आठ दशकभन्दा बढी उमेर पार गरिसक्नु भयो नेपाली सङ्गीत आकाशका प्रखर नक्षत्र स्वनामधन्य शान्ति ठटालले। आफ्नो यतिञ्जेलको उमेर पूर्णरूपमा गीत-सङ्गीतमा नै न्यौछावर गरेर आएकी जीवित उपाख्यान शान्ति ठटालले नेपाली गीत-सङ्गीतलाई आजको मोडसम्म ल्याउनमा जति श्रम र समर्पण दिनुभएको छ, त्यसको सही मूल्याङ्कन हुन बाँकी नै छ। नेपाली जनमानसमा उहाँको नाम श्रद्धापूर्वक लिने गरिन्छ। उहाँ दार्जिलिङकाे उपज हुनुहुन्छ अनि उहाँको क्षमता, प्रतिभा र सङ्गीतप्रतिको अगाध अध्ययन, मनन र समर्पणको आधारमा दार्जिलिङ मात्र होइन तर विश्वभरि छरिएका नेपालीहरूका गौरवको प्रतीक बन्न पुग्नु भएको छ।

आफ्नो जीवन र यौवन नै नेपाली गीत-सङ्गीतलाई समृद्ध पार्नमा खर्च गर्ने यी नै महान सरस्वतीपुत्री शान्ति ठटालको साङ्गितिक जीवनभित्र के कस्ता आरोह-अवरोह रहेछन् त्यसलाई बुझ्नु हो भने उहाँको बाल्यकालको केही अघि र केही पछिका समयमा दार्जिलिङ कसरी गीत-सङ्गीतको लागि परिवेश बन्यो अनि नेपाली संगीतको बामे सराई कस्तो थियो, त्यसलाई आँखिझ्यालबाट चियाएर हेर्न आवश्यक पर्छ। विगत ९ जून २०२२ को दिन उहाँसितको मेरो भेटवार्तामा पनि मैले उहाँबाट धेरथोर यस्तै प्रारम्भिक कालका कुराहरू नै जान्ने र बुझ्ने जिज्ञासा राखें। उहाँसितको यो कुराकानी र आफ्नो शोधकै आधारमा म सर्वप्रथम गीत-सङ्गीतको लागि दार्जिलिङमा उपयुक्त परिवेश कसरी बन्दै गयो त्यसतर्फ मन्थन गर्न चाहन्छु।

नेपाली गीत सङ्गीतको इतिहासमा साठीदेखि लगभग सत्तरीसम्मको कालखण्डलाई स्वर्णकाल भनिन्छ। यसै अवधिभित्र कैयौँ कालजयी गीतहरूको सिर्जना भए। तर ती कालजयी गीतहरू बन्न सक्ने आधार कसरी बनेको रहेछ, त्यसबारे बुझ्नलाई चरणबद्ध रूपमा घटनाक्रम र परिवेशलाई अध्ययन गर्न आवश्यक पर्छ।

गो.दु.नि.स.को स्थापना र यसले पुऱ्याएको योगदान

दार्जिलिङमा सङ्गीतसम्बन्धी गतिविधि कहिलेदेखि भयो भन्ने प्रश्न खुबै महत्त्वपूर्ण विषय हो। यसको अध्ययनको लागि हामीले ठीक त्यो मोडदेखिको गतिविधिलाई समेटेर ल्याउनुपर्छ, जुन मोडदेखि सामाजिक र सांस्कृतिक गतिविधि, सामूहिक रुपले सरस्वती पूजा लगायत अन्य पूजाआजा र नाटक आदिको प्रदर्शन जस्ता क्रियाकलाहरूका सुरवात भयो। यस्ता गतिविधिहरूले नेपाली गीत सङ्गीतलाई आधार दिनमा ठूलो भूमिका निर्वाह गरेको छ। त्यो इतिहासको दृश्यावली हेर्नलाई धेरै अघि नगए तापनि सन् १९३२ यताको गतिविधिलाई मात्र हेऱ्यौं भने पनि धेरै कुरा बुझ्न सकिन्छ। त्यसबेलासम्म नेपालीहरूले भोग्नु परेका कतिपय सामाजिक जर्जर समस्याहरूलाई ध्यानमा राखी ती समस्याका निदानको लागि एउटा भरपर्दो सामाजिक सङ्गठन खोल्नुपर्ने आवश्यकताबोधको परिणामस्वरूप सन् १९३२ को ३ जूनको दिन गोर्खा दुःख निवारक सम्मेलन (गो.दु.नि.स) खोलिएको रहेछ। यस सङ्गठन खोलिएपछि यसले सक्रिय रूपले सामाजिक कामहरू गर्दै गएको देखिन्छ। यस्तो महत कार्यको उद्देश्य लिएर खोलिएको यस संस्थाको संस्थापक स्तम्भको रूपमा धनवीर मुखिया प्रमुख देखिन्छ। उनी वास्तवमा गुरूङ रहेछन् तर संस्थाको मुखिया भएकाले उनलाई मुखिया नै भन्न थालिएको रहेछ। उनी र उनका साथीहरूका सक्रियता र प्रयासले संस्थाको विकास हुँदै गएको देखिन्छ।

हिमालयन कला मन्दिरको स्थापना

अर्कोतिर सन् १९५० मा हिमालयन कला मन्दिर नामको संस्थाको स्थापनाले नेपाली गीत-सङ्गीतको घरेटी स्थापना गर्नमा ठूलो भूमिका निर्वाह गरेको देखिन्छ। यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य थियो नेपाली गीत-सङ्गीत, नृत्य, नृत्यनाटिकाहरूको संरक्षण गरी जनसमूहमाझ प्रस्तुत गर्नु। सामाजिक र सांस्कृतिक उत्थानमा गो.दु.नि.स. र हिमालय कला मन्दिरबाट कतिसम्म योगदान पुगेको छ, त्यसको शोध हुनुपर्ने हो (लेखक)। यो हिमालय कला मन्दिर नामरूपी संस्थालाई सुचारु रूपले चलाउन र अघि बढाउनका निम्ति सक्रियरूपले लागिपर्नेहरूमा दार्जिलिङका पहिलो ‘पुरुष नृत्यकार’ रन्जीत घिसिङको नाम कसैले भुल्न हुँदैन। उहाँ सँग-सँगै काँधमा काँध मिलाएर हिमालय कला मन्दिरलाई अघि बढाउनेहरूमा विशासन लामा अनि उच्चकोटिका सङ्गीत साधक आलोक घोषको योगदानको इतिहास मेटिँदा मेटिने होइन।

