बहुआयामिक व्यक्तित्वका धनी प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको परिचय आफैंमा बृहत्त छ । खरो समालोचकका साथै लुइटेल भाषा अभियन्ता तथा शिक्षाविद् पनि हुन् । त्रिविका प्राध्यापकसमेत रहेका लुइटेल बहुविधामा कलम चलाउँदै आएका उनलाई मुख्यतः समालोचनाका लागि सम्झिने गरिन्छ ।

प्रस्तुत छ, प्रा. डा. लुइटेलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

आजकाल तपाईं अध्ययन, लेखन र विश्वविद्यालयका काममा कत्तिको व्यस्त हुनुहुन्छ ?

व्यस्तताको त कुरै नगरौं । म पहिलेदेखि नै व्यस्त रहने मान्छे हुँ, अहिले त अति नै व्यस्त छु । अध्ययन र लेखन मेरा दैनन्दिन कामभित्रै पर्छन् । हरेक विषयमा अद्यावधिक हुनका लागि अध्ययन निरन्तर गरिन्छ नै । विभिन्न पत्रिकाका लागि लेख माग्ने धेरै हुन्छन्, सबैतिर लेख दिन नसके पनि कतिपयले लेख नदिई सुखै दिँदैनन् । भूमिका लेखाउन खोज्ने पनि अति धेरै हुन्छन् । भन्ने जति सबैलाई त भूमिका लेखिदिन पनि सकिन्न तर कसैलाई टार्न सकिन्न भने कसैैलाई हार्न पनि सकिन्न अनि बाध्य भएर लेख्नैपर्छ । लेख र भूमिका लेख्न पनि अध्ययन गर्नैपर्छ, यसर्थ अध्ययन र लेखन परस्पर सम्बद्ध कुरा हुन् । यस्ता काममा धेरै समय जान्छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन, गोष्ठी आदि कार्यक्रमहरूमा प्रमुख अतिथि, विशिष्ट अतिथि, प्रमुख वक्ता, कार्यपत्र प्रस्तोता, विभिन्न लेखकका कृतिहरूको विमोचक, विभिन्न साहित्यिक प्रतियोगितामा निर्णायक आदिमा पनि आमन्त्रण गरिरहन्छन् । यिनमा सहभागी हुनुपर्ने बाध्यताजस्तै हुन्छ । यति मात्र होइन, विभिन्न व्यक्ति र संस्थाले अनेकौं कार्यक्रममा बोलाउँछन्, कतिपयमा जानैपर्‍यो । अन्तर्वार्ता लिनखोज्ने पनि प्रशस्तै हुन्छन् । अहिलेचाहिँ यसलाई अलि घटाएको छु तर पूरै घटाउन सकिन्न । यी विभिन्न कार्यक्रममा सहभागी हुन पनि अध्ययन र लेखनको आवश्यकता पर्छ । यसले पनि व्यस्त निकै बनाउँछ ।

विश्वविद्यालयसँग सम्बद्ध काम त झन् धेरै हुन्छन् । म त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागको प्राध्यापक भएकाले प्राध्यापकले गर्ने काम भनेको पठनपाठन मात्र नभएर अध्ययन–अनुसन्धान गर्ने–गराउने पनि हो । मेरो धेरै समय स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि स्तरीय शोधकार्यको शोधनिर्देशन, आन्तरिक परीक्षण, बाह्य परीक्षण, प्राक्प्रस्तुति विषयविज्ञ आदिका रूपमा विद्यार्थी र शोधार्थीसँग सम्बद्ध कार्यमै बित्छ । मैले जीवनमा आर्जन गरेको सम्पत्ति भनेकै विद्यार्थी भएकाले विद्यार्थीसँग सम्बद्ध कार्यलाई म उच्च प्राथमिकता दिन्छु र यसका लागि निकै समय छुट्याउँछु ।
म त्रिभुवन विश्वविद्यालयको नेपाली विषय समिति तथा नेपाली विषय स्थायी समितिमा पनि भएकाले बेलाबखत पाठ्यक्रम निर्माण, संशोधन–परिमार्जनलगायतका काममा पनि संलग्न हुनुपर्छ । म त्रिभुवन विश्वविद्यालयको अनुसन्धान समितिमा पनि भएकाले विभिन्न विषयका विद्यावारिधि र अनुसन्धानसम्बन्धी अनेकौं काममा पनि संलग्न भइरहनुपर्छ । यीबाहेक विश्वविद्यालयका साथै अन्यत्रका पनि विविध खाले गोप्य काम पनि गर्नुपर्छ । यस्तैयस्ता काममा निकै व्यस्त भइन्छ ।
यति मात्र होइन, म मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्ष पनि भएकाले भाषाभँडुवाप्रति निगरानी राख्ने काममा पनि निकै समय खर्चनुपर्छ । कहिलेकाहीँ अपर्झट आइपर्ने काम पनि हुन्छन् । यी सबै कामका लागि समयको व्यवस्थापन गर्न कठिन छ तर पनि मिलाउँछु । कोहीकोही व्यस्त छु भनेर फुर्ती लगाउँदै पत्ती गनेर वा कसैको झोला बोकेर वा ढोका चाहारेर बिताउँछन् तर म पत्ती पनि गन्न जान्दिन, कसैको झोला बोक्न र कसैको ढोका चाहार्न कतै पनि जान्न तैपनि अनेक कामका चापले निकै व्यस्त छु, साँच्चै व्यस्त छु । कहिलेकहीं त खाने, सुत्ने समयको पनि ठेगान हुन्न ।

तपाईं सानैदेखि पढाइमा तेज, मिहिनेती, इखालु र घमन्डी हुनुहुन्थ्यो भन्छन् के यो कुरा साँचो हो ?

