नेपाली, अङ्ग्रेजी र संस्कृत तीनै भाषाका जानकारी प्रा.डा. जयराज आचार्य परराष्ट्र नीति तथा कूटनीतिका मर्मज्ञ हुन् । ‘यदुनाथ खनालः जीवनी र विचार’मा आचार्यले नेपालको परराष्ट्र नीति र कूटनीतिको विकासक्रमको विस्तृतमा उल्लेख गरेका छन् । आदिकवि भानुभक्त आचार्यका वंशका जयराजले नेपालीमा, अङ्ग्रेजी तथा संस्कृतको अनुवादमा गरी दर्जन बढी पुस्तकहरू लेखिसकेका छन् । 

प्रस्तुत छ, उनै प्रा.डा. जयराज आचार्यसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश; 

आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

– मेरो आफ्नो स्वभावअनुसार म किताबहरू पढ्दै छु । खाली समय छैन, समय पाउनासाथ पढ्ने नै हो । मेरो अरू काम पनि छैन । नेपाली, अङ्ग्रेजी र संस्कृत साहित्यको पुनः अध्ययन गर्दै छु । पहिले पनि ती साहित्य अलिअलि पढेको हो तर जाँचको लागि पढियो । अब राम्ररी बुझ्नको लागि पढ्दैछु । लेख्नकै लागि लैख्नेभन्दा केही बाध्यतावश लेख्नुपर्छ र लेख्छु । त्यत्ति हो ।

तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

– वास्तवमा साहित्य, जीवन र दर्शन भनेको एउटै हो । ती तीनैकुरा एक-अर्काबाट अभिन्न छन् । अथवा यसो भनौँ साहित्य, जीवन र दर्शन भनेको एउटा त्रिभुज या त्रिकोणात्मक (तीनपाटे) खम्बा हो । सभ्य मानिसको जीवन साहित्य र दर्शनले नै कुनै न कुनै रूपमा निर्देशित हुन्छ, प्रभावित हुन्छ। हाम्रो समाजको अपठित मानिसले पनि रामायणको कथा कसैबाट सुनेको हुन्छ, महाभारतको कथा सुनेको हुन्छ । उसको जीवनको सोच, मूल्य र मान्यताहरू अपरिभाषित वा अस्पष्ट रूपमा परिभाषित जस्तोसुकै किन नहुन् तिनलाई रामायण र महाभारत जस्ता उच्च साहित्यले प्रभावित पारेकै हुन्छन् ।

ग्रीक नाटक र महाकाव्यहरूले, जर्मन साहित्यले, अङ्ग्रेजी, फ्रेञ्च र रूसी साहित्यले ती ती देशका जनतालाई मात्र होइन, विश्वका सम्पूर्ण सभ्य समाजलाई नै प्रभावित पारेका छन् । गीता साहित्य हो कि दर्शन ? सर्वोच्च साहित्य दर्शन हुन्छ र त्यसले मानव जीवनलाई निर्देशित गर्छ ।

तपाईंले अहिले के निकाल्न लाग्नु भएको छ ? योभन्दा अगाडि निकाल्नु भएको पुस्तकको नाम के के हो ? ती पुस्तकका बारेमा संक्षेपमा जानकारी दिनुहुन्छ कि ?

-म अहिले हिमवत्खण्डको अङ्ग्रेजी अनुवाद निकाल्न खोज्दैछु । यो संस्कृतमा लेखिएको स्कन्द पुराणको एक खण्ड हो । यसमा १८८ अध्याय छन् – करिब १३ हजार श्लोक । यसमा काठमाडौँ उपत्यका र वरपर मात्र होइन, कामाक्षादेखि बद्री केदारसम्मका हिमालय क्षेत्रमा रहेका देवी देवता र तीर्थस्थलहरूको विषयमा पौराणिक कथा छन् ।