एक गैर नेपाली समुदायको सङ्गीत साधक भएर पनि घोष बाबुले नेपाली गीत-सङ्गीतलाई माथि उठाउनमा जे जति योगदान दिएका छन् त्यसलाई कसैले चट्ट बिर्सियो भने त्यो अक्षम्य अपराध नै हुन्छ भन्दा गल्ती हुँदैन। कला मन्दिर र उनको नाम पर्यायवाची शब्द नै हुन् भने हुन्छ। यस पङ्क्तिकार स्वयंले पनि घोष बाबुबाट धेरै सिक्न पाएको हो। आज जताततै जोसुकैको अभिन्नदन ग्रन्थ प्रकाशित गरि पाठकलाई बलजफ्ति कोचारिदिने फेशन चलेको बेला भुल्न नेपाली गीत-सङ्गीतमा घोष बाबुको अवदानलाई पनि प्रकाशमा ल्याउने गरि कसैले पुस्तक निकाले कति ठूलो काम हुने थियो। अर्को भुल्न सकिने नाम हुन् संगीत महारथी शिवप्रसाद सिहं र उहाँका भाइ मानवीर सिंह, दुवै त्यस समयका उच्चकोटिका गीतकार, सङ्गीतकार।

नेपाली सङ्गीत प्रतियोगिता समिति

नयाँ-नयाँ कलाकारहरूलाई उचित मञ्चको खाँचो पर्छ भन्ने कुरालाई ध्यानमा राखि गो. दु. नि. स. कै तत्परतामा नेपाली सङ्गीत प्रतियोगिता समिति गठन भएको रहेछ, १९५६ मा। दार्जिलिङमा नेपाली गीत-सङ्गीतको आधार निर्माण गर्नमा मानवीर, शिवप्रसाद सिंह, दहलसिंह गहतराज, हिराकुमार सिंहको योगदानलाई इतिहासको पृष्ठमा स्वर्ण अक्षरले लेखिनुपर्छ। नयाँ-नयाँ प्रतिभाहरूलाई जन्म दिनु र फस्टाउन दिनु हो भने कुनै न कुनै पहल हुनपर्छ भन्ने उनीहरूकै सोच र कार्य तत्परताले गर्दा पछिबाट नेपाली सङ्गीत प्रतियोगिता समिति गठन भएको रहेछ।

यो संगीत प्रतियोगिता आजपर्यन्त प्रतिवर्ष आयोजन भइरहेको छ। यही सङ्गीत प्रतियोगिताको मञ्चबाट तयार भएर धेरै कलाकारहरू जन्मँदै गए। गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा, दिलमाया खाती, कुमार सुब्बा, दावा ग्याल्मो, मणिकमल क्षेत्री, बर्दी दुर्गा खरेल आदि जस्ता प्रतिभाहरू यही सङ्गीत प्रतियोगिताबाट चयन भएर, प्ररित भएर आज प्रतिष्ठित स्थानमा आइपुगेका हुन्। समुचित रूपमा भन्नु हो भने यो प्रतियोगिताको ऐतिहासिक महत्त्व छ। मनन गर्नुपर्ने यो एउटा छुट्टै आध्याय हो।

कोष सङ्ग्रहका पहलहरू

उपरोक्त संस्थाहरूलाई विभिन्न सामाजिक र सांस्कृतिक क्रियाकलापहरू अघि बढाउनलाई कोषको आवश्यक्ता पर्ने हुनाले यी संस्थाहरूका सञ्चालनमा अहम भूमिका निर्वाह गर्ने माथि उल्लेखित अग्रजहरूका पहलले त्यसबेला विस्तारै संस्थाको कोष सङ्ग्रहको लागि देउसी, भैलो खेल्ने, सरस्वती पूजा आदि गर्ने अनि अलिक पछि गएर नाटकहरू मञ्चन गर्ने प्रचलनको सुरूआत भएको देखिन्छ। मञ्चन गरिने नाटकहरूमा हिन्दी गीतहरू नै राखिएका हुन्थे। कहिले कहीँ नेपाली झ्याउरे गीतहरू पनि राखिएका हुन्थे। सडक निर्माण तथा बाटोघाटो निर्माणको क्रममा ढ्वाङ तान्दै श्रमिकहरूले गाएका श्रम गीतहरू पनि राखिन्थे। पछिबाट धेरैले हाम्रो मौलिक गीतहरू पनि हुनु पर्छ भन्ने आवश्यकता अनुभूत गरि गीत रचना गर्न थाले। धनवीर मुखियाले नै स्वरस्वती पुजा आदिमा नेपाली गीत कथ्ने प्रचलन सुरु गराए।

बंगाली समुदायका कति मानिसहरू दार्जिलिङमा थिए। उनीहरूमा देखिएका सङ्गीतप्रतिको औधी नै मरिमेटाई र समर्पणको भावनाको केही प्रभाव पनि हाम्राहरूमा पर्दै जानु स्वाभाविकै थियो। अब नेपाली गीतहरूको कम्पोजिशन विस्तार-विस्तार सुरु भयो। यसरी नै समय अघि बढ्दै गयो। केही समयपछि हिराकुमार सिंह, जसले त्यसबेला तबला सिकाउनु हुन्थ्यो, कम्पोज पनि गर्न थाल्नु भयो। उहाँ रणजीत गजमेरको भेना हुनु हुन्थ्यो। तबला उहाँले कलकत्ताबाटै सिकेर आउनु भएको थियो। सङ्गीतको क्षेत्रमा उहाँले धेरै काम गर्नु भएको थियो। उहाँ लगायत अर्का दह्रिला स्तम्भ हुनु हुन्थ्यो दलसिहँ गहतराज। (अध्ययनबाट थाहा लागेअनुसार सन् १९४४ मा उहाँकै शब्दमा ‘नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ, झिपि र मिली बिजुली बत्ती इन्द्रासन जस्तो छ’ बोलको गीतले जन्म लिएको रहेछ- लेखक)।

यहाँ माथि उल्लेखित अग्रजहरूले नै तयार पार्नु भएको परिवेशमा एउटा प्रतिभाको उदय हुन्छ, जो भविष्यमा नेपाली-गीत संगीतको क्षेत्रको शिखरमा विराजमान हुन पुग्नु हुन्छ, उहाँ हुनुहुन्छ शान्ति ठटाल। त्यही परिवेशबाट आदरणीय दिदी शान्ति ठटालको गायन मौंलाएर आएको रहेछ। त्यही परिवेशको माटोबाट उम्रिएर, हुर्कँदै, बढ्दै आएको ढकमक्क फुलेको फूल हुनुहुन्छ शान्ति ठटाल। “फेरि फुल्ने हो की होइन जोवनको फूल” भन्दै हामीलाई जीवनप्रतिको दर्शन र सन्देश दिने गीत-सङ्गीतको पर्याय।

गायनको सुरुवात :

