकाशनको तयारीमा छ, सम्भवतः यो जेठ महिनाभित्र दिन पाउने छु ।
तपाईंले अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु हुन्छ ?
आजकल साहित्यिक अध्ययन लगभग छैन भन्दा पनि हुन्छ, लेखन कार्यको लागि समय आफैँ मिल्छ । मुड चल्यो भने, कतै जरुरी काममा जान लागेको छु भने पनि सबै कुरा मिलाएर बसेर लेख्न थालिहाल्छु । अनि बेलाबेलामा दुई चार दिन कामबाट फुर्सद निकालेर लेख्छु, कहिले रातभरि लेख्छु, दिनभरि सुतिदिन्छु । राम्रो प्रकाशक पाइने बित्तिकै प्रकाशन गर्ने बारे सोच्छु । त्यसैले प्रकाशनको लाइनमा मेरा अरू चार वटा उपन्यास र दुई वटा कथा सङ्ग्रह लगभग तयारीकै अवस्थामा छन् । म समय मिलाउन भन्दा पनि प्रकाशक मिलाउन लागिपरेकी हुन्छु ।
अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
मैले बाल्यकालदेखि नै आफ्नो समय, तनमन विचार साहित्य लेखनलाई अर्पित गरेकी छु । भोलि कतिसम्म गर्न सक्छु, के गर्न सक्छु त्यो थाहा छैन, तर लक्ष्य विशाल लिएर अगाडि बढेकी हुँ, त्यही गोरेटोमा छु । मलाई यहाँहरूको साथ, सहयोग, सल्लाह र सुझावको आशा र भरोसा छ । पाठक लेखकका लागि भगवान् हुन् । लेखकको कृतिको संहारकर्ता हुन् । लेखकले जन्माएर छोडिदिन्छ, पाठकले नै त्यसलाई हुर्काउने, फुर्काउने गर्छ । लेखकको भन्दा बढी भूमिका पाठकको रहन्छ जुनसुकै कृतिमा । पाठकको जिम्मा यो पनि हो कि साहित्य चिन्नु । साहित्य बिकाउन भन्दा पनि चिनाउन अग्रसर भइदिनु होला । क्षणिक साहित्यले आफूलाई मात्र हैन, साहित्य र समाजलाई नराम्रो असर गर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।