भोट मागिदिनु मात्र ठुलो कुरा भएन । सामूहिक भोट आउने माहोल सिर्जना गर्नु ठुलो कुरा हो । एउटा मात्र एपिसोड जित्ने माहोल बनेको भए पनि बाँकीका लागि सास फेरेर सोच्न सकिन्थ्यो ।
ताप्लेजुङमा बसेर विगत दुई दशकदेखि साहित्यमा साधना गरिरहेको एउटा नाम हो लक्ष्मीप्रसाद मादेन अर्थात लेकाली कान्छा मुक्कुम । लिम्बूहरुको मुखपत्र “तान्छोप्पा” मा २०५८ सालमा “चपताइन चोगुम” शीर्षकको गीत छापिएपछि उहाँको साहित्य लेखनको यात्रा प्रारम्भ भएको थियो । त्यतिबेला उहाँ २१ वर्षको हुनुहुन्थ्यो । कवि लेकाली कान्छा मुक्कुमको कवितासँगको सङ्गत भने २०६९ सालबाट भएको देखिन्छ । जतिबेला उहाँ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम हुनु भएको थियो । प्रतियोगितामा प्रथम भइसकेपछि उहाँले गीतसँगै कवितालाई पनि साथमै लिएर हिँड्नु भयो । जुन अहिले पनि निरन्तर चलिरहेको छ ।
२०७४ सालमा पनि देमाई नगरपालिका इलाम र फाल्गुनन्द गाउँपालिका पाँचथरद्वारा राँके भञ्ज्याङमा आयोजित मेची अञ्चल स्तरीय कविता प्रतियोगितामा उहाँ प्रथम हुनु भएको थियो । यसरी अन्य विभिन्न कविता प्रतियोगितामा भाग लिँदै, कहिले विजेता पनि बन्दै आउनु भएका कवि मुक्कुम कवितालाई समाज र जगतको चित्राङ्कित गर्ने क्यानभासको रुपमा व्याख्या गर्नुहुन्छ ।
उहाँका केही कृति प्रकाशित छन् । जसमा प्रिय प्रयास गीत सङ्ग्रह २०६२, एक झट्टी हावाई गीत गजल सङ्ग्रह २०६४, ऐना रुबाई हावाई सङ्ग्रह (संयुक्त) २०६५, संघीय झिल्का गीत सङ्ग्रह २०६७, र स्वरको रङ गीति एल्बम रहेका छन् । एक दशकदेखि कवितामा सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका कवि लेकाली कान्छा मुक्कुमको कविता सङ्ग्रह भने प्रकाशित हुन बाँकी नै छ । कोही प्रकाशक पाएदेखि कविताको पनि सङ्ग्रह निकाल्ने योजना रहेको उहाँ सुनाउनु हुन्छ । उहाँ गजल, रुबाई, हाइकु, ताङ्का र कथामा पनि कलम चलाउनु हुन्छ । उहाँले लिम्बू र खस दुबै भाषामा साहित्य सिर्जना गर्दै आउनु भएको छ ।
उहाँ परिवारका साथमा ताप्लेजुङमै खेती किसानी र मजदुरीमा रमाउँदै आउनु भएको छ । उहाँको परिवरमा जीवनसाथी सीता पिरती, छोरी नियाराफुङ मादेन (११ वर्ष) र छोरा मिङसोहाङ मादेन (७ वर्ष) हुनुहुन्छ । श्रीमती सीता पिरती पनि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । कवि लेकाली कान्छा मुक्कुमको जन्म २०३७ साल असार २० गते ताप्लेजुङको फुङलिङ नगरपालिका -९, हाङ्देवामा भएको थियो । आमा रनमाया मादेन (पालुङवा) र बुबा रनबहादुर मादेनका उहाँ कान्छो सन्तान हुनुहुन्छ । उहाँले उच्च माध्यमिक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । एक दर्जनभन्दा बढी विभिन्न संघसंस्थामा आबद्ध रहनु भएका कवि मुक्कुम पाँचथर गजलमञ्च फिदिमद्वारा आठौँ ऐतराज केरुङ स्मृति गजल पुरस्कार २०७९ र मेची सेन्टमेरिज आवासीय माध्यमिक विद्यालय ताप्लेजुङद्वारा २०७६ सालमा सम्मानित हुनुहुन्छ ।