सानै छँदा उहाँ आफ्नो घर छेउछाउको बाजा दोकानतिर रेडियोमा बजिरहेको लता मंगेशकरका गीत खाँदा, खेल्दा, उठ्दा, बस्दा खुबै रुचिका साथ गाउने गर्नुहुन्थ्यो। त्यस समय आज जस्तो कुनै पनि प्रकारको साधन सुविधा थिएन। तर पनि सानैदेखि लता मंगेशकरका गीतहरू अरूको रेडियोतिर वा माईक्रोफोनमा बज्दा सुनेकै भरमा सिक्दै र रिट्ठो नबिराई गाउँदै खेलेर हुर्कनु भएको रहेछ। सानै उमेरमा नै यसरी सानैदेखि लताको गीत गुनगुनाउँदा उहाँको स्वरमा रहेको मिठास र गायिकीप्रति गाउँ घरका मानिसहरूका ध्यान आकृष्ट नुहुने त कुरै आएन। उहाँमा रहेको यो प्रतिभा देखेरै उहाँलाई कला मन्दिरमा पुऱ्याइएको रहेछ, जहाँ उहाँले माथि उल्लेखित अग्रजहरूका सहयोगले अघि बढ्ने अवसर पाउनु भयो।

रेडियोमा बजेको लताको गीत सिकेर आफूले पनि यसरी नै गाउन सक्छु कि भन्दै गायनमा कोशिष गरिरहेको त्यस सङ्घर्षरत कालमा कलकत्ताबाट रेकर्ड भएका सेतुराम, मेलवादेवीका गीतहरू निस्किए, भाग्सुका मित्रसेन थापाका गीतहरू, कतकत्ताबादै गोपाल श्रेष्ठको संगीतमा उर्मिला श्रेष्ठको स्वरमा ‘सन्ध्या तिम्रो रिमझिम’ बोलको गीत बजारमा निस्कँदा आफूमा पनि छटपटि भएको र मैले पनि यसरी नै, यतिकै राम्रो ढंगले गाउन पाए हुन्थ्यो भन्ने भावना उहाँको मनमा पलाइरहन्थ्यो भनी उहाँ स्वयं बताउनु हुन्छ। गोपाल श्रेष्ठ उर्मिलाकी मामा। उनले उसै बेला कलकत्तामा नै धेरैलाई सङ्गीत सिकाएका थिए। ‘सन्ध्या तिम्रो रिमझिम’ बोलको गीतले नेपाल र नेपालबाहिर एक रसमा आधुनिकताको विहङ्गम झल्को दियो। यस अर्थमा नेपाली सुगम सङ्गीतमा आधुनिकता भित्र्याउने श्रेय नै गायिका उर्मिला कुमारी श्रेष्ठ र सङ्गीतकार गोपाल श्रेष्ठलाई जान्छ। उर्मिला कुमारीले नवीन बर्देवाको शब्दमा आफ्नै मामा गोपाल श्रेष्ठको सङ्गीतमा गाएको गीतले दार्जिलिङ र त्यस वरपरका नेपालीलाई सम्मोहित बनाइसकेको थियो। दार्जिलिङको सङ्गीतमा त्यतिबेला शिवकुमार सिंह, हिराकुमार रसाइली, कपिलराज सुब्बा, नवीन बर्देवा, मानध्वज गुरुङ, दलसिंह गहतराज आदिले खनेका बाटोमा संगीतले मौलिकता खोजिरहेको थियो। त्यही बाटो हिँडेर आउनु भएको हो शान्ति ठटाल।

कला मन्दिरमा त्यसबेला संस्थापक सदस्य शिवप्रसाद सिंह हुनुहुन्थ्यो। उहाँको योगदान यो संस्थामा अतुलनीय छ। कला मन्दिर पुगेपछि शान्ति ठटालले आफ्नो प्रतिभा देखाउने अझ राम्रो अवसर पाउनुभयो। कला मन्दिरको कैयौं कार्यक्रमहरूमा गाउँदै जानुभयो साथै नाटकहरूमा पार्श्व गायिकाको रूपमा गाउनुभयो। त्यसबेला नेपालबाट दार्जिलिङ आउने-जाने ठूला-ठुला साहित्यकारहरूका स्वागतार्थ आयोजित कार्यक्रमहरूमा पनि उहाँलाई स्वागत गीत आदि गाउन लगाइन्थ्यो। चाँडैनै उहाँको स्वरमा मिठास र उहाँभित्र लुकेको सम्भाव्यतासित सबै परिचित बने। उमेर सानै थियो तर पनि यो केटीलाई उचित रूपमा सङ्गीतको औपचारिक शिक्षा प्राप्त भयो भने धेरै नै प्रगति गर्न सक्नेछिन् भन्ने नतिजामा पुगे कला मन्दिरका अग्रजहरू। कुनै औपचारिक शिक्षाबेगर गाएर मात्र हुँदैन, उचित रूपले सङ्गीतको तालिम मैले लिनपर्छ भन्ने भावना उहाँ स्वयंमा पनि पलाउन थालेपछि कला मन्दिरका अग्रजहरू पनि उहाँलाई कलकत्ता पठाउनेबारे सोच्न थाले अनि उहाँ स्वयंले पनि आफ्नो इच्छा देखाउनुभयो। उहाँको परिवारले पनि सहमति दिएपछि अन्ततः उहाँलाई कतकत्ता पठाउने निर्णय पक्का भयो।

कला मन्दिरमा घोष बाबुले नै सबै खोजी गरेर कलकत्ता स्थित रवीन्द्र भारतीमा प्रवेशको लागि आवश्यक कागजपत्र भरिदिनु भएको हो भनी दिदी स्वयं बताउनु हुन्छ। त्यसपछि सो केन्द्रमा परीक्षाका निम्ति उहाँलाई शिवप्रसाद सिंहले लिएर जानुभयो। साथमा उहाँको आमा पनि जानु भयो। कलकत्ता पुग्दा त्यहाँ उहाँलाई एन.बी.गुरूङले धेरै सहयोग गर्नुभयो, जो त्यसबेला कँग्रेसको डेपुटि मिनिस्टर हुनुहुन्थ्याे। वास्तवमा उहाँ कालिम्पोङका डम्बरसिहँ गुरुङको भाइ हुनुहुन्थ्यो। बस्, समयको त्यही मोड्देखि कलकत्तामा रवीद्र भारतीमा सङ्गीतको औपचारिक शिक्षा सुरु भयो, दिदी शान्ती ठटालको।

रविन्द्र भारतीमा स्वर परीक्षामा उतीर्ण भएर प्रवेश पाएपछिको कुरा बताउँदै शान्ति ठटाल भन्नुहुन्छ “म त्यहाँ तीनवर्ष बेसी बसेँ। त्यहाँ दोस्रो वर्ष पुगेपछि मेरो स्वरमा एउटा भारीपना आयो। म अलिक बिरामी जस्तो भएँ। त्यहाँको गर्मी र पानीले भिजाइ आदिले । कहिले जीउमा नै लुगा सुक्थ्यो। त्यसले गर्दा मेरो स्वरमा एफेक्ट भयो र पनि फाईनल चाहिँ राम्रो डिभिजनमा पास गरें। औपचारिक तालिम सकेर म त्यहाँबाट फर्कें। मलाई कलकत्तामै एकजनाले भनेका थिए, ‘तेरो काम दार्जिलिङमा भइसकेको छ। तँ सिधा दार्जिलिङ जा’ भनेर।”

