गजल १

पछुतो त गरिब भई जन्मँदा लागेको छ
रुपियाँलाई भाग्यमा पर्खिंदा लागेको छ

आमा मर्दा नि यति दुःख लागेन महोदय
जति, दुःख देश छोडेर प्ररदेशिँदा लागेको छ

भुलाइदियो सबथोक साथमा आमा पाएदेखि
एक बच्चोलाई पनि दुनियाँ फिदा लागेको छ

दोष त घाम, जून, गगन सबैलाई छ यहाँ
समयलाई पनि त दोष ऊ बदलिँदा लागेको छ

तिमीले सम्झिँदा त ऐँठन मात्र लाग्छ मलाई
बाडुली त दुस्मनहरूले सम्झिँदा लागेको छ
###

गजल २
मलाई सताइरह्यो मेरो यादले तिमीलाई सताउन सकेन
लाग्छ मेरो दिलले उचित मान्छेसँग माया लाउन सकेन

तिमी माटो रहेछौं यसर्थ आकार प्रकारमा बदली रह्यौ
म पत्थर रहेछु जसलाई खोलाले पनि बगाउन सकेन

छोरो मरेको दिनदेखि आमा जिन्दगीभर रोइरहिन्
किन छोरोले आमा मर्दा पनि आफूलाई रुवाउन सकेन

बच्चा खुसी होस् भनेर आमा हरेक पल रोइरहिन्
तर आमा खुसी हुन्छिन् भनेर बच्चा मुस्कुराउन सकेन

मन डुलाउन घर वरिपरि फूलको बगैंचा बनायो उसले
जसले गरिबको दुःख बिसाउने चौतारा बनाउन सकेन
###

गजल ३

हिँड्नलाई विमान बस्नलाई ठूलो घर छ हजुरको
थाहा छ मेरो गाउँभन्दा बेग्लै शहर छ हजुरको

तपाईं यी खेलहरू कति सजिलै जित्नु हुँदोरहेछ
दुई तीन हजार भोट त अझै पनि बदर छ हजुरको

आमा फुटपाथमा चिया बेच्दै हिँडेको देख्छु
छन त चोकचोकको भाडामा सटर छ हजुरको

मैले प्रेममा यसकारण आफूलाई गुमाएको हुँ
कि मेरो भन्दा कयौं गुणा ठूलो थर छ हजुरको

सित्तैमा आई हिजो सित्तैमा लिएर जानु भयो
आज तपाईंलाई भेट्न पनि म कहाँको छ हजुरको

हरेक वर्षात चुहिएको छानो हेर्दै रुन्छ किसान
के गर्नु ? पाखाभरि लामो लामो खर छ हजुरको
###

गजल ४

खै कस्तो कस्तो पाठ सिकाउँछ यो जीवनले पनि
यस्तो पाठ त सिक्न नपरोस् यार मेरो दुश्मनले पनि

म मुस्कुराई रहन्छु यसर्थ खुसी देख्छ यो दुनियाँ
अरे ठाउँठाउँमा आँसु बगाएको छ यो ‘वृयन’ले पनि

तिमी पो लायकको छौ ममा थुप्रै कमजोरी होलान्
हेर ! एक सुन्दर दृश्य अरु के नै दिन्छ र गगनले पनि

म बारम्बार प्रस्ताव राखी रहन्छु ऊ सुनिनँ, बुझिनँ भन्छे
बोलेकै बुझ्दिनँ नबोलेको के बुझ्ला र त्यो धड्कनले पनि

खुब घमण्ड गर्थ्यो ऊ तर पैसाकै अगाडि जलेको देखेँ
हेर्नुस् त कहाँ बचाउँदोरहेछ त परेको बेला धनले पनि
###

कमल १, झापा