म जीवनमा कहिल्यै दोस्रो नभएको मान्छे हो । पढाइमा सधैं प्रथम भएको तेज भएर नै होला तर म घोकेर कण्ठ गर्नेभन्दा बुझेर पढ्न रुचाउने मान्छे थिएँ र हुँ । म मिहिनेतीभन्दा पनि लगनशील मान्छे हुँ, थालेको काम बीचमा छोड्नुहुन्न फत्ते गरेरै छोड्नुपर्छ भन्ने मेरो उहिलेदेखि अहिलेसम्मकै मान्यता हो । म सारै मिहिनेत गरेर पढाइमा मात्र केन्द्रित हुने मान्छे थिइन र होइन पनि । म अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै क्रियाशील हुन्थें तर अहिलेचाहिँ भ्याउँदिन । म पढाइमा मात्र होइन वक्तृत्वकला, वादविवाद, हाजिरीजबाफमा पनि सधैं प्रथम नै हुन्थें । म चेस, क्यारामबोर्ड, टेबलटेनिस, भलिबल, फुटबल, ब्याडमिन्टन आदिको पनि राम्रै खेलाडी थिएँ ।

कसैले मलाई अनावश्यक रूपमा अपमानित गर्‍यो वा गर्न खोज्यो वा मलाई छिर्के हान्न खोज्यो भने म त्यो पटक्कै सहन्न, त्यस्तालाई ठेगान लगाएरै छाड्थें र छाड्छु पनि । मैले गर्छु भनेको काम जसरी पनि गरेरै छाड्थें र छाड्छु पनि । यसैलाई इखालु भनेको हो भने म सानो छँदा मात्र होइन अहिले पनि इखालु नै हुँ, यस्तो इखालु हुन सबैले सिके हुन्छ । म कसैको प्रगतिमा ईष्र्या वा डाहा गर्ने व्यक्ति भने पटक्कै होइन, म अरूको प्रगतिमा ईष्र्या गरेर ग्यास्ट्रिक बढाउनेतिर नलागी त्यसको सट्टा उसको भन्दा गतिलो काम गरेर देखाउनुपर्छ भन्ने मान्छे हुँ । यदि जानेकोे कुरालाई जानेकोे छु भन्दा वा साँचो कुरालाई साँचो हो भन्दा मलाई कसैले घमन्डी भन्छन् भने म घमन्डी नै हो । यस्तो घमन्ड सबैमा हुनुपर्छ ।

तपाईंलाई अलि छुच्चो, एकलकाँटे र घमन्डी विद्वान् भन्छन् नि किन हो ?

खै किन त्यसो भनेका हुन्, त्यो त भन्नेलाई नै थाहा होला । सबैको स्वभाव उस्तै र आफूले चाहेजस्तो हुन्न । म कसैको चाकडीचुक्ली गर्दिन, देखेको र चित्त नबुझेको कुरा स्पष्ट भनिदिन्छु, सायद त्यसैले छुच्चो भनेका होलान् । सत्य बोल्नु छुच्चो हुनु हो भने म छुच्चो नै हो र सधैं छुच्चै हुन्छु, होइन भने म पटक्कै छुच्चो छैन । म कसैमाथि जाइलाग्दिन आइलाग्नेलाई भने बाँकी राख्दिन । म एकलकाँटे पटक्कै छैन, मिल्नुपर्नेसँग साँच्चै मिल्छु, मिल्नु नपर्नेसँग साँच्चै मिल्दिन । म सम्झनेलाई बिर्सन्न र बिर्सनेलाई सम्झन्न । एकलकाँटे भनेको त कसैसँग नमिल्ने एकोहोरो स्वभावको हो । म त्यस्तो पटक्कै छैन । कसैलाई लागेमा मलाई केही भन्नु छैन । म सत्य बोल्छु, आफूले नजानेको कुरा जान्दछु भन्दिन तर जानेको कुरा जान्दछु भन्छु र त्यसमा गर्व गर्छु । यसो गर्दा घमन्डी विद्वान् भन्छन् भने सबैले घमन्डी विद्वान् हुन सिक्नुपर्छ । ममा मात्र होइन हरेक व्यक्तिमा अरूले पनि अनुकरण र अनुसरण गर्ने खालको घमन्डीपना, अहम् वा आफ्नोपन हुनुपर्छ ।

मलाई पेलेर तह लगाउने कसैले सोच्यो भने त्यो असम्भव कुरा हो । मलाई नेपाली केन्द्रीय विभागका तत्कालीन प्रमुखले विश्वविद्यालय सेवामा प्रवेश दिन्न नभनेको भए सायद म सरकारी सेवाका साथै विभिन्न अवसर छोडेर विश्वविद्यालय सेवामा आउने थिइन । उनले मलाई त्यसो भनेका कारण म उनकै ठाउँमा नियुक्ति लिएर जागिर खान थाली यही पेसामा जीवन बिताएको मान्छे हुँ ।

तपाईंलाई कडा मान्छे भन्छन् नि के यो कुरा साँचो हो ?