श्रद्धेय शान्ति गुरुमा अझ भन्नुहुन्छ- “रविन्द्र भारतीबाट दार्जिलिङ फर्केपछि मैले लोक मनोरञ्जन शाखा (सङ्ग एण्ड ड्रामा यूनिट)मा काम पाएँ। त्यसबेला त्यहाँ रन्जित घिसिङले नृत्य सिकाउनु हुन्थ्यो। अम्बर गुरुङ सिनियर न्यूजिसियन थिए। इन्द्र थपलिया सिङ्गर थिए। म सिङ्गर भएँ। गोपाल योञ्जन म्युजिसियन थिए। यूनिटको काम लिएर कमान-कमान बस्ती-बस्ती जानपर्थ्यो। १३/१४  वटा गीत गाउनु पर्दथ्यो। साह्रो पर्दथ्यो तर पनि युवा अवस्थामा थिएँ र सकिन्थ्यो पनि। विभिन्न नृत्यहरू पनि हुन्थे, रविन्द्र सङ्गीत पनि हुन्थ्यो।

यसरी श्रद्धेय शान्ति दिदीसित कुराकानीमा लोक मनोरञ्जन शाखामा उहाँको प्रवेशसम्म आइपुग्दा म अचानक सम्हालेर राख गीतमा आइपुग्छु।

नेपाली गीत-सङ्गीतको इतिहासमा अहिलेसम्म कति गीत आए कति विस्मृतिमा पुरिए, हिसाब छैन तर एउटा यस्तो गीत हामीले पायौँ, जसलाई कालखण्डले मिच्न सकेन साथै भूगोलभित्र कुनै साँध सिमानाले बाँध्न सकेन। मान्छेकै जस्तो गीतको पनि भाग्य हुँदो रहेछ भन्नु कर लाग्छ, यो गीतको लोकप्रियता हेर्दा। नेपाली सङ्गीतको क्षेत्रमा अम्बर गुरुङकाे शब्द र सङ्गीतमा शान्ति ठटालको स्वरमा रहेको “सम्हालेर राख सङ्गालेर राख” बोलको गीत त्यस्तो गीत हो जुन गीतले लोकप्रियताको हद नै पार गरेको छ। नेपाल र भारतमा बस्ने नेपालीहरूमाझ मात्र होइन विदेशमा बस्ने नेपालीहरूमाझ पनि आजपर्यन्त यो गीत उत्तिकै लोकप्रिय र चर्चित छ। यो गीतको जन्म भएको ६ दशक पुग्न आँट्यो तर आजसम्म पनि दिदी शान्ति ठटाल जहाँ-जहाँ जानु हुन्छ त्यहीँ  नै यो गीत गाइदिने आग्रह हुन्छ नेपाली जनमानसबाट। यसरी एउटै गीत पटक-पटक गाइरहनु पर्ने बाध्यतादेखि उम्कनु नपाएको गुनासो पनि उहाँ गर्नुहुन्छ। गीत सङ्गीत क्षेत्रका कतिपय मर्मज्ञहरूले आजसम्म यति मिठास गीत जन्मनु नसकेको निष्कर्ष समेत निकालेका छन्। यो गीतलाई धेरैले नेपाली गीत-सङ्गीतको ‘एन्थम’ नै मान्छन्।

नेपाल र भारतमा बस्ने नेपालीहरू मात्र होइन तर विश्वको अन्य मुलुकहरूमा बस्ने नेपालीहरूले सम्म यो गीत आजपर्यन्त उतिकै मिठास मानेर सुन्छन्। नेपाली मनमा ट्याप्प टाँसिनसक्ने गीत हो यो। कालजयी गीतहरू त अरू पनि छन् तर यो गीतमा गायिकाको स्वर र लयको माधुर्यताको तादाम्य मिलेर जुन मिठासको सिर्जना भएको छ, त्यसैले गीतलाई सुनिरहूँ जस्तो लाग्ने बनाएको छ। आजसम्ममा विभिन्न प्रयोगका, विभिन्न शैली र भाकाका गीतहरू जन्मिए, धेरै असल-असल गीतहरू देखा परे तर यो गीतलाई चुनौती दिनसक्ने गीत अहिलेसम्म त देखिएको र सुनिएको छैन भन्दा कुनै भुल नहोला। यो गीत श्रोताको हृदयले चुनेको गीत हो। साहित्यमा एउटा राम्रो कृतिलाई पनि समालोचकले नराम्रो भनिदिन सक्छ अनि एउटा कम्सल कृतिलाई राम्रो भनिदिन सक्छ तर गीत-सङ्गीतमा यस्तो हुँदैन। कारण सङ्गीत श्रोताको हृदयले सुनिन्छ। समीक्षकले निर्क्यौल गर्नुभन्दा पहिले नै हजारौं श्रोताले मन पराइसकेका हुन्छन्।

जब-जब शान्ति ठटालको कुरा उठ्छ तब यो गीतको पनि प्रसङ्ग अनयासै आइहाल्छ। आज शान्ति ठटाल र यो गीत पर्याय नै बनिसकेको छ। शान्ति ठटाल स्वयंको भनाइअनुसार, यो गीत रेकर्ड हुनुभन्दा पहिले नै उहाँले कतिपय कार्यक्रमहरूमा यो गीत गाइसक्नु भएको थियो। त्यसै समय मानिसहरूले यो गीत खुबै मन पराएका थिए। यो गीत जन्मिएको रहेछ दार्जिलिङकाे टिङलिङ चियाकमानमा। जुन समयमा कलकत्ताको रवीन्द्र भारतीबाट सङ्गीतको शिक्षा आर्जन गरि उहाँ दार्जिलिङ फर्किसक्नु भएको थियो।

शान्ति ठटाल भन्नुहुन्छ- “म कलकत्ता रवीन्द्र भारतीको ‘एकाडेमी अफ डान्स, ड्रामा एण्ड म्यूजिक’ बाट सङ्गीतको तालिम सकेर फर्किएँ। फर्किने बेलामा मलाई कतकत्तामै एकजनाले भनेका थिए, तेरो काम दार्जिलिङमा भइसकेको छ। दार्जिलिङ पुगेपछि मैले त्यहाँ लोक मनोरञ्जन शाखामा नियुक्ति पाएँ। त्यहाँ त्यदसबेला अम्बर गुरूङ्ग पहिलेबाटै सिनियर म्यूजिसियन पदमा हुनु हुन्थ्यो। इन्द्र थपलिया सिंगरको रूपमा थिए। रन्जित घुसिङले नृत्य सिकाउनु हुन्थ्यो। मैले पनि सिंगरको रूपमा नौकरी पाएँ। मैले यसरी कुनै परीक्षाबिना सोझै त्यहाँ प्रवेश र नियुक्ति पाएको थिएँ। अब लोक मनोरञ्जन शाखामा प्रवेश गरेपछि हामी विभिन्न कमान-बस्तीमा कार्यक्रम लिएर जानु पर्थ्यो। यस्ता कार्यक्रमहरूमा १३/१४ गीत गाउनु पऱ्थ्यो। यसै क्रममा एक दिन टिङलिङ कमानमा पुगियो, कार्यक्रम लिएर।