यसभन्दा अगाडि मैले निकालेको किताब भानुभक्तको रामायणको अङ्ग्रेजी अनुवाद हो । देश विदेशमा छरिएका भावी पुस्ताका नेपाली बालबालिकालाई उपयोगी होस् भनेर गरेको अनुवाद हो । त्यो अमेजनको किन्डलमार्फत डाउनलोड गर्न सकिन्छ । अष्ट्रेलिया, जापानदेखि अमेरिकासम्म बसोबास गरेका नेपाली साहित्यप्रेमीलाई सहज होस् भनेर राखेको हो ।

तपाईंले परराष्ट्र नीति तथा कूटनीतिका बारेमा लेखहरू र पुस्तक निकै निकाल्नु भएको छ ! अहिले लेखन अध्ययन र काममा उत्तिकै व्यस्त हुनुहुन्छ होला । कसरी समय मिलाउनु हुन्छ ?

– मैले नेपालको परराष्ट्र नीतिबारे लेखेको किताब भनेको ‘यदुनाथ खनालः जीवनी र विचार’ (साझा प्रकाशन, २०६१) हो । यसमा खनालको जीवनीभन्दा पनि नेपालको परराष्ट्र नीतिको र कूटनीतिको विकासक्रमलाई ज्यादा वर्णन गरिएको छ । उहाँ एक उच्च कोटिको विद्वान् कूटनीतिज्ञ र समालोचक हुनुहुन्थ्यो । त्यसैले उहाँको तस्बिर अङ्कित हुलाक टिकट पनि निकालेको छ नेपाल सरकारले ।

मैले खनालकै प्रेरणाबाट नेपालको परराष्ट्र नीति र कूटनीतिबारे केही लेखहरू पनि लेखेको छु तर ती सामान्य नै छन्। कतिपय लेख इन्टरनेटमा पाइन सक्छन् । एउटा मेरो लेख ‘Nepal’s Foreign Policy: A Reflection’ कसले अपलोड गरेको हो, त्यो त मलाई थाहा भएन । मैले पनि गुगलमा हेर्दा भेटेको थिएँ ।

तपाईं भानुभक्त आचार्यको परिवारको कुन पुस्ताको वंश हुनुहुन्छ ? तपाईंले रुचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनुहुन्छ ?

-भानुभक्त आचार्यका पिताजी धनञ्जय (श्रीकृष्ण आचार्यको जेठो सन्तान) हुनुभयो । धनञ्जयभन्दा मुनि पाँचजना भाइहरू हुनुहुन्थ्यो । साँहिला भाइ पद्मनाभ हुनुभयो जसलाई ‘शेखर’ पनि भनिन्थ्यो । म उहाँको सन्तान (खनाति) हुँ । म भानुभक्तको पनाति भतिज पर्छु।

मैले नेपाली सहित्यको व्यवस्थित अध्ययन गरेको छैन । थोरै मात्र पढेको छु । मलाई भानुभक्तको ‘रामायण’ मन पर्छ । मैले बाल्यकालदेखि पढेको नेपाली साहित्यको किताब पनि त्यही हो । अहिले भानुभक्तको सातै काण्ड रामायणलाई सरू गुरागाइँले अत्यन्त मीठो स्वरमा संगीतसाथ गायन गरेर युट्युबमा राखिदिएकोले ठूलो लोकहित भएको छ । आँखा नदेख्नेले पनि रामायण सुन्न पाएका छन् । यस्तो काम भएको देख्दा बडो खुशी लाग्छ ।

मलाई बाल्यकालदेखि मन परेको किताब तीर्थराज पाण्डेको ‘उपदेश मञ्जरी’ पनि हो । मलाई लेखनाथ पौड्यालका सबै कृति मन पर्छ । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र ‘शाकुन्तल’ मलाई धेरै मन पर्छ । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठका केही कृतिहरू पनि मलाई निकै नै मन पर्छ । राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ धेरै मन पर्छ । गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ र भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि मलाई मन पर्छ । हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’पनि मन परेको कविता हो ।