म कडा वा नरम छु भन्ने कुरा मसँग सङ्गत गर्नेलाई थाहा होला । तपाईंलाई पनि थाहा हुनुपर्ने हो । म समय पालनका सन्दर्भमा कडा नै हुँ । म हरेक काम निर्धारित समयमै हुनुपर्छ भन्ने मान्छे हुँ । मैले दिएका समयमा नआई ढिलो गरी आउनेसँग भेटघाट गर्दिन, अर्कै दिन समय लिएर आउनु भन्छु । मैले दिएका समयमा नआई ढिलो गरी आउने धेरैजना विद्यार्थी र अरूलाई पनि कुरै नगरी फर्काएको छु । यसरी फर्काउँदा रोएर वा रिसाएर फर्केको पनि मैले देखेको छु तर पछि तिनैले रोएर माफी पनि मागेका छन् । समयमा नआएर गाडी जाम भो, यसो भो, उसो भो भन्ने बहाना म रुचाउन्न । एकपटक फर्काएपछि फेरि ठीक समयमा आउँछन्, काम सक्छन् र खुसी भएर जान्छन् । कुनै कार्यक्रम निर्धारित समयमा सुरु नगर्दा मलाई मन पर्दैन । आयोजकले कतिपय कार्यक्रम सुरु गर्न ढिला गर्दा म कार्यक्रम छोडेर हिंडेको पनि छु । कसैले यसैलाई कडा भनेका हुन् भने म कडा नै हुँ ।

म कसैलाई लोलोपोतो गर्दिन, हो भने हो, होइन भने होइन भनिदिन्छु । म कसैलाई कुनै पनि आधारमा भेदभाव गर्दिन । म हुने काम तत्कालै गरिदिन्छु, नहुने काम कसैको पनि अनुनयविनय वा दबाबमा कहिल्यै गर्दिन । म हुने कामका लागि नौनीभन्दा नरम छु भने नहुने कामका लागि फलामभन्दा कडा छु । मलाई कसैले नरिवलजस्तो, कसैले ओखरजस्तो छ आदि केके भनेको पनि सुनेको छु । मलाई जसले जसरी बुझे पनि हुन्छ । यसमा मेरो कुनै गुनासो छैन । खासमा मलाई राम्रोसँग चिन्ने म नै हुँ ।

तपाईंलाई कविता, गीत, कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचनामध्ये कुन मन पर्छ र राम्रो लेख्न के गर्नुपर्छ ?

कविता, गीत, कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचनामध्ये योचाहिं मन पर्छ भन्ने कुरा होइन । सहज पठनीय, मनमस्तिष्क छुने, राम्रो र जीवनोपयोगी भए सबै मन पर्छ नभए कुनै पनि मन पर्दैन । राम्रो लेख्न यसो गर्नुपर्छ भन्ने कुरा हुन्न तर लेख्नलागेका विधाबारे र त्यसका लेखनको अतीत र वर्तमान अवस्थाबारे जानकारी हुनुपर्छ र त्यसभन्दा पृथक् ढङ्गमा लेख्नुपर्छ ।

तपाईं कस्तो साहित्यिक पुस्तक मन पराउनुहुन्छ ?
मलाई कथ्य, शिल्प, भाषा, शैलीले सहज रूपमा तान्ने साहित्यिक पुस्तक मन पर्छ तर सबैका सबै पुस्तक त्यस्ता हुँदैनन् तैपनि भूमिका लेख्न वा नराम्रो छ भन्न पनि धेरै किताब पढ्न बाध्य भइन्छ । अहिले त मन परेर वा रहरले भन्दा बढी करले र बाध्यताले पढ्नुपर्ने अवस्था छ ।

तपाईं समालोचना र सिर्जनामध्ये कुनमा सफल ठान्नुहुन्छ ?

सामान्यतया कविता, कथा, उपन्यास, नाटक, निबन्धलाई मात्र सिर्जना भन्ने गर्छन् तर त्यो भनाइ पूरै सत्य होइन । समालोचना पनि सिर्जना नै हो । यसलाई पुनर्सिर्जना भनिन्छ । मैले कविता, कथा, निबन्ध आदि पनि थुप्रै लेखेको छु । नेपालीमा श्यामव्यङ्ग्यात्मक निबन्ध लेखनको प्रारम्भ मैले नै गरेको हो । यस खालका निबन्ध अहिलेसम्म अरूले लेखेका छैनन् । मेरा कविता, कथा, निबन्धभन्दा बढी समालोचना प्रकाशित भएकाले मलाई धेरजसोले समालोचकका रूपमा नै बढी चिन्छन् । खासमा म समालोचना र सिर्जना दुवैमा असफल छैन । कुरा यति मात्र होइन मैले हात हालेका कुनै पनि काममा म अहिलेसम्म असफल भएको छैन ।

तपाईंको समालोचकीय मापदण्ड के हो ?