यस्ता कार्यक्रममा अरू गफ ठट्टामा लागेको बेला अम्बर गुरुङ्ग भने कुनै कुनामा बसेर हार्मोनियम लिएर गीत कम्पोज गर्नमा नै तल्लीन रहनुहुन्थ्यो। विभिन्न ठाउँमा कार्यक्रम लिएर जाँदा पनि फुर्सदको समयमा हार्मोनियम लिएर एकोहोरो गीत-सङ्गीत सिर्जनामा नै लाग्नु हुने अम्बर गुरूङले त्यसैबेला तयार पार्नु भएको गीत हो ‘सम्हालेर राख’। उहाँले त्यस बेला यो गीतको एउटा धून तयार पार्नुभयो अनि मलाई यो गीत गाउन भन्नु भयो र सिकाउनु भयो। तर उहाँले सिकाउनु भएको त्यो धून मलाई अलिक चित्त बुझ्दो लागेन र अर्को ट्यून हुन सक्दैन भनि उहाँलाई सोधें। किनभने गीतको ‘ट्यून’  कता–कता पश्चिमेली धुन जस्तो अथवा पूर्णरूपमा त्यस्तो नभए पनि त्यसैमा आधारित जस्तो लाग्यो मलाई। यो गीत राम्रो छ, गाऊ भनी इन्द्र थपलिया दाइले पनि भन्नुभयो तर मैले केही असजिलो मानेँ। मलाई चाहिँ अलिकति हेभी प्रकारको क्लासिकलको सुगन्ध भएको गीत मन पर्थ्यो। मैले अर्को ट्यून हुँदैन भनेपछि ट्यून रूचाएन रहेछ भन्ने ठान्नु भयो होला र केही क्षणमा अर्को ट्यून बनाउनु भएछ र फेरि बोलाएर मलाई सुनाउनु भयो। मलाई त्यो दोस्रो ट्यून अति राम्रो लाग्यो र सिकेँ अनि त्यही दिन कार्यक्रमा गाएँ। यसरी भयो ‘सम्हालेर राख’ बोलको गीतको जन्म सन् १९६४ मा”।

यसबारे उहाँ अझ भन्नुहुन्छ, “मैले कलकत्ता रवीन्द्र भारतीबाट सङ्गीत सिकेर आइसकेकी थिएँ। यसो हुनाले ममा कुनै पनि गीतको ट्यून र मर्म बुझ्न सक्ने क्षमता थियो, त्यसैले पहिलो ट्यून आफूलाई नरूचेको कुरा अम्बर गुरूङ जस्तो उसैबेलाका अब्बल सङ्गीतकार समक्ष व्यक्त गर्ने आँट पनि भयो। मैले रवीन्द्र भारतीबाट सङ्गीत सिकेर नआएको भए मभित्र त्यो आँट हुने नै थिएन अनि सायद म त्यो पहिलो ट्यून नै रुचाएर गाउँथे होला”।

गीतको शब्द रचनालाई मात्र हेऱ्यौं भने अम्बर गुरूङको सङ्गीत यात्राको प्रारम्भिक चरणकै गीत भने हुन्छ यसलाई। उनकै त्यसबेलाका शब्द रचनाहरूमध्ये यो धेरै फरक शैलीको शब्दरचना देखिन्छ। गीतमा शब्दकारले मानव जीवनप्रतिको आफ्नो वैयक्तिक दर्शन व्यक्त गरेका छन्। जीवनलाई फूलको बिम्ब दिएर फूल जस्तो यो जीवन फेरि पाइन्छ कि पाइन्न बरू जीवन रहुञ्जेल यसलाई आफैले सम्हालेर राख्नु पर्छ। लापरवाही ढंगले जीवन बाँचियो भने यो समयभन्दा पहिले नै ओइलिएर झर्नु सक्छ भन्ने भावना व्यक्त गरेका छन्।

सम्हालेर राख, सँगालेर राख

फेरी फुल्ने हो कि हैन, जोवनको फूल

यसलाई राख, साँची-साँची राख

चाहे झरोस विरानीमा, निशानी भै फूल।

यो गीत रेडियो नेपालमा चाहिँ सन् १९६५ अर्थात वि. सं. २०२२ मा रेकर्ड भएको रहेछ। त्यसबेला नेपालमा श्री पाँच महेन्द्र वीर विक्रम शाहको जन्म जयन्तीमा भाग लिन दार्जिलिङका कलाकारहरूलाई पनि बोलाइएको रहेछ। त्यसबेला दिदी शान्ति ठटाल, शरण प्रधान, अरुणा लामा र आइजक जानु भएको रहेछ। त्यसबेला उहाँहरूलाई कुनै एक होटलमा राखिएको रहेछ, गायक पुष्प नेपालीले घुमाउँदै रेडियो नेपाल पुऱ्याउनु भएछ। त्यहाँ पुगेपछि उहाँहरूका केही गीतहरू रेकर्ड गर्न रेडियो नेपाल इच्छुक भएपछि शरणको सङ्गीतमा अरुणाले केही गीत गाउनु भएछ अनि शान्ति ठटाल दिदीले ‘सम्हालेर राख’ (शब्द संगीत अम्बर गुरुङ्ग)  र ‘मेरो दुःखी मन’ (शब्द- वैरागी काइँला) बोलको गीत गाउनु भएको रहेछ। रेडियो नेपालमा यसरी ‘सम्हालेर राख’ रेकर्ड भएपछि अझ यो गीतले व्यापकता पायो।

यो गीत रेडियोमा बज्न थालेपछि गायिका मात्र नभएर गीतकार/सङ्गीतकारलाई पनि यो गीतले झनै चर्चित तुल्यायो। आजसम्ममा आइपुग्दा यो गीत यति चर्चित भयो कि नेपालीहरूले मात्र होइन अनेपाली बन्धुहरूले समेत यो गीत मन पराउँछन्। गीतको शब्दकार, सङ्गीतकार अम्बर गुरूङ स्वयंले यो गीत अति राम्रो हुनुमा गायिका शान्ति ठटालकै गायिकीलाई श्रेय दिनु भएको थियो। सन् २०१२ मा नेपालयमा कुनै एक ठूलो हलमा कार्यक्रम भएको बेला आफ्नो भनाइमा अम्बरले भनेका रहेछन् ‘सुश्री शान्ति ठटाललाई म आन्तरिक हृदयदेखि नै धन्यवाद अर्पण गर्छु। उनले कुशलतापूर्वक ‘सम्हालेर राख’ बोलको गीत गाइदिएर मलाई लोकप्रिय बनाइदिनुभयो।’

दिदीसितको भेटवार्तामा म बोल्नुभन्दा धेरै सुनिरहेको हुन्छु। उहाँ बोल्दै जानुहुन्छ, अतिततर्फ फर्कँदै जानुहुन्छ। कतिपय प्रसङ्गहरू निस्कँदै जान्छन्। म केही प्रश्नहरू फेरि तेर्साउँछु।

===

सन् १९३२ मा स्थापित भएको गो. दु. नि. स. कै तत्परतामा सन् १९५६ मा गठन भएको नेपाली सङ्गीत प्रतियोगिता समितिबारे केही भनिदिनु हुन्छ कि ? 

