सम्पादकः स्पन्दन विनोद

गजलहरू

बहरः रमल मुसद्दस सालिम


आश विश्वासी यता सारा मजा छन्
खास उत्साही सधैँ प्यारा मजा छन्!

भार आफैँ थाम्न सक्ने यी भएमा
जून टल्के साथमा तारा मजा छन्!

दूर हेर्नू पारमा सारा छ यो नै
अल्झिए हुन्नन् यता चारा मजा छन्!

साँध लाए हुन्छ के खै यो फरक र
वेग अग्ला छन् उडे पारा मजा छन्!

अन्धविश्वासी भई लट्पट् गरेमा
जीवितैमा मर्नु यी धारा मजा छन्!

▪️कलानिधि दाहाल

•~<>~<>~<>•<>~<>~<>~•

बहरः रमल मुसद्दस सालिम

भाग्यको सत् द्वार खुल्दा जग्मगाएँ
जिन्दगीमा आज मैले मान पाएँ

चुम्न तिम्रो सौम्य लाली शीघ्र भन्दै
भेट्नलाई काठमाण्डौँ लौ म आएँ

मिष्ट बोली नेत्र खोली साथ बस्दा
उर्वशीझैँ देखिइन् झन् तिल्मिलाएँ

पुक्क गाला मिष्ट चाला चन्द्रमाझैँ
चम्किँदा ती स्वर्णबाला अन्कनाएँं

केश झुल्दा दन्त खुल्दा राधिकाझैँ
देखिँदामा प्रेमिका झन् मन पराएँ ।

▪️विदुर अधिकारी
रामपुर,चितवन

•~<>~<>~<>•<>~<>~<>~•

बहर:रमल मुसद्दस सालिन

जान्छु आमा राहधानी अब बनाउन
जिन्दगी भरको कहानी अब बनाउन

छन् बगेका चाह आँखाबाट पलपल
खोज्छु आँसुलाई पानी अब बनाउन

दु:ख जुट्नै पर्छ सुख छन् बुझ्नलाई
फूल रोप्दै फूल दानी अब बनाउन

हत्केलाको हस्तरेखा मेट्छु हरपल
बालुवामा जिन्दगानी अब बनाउन

काख राख्छ्यौ स्नेहले आमा सधैं नै
काख बाहिर हाँस्ने बानी अब बनाउन ।

▪️उमा ओडारी
पाँचथर

•~<>~<>~<>•<>~<>~<>~•

बहर- रमल मुसद्दस सालिम

कुल्चिएँ सारा रहर मनमै दबाएँ
धर्किँदा मन आँसु आँखामै लुकाएँ

छैन जीवन खास बाहिर मात्र आहा!
को बुझोस् मैले यहाँ कति दु:ख पाएँ

भित्र भित्रै मन डढेको देख्छ कसले
रातमा मैले सिरानी कति भिजाएँ

भाग्य यस्तो भो नलेख्नू ए! विधाता
हात जोडेँ नम्र भै बिन्ती चढाएँ

कर्म खोटी हो कि हौ दोषी विधाता
वाक्क लाग्ने जिन्दगी भोगेँ अघाएँ ।

▪️दुर्गा थापा मगर
बुटवल ११

•~<>~<>~<>•<>~<>~<>~•

बहर- रमल मुसद्दस सालिम
अर्कान- 2122-2122-2122
फाइलातुन्, फाइलातुन्, फाइलातुन्

काेही भन्छन् प्रेम नै हो जिन्दगानी
मूर्ख भन्छन् जिन्दगी हो फूलदानी

प्यारलाई दाम हाल्दै किन्न खाेज्याै
हुन्छ टुक्रा मात्तिँदा तिम्रो जवानी

घात गर्छाै मन दिनेलाई तिमीले
जिन्दगीभर बग्छ तिम्रो आँसु पानी

प्यार बेच्दै दान लाखौं गर्छु भन्छाै
सबकाे सामु देखिने छाै बेइमानी

उसको जीवन नर्कजस्ताे पार्छु भन्दा
तिम्रो जीवनमा अवश्य हुन्छ हानी ।
▪️ दुर्गा क्षेत्री