मलाई नेपाली समालोचनामा संरचनावादी समालोचनाको प्रवर्तक, संवर्धक र विस्तारकका रूपमा सबैले चिनेकै छन् । मैले संरचनावादी समालोचनाबाहेक सांस्कृतिक समालोचना, आप्रवासी समालोचनालगायत विभिन्न धारका समालोचना पनि लेखेको छु । विधागत रूपमा भन्नुपर्दा मैले कविता र यसका विविध रूप गीत, गजल, मुक्तक, हाइकु आदि, कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचनालगायत सबै विधाउपविधाका कृतिको वस्तुपरक विश्लेषण गरी प्रशस्तै समालोचना लेखेको छु । म कसैको दबाब वा प्रभावमा परेर समालोचना लेख्दिन । म कसैलाई अनावश्यक रूपमा उचाल्ने वा पछार्ने ढङ्गबाट प्रभाववादी समालोचना पनि लेख्दिन । म कसैलाई खुसी पार्न आत्मपरकतामा बहकिएर समालोचना लेख्दिन । मेरा समालोचना लेखनको मूल मापदण्ड भनेको वस्तुपरकता हो । वस्तुपरक ढङ्गमा कृतिको विश्लेषण गर्दा कोही रिसाउँछ भने त्यो उसको समस्या हो, मेरो होइन ।

तपाईं र लीला मेडम दुवैजना चर्चित समालोचक हुनुहुन्छ तर तपाईंहरूको समालोचनामा के भिन्नता छ ?

मैले मेरा समालोचनाका बारेमा अगि नै भनिहालें । लीला लुइटेल र मेरा दुवैजनाका समालोचना पढेपछि हाम्रा समालोचनामा के भिन्नता रहेछ थाहा भइहाल्छ नि ।

तपाईंलाई वर्तमान समालोचकीय धार कस्तो लाग्छ ? अहिले नेपाली समालोचनाको अवस्था कस्तो देख्नुहुन्छ ?

विश्वपरिवेशमा हेर्ने हो भने वर्तमान समालोचकीय धार विविधतायुक्त छ । नेपाली समालोचनाका क्षेत्रमा पुरानो पुस्ताका पनि थुप्रै व्यक्ति क्रियाशील छन् भने नयाँ पुस्ता पनि आइरहेको छ । नयाँ पुस्ताका कतिपयले जे पायो लेखेर नयाँ समालोचनाको आविष्कारै गरेको ठान्ने चरम दम्भीवृत्ति यदाकदा देखिंदैछ, यो राम्रो लक्षण होइन । अगिल्लो पुस्ताले अवलम्बन गरेकोे प्रभाववादी लेखनमै रमाउने नयाँ पुस्ता अहिले पनि देखिन्छन् । प्राध्यापकीय समालोचना भनेर आलोचना गर्ने तर आफू केही नगर्ने पनि छन् । गोरो छाला भएकाले अङ्ग्रेजीमा लेखेका अति सामान्य कृतिलाई पनि भयङ्कर नवसिर्जना ठान्ने र नेपाली विद्वान्ले नेपालीमा लेखेका अति विशिष्ट कृतिलाई पनि बेवास्ता गरी खिसीट्युरी गर्ने कतिपय लालबुझक्कड पनि देखिन्छन्, तिनले बुद्धि भाषा र छालामा होइन मस्तिष्कमा हुन्छ भन्ने बुझ्नु जरुरी छ । नेपाली साहित्य र समालोचनामा अनावश्यक गुटबन्दी देखिन्छ, यसलाई उपयुक्त मान्न सकिन्न । यस्तैयस्ता कतिपय विकृति देखिए पनि अहिले नेपाली समालोचनाको अवस्था पूरै निराशाजनक भने छैन ।

अध्ययन, चिन्तनमनन र साहित्य लेखन सबैको सन्तुलनले नै मान्छेलाई उचाइमा लान्छ भन्छन् के यो कुरा सत्य हो ?
अध्ययन, चिन्तनमनन गर्ने सबैले साहित्य लेख्दैनन् र साहित्य लेख्ने सबैले अध्ययन र चिन्तनमनन गर्दैनन् तर अध्ययन, चिन्तनमनन र साहित्य लेखन सबैको सन्तुलन कमैमा मात्र हुन्छ । मान्छेलाई उचाइमा लान प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनै थोक चाहिन्छ । त्यो विलक्षण प्रतिभा हो र त्यसले मान्छेलाई उचाइमा लान्छ भन्ने कुरा सत्य हो तर यी तीनैको सन्तुलन भएका मान्छे ज्यादै कम हुन्छन् ।

तपाईंले साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ?
झट्ट हेर्दा साहित्य, जीवन, दर्शन र प्रकृति पृथक्जस्ता देखिए पनि यी सबै एकअर्काका परिपूरक हुन् । साहित्यमा जीवन, दर्शन र प्रकृति सबै आउँछ । यी साहित्यका विषय पनि हुन् । जीवन कुनै न कुनै दर्शनबाट अभिप्रेरित हुन्छ । प्रकृति त प्रत्यक्ष वा परोक्ष रूपमा जीवनसँग गाँसिएकै हुन्छ । यसर्थ साहित्य, जीवन, दर्शन र प्रकृतिलाई पूरै अलग गरेर हेर्न मिल्दैन । यी एकअर्कामा अन्तर्घुलित हुन्छन् ।

साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

हाम्रोमा साहित्यकारले लेखेर बाँच्नेभन्दा बाँचेर लेख्ने अवस्था छ । लेखेरै बाँच्नका लागि आफूले लेखेका किताब धेरै बिक्नुपर्छ, अहिलेसम्म त्यस्तो अवस्था छैन । कसैकसैले मेरो किताब यति संस्करण र उति संस्करण छापियो, यति बिक्यो र उति बिक्यो भनी प्रचार गर्ने प्रचलन बढ्दोछ । एउटै किताब अनेकौंपटक विमोचन गरिन्छन् । यी सब बेकारका कामकुरा हुन् । कसैले जबर्जस्ती भिडाउँछन्, त्यसलाई बिकेको मान्न सकिन्न । स्तरहीनता र सहज उपलब्धताको अभावका कारण पनि किताब बिक्दैनन् । निजी प्रकाशनको वितरण व्यवस्था राम्रै हुन्छ र किताब बेच्छन् तर बिकेको छैन भन्दै लेखकस्व दिँदैनन् वा ज्यादै न्यून दिन्छन् । सरकारी प्रकाशनको वितरण व्यवस्था नै नभएकाले किताब बिक्ने कुरै भएन । स्तरीय लेखन, प्रकाशन तथा त्यसको सहज वितरणको व्यवस्था गर्न मात्र सक्ने हो भने पनि साहित्यकारले लेखेर बाँच्नसक्ने अवस्था आउनसक्छ नत्र त… लेख्यो, छाप्यो, थन्क्यायो, मख्खपर्‍यो, बस्यो… ।

अहिलेको नेपाली साहित्यमा विचार, युगचेतना, विश्वपरिवेशको अभिव्यक्ति कत्तिको पाउनुहुन्छ ?

अहिलेका सबै नेपाली लेखकका साहित्यमा विचार, युगचेतना, विश्वपरिवेशको समान रूपमा अभिव्यक्त भएको पाइन्न । साहित्यमा विचार आउनुपर्छ तर विचारको तात्पर्य राजनीतिक विचार मात्र भन्ने होइन । युगचेतना अध्ययनशील र सचेत लेखकमा मात्र हुन्छ सबै खाले लेखकमा हुन्न । विश्वपरिवेशको अभिव्यक्तिका लागि पनि अध्ययन, चिन्तनमननको आवश्यकता पर्छ, त्यो कमै लेखकमा मात्र हुन्छ । अङ्ग्रेजी पटक्कै नजानेका कतिपय व्यक्तिहरूले पाश्चात्य साहित्य र समालोचनाबारे फेद न टुप्पाका गफ हाँक्ने गरेको पनि देखिन्छ । यी विभिन्न सन्दर्भबाट हेर्दा अहिलेको नेपाली साहित्यमा विचार, युगचेतना, विश्वपरिवेशको अभिव्यक्ति कमै मात्र पाइन्छ ।

अहिले पुरस्कार र सम्मानको अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले पुरस्कार र सम्मानको अवस्था भनिनसक्नु छ । अधिकांशत: पुरस्कार र सम्मान दुवै प्रायोजित रूपमा लेनदेन गर्ने प्रचलन बढ्दोछ । एकातिर पुरस्कार र सम्मान प्रायोजित रूपमा लेनदेन भयो भनेर विरोध गर्ने र अर्कातिर त्यही प्राप्तिका लागि अनुनयविनय गर्दै हिँड्नेहरू पनि देखिन्छन् । सानो कोटरी बनाएर पुरस्कार र सम्मान साटासाट गर्ने गरेको पनि देखिन्छ । अहिलेका अधिकांश पुरस्कार र सम्मानले दिने र लिने दुवैको प्रतिष्ठा बढ्ने अवस्था देखिन्न । कुनै व्यक्तिनामधारी पदक र फेसबुके सम्मानको त कुरा गरी साध्यै छैन । व्यक्तिनामधारी पदक र फलानो कार्यक्रममा सहभागी भएबापत सम्मान प्रदान गरियो भनी कसैले हस्ताक्षर गरी वा नगरी अत्यन्तै त्रुटिपूर्ण भाषामा लेखिएको डिजिटल प्रमाणपत्रजस्तो फेसबुकमा पोस्ट गर्न निकै मै हुँ भन्ठान्ने व्यक्ति पनि लाज मान्दैनन् । खाली खामका कुरा पनि सुनिन्छ । यस्ता अनेक विकृति र विसङ्गति हुँदाहुँदै पनि कतिपय पुरस्कार र सम्मानले आफ्नो गरिमा पूरै घटाउन बाँकी रहेका कारणबाट मात्र पुरस्कार र सम्मान शब्द पूरै अपमानित भएका छैनन् ।

तपाईं मानक नेपाली भाषाको प्रमुख अभियन्ता हुनुहुन्छ, यसबारेमा प्रस्ट पार्दिनुहुन्छ कि ?

म मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्ष भएको र मेरा नेतृत्वमा रहेको यस सञ्जालले भाषाभँडुवालाई ठेगान लगाएर मानक नेपाली भाषालाई जोगाएको कुरा सर्वविदितै छ । नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशन, नेपाल सरकार शिक्षा मन्त्रालयबाट संस्थागत रूपमै अमानक नेपाली वर्णविन्यास प्रयोग गरी नेपाली भाषालाई मास्ने काम गरेका र केही व्यक्तिले वैयक्तिक स्वार्थपूर्तिका लागि पदीय दुरुपयोग गरेर नेपाली भाषामाथि खेलबाड गरी अक्षम्य भाषिक अपराध गरेकाले २०७३ भदौ १६ गते त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट मेरा संयोजकत्वमा ‘त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान—२०७३’ नामक समिति गठन गरी नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भएकाप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेर अवधारणासमेत प्रस्तुत गरियो । नेपाली भाषाको मानकीकरणका लागि यस अभियानबाट प्रस्तुत गरिएका अवधारणा र चालिएका कदमप्रति समर्थन र नेपाली भाषामा बल्झाइएका विवाद, अव्यवस्था एवं अराजकताप्रति विरोध जनाउँदै विभिन्न क्याम्पस तथा सङ्घसंस्थाहरूबाट विज्ञप्ति जारी गरिए–गराइए ।