– “सङ्गीत प्रतियोगिता सुरु भएपछि सबैले भाग लिँदै गए। आफ्नो टेलेन्ट सबैले देखाउँदै गए। कलाकारहरू जन्माउन यो प्रतियोगिताले ठूलो मञ्चको काम गऱ्यो। मलाई भने प्रतियोगितामा भाग लिन दिइएन, किनभने मेरो गीत रेकर्ड भइसकेको थियो तर मलाई अतिथि कलाकारको रूपमा राखिन्थ्यो। त्यसबेला सुरु भएको प्रतियोगिताको क्रम अहिलेसम्म चलिरहेको छ। यो प्रतियोगिताले जन्माएका कलाकारहरू राम्रा-राम्रा भए। गोपाल योञ्जन त्यति बेला न गीतकार थिए, न सङ्गीतकार थिए, न त गायक नै थिए। एउटा सानो केटा आएर बाँसुरी बजायो। सबैले यो नानीले के राम्रो बजायो भनेर प्रशंसा गरे, मन पराए। उ रहेछ गोपाल योञ्जन। उ गयो। अर्को सानो केटो आयो, उसले बेन्जो बजायो। त्यसमा उसले सिनेमाको गीत बजायो। त्यो केटा रहेछ शरण प्रधान। त्यसपछि दुईपट्टि कपाल बाटेकी, जामा लगाएकी एउटी सानी केटी टुक्रुक्क बसेर गाउन थालिन्।ऊ रहिछन् अरुणा लामा। यस्तै प्रकारले दिलमाया खाती, दावा ग्याल्मो सबै सबै त्यही प्रतियोगिताबाट आएका हुन्।”

दिदी अझ भन्नुहुन्छ- “त्यतिबेला दार्जिलिङ त अभावग्रस्त थियो। कसैकोमा कुनै बाजागाजा छैन, प्रोत्साहन छैन, कतिलाई घरबाट अनुमति छैन तर पनि कुन आँट र धैर्यताले हाम्रा कलाकारहरूले नेपाली सङ्गीतको घरेटिलाई सबल बनाए, कसरी हाम्रा गीत सङ्गीतका यी पारखीहरूले यो क्षेत्रलाई राम्रा-राम्रा सिर्जनाहरूले ढकमक्क बनाए त्यो सबैले बुझिदिनु पर्छ। त्यस्तो थुप्रै परिस्थिति माझ पनि त्यतिबेलाका कलाकारहरूले जे गरे त्यो कहिल्लै भुल्नु हुँदैन। उनीहरूले गर्दा नै नेपाली सङ्गीत क्षेत्र माथि उठेको हो। अहिलेका नयाँ कलाकारहरूले पनि नयाँ सोच, नयाँ विचार लिएर केही गर्दैछन्। अग्रजहरूका परम्परालाई अघि बढाइरहेका छन्।”

नेपाली गीत-सङ्गीतको इतिहास हेर्दा पहिले-पहिले शब्दमा भन्दा सङ्गीत पक्षमा बढी ध्यान दिने गरेको देखिन्छ। अम्बर गुरूङ् स्वयंले यो भुल गर्नु भएको देखिन्छ तर चाँडै नै उहाँले यो भुललाई आत्मसात गरि शब्दमा बढी ध्यान दिन थाल्नुभयो, राम्रा-राम्रा गीतकारहरूका शब्दरचनामा सङ्गीत भर्नुभयो। आफूले पनि राम्रा-राम्रा शब्दरचना गर्नुभयो, जसले गर्दा गीतको शब्द राम्रो हुनपर्छ भन्ने नयाँ परम्पराको सुत्रपात भयो। यसै अवधारणामा हुर्कँदै तपाईंले गाउनु भएका गीतहरू पनि राम्रा-राम्रा गीतकारहरूका शब्दरचना परेका छन् नी ?

– हाे, जबदेखि शब्द र सङ्गीत दुवैमा ध्यान दिन थालियो तबदेखि नेपाली गीतहरू गहन हुन थाले। ‘नौलाख तारा’ गीतले जन जागृति मात्र होइन गीतको मर्मलाई पनि छर्लक्क पार्न सक्यो। अब अलिक गहकिलो भाव र शब्द भएको गीतहरू खोज्न थालियो। नेपालका राम्रा- राम्रा शब्दकारहरू दार्जिलिङमा नै आएर पढेका वैरागी काईँला, इश्वर वल्लभ आदिका गीतहरू देखा पर्न थाले, जसको गीतहरूका कम्पोजिशन प्रायः अम्बर गुरूङले नै गर्नुहुन्थ्यो, पछि गएर गोपाल योञ्जनले पनि गरे।

नारायण गोपालले तपाईंको सङ्गीतमा कसरी गाउनु पुग्नुभयो ?

– नारायण गोपाल स्वयंको आग्रहमा मैले उहाँलाई दुईवटा गीत सिकाएँ। उहाँको आवाजको रेन्ज गोल्डेन भोइस रेन्ज हो। दार्जिलिङमा आइरहनु हुन्थ्यो र हामीसित भेटघाट भइरहन्थ्यो। एकदिन भेटको क्रममा उहाँले खोई गीत सुनौँ त भन्नुभयो, मैले सुनाएँ। त्यसपछि त ‘गाउन सिकाउनु’ भनेर सिक्न थालिहाल्नु भयो। मैले उहाँलाई दुईवटा गीत गाएर सुनाएँ। उहाँले खुबै मन पराउनु भयो। नारायण गोपाल जस्तो महान कलाकारले मसँग गीत सिक्दा, मेरो सङ्गीतमा गीत गाउँदा मलाई निकै खुसी लाग्यो।

ती दुई गीतमध्ये एउटा गीत यस्तो थियो-

“मेरो कथा खाली खाली पिंजडामा खोज

मेरो व्यथा भत्किएको मन्दिरलाई सोध

रूँदा रूँदै हाँसी दिनु गाह्रो छ की छैन

जली जली खाक हुने मैनबत्तिलाई सोध” (गीतकार मन बहादुर मुखिया)

उहाँले मबाट सिक्नु भएको अर्को गीत यस्तो थियो—

मैले बोल्नै भएन, केही भन्नै भएन

दुई चार कुरा मनको मैले पोख्नै भएन… (गीतकार गगण गुरुङ)

पहिलो गीत रेकर्ड भयो अनि खुबै चर्चित भयो। दोस्रो गीतमा केही शब्दको कारणले प्रतिबन्द लाग्यो र रेकर्ड हुन पाएन। रेकर्ड हुन नपाए पनि मैले त्यो गीत साँचेर राखेको थिएँ पछि ९० को दशकको मध्यभागमा नेपाल जाँदा रामकृष्ण ढकाल मलाई भेट्न आएर एउटा गीत मागे। आग्रह टार्न नसकेपछि मैले एउटा गीत दिन्छु तर त्यो नारायण गोपालले गाइसकेको गीत हो भनि मैले त्यही गीत दिएँ। गीत नारायण गोपालले गाएका थिएछन् भन्दा ऊ झनै हर्षित भयो। उसले त्यो गीत सिक्यो, टेप गरेर लग्यो अनि पछिबाट बम्बेबाट त्यो गीत रेकर्ड भएर निस्कियो। रेकर्डिङ क्वालिटी पनि धेरै राम्रो भएको छ।

 हजूरले अम्बर गुरूङ जस्तो सङ्गीतकारको गीतमा पनि सङ्गीत भर्नु भएको छ नि ? कसरी यो अवसर जुऱ्यो ?