यिनै कवि लेकाली कान्छा मुक्कुम यतिबेला चर्चाको विषय बनिरहेको कवितामाथिको पहिलो रियालिटी शो “द पोइट आइडल” मा भाग लिन पुग्नु भएको थियो । डिजिटल अडिसनबाट सुरु भएको उहाँको यात्रा विभिन्न चरण पार गर्दै उत्कृष्ट ९ मा पुगेर आइडलको मञ्चबाट उहाँ बाहिरिनु भएको छ । गत फागुन १८ गते बिहीबार प्रसारित आइडलको १९ औँ एपिसोडबाट उहाँ बाहिरिनु भएको हो । त्यो हप्ता कैलालीकी कवि मुनु अधिकारी र कवि मुक्कुम रेडजोन अर्थात बटम टुमा पर्नु भएको थियो । रेड जोनमा परेसँगै “अशु कवि राउण्ड” मा कविद्वय मुनु र मुक्कुमबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो । जसमा कवि मुनुको कविताले १६७.५ र कवि मुक्कुमको कविताले १५९ अङ्क प्राप्त गरेका थिए ।
यसमा दुई सय पूर्णाङ्क रहने गरेको छ । बटम टुमा परेका कविद्वय मुनु र मुक्कुमलाई आइडलको मञ्चमै डोरीले बाँधियो र त्यसैमा आधारित रहेर कविता लेख्नका लागि ३० मिनेटको समय दिइएको थियो । जसमा कवि मुनु ८.५ अङ्कको अन्तरले विजय हुनुगभयो । आइडलको मञ्चबाट बाहिरिनु भएका यिनै कवि मुक्कुमसँग समग्रमा पोइट आइडलको यात्रा कस्तो रह्यो त ? भन्ने विषयमा केन्द्रित रहेर मैले कुराकानी गरेको थिएँ । यतिबेला आइडलको मञ्चमा ३ महिलासहित ८ जना कविहरु प्रतिस्पर्धामा हुनुहुन्छ । साथै अन्य दुई जना कविलाई “वाइल्ड कार्ड” मार्फत आइडलको मञ्चमा पुन: भित्र्याउने तयारी भइरहेको छ ।
पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार नेपाली समय राती ८:३० बजे प्रसारण हुँदै आएको छ । साथै यसलाई OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । “डन डिरेक्टर” को रुपमा परिचित अमन प्रताप अधिकारीले पोइट आइडलको निर्देशन गरिरहनु भएको छ । आइडलमा चर्चित कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका सुरक्षा पन्त निर्णायकमा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ । गामबेँसीका कवि क्षेत्र प्रताप अधिकारीको सम्झनामा उहाँका छोरा अमन प्रतापले पोइट आइडल निर्माण गर्नुभएको हो ।
===
अब लागौँ कवि लेकाली कान्छा मुक्कुमसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।
अहिले कस्तो लागिरहेको छ ?
– न तातो, न चिसो, सामान्य ।
विभिन्न चरण पार गर्दै, १४ सय बढी कविहरुलाई पछि पार्दै, पोइट आइडलको भोटिङ राउण्ड अर्थात उत्कृष्ट १४ मा पुग्दा कस्तो महसुस भएको थियो ?
– त्यो बेलामा आफ्नो तौल कति केजि हो ? भन्ने कुरा थाहा पाउन सकियो । तर त्यो तौल कम हुन्छ कि भन्ने पीर अझै लागिरहेछ ।
उत्कृष्ट ९ मा पुगेर पोइट आइडलको मञ्चबाट बाहिरिँदै गर्दा चाहिँ कस्तो लागेको थियो ?
– न छिटो न ढिलो समान गतिमा थिएँ । तर शुभचिन्तक र माया गर्नेहरुको आत्मियताको गुन तिर्न सकिन कि ? भन्ने चिन्ता चाहिँ लागिरह्यो।
पोइट आइडलको उत्कृष्ट १४ मा पुगिसकेपछि तपाईं आफूले चाहिँ अब कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो ?