मलाई धेरै नै मन पर्ने कथाकार गुरुप्रसाद मैनाली (‘नासो’का लेखक) र विश्वेश्वरप्रसाद कोइराला (‘दोषी चश्मा’ का लेखक) हुन् । कोइरालाका उपन्यासमा मलाई धरै मनपर्ने ‘नरेन्द्र दाइ’ र ‘मोदिआइन’ हुन् । ‘मोदिआइन’को मैले अङ्ग्रेजी अनुवाद पनि गरेको छु । डायमन शमशेरका उपन्यास ‘सेतो बाघ’ र ‘प्रतिबद्ध’ पनि मैले पढेँ । मलाई मन पर्यो । हालै मैले सर्वज्ञ वाग्लेको उपन्यास ‘पुनर्वास’ पढेँ । मलाई निकै मनपर्यो ।

पदम विश्वकर्माको कथासंग्रह ‘तमसुक’ पनि पढेँ । अहिले नेपाली साहित्यको भण्डार विशाल भएको छ, मलाई खुसी लागेको छ । प्रह्लाद पोखरेल, विष्णुहरि पौडेल, प्रकाश पाण्डे आदि स्वदेश तथा विदेशमा रहेका धेरै कविहरूको कृति सुन्दा आज धेरै भानुभक्त, लेखनाथ, देवकोटा र माधव घिमिरेका नयाँ अवतारहरू जन्मेको जस्तो लाग्छ । त्यसैगरी धेरै कथाकार उपन्यासकारहरूले नेपालीमा लेखेको थाहा छ तर मैले पढ्न भ्याएको छैन । धेरै बाँकी छ ।

भारतीय कविहरूमा रवीन्द्रनाथ टैगोरको ‘गीताञ्जलि’ मलाई धेरै मन पर्छ । वहाँका कथाहरू पनि साह्रै राम्रा लाग्छन् । अङ्ग्रेजी साहित्यमा शेक्सपियर सबैभन्दा बढी मन पर्छ । शेक्सपियरको तुलना कसैसित पनि हुन सक्तैन । उनी ब्रह्माजी पछिको अर्को ब्रह्मा हुन् भने हुन्छ । अङ्ग्रेजी उपन्यासकारमा मलाई सबैभन्दा बढी मन पर्ने पर्ल बक हुन् र उनको उपन्यास ‘गुड अर्थ’ धेरै मन परेको कृति हो । नोबेल पुरस्कार विजेता पर्ल बकको भाषा मलाई साह्रै मनपर्छ । अङ्ग्रेजी भाषाको लेखनमा मलाई जवाहरलाल नेहरूको ‘डिस्कभरी अफ इन्डिया’ को भाषा पनि काव्यमय लाग्छ ।

संस्कृत साहित्यमा मलाई ‘श्रीमद्भागवत’ बेजोड सुन्दर काव्य लाग्छ । कालिदासको ‘शाकुन्तल’ नाटक मैले पढेको छु जसको प्रभाव देवकोटाको ‘शाकुन्तल’ महाकाव्यमा स्पष्ट छ । कालिदासका अरू महाकाव्य ‘रघुवंश’ र ‘कुमारसम्भव’ पनि मलाई मन पर्छ । बौद्ध कवि अश्वघोषको ‘बुद्धचरित’ र ‘सौन्दरनन्द’ महाकाव्य सरल तर महान् कृति लाग्छन् । माघको ‘शिशुपालवध’ र भारविको ‘किरातार्जुनीय’पनि साह्रै राम्रा लाग्छन् । भवभूतिको ‘उत्तररामचरित’ नाटक पनि मलाई धेरै मन पर्छ । संस्कृत गद्य-काव्यमा ‘दशकुमारचरित’, ‘कादम्बरी’ र ‘शिवराजविजय’ मन पर्छ ।

तपाईं देशको कामको सिलसिलामा देश विदेश जानु भएको छ तपाईंलाई कुन ठाऊँ मन पर्छ ? किन ?