– हो, मेरो स्वरमा जहिलेदेखि ह्रास आयो, त्यहिले देखि म सङ्गीतकारको रूपमा काम गर्न थालेँ। सङ्गीत छोड्न सक्ने मान्छे त होइन म। सङ्गीतमा नै लागिरहेँ। मलाई सङ्गीत रचना गर्ने लहड र धून आफै आयो। मैले आफ्नै भाउजूको गीतमा ट्यून भरें, राम्रो भयो। त्यसै समयमा अम्बर गुरूङजीले मलाई एउटा गीतमा धून भर्न दिनुभयो। ‘यो मेरो शब्दरचना हो र यसमा धून भर्नु’ भनिदिनु भयो। मैले धून भरें। तर उहाँ जस्तो सङ्गीतकार समक्ष मलाई त्यो धून सुनाउन हिचकिचाहट लागेको थियो। उहाँकै सामुन्ने सुनाउन आनेकने गरेको देखेपछि, उहाँ अर्को कोठामा जानुभयो र मैले सुनाएँ। अरु म्युजिशियनहरू पनि थिए त्यहाँ। मैले तयार पारेको उहाँको गीतको धून सुनेपछि उहाँ औधी खुशी हुनुभयो। त्यसबेला उहाँको मुखबाट निस्केको प्रतिक्रिया थियो- ‘यो गीतमा मैले नै धुन भरेको भए पनि यत्तिको राम्रो हुनेथिएन।’ अम्बर गुरुङ जस्तो मूर्धन्य सङ्गीतकारको त्यो प्रतिक्रियाले मलाई सङ्गीतकार बन्ने ठूलो आत्मबल दियो।”

यसरी मैले धून भरेपछि तयार भएको उहाँको शब्दरचना   दार्जिलिङकाे क्यापिटल हलमा आयोजित एक कार्यक्रम (सन् १९६५) मा मैले प्रस्तुत गर्न पाएँ। त्यो गीत हो—

म अचानक नै अढें

फूल पनि तर्सिदियो

पछि हेरें भूल थियो

भूल पनि झर्किदियो।

 

 कलकत्ताको रवीन्द्र भारतीमा सङ्गीत सिक्नुभयो, बङ्गाली र नेपाली समुदायमा सङ्गीतप्रतिको समर्पणमा कतिको फरक पाउनुभयो ?

– रवीन्द्र भारतीमा कतिले पहाडेहरूको आवाज राम्रो हुन्छ भन्थे। बङ्गाली समुदायका मानिसहरूका समर्पण हेरें मैले त्यहाँ। त्यहाँ सङ्गीत धेरै जान्नेहरू पनि थिए। उनीहरु डिग्रीको लागि त्यहाँ भर्ना भएका थिए। उनीहरूमा सङ्गीतप्रति मरिमेटाई थियो। हाम्राहरूमा सिरियसनेस छैन। सङ्गीत उनीहरूको जीवनको पार्ट हो। मैले सिक्किममा काम गर्दा मणिपुर जानु परेको थियो। त्यहाँ मैले नानीहरूका अनुशासन हेरेँ। बाजा सबैले एउटै प्रकारले बजाएको देखेँ। एकदम पर्फेक्ट। त्यति बेला मेरो मनमा के भावना पलायो भने हाम्रा नानीहरूलाई पनि मादल बजाउनुमा यस्तै तालिम दिइनु पर्ने थियो। लोकबाजा सिक्नेतर्फ हाम्रो ध्यान छैन।

लोक गीत सम्बन्धमा तपाईंको धारणा ?

– मैले धेरै लोकगीत गाएको छु। मलाई प्रभाव पार्ने भनेको नै लोक गीत र शास्त्रीय गीत नै हो। धर्मराज धापा दार्जिलिङ आउनु भएको बेला उहाँले एउटा लोक गीत गाउनु भएको थियो- ‘नेपालीले माया माऱ्यो बरि लै’ भन्ने। यो गीत अति साधारण ट्यूनमा थियो। मैले गीत टिपेँ र गाएँ। पछिबाट उहाँ बस्नु भएको ठाउँमा गएँ। मैले यो गीत मन पऱ्यो भनेपछि उहाँले सिकाउनु भयो। पछि गो.दु.नि.स.को एउटा कार्यक्रममा मैले यो गीत नै गाएँ। मैले एउटा लोक गीत पनि रेकर्ड गराएको छु। लोक बेस भएको धेरै गीत मैले कम्पोज गरेको छु।

दिदी शान्ति ठटाल र लोक गीत सम्बन्धमा एक संस्मरणमा प्रख्यात नाटककार मन बहादुर मुखियाले लेख्नु भएको रहेछ—“उसबेला गोर्खा दुःख निवारक सम्मेलन र सम्मेलन हल भनेपछि एउटा ‘जंसन’ नै थियो। त्यो हलमा मैले एक पटक शान्ति दिदीले गाएको सुनेको थिएँ, लोकभाकाको एउटा गीत– ‘यो माया तिम्रै हो साइँला/थाप रुमाल, बाँध बलियो…।’ त्यसबेला गुरु अम्बर गुरुङलाई पनि दर्शकदीर्घाको अघिल्लो पङ्क्तिमा देखेको थिएँ, परैबाट। तर यो साइँला गीत न फेरि कतै सुनियो, न त रेकर्ड नै भयो।”

अहिले पनि सङ्गीत सिर्जना सम्बन्धी कुनै योजना छ कि ?