– यहाँसम्म भन्ने ग्यारेन्टी त थिएन । तर उत्कृष्ट ५ देखि ७ भित्र पर्न पाए हुन्थ्यो भन्ने चाहिँ लागेको थियो ।
ताप्लेजुङमा बसेर लामो समयदेखि कवितामा साधना गरिरहनु भएको थियो । नेपाली कविताको मूलधारले चिन्न सकिरहेको थिएन । पोइट आइडलले यहाँलाई मूल प्रवाहमा ल्याइदिएको छ । लामो समयको साधनापछि पाएको यो सफलतालाई कसरी हेर्नुहुन्छ ?
– मेरो साहित्यिक यात्रालाई दुर्गमबाट सुगमसम्म डोर्याउने माध्यमको रुपमा ऐतिहासिक बैसाखी भएर द पोइट आइडल आइदियो । जसलाई म स्यालुट हान्दै अघि बढ्न चाहन्छु ।
तपाईंकै जिल्लाका चर्चित नेता योगेश भट्टराईले समेत तपाईंका लागि भोट अपिल गर्नुभएको थियो सामाजिक सञ्जालमार्फत । कस्तो लागेको थियो ?
– उहाँ भनेको मेरो जिल्लाको साझा अभिभावक हो । अभिभावकको माया सन्तानले पाउनु कुनै नौलो कुरो थिएन ।
योगेश भट्टराई जस्ता नेताले भोट मागिदिँदा पनि तपाईं रेडजोनमा पर्नुभयो । तपाईंको भोट कम्ती हुनुमा के कुराले भूमिका खेल्यो जस्तो लाग्छ ?
– भोट मागिदिनु मात्र ठुलो कुरा भएन । सामूहिक भोट आउने माहोल सिर्जना गर्नु ठुलो कुरा हो । एउटा मात्र एपिसोड जित्ने माहोल मात्र बनेको भए पनि बाँकीको लागि सास फेरेर सोच्न सकिन्थ्यो ।
एउटा कवि जो साधनामा रमाउँछ । रमाउँदै आएको पनि हो । त्यस्तो कवि एउटा रियालिटी शोमा भाग लिएर “मलाई जिताइदिनुस्” भन्दै नेताले जस्तै भोट माग्नु पर्दा चाहिँ कस्तो लाग्दो रैछ एउटा कवि मनलाई ?
– यो सकारात्मक त हैन । तैपनि भोट माग्दा कमसेकम एउटा भोट माग्ने कवि थियो है भन्ने स्मरण त रह्यो नि !
तपाईं आउट भइसकेपछि, “ताप्लेजुङमा बसेर कवितामा निरन्तर साधना गरिरहनु भएको थियो । आज नेपाली कविताको मूलधारमा तपाईंको उपस्थिति भइसकेको छ ।” भनेर मैले आफ्नो फेसबुक स्टाटसमा लेखेको थिएँ । “अब चाहिँ म पनि मूलधारमा आएँ” भन्ने तपाईं आफूलाई चाहिँ लाग्छ कि लाग्दैन ?
– पहिलो कुरा त यो “मूलधार” भन्ने शब्द नै केन्द्रीकृत अहमवादी चिन्तनले दिमागमा सेट गरिदिएको शब्द हो जस्तो लाग्छ । निरन्तर साधना गर्ने साधक न मूलधारमा हुन्छ, न किनारामा हुन्छ । मलाई मूधारको चिन्ता छैन । तर आफ्नो सिर्जनालाई कसरी बाँच्न सक्ने बनाऊँ ? जो आफू मर्दा पनि पाठकले जिउँदो महसुस गरोस्, मेरो चिन्ता यतातिर हो।
तपाईं अहिले ४२ वर्षको हुनुभयो । पोइट आइडल आउनुभन्दा अघिसम्म देशको राजधानी आइपुग्नु भएको थिएन । पोइट आइडल नआएको भए तपाईं काठमाडौँ आउनु हुन्थ्यो कि हुन्थेन होला ?