यसैगरी २०७३ कात्तिक १० गते विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूबाट मेरै अध्यक्षतामा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन गरी अवधारणासमेत प्रस्तुत गरेर नेपाली भाषाको मानकीकरणमा अझ सशक्त रूपले क्रियाशील रहेको कुरा सर्वविदितै छ । नेपाली भाषाको मानकीकरणका सन्दर्भमा सञ्जालले राष्ट्रिय स्तरमा नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्याब्सन आदि तथा अन्तर्राष्ट्रिय स्तरमा अनेसासलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थासँग सहकार्य गर्दै तीमार्फत दबाबमूलक विज्ञप्ति जारी गराएर आन्दोलनलाई सशक्त तुल्याइएको कुरा जगजाहेर नै छ । मेरा नेतृत्वको सञ्जालको सशक्त एवं तीव्र दबाबबाट गराइएका प्रमुख कार्यहरू यी हुन् :

२०७३–६–१४ मा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराइयो ।

२०७३–७–३० मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गराई मानक वर्णविन्यासअनुरूप प्रकाशित गराइयो ।

२०७३–८–३ मा नेपाली विषय स्थायी समितिबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराइयो ।

२०७३–९–८ मा नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय स्थायी समितिबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराइयो ।

२०७३–११–२२ मा साझा प्रकाशनबाट मानक वर्णविन्यास प्रयोग गर्ने निर्णय गराइयो ।

२०७३–१२–२९ मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट २०६९ सालमा जारी गरिएको अमानक वर्णविन्याससम्बन्धी परिपत्र बदर गराएर नेपाल सरकार शिक्षा मन्त्रालय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराई देवनागरी लिपिमा छापिएका विद्यालय तहका सबै पुस्तक मानक वर्णविन्यासअनुरूप प्रकाशित गराइसकियोे । सञ्जालले चैत २९ गतेलाई भाषा दिवस घोषणा गरी मनाइरहेको छ ।

उच्चमाध्यमिक शिक्षा परिषद्बाट अमानक वर्णविन्यासमा छापिएको सबैको नेपाली (२०६७) पुस्तक मानक वर्णविन्यासअनुरूप परिमार्जन गराइयो ।
राष्ट्र बैंकबाट सबै बैंकका एटिएममा नेपाली भाषा अनिवार्य गराइयो ।

निजी क्षेत्रका प्रकाशन संस्थाहरूबाट अमानक वर्णविन्यासमा छापिएका पुस्तकहरू मानक वर्णविन्यासअनुरूप प्रकाशित गराइयो ।

विद्युतीय र छापासञ्चारमा मानक वर्णविन्यासको प्रयोग गराइयो ।

सरकारी निकायबाटै कक्षा ११ र १२ बाट हटाइएको अनिवार्य नेपालीलाई दुवै कक्षामा अनिवार्य गराइयो आदि ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका यी सबै गतिविधिलाई नेपाली भाषाको मानकीकरणको आन्दोलनमा ज्यादै महत्त्वपूर्ण उपलब्धि मानिएको र नेपाली भाषाको मानकीकरणमा सञ्जालकोे विशिष्ट भूमिका र योगदान अतुलनीय एवं अद्वितीय रहेको कुरा कसैका सामु छिपेको छैन । अहिले सञ्जालको अभियान यी निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गराउन अनुगमन गर्ने तथा नेपाली भाषाको विकासमा विविध गतिविधि सञ्चालन गर्ने कार्यका साथै नेपालमा चल्ने सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्न लगाउने कार्यमा केन्द्रित छ ।

तपाईं र यसपूर्वको एकेडेमीका बीचमा भएको विवादबारे प्रस्ट पार्दिनु हुन्छ कि ?

खासमा भन्ने हो भने म र यसपूर्वको एकेडेमीका बीचमा कुनै वैयक्तिक विवाद नभएर मानक नेपाली भाषासम्बन्धी थियो तर त्यसलाई केहीले वैयक्तिक इबीका रूपमा लिएको देखियो । त्यसबेलाको एकेडेमीले नेपाली भाषाको मानक शब्दकोश नेपाली बृहत् शब्दकोशलाई अमानक रूपमा छापेर विवाद प्रारम्भ गरेको हो । नेपालीको मानक शब्दकोशलाई अमानक रूपमा छापेपछि मेरा नेतृत्वमा ‘त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान—२०७३’ र ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन गरी दबाबमूलक आन्दोलन नै गर्नुपरेको र एकेडेमीले अमानक रूपमा छापेको नेपाली बृहत् शब्दकोशलाई खारेज गराएको कुरा तमाम नेपालीभाषीलाई अवगतै छ ।

