रवीन्द्र लम्साल

म त माइत आएँ, तिमी किन पछि लाएर आयौ?
खानै नदिएर निकाल्यौ, फेरि किन धाएर आयौ?

पछुतो लाएर हो कि, साँच्चै माया पलायो तिम्रो
आयौ आफ्नै सुरले? कि कसैले पठाएर आयौ?

तिमीसँग हिमचिम हुँदा, घरबाटै लखेटिएँ पहिले
धोका दिँदा पुगेन अहिले? लाजै पचाएर आयौ?

म हुँदा पो तिम्लाई, को खाई को खाई गरेर ख्वाएँ
पकाएर दिने कोही भएनन्? खानै नपाएर आयौ?

भाइहरूलाई टेरेनौ कि टेरेनन् ? छिमेकीले हेरेनन्?
ठीक छ! तिमी पनि मलाई शीरमा सजाएर आयौ !