– त्यो त नआउन पनि सक्थेँ । आउन पनि सक्थेँ । तर यति चाहिँ हो, लेख्न चाहिँ लेखिरन्थेँ ।
पोइट आइडलको उत्कृष्ट १४ जना कविहरुमध्ये तपाईं उमेरका हिसाबले पनि जेठो र कविता लेखनको समयको कुरा गर्दा पनि लामो समयदेखि लेख्दै आउनु भएको छ । भाइ/बहिनी समानका कविहरुसँग प्रतिस्पर्धा गरिरहँदा कस्तो लागेको थियो ?
– सर्वप्रथम त मेरो उमेर मेरो आफ्नो समस्या होइन । त्यो तपाईंको समस्या हो । त्यो समस्या तपाईं आफैँले समाधान गर्नुहोला र भाइ बहिनी त के छोरा छोरीकै उमेरको स्रष्टाहरुसँग कवितामा भाग लिँदा पनि एउटै परिवारमा मिलेर बाघचाल खेलिरहेको महसुस हुन्थ्यो । के बाबाले छोरासँग लुँडो खेल्नु अनौठो हो र?
तपाईं र कवि मुनु अधिकारी रेडजोनमा परिसकेपछि तपाईंहरु दुई जनालाई डोरीले बाँधियो र त्यसैमा केन्द्रित रहेर कविता लेख्न लगाइयो । कविता लेख्नका लागि विषय दिने त्यो तरिका कस्तो लाग्यो ?
– त्यो त डाइरेक्टरको विषय दिने एउटा सुन्दर कला हो ।
त्यसरी अरुले दिएको विषयमा आधा घण्टाभित्र कविता लेख्न कत्तिको गाह्रो हुँदो रैछ एउटा कविका लागि ?
– यो गाह्रो र अप्ठ्यारो दुबै छ । तर लेख्न बाध्य भएपछि लेख्नै पर्दोरहेछ ।
तपाईंसँगै समूह B मा रहनु भएकी कवि मुनु अधिकारीसँग रेड जोनमा परेर आइडलमा आफ्नो स्थान सुरक्षित गर्न उहाँसँग अन्तिम प्रतिस्पर्धा गरिरहँदा कस्तो लागेको थियो ?
– बाघचालको अन्तिम घडीजस्तै ।
तपाईं योभन्दा पहिले पनि एक पटक रेड जोनमा पर्नु भएको थियो र अन्तिम प्रतिस्पर्धामा कवि महेन्द्र राईलाई ७.५ अङ्कले हराउनु भएको थियो । यो पटक पनि जित्छु जस्तो चाहिँ लागेको थिएन ?
– खेल खेल्नेले हार्नको लागि खेलेको हुँदैन । तर हार स्वीकार्नु चाहिँ महत्वपूर्ण कुरा हो । त्यो स्वीकारेको छु ।
जेठो कवि भएको नाताले पनि आइडलको क्लोज क्याम्पमा तपाईंले सबैबाट मायाका साथै सम्मान पनि पाउनु भयो होला भन्ने मेरो अनुमान हो । कस्तो रह्यो त्यहाँको बसाइ चाहिँ ?
– म जेठो भए पनि कान्छो बनेर धेरै कुरा सिक्न पाएँ । वौद्विकता र प्रतिभा उमेरमा बाँधिदैन । उहाँहरुलाई म मेरो साहित्यको गुरु नै मान्छु । मैले उहाँहरुबाट सिकिरहँदा प्रतिस्पर्धी जस्तै लागेन । आफ्नै परिवारभित्र जानेका कुरा सेयर गर्दै अघि बढेको महसुस हुन्थ्यो । प्रतियोगितामा वाचन गर्ने कविता मञ्चमा नपुगी एकले अर्कोलाई सुनाउने गर्थ्यौं । अब हाम्रो सम्बन्ध कस्तो थियो ? आफैँ पत्ता लगाउनुहोस् ।
रेड जोनमा पर्ने कविहरुलाई बाहेक अरुबेला पनि हरेक हप्ता विभिन्न विषय दिएर प्रतिस्पर्धी कविहरुलाई कविता लेखाउने पोइट आइडलको तरिका कस्तो लाग्यो ?