त्यसबेला मेरा नेतृत्वमा भएको मानक नेपाली भाषाको जगेर्नासम्बन्धी आन्दोलन दबाउन अनेक प्रपञ्च रचियो, मलाई विभिन्न व्यक्ति र निकायका माध्यमबाट विभिन्न खाले प्रलोभन देखाइयो । नेपाली भाषा हाम्रो पहिचान मात्र नभएर प्राण नै भएकाले मैले त्यस्ता प्रलोभनको प्रस्ताव ठाडै अस्वीकार गरें । त्यसबेला कतिपय मेरा विद्यार्थी र साथीहरूलाई समेत मेरा विरुद्धमा प्रयोग गर्ने प्रयत्न पनि गरियो तर नेपाली भाषाको अस्तित्व जोगाउन ज्यान छाडेर लागेको म डगमगाउने कुरै भएन । मेरा विरुद्ध गरिएका सम्पूर्ण तिक्डमलाई बेवास्ता गर्दै नेपाली भाषाको चिरहरण गर्न नदिन मैले अडान लिएको कुरा सबैलाई थाहै छ । अनेक तिक्डम गर्दा पनि मेरा नेतृत्वमा रहेको सञ्जालको दबाबका सामु केही नलागेपछि एकेडेमी नेपाली बृहत् शब्दकोश खारेज गर्न बाध्य भएर मेरै नाममा पत्र पठाएको कुरा सर्वविदितै छ । नेपाली बृहत् शब्दकोश खारेज गराइएपछि एकेडेमीका केही व्यक्तिले आफू पराजित भएको ठानी विभिन्न ढङ्गले मलाई बदनाम गर्ने असफल प्रयत्न गरेका मात्र हुन्, अरू केही होइन । यो कुरा आम नेपालीभाषीले बुझिसकेका छन् । वास्तवमा यो कसैको जय–पराजयको कुरा नभएर नेपाली भाषाको जगेर्ना र मानकीकरणको कुरा भएकाले केहीले यसलाई पराजित भएको ठानेर प्रतिष्ठाको विषय बनाउनु आवश्यकै थिएन ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

डायस्पोरिक साहित्यका बारेमा मैले संसारका विभिन्न मुलुकमा अनेकौं कार्यपत्र प्रस्तुत गरी यसबारेका अन्योल र भ्रम निराकरण गरेको कुरा सर्वविदितै छ । मैले डायस्पोरिक साहित्यका विविध पक्षबारे डायस्पाराको सैद्धान्तिक स्वरूप (२०७९) नामक पुस्तकमा विस्तृत रूपमा व्याख्या गरेको छु । डायस्पोरिक साहित्य पनि पूरै निराशाजनक त छैन तर यसमा पनि अनेक थरी रोग भित्रिन थालेको देखिएकाले बेलैमा यसको उपचार जरुरी छ । विस्तृत जानकारीका लागि डायस्पाराको सैद्धान्तिक स्वरूप (२०७९) नामक पुस्तक पढे हुन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा यहाँको ठूलो योगदान छ, यस संस्थालाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा मेरो ठूलो योगदान छ भनेकामा धन्यवाद । यस संस्थालाई अझ प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे मैले विभिन्न कार्यपत्र, अन्तर्वार्ता, संभाषण आदिका माध्यमबाट संसारका अनेक देशका अनेक ठाउँमा अनेक पटक भनिसकेको छु । अनेसास आप्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्वृmतिको संरक्षण, संवद्र्धन एवं विकासका लागि आप्रवासी भूमिमा स्थापित एउटा पुरानो साहित्यिक संस्था भए पनि यसले अपेक्षित काम गर्न बाँकी नै छ । मैले पटकपटक अनेसास केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रस्टीको सल्लाहकार, संस्थाको विधान संशोधन समितिको संयोजक तथा सदस्यता अद्यावधिक समितिको संयोजकका रूपमा काम गरेको तथा अनेसासद्वारा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरियालगायत विश्वका विभिन्न मुलुकमा आयोजित अनेकौं कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथिका रूपमा उपस्थित भएको, विश्वका विभिन्न मुलुकमा आयोजित अनेकौं कार्यक्रममा डायस्पोरासम्बन्धी अनेकौं कार्यपत्र प्रस्तुत गरेको कुरा सर्वविदितै छ ।

अनेसासलाई अझ प्रभावकारी बनाउन अनेसासबाट गरिने गतिविधि मात्रात्मकभन्दा बढी गुणात्मक कार्यतर्फ ध्यान दिनुपर्ने, यसलाई व्यक्ति र राजनीतिनिरपेक्ष साहित्यिक संस्थाका रूपमा अगि बढाई सकेसम्म सबैलाई समेटेर आप्रवासी नेपाली साहित्यको छाता सङ्गठनका रूपमा विकास गर्नेतर्पm क्रियाशील रहने, नेपाली साहित्यको विभिन्न विधाका स्तरीय वृmतिहरूको चयन गरी तिनको अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गर्नेतर्पm क्रियाशील हुने, अनेसासको नेतृत्व र यसका जिम्मेवार ठानिने व्यक्तिले संस्थालाई वैयक्तिक स्वार्थपूर्तिको साधन बनाएर संस्थाको दुरुपयोग गर्ने तथा गुलिया मट्याङ्ग्रा आदानप्रदान गर्नेजस्ता काम बन्द गरी संस्थागत स्वच्छता कायम गर्नुपर्ने, अनेसासबाट सञ्चालित पुरस्कारहरूको निर्णय एवं वितरण प्रक्रियालाई अझ पारदर्शी र विवादरहित तुल्याउनुपर्ने आदि कार्यहरू गर्नु अत्यावश्यक देखिन्छ ।

तपाईं शिक्षाविद् पनि हुनुहुन्छ, नेपालको शिक्षालाई रोजगारमुखी र २२ औं शताब्दीको विश्वसँग प्रतिस्पर्धामा लैजान के गर्नुपर्छ ?