– योजना त छैन। ताकत पनि छैन। हार्नोनियम बजाउनु पनि हात दुख्छ। लेखन कार्य गर्दैछु। म साहित्यिक त होइन तर पनि लेख्दैछु। कम्पोजिशनहरू एक/दुई गर्नु बाँकी छ तर अहिले अस्वस्थताले गर्दा सकेको छुइनँ।

शान्ति ठटाल स्वयंको भनाइअनुसार उहाँले सङ्गीत रचना गर्नु भएको सन् १९६५ देखि हो। प्रख्यात कवि तथा साहित्यकार ईश्वर वल्लभद्वारा रचित गीति नाटक एउटा निलो सूर्यास्त मा ‘प्ले ब्याक म्युजिक’ दिनु भएपछि सङ्गीतकारको रूपमा उहाँको परिचय बढी मुखरित भएको हो भन्दा हुन्छ। त्यो भन्दा अघि उहाँलाई हामी मूलतः गायिकाको रूपमा पाउँछौं। एउटा निलो सूर्यास्त ले उहाँलाई निकै ठुलो प्रसिद्धि दिलायो, सङ्गीतकारको  रुपमा नेपाली सङ्गीत जगतमा। सन् १९७८ मा ‘परालको आगो’ चलचित्रको पार्श्व सङ्गीत मात्र नभएर ‘स्कोर म्युजिक’समेत उनैले लेखेकी थिइन् जुन आज पनि लोकप्रिय मानिन्छ, पुराना चलचित्रहरुको सङ्गीतको लेखा जोखा गरिँदा। ‘परालको आगो’पछि प्रताव सुब्बाकै निर्देशनको अर्को चलचित्र ‘बाँच्न चाहनेहरू’-मा पनि सङ्गीतकारको जिम्मेवारी उहाँले नै निर्वाह गर्नु भयो। यसरी नेपाली चलचित्रमा सङ्गीत निर्देशन गर्ने पहिलो महिला संगीतकारको श्रीपेच उहाँकै शीरमा परेको छ। यस अतिरिक्त देवकोटाको मुनामदनमा पनि उहाँले सङ्गीत दिनु भएको छ। आफूलाई नेपाली चलचित्रको सङ्गीतकार बन्ने खुडकिलो भने वल्लभको एउटा निलो सूर्यास्त-ले नै दिएको उहाँ बताउनु हुन्छ।

२०० भन्दा बढी गीतमा सङ्गीत दिएर आठ दशकभन्दा बढी उमेर पार गरिसक्नु भएकी महान सरस्वती पुत्री शान्ति ठटालको जन्म दार्जिलिङकाे शहरको मुटु चौकबजारको म्यूनिसिपल बिल्डिङ ई (हाल सुमेरू मञ्च)को ४२ नम्बर घरमा बाबु मनुसिंह ठटाल र आमा चन्द्रमाया ठटालको काइँली छोरीको रूपमा ४ अप्रेल १९३८ शनिबारको दिन भएको हो। आदरणीय शान्ति ठटालको सफलता भनेको नेपाली चलचित्रमा सङ्गीत दिने प्रथम महिला सङ्गीतकारको संज्ञाले मात्र होइन, रवीन्द्र भारतीबाट औपचारिक शिक्षा पूर्ण गरेर आएकी एक दक्ष सङ्गीतकार भनेर मात्र पनि होइन। के कुराले उहाँलाई विशिष्ट स्थानमा विराजमान गराउन सक्यो भने, उहाँले गायिकाको रूपमा जति गीत गाउनुभयो ती सबै उत्कष्ट गीतकारका गीतहरू थिए, उत्कृष्ट सङ्गीतकारको सङ्गीत थियो। यति मात्र नभएर सङ्गीतकार बनेपछि उहाँले जति गीतकारहरूका गीतमा सङ्गीत भर्नुभयो, सबै उत्कृष्ट गीतकारहरूका गीतमा सङ्गीत भर्नुभयो।

कुनै शान्त परिवेशबाट मात्र कुनै प्रतिभा जन्मिनु सक्छ भनि हामी भन्छौं तर त्यो गलत रहेछ। दार्जिलिङमा मुटु मानिने अनि रातौंदिन भाषण र होहल्लाले कान पाक्ने चाेकबजारमा म्युनिसिपल बिल्डिङमा जन्मिनु भएको एक बालिका भविष्यमा यति महान गायिका र सङ्गीतकारको रूपमा नेपाली गीत-सङ्गीत आकाशमा प्रकाशमान बन्नुहुनेछ भनेर कसलाई थाहा थियो र ! प्रख्यात नाटककार मन बहादुर मुखियाको बुझाइमा भन्नु हो भने हल्लाखल्ला भइरहने थलो थियो– गीताङ्गे डाँडा,  त्यो हाहुमाझ कुनै व्यक्तिभित्र पस्नु, भित्रै पसेर स्रष्टा पहिल्याउनु अनि त्यही भरमा गायक अथवा सङ्गीतकार बन्नु चानचुने कुरा थिएन। मुखियाज्यूले यतिसम्म भन्नुभएको रहेछ- “ठटाल ‘चानचुने’ थिइनन्, ‘सितिमिति’ होइनन्।”

नेपाली गीत-संगीतको सेवामा अथक र अनवरत रूपमा लागिरहनु भएकी शान्ति ठटाललाई धेरै-धेरै पुरस्कारहरूले सम्मानित गरिसकिएको छ, जसमा प्रमुख छन्-

तीनपल्ट सिक्किम राज्य पुरस्कार, सिक्किम सरकारको शिक्षा विभागबाट इन्टिग्रेशन अवार्ड (१९८९), पश्चिम बङ्गाल सरकारद्वारा अकादमी पुरस्कार (१९८२), जीवनकालीन पुरस्कार हिलिअन्स, कालेबुङ, मित्रसेन स्मृति पुरस्कार, सिक्किम (२००२), नारायण गोपाल स्मृति पुरस्कार, नेपाल (२००६), जीवनकालीन पुरस्कार, गोदुनिस दार्जीलिङ्ग (२०१२), बिजुली माया श्रेष्ठ पुरस्कार, हेटौंडा, नेपाल (२०१४), एस.डी.वर्मन पुरस्कार, कलकत्ता, पश्चिम बङ्गाल (२०१५), नारायण गोपाल स्मृति सङ्गीत पुरस्कार, नेपाल (२०१६), अगमसिंह गिरी पुरस्कार, जी.टी.ए. (२०१६), अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार, रेडियो नेपाल (२०१७), छिन्नलता गीत पुरस्कार, नेपाल अनि नेपालद्वारा नै संवत २०७६ सालको प्रतिष्ठित जगदम्बाश्री पुरस्कार आदि। यी बाहेक भारत र नेपालका विभिन्न संघ संस्थाहरूद्वारा अनेकौं सम्मान र अभिनन्दन उहाँलाई प्राप्त भइसकेका छन्।

केही वर्षअघि उनको योगदानको कदर गर्दै ‘हार्मोनी द मोडर्न संग्सट्रेसेस अफ पोखरा’ले नेपालका प्रसिद्ध लोकगायिका हरिदेवी कोइराला, कवि/गीतकार उषा शेरचनका साथ पोखराको दीपेन्द्रसभा गृहमा आयोजित एक भव्य कार्यक्रममा दिदी शान्ति ठटाललाई सम्मान जनाएको थियो। सो कार्यक्रममा सरिक हुन काठमाण्डौबाट वरिष्ठ चलचित्रकर्मी, गीतकार एवं संस्कृतिकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुंगेल, कवि मुरारि सिग्देल, गजलकार टंक ढकाल समेत पुगेका थिए।