– उत्तम लाग्यो । अमन प्रताप सरको यो आइडियाले जुन कविताहरु लेख्न सक्यौँ त्यो कविता घरमै बसेर लेखेको भए सायद फुर्ने थिएन । फुरे पनि त्यतिको सशक्त भएर आउने थिएन । यो पनि एउटा द पोइट आइडलको उपलब्धि हो ।
द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो र यो समाचार पहिलो पटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ?
– यो फेसबुकमा । मलाई लाग्छ पठाउने ठेगानाबिना घुम्दै गरेको भदौ महिनामा हो । साथी रोसन यक्सोलाई ठेगाना मागेर पठाएको हो । त्यो पठाउँदा चाहिँ एउटा कविता पठाउने बित्तिकै नतिजा आउट हुने सम्झेको थिएँ।
पोइट आइडलको डिजिटल अडिसनमा भाग लिँदै गर्दा आइडलमा भाग लिएर कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो सुरुमा चाहिँ ?
– “उत्कृष्ट १४ मा पर्न पाए हुन्थ्यो” भन्नेबाहेक अरु सोचिएन ।
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नुभयो कविता सम्बन्धी ?
– कविताभन्दा पनि बढी व्यावहारिक पक्ष सिकियो । जसले कविता लेख्न अग्रसर गरायो ।
पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– पोइट आइडल आफैँमा सर्वश्रेष्ठ छ । यसले जड सोचाइको निरन्तरतालाई भत्काइदिएको छ र राम्रो प्रतिभालाई जनमानसमा पुर्याउने काम गरेको छ । आइडलको क्राइटएरिया उत्कृष्ट १४, या उत्कृष्ट १०, जहाँ प्रवेश भएका कविहरु भए पनि राष्ट्रले चिन्न कर लाग्छ । यसको प्रभाव सकारात्मक पक्षबाट हेर्ने हो भने सुन्दर छ । आवश्यक छ सिजन २ र सिजन ३ पनि आओस् भन्छु ।
पोइट आइडलको यात्रा अवधिभरमा अहिले तपाईंले सबैभन्दा धेरै मिस गर्ने कुरा के हो ?
– आइडलमा हुञ्जेल घर र घर आएपछि आइडल ।
प्रसङ्ग बदलेर एउटा जिज्ञासा राख्न मन लाग्यो । हजुरले आफ्नो साहित्यिक नाम “लेकाली कान्छा मुक्कुम” राख्नु भएको छ । कस्तो मिठो पनि सुनिन्छ । हामीले रुकुम सुनेका छौँ । हुकुम सुनेका छौँ । “मुक्कुम” चाहिँ अलिक नयाँ लाग्यो । लिम्बू भाषा अथवा लिम्बू जातिसँग जोडिएको हो कि ? भन्ने अनुमान चाहिँ गर्न सकिन्छ । यसको खास अर्थ केही छ ?
– “मुक्कुम” – बल, शक्ति, ताकत, अग्नि ( लिम्बूले बोल्ने लिम्बू नेपाली भाषा हो।) फेरि हाम्रो मस्तिष्कमा यो नहोस् कि खस पर्वते भाषा मात्र नेपाली भाषा र अरु जनजातिले बोल्ने भाषा अनेपाली । बरु यो जानौँ कि अरु सबै नेपाली भाषा, खसपर्वते भाषा चाहिँ सम्पर्क नेपाली भाषा ।
जाँदाजाँदै अन्त्यमा केही ?
– सर्वप्रथम त साहित्यपोस्टले हामी जस्तो भुइँमान्छेको कुरालाई उठान गर्ने जमर्को गर्यो । यसमा यहाँलाई लाख धन्यवाद र देशविदेशबाट मलाई माया गरेर भोट गर्दै उत्कृष्ट १४ बाट उत्कृष्ट ९ सम्म ल्याइदिनुहुने सम्पूर्ण आफन्तजन तथा शुभचिन्तक साथै समग्र पाठक महोदयहरुमा नमस्कार भन्दै भाइ डिजी शर्मालाई पनि धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।