नेपालको अहिलेसम्मको शिक्षा दाताको इच्छाबमोजिम प्रयोगमै चलेको छ । नेपालमा छिटोछिटो सरकार परिवर्तन भइरहने र तिनको स्पष्ट शिक्षानीति पनि नहुने अवस्था छ । शिक्षामा अतिशय राजनीतिकरण छ । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ । देशमा स्पष्ट रूपमा राष्ट्रिय शिक्षानीति निर्माण गर्नुपर्छ । व्यावसायिक र वैज्ञानिक शिक्षा लागु गरिनुपर्छ । यसो गरिएमा मात्र नेपालको शिक्षा रोजगारमुखी र २२ औं शताब्दीको विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने हुनसक्छ । अहिलेकै पाराले चलाइरहने हो भने त यो बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन्छ ।

तपाईंले विश्वभ्रमण गर्नुभएको छ, तपाईंलाई मन पर्ने देश कुन हो ?

मैले विश्वकै भ्रमण गरेको त होइन तर नेपाली पुगेका विश्वका अधिकांश देशमा पुगेको छु । झट्ट सम्झँदा म अहिलेसम्म बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, बर्मुडा, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, नेदरल्यान्ड, लक्जेम्बर्ग, स्विडेन, जापान, दक्षिण कोरिया, टर्की, म्यान्मा, हङ्कङ, बहराइन, साउदी अरब, कतार, बङ्गलादेश, चीन, भुटान, भारतलगायत थुप्रै देश घुमेको छु । यीमध्ये अमेरिका, बेलायतलगायत कतिपय देशमा अनेक पटक गएको छु तर म कुनै पनि देशमा पर्यटकका रूपमा घुम्नै भनेर गएको भने छैन । म विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक, भाषिक, शैक्षिक, प्राज्ञिक गोष्ठीमा कतै प्रमुख अतिथिका रूपमा, कतै विशिष्ट अतिथिका रूपमा, कतै विभिन्न विषयक कार्यपत्र प्रस्तोताका रूपमा, कतै प्रमुख वक्ताका रूपमा, कतै प्रशिक्षकका रूपमा गएको हो । यसरी जाँदा पनि ती देशका नेपालीहरूले मलाई प्रशस्त ठाउँ घुमाएका छन् ।

मलाई सबैभन्दा बढी मन पर्ने देश त मेरै नेपाल हो । मैले नेपालका अधिकांश जिल्ला टेकेको छु तर त्यो पनि कामविशेषले नै । अब मलाई विदेशभन्दा नेपालका विभिन्न ठाउँ घुम्ने मन छ तर समय मिलिरहेको छैन । प्राकृतिक सौन्दर्यका दृष्टिले नेपालजति सुन्दर देश संसारमा कुनै छैनन् । नेपाल प्रकृतिले नै बनाएको देश हो भने अरू मान्छेले बनाएका देश हुन् । नेपालबाहेक मलाई मन पर्ने देश भन्न कठिन छ । मन पराइ पनि सापेक्षित हुन्छ । विकासका दृष्टिले सबैजसो देश मन पर्दा नै छन् तिनमा पनि मलाई बढी मन परेको र हालसम्म धेरै नेपाली नपुगेको सानो चिटिक्क परेको अनौठो देश बर्मुडा हो ।

तपाईंका प्रतिस्पर्धी को हुन् र तिनलाई के भन्नुहुन्छ ?

मैले सानैदेखि कसैलाई प्रतिस्पर्धीका रूपमा लिइन र अहिलेसम्म पनि मेरा प्रतिस्पर्धी कोही छैनन्, मेरो प्रतिस्पर्धी म नै हुँ । यसो भन्दा पनि मलाई कसैले घमन्डी भन्छन् भने म घमन्डी नै हो, यसमा मेरो कुनै गुनासो छैन । यथार्थ कुरा गर्दा पनि मलाई कसैले घमन्डी भन्छन् भने त्यो मेरो नभएर भन्ने वा सोच्नेको समस्या हो । उहिलेदेखि अहिलेसम्म मेरा कोही प्रतिस्पर्धी नै नभएकाले मैले कसैलाई केही भन्ने कुरै भएन । कहिलेकाहीँ कुनै विद्यार्थीले मलाई प्रतिस्पर्धीका रूपमा लिएको अनुभूति हुन्छ तर तिनले शिक्षक र विद्यार्थी कहिल्यै प्रतिस्पर्धी हुँदैनन् भन्ने कुरा बुझ्न बाँकी रहेको हो, समयक्रममा बुझ्दै जान्छन् ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

फुर्सद भए पो समय कसरी बिताउने भन्नु, फुर्सदको समय नै हुँदैन । एउटै समयमा धेरै काम गर्नुपर्छ । खाने र सुत्ने नियमित समय त हुँदैन भने फुर्सदको समय हुने कुरै भएन ।

अन्त्यमा मैले सोध्न बिर्सेका र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नुहुन्छ ?

मैले धेरै थोक भनिसकें । मन लागेका सबै कुरा अहिले नै एकै पटक भनेर किन सक्नु, पछि फेरि भनुँला नि । धन्यवाद ।