– हो, म कामको सिलसिलामा जापानदेखि अर्जेन्टिनासम्मका एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका केही देश गएको छु । तर मलाई सबैभन्दा मन पर्ने देश नेपाल नै हो । दया र सहनशीलताकी खानी पृथ्वीमाता जताततै सुन्दर छिन्, अद्भुत छटा देखाउँछिन् । तर हिमालयको सौन्दर्यभन्दा राम्रो छटा अन्त कतै होला जस्तो मलाई लाग्दैन । त्यसको सौन्दर्य हेर्न म २०० वर्ष बाँच्न चाहन्छु । शायद त्यतिले पनि पुग्दैन होला । जति हेर्यो उति सुन्दर र झन् झन् रहस्यमय लाग्ने एउटा अद्भुत सृष्टि हिमालयको उचाइ हो ।

तपाईंको बुबा पनि साहित्यकार हुनुहुन्थ्यो । तपाई खाली समय साहित्यिक पुस्तक पढेर बिताउनु हुन्छ कि ? कसरी बिताउनु हुन्छ ?

– मेरा पिताजी नरनाथ आचार्य (१९६२-२०४५) कवि र जीवनीकार हुनुहुन्थ्यो । उहाँका कविता ‘वधू रक्षा’ (२०१६), ‘हरिश्चन्द्र कथा’ (२०१६) बाहेक ‘कवितासङ्ग्रह’ (२०४०) र ‘पद्यमाला’ (२०४०) मा छापिएका छन् । तर उहाँको मुख्य कृति ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ हो जुन २०१८ र २०३६ सालमा छापिएको थियो तर ती अहिले बजारमा पाइन्न । त्यसैले म त्यसको तेस्रो संस्करण छाप्ने तयारीमा छु । मेरो समय त्यसको तयारी र मैले लेख्न चाहेका अरू केही लेख तथा किताब लेखनमा बित्छ ।

म साहित्यिक किताब खासगरी नवोदित नेपाली लेखक र कविहरूले मलाई दिएका कृतिहरू र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका किताबहरू पनि पढ्छु । सिंगापुरका पितानेता ली कुआन यूका अन्तरवार्ताहरू पनि मैले हालै हेरेँ । केही अघि नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रायको किताब ‘काठमाण्डु डिलेमा’ पढेको थिएँ । भारतका विदेशमन्त्री एस जयशंकरको किताब ‘द एन्डिया वे’ पनि पढेँ । हालै भारतका पूर्वराजदूत श्याम शरणको किताब ‘हाउ इन्डिया सीज द वर्ल्ड’ र ‘हाउ चाइना सीज इन्डिया एन्ड द वर्ल्ड’ पनि पढेँ । अहिले चिनिया पत्रकार चाउ शङफिङको किताब ‘चिनिया पत्रकारको नजरमा नेपाल’ भन्ने किताब पढ्दैछु । यसैगरी मेरो समय बित्छ ।

तपाईंलाई गीत र कविता कुन मन पर्छ ? तपाईले गीत पनि लेख्नुभएको छ ? कति वटा ?

– मलाई कविता मन पर्छ । पहिले मैले केही पद्य र गद्य कविता पनि लेखेको थिएँ । तर लाज लागेर छाप्ने हिम्मत गरिनँ । मैले गीत त कहिले पनि लेखेको छैन ।

तपाईंले अहिलेसम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनुहुन्छ ?

-लेख्ने इच्छा भएर पनि धेरै लेखेको छैन । मेरा विगतमा छापिएका किताबहरू यी हुन्-

१. Traditional Grammars: English and Nepali: A Study, Kathmandu: Navin Press (१९८०).

२. A Descriptive Grammar of Nepali and an Analyzed Corpus, Washington DC: Georgetown University Press, १९९१.

३. The Nepala-mahatmya of the Skandapurana: Legends on theSacred Places and Deities of Nepal, New Delhi: Nirala Publications, १९९२.