•~<>~<>~<>•<>~<>~<>~•

बहरः रमल मुसद्दस सालिम

जिन्दगी दोधारमा राखेर आयौ
धन्न मेरो सामु पीडा सब लुकायौ

बोल्न पर्ने ठाउँमा किन बोल्दिनौ खै
मानमर्यादा भुली जिब्रो चपायौ

झन् तिमीलाई गर्‍यो सहयोग जसले
किन उसैलाई झुटा मुद्दा लगायौ

हौ तिमी आफ्नो भनूँ मान्दैन मनले
आज मेरो दुःखको पलमा रमायौ

चित्त दुख्ने काम मैले के गरेँ र
दोष मेरो के थियो व्यर्थै रिसायौ।

▪️वासुदेव ठकुरी

•~<>~<>~<>•<>~<>~<>~•

बहर- रमल मुसद्दस सालिम

भाइ साथी मित्रताले डेग चालाैँ
नाम सङ्गै दाम मिल्ने काम थालाैँ

दु:ख भाेग्नै पर्छ मान्छेकाे जुनीमा
दर्द पाेखाैँ जिन्दगी सित्तै नफालाैँ

जिन्दगी हाे भास जान्दा हुन्छ राम्रो
माेहमाया कुण्ड जान्नेले नतालाैँ

शान्तिकामी मान्छे मान्छे मिल्नुपर्छ
द्वन्द त्यागी शत्रुता आऊ पखालाैँ

कालाेमैलाे स्वार्थ झाडी न्यून पारी
प्रीत छर्दै स्वच्छ नाता अब अँगालाैँ ।

▪️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

•~<>~<>~<>•<>~<>~<>~•

बहरः रमल मुसद्दस सालिम

जिन्दगीले बाँधिएको भान पाएँ
सादगीले साँधिएको ज्यान पाएँ

रामसीता बन्नखोजे बन्छ कोही
कृष्णराधा भेटिनाले मान पाएँ

पार्वतीे हो श्रीसतीको जन्म अर्को
रासलीला गर्छ को को ज्ञान पाएँ

शक्ति नै हौ शक्तिमान्को अर्थ भन्छन्
गर्व मेरो उठ्नखोज्दा स्थान पाएँ

पाक दिन्छन् भोगले नै भोग्नुपर्छ
उक्लिँदै ती खुड्किलामा जान पाएँ ।

▪️छत्रपति दाहाल

•~<>~<>~<>•<>~<>~<>~•

बहरः रमल मुसद्दस सालिम

आज भन्छन् भोलि भन्छन् खास छैन
पाखुरी बलिया हुनेमा आस छैन

गर्छु मेरै काम भन्ने मन्त्र हुन्थ्यो
देश जल्दा आज छोरो पास छैन

छैन दौलत रित्तिएको जानकारी
चोर बस्छन् छेउँमा आभास छैन

छन् सघन उपचारमा निर्धन भिकारी
बिल बुझाए आत्म बेची सास छैन

के लिएर जान सक्ने हो र माथि
भन्न सक्ने को छ तनको नास छैन

▪️विमुन्स

•~<>~<>~<>•<>~<>~<>~•

बहर:रमल मुसद्धस सालिम

सत्य कुन हो झूट कुन जो जान्न चाहेँ
जिन्दगीको राह सच्चा छान्न चाहेँ

हुन्न कोही जात सानो भेद त्यागौँ
उच्च नीचो मात्र भ्रम हो ठान्न चाहेँ

चिन्न सक्दा बेस होला देश आफ्नो
सोच भित्रै देश अँट्ला मान्न चाहेँ

निम्छरो भै जिन्दगानी टार्नु हुन्न
जोस जाँगर शिल्पले नै धान्न चाहेँ

जुक्ति भन्दा छैन अर्को अस्त्र केही
बुद्धिबलले दुष्टलाई हान्न चाहेँ ।

▪️वेदप्रसाद रिजाल