४. श्रीमानःकामनामाहात्म्यम् (संस्कृतमा लेखी नेपाली, नेवारी, मैथिली, हिन्दी, अङ्ग्रेजी भाषामा अनुवादसहित प्रकाशित गरेको), काठमाडौं : मनकामना दर्शन प्रा. लि. २०५६ ।

५. यदुनाथ खनाल : जीवनी र विचार, काठमाडौं : साझा प्रकाशन, २०५९ ।

६. Nepal’s Foreign Policy: A Reflection; नेपालको परराष्ट्र नीति : एक विमर्श, काठमाडौँ : सोपान मासिक ।

७. Bhanubhakta Acharya: His Life and Selected Poems, Kathmandu: Vidyarthi PustakBhandar, २०११ (२०६८ V. S.).

८. शिक्षा, किन ? कस्तो ? र कसरी? (सम्पादन मात्र गरेको), काठमाडौँ शमी सम प्रकाशन गृह, २०७० ।

९. भाषाविज्ञानको सैद्धान्तिक विमर्श, काठमाडौँ मकालु प्रकाशन गृह, २०७१ ।

१०. मेरो डायरी, २०२५, My Diary, १९६८-१९६९, काठमाडौँ, हस्ताक्षर प्रकाशन, २०७१ ।

११. भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा, काठमाडौं : मकालु पब्लिकेशन हाउस, २०७६ ।

स्वदेश तथा विदेशका विभिन्न जर्नल तथा पत्रपत्रिकामा १०० जति लेखहरू होलान् । तर छरिएका छन् । खोजेर सङ्कलन गर्ने समय र अनुकूलता मिलेको छैन । शायद ती सबै उच्च गुणस्तरका नहुनाले खोजिरहन आवश्यक पनि छैन होला ।

कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?

– मलाई त्यस्तो साहित्य मन पर्छ जसमा सरल भाषामा गहन विचार व्यक्त गरिएको होस् । त्यसो गर्न सक्नु गद्य र पद्य दुबै साहित्यको सबैभन्दा ठूलो शक्ति हो । रामायण, महाभारत, ग्रीक नाटक र शेक्सपियरका भाषामा कठिन या दुरूह शब्द छैनन् तर तिनको भाव या अर्थ गहन छ । श्रीमद्भागवतको भाषा रामायण र महाभारतको जति सरल त छैन तर अति सुन्दर छ । तिनको फरकलाई कसरी भन्ने हो मलाई गाह्रो भइरहेछ । शायद तिनलाई सामान्य र कुलीन मानिसको भाषा, संस्कार र अभिव्यक्तिमा पाइने फरक भन्नुपर्ला । तर म दोहोर्याएर भन्न चाहन्छु श्रीमद्भागवतको पनि मुख्य विशेषता भनेको भाव या अर्थ नै हो ।

देवकोटाले सरल भाषामा मुनामदन लेखेर नै सर्वाधिक लोकप्रियता कमाए । देवकोटाको मुनामदन माधव घिमिरेको ‘गौरी’, भीमनिधि तिवारीको ‘यशस्वी शव’ या भरतराज पन्तको ‘दिनेश’ जस्तो शोककाव्य मात्र होइन । त्यसमा करुण रसमिश्रित सामाजिक टिप्पणी छ । सिद्धिचरण श्रेष्ठको ‘विश्वव्यथा’ मा पनि करुण रससहितको सामाजिक या व्यापक विश्वको पीडामाथि गहिरो टिप्पणी छ । फ्रेञ्च कथाकार मोपासँ या रूसी कथाकार उपन्यासकार आन्तोन चेखबको भाषा सरल छ तर तिनका कथाको सार गहन छ, मार्मिक छ ।

गुरु प्रसाद मैनालीका कथा उस्तै सरल भइकन पनि प्रभावोत्पादक छन् । विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यासमा भाषा सरल छ तर भाव जटिल छ । त्यसले के देखाउँछ भने सरल नेपाली भाषामा पनि जटिल भाव व्यक्त गर्न सकिन्छ । भूपी शेरचनकै कवितामा कठिन शब्द त केही पनि छैन । तर आधुनिक कविहरूमा सर्वाधिक लोकप्रिय र प्रभावशाली उनी नै छन् जस्तो लाग्छ